बेल्जियममा अन्तर्राष्ट्रिय स्तरको म्याराथुन, दुई नेपाली सहभागि
– प्रेम पाठक / बेल्जियम
युरोपेली युनियनको राजधानी बेल्जियम बसाई डेढ दशक भयो । तर यहाँको प्रसिद्द म्याराथुन अर्थात् दौड प्रतियोगिताको प्रत्यक्ष अनुभव गर्ने अवशर मिलेको थिएन । सुनिँदै आयो तर खासै ध्यानपनि पुगेन । १० माईल अर्थात् १६ किमी दौडको यो प्रतिस्पर्धामा गत साल सोम थनेतले भाग लिएको जानकारि थियो । दुई घण्टामै यो दूरी पार गरेका उनको हिम्मत मलाई पहिले त ठूलो लाग्यो । पछि गम खाएँ, एक घण्टामा छ किमी त हिँडेरै छिचोलिईन्छ भने १६ किमी दगुरेर खासै के हो र ? दगुर्न नसके हिँडेरपनि पुगिएला । लगत्तै सोम दाईलाई आग्रह गरें ‘आगामी साल सँगै भाग लिने ।’ उनी खुशि भए । अप्रिल २८ मा हुने यो प्रतियोगिताको दिनलाई मैले बिदा मिलाएँ ।
दूरी खासै लामो त होइन । तर छिटो दगुरेर अरुलाई उछिन्ने प्रतिस्पर्धा हो यो । त्यसैले प्रतियोगिता हुनु करिब दुई महिना अघिदेखि ब्यायाम गर्न थालें । त्यस क्रममा देब्रे गोडाको मसल एक सेमी च्यातियो । चिकित्सकसित सल्लाह माग्दा उनले दौडमा भाग नलिन सुझाव दिए, आराम गर्ने सल्लाह दिए । भाग लिन पाइन्न भन्ने सोचेर आराम गर्दै बसेको बेला यो म्याराथुनको ईतिहास जान्न अनेक पाना पल्टाएँ, भिडियो र तस्विर हेरें ।
अहो ! म्याराथुन त अनेक खाले हुने रहेछन् यहाँ । ४२ किमी, १० माईल अर्थात् १६ किमीको, पाँच किमी र एक किमीको । तालतालका म्याराथुन भएपनि आन्तर्पेन मायाराथुन वा १० माईल म्याराथुन भनेर यो बढि चिनिने रहेछ । असोसियसन अफ ईन्टरनेशनल म्याराथुन एण्ड डिस्टेन्स रेसको आयोजनामा सन् १९८० देखि यो हुँदै आएको रहेछ । हामी नेपालीले पो बल्ला चाल पाएका त !
सन् २००७ देखि अप्रिल महिनामा हुन लागेको यो दश माइलको म्याराथुन बढि लोकप्रिय छ । यद्दपी यहाँ अन्य दौडपनि हुने गर्छन् । बेल्जिक नागरिक मात्रै होइन बिभिन्न मुलुकका नागरिकपनि सहभागि हुन पाउने यो रेसिङ यहि कारणले अन्तर्राष्ट्रिय जस्तो लाग्छ । आयोजकहरुपनि यस्तै छबी बनाउन सफल देखिएका छन् । बेल्जियममा हुने यसैपनि यो सर्वाधिक ठूलो म्याराथुन हो । दौडमा तोडिएका रेकर्ड रोचकपनि छन् । सर्वाधिक धेरै बेल्जिक नागरिक सहभागि भएपनि केन्याका एक नागरिकले सबैभन्दा छोटो समयमा पुरा गरेर पहिलो रेकर्ड बनाएका थिए । एलिज केम्बोइ नामका ब्यक्तिले १६ अप्रिल २०११ मा २ घण्टा ११ मिनेट १५ सेकेण्डमा पुरा गरेर पहिलो बने । महिलाहरुमा बेल्जियमकै नागरिक मार्लिन रेन्देर्सले सन् १९९५ को अप्रिलमा २ घण्टा ३१ मिनेट १५ सेकेण्डमा पुरा गरेर ईतिहास बनाईन् । यसलाई आजसम्म अरुले तोड्न सकेका छैनन् ।
स्केल्दे भनिने नदी किनारबाट शुरु हुने यो म्याराथुन शहरका प्रमुख आकर्षक केन्द्र हुँदै १७७० मिटर लामो टनेल पार गरेर गन्तब्यमा पुगिने ब्यवस्था मिलाइएको हुन्छ । ग्रोते मार्केट भनिने प्रशासनिक भवनको सामुन्ने आएर यो प्रतिस्पर्धा टुंगिन्छ । हरेक वर्ष हुँदै आएको यो प्रतियोगिताले मित्रता, सद्भाव, भात्रित्व, मिलनसारिता र बिभिन्न मुलुकका ब्यायामकर्ताबिच पूलको काम गर्दछ । सम्पर्क र प्रेम बढाउँछ । ब्यायम गर्नुपर्ने खाँचो र अक्किलको प्रचार गर्छ । जनतामा स्वस्थ रहनुपर्ने आवश्यकतालाई नागरिकहरुबिच स्थापित गराउने हुँदा यसको महत्व रहेको भनाई यहाँका नगरपालिका प्रमुख तथा धावक वार्त दे वेभरको छ ।
चिकित्शकले जे भनेपनि आ ! आँट्छु भनेर पहिलेनै शुल्क बुझाएपनि २६ तारिखका दिन दौडको पोशाक लियौं, सोम दाई र म दुबैले । उनीहरुले हामीलाई नंबरपनि दिए । अब आधिकारिक धावककर्ताको सूचीमा हामी दर्ज भयौं । २८ तारिख बालबच्चाकोपनि स्कूले छुट्टि थियो । हामी दगुर्ने, परिवारले मनोरन्जन लिने, उत्साहि बनाउने भन्दै हुल बाँधेर गयौं । २.३० मा शुरु हुने दौडको समयकालागि लाईनमा उभियौं । गोडाले धोका देला, बल्झेला कि भन्ने त्रास थियो । त्यसैले जित्नुभन्दापनि दौड अपुरो नराख्ने, बरु बिस्तारै दगुरेर दुई घण्टा लागेपनि पुरा गर्ने भन्ने निर्णय गर्दै सहभागि बन्यौं ।
हामी लाईनमा बस्दा डिजे र एन्करवालाहरुले माहोल तताउँदै थिए । मानिसहरुमा रौनक थपिएको थियो । सहभागिहरुका आफन्त, परिवार, मित्र र शुभचिन्तकहरुले थपडी मारिमारि आयोजना स्थललाई झन तताएका थिए । हवाई, स्थल र जल सबै खालको सुरक्षा थियो । बाटोको दुबैतिर बसेका दर्शक, समर्थक, खेलप्रेमीले झन वातावरण गरमागरम बनाएका थिए । समर्थक, सहभागि, आयोजक सबैलाई भरपुर आनन्द, मनोरन्जन दिन राष्ट्रियस्तरका कलाकारहरुको संगित टोली खटिएकै थियो । बाहिरि माहोल हेर्दा धावकहरुको थकान बिर्सिईन्थ्यो । झन झन नाच्दै र गाउँदै दौडिन्थे । एउटै विशाल पर्व थियो त्यो । मानव समुद्र बाँध फुटाएर उर्लेको अवशर थियो त्यो । प्वाँ प्वाँ र पुँपुँ चमक र सवारी साधनको चाप त्यसदिन ठप्प थियो । लाग्थ्यो, बेल्जियम सरकारले सवारी सडक रद्द गरेर मान्छे दगुर्ने गोरेटोमा बदलिदियो । राता बत्तीहरुका बिचमा चहकिला बत्ती बालेर दगुर्ने गाडीका लाम बेपत्ता थिए । अन्य दिन ति टनेलका भुइँ छुस्स छुन खोजेपनि कारवाही भोग्नुपर्ने, गाडीका पाङ्रामुनी किचिनुपर्नेमा त्यसदिन हामी दौडकर्ताले बिचबाट आनन्दले दगुर्दै मज्जा लिएका थियौं । टनेलका ओराला र उकाला पार गर्दा झनै मज्जाको अनुभूती हुन्थ्यो ।
बेल्जियमको मौसम न हो । घरि झलमल्ल घाम लाग्छ । घरि सिमसिम पानी पर्छ । कहिले बतासले कमिज टोपी उडाउलाझैं गर्छ । तर त्यो संगित, बिभिन्न देशका मानिसको दौड सँगै हाउभाउ र रमाईलो, सडकका छेउबाट नरोकिइकनै बजेका तालीले हामीलाई घाम न पानी, न जाडो न चिसो कुनै अप्ठेरो महसुस भएन ।
सिंगो शहर यतै ओर्लिएझैं लाग्थ्यो । यहि माहोलमा मैले ९४ मिनेटमा यो दूरी पार गरें । बिभिन्न मुलुकका २७ हजार सात सय सहभागि मध्ये २७ हजार छ सय ९९ लाई उछिनेर बेल्जियमका निक भान पेबोर्ध प्रथम भए । उनले ४८ मिनेट ४२ सेकेण्डमै १६ किमी यो धरतीको माटो नापिदिए । महिलामा ५७ मिनेट र ५७ सेकेण्डनै लगाएर लोरे ताक प्रथम बनिन् ।
आयोजक शहर आन्तर्पेनका नगर प्रमुख तथ एन भि आ पार्टीका अध्यक्ष वार्त दे वेभरपनि ४२ किमी लामो म्याराथुनमा सहभागि थिए ।
म्याराथुन भन्नासाथ हामीलाई बलिया पाखुरा भएका । गोडा बटारिएका र मासुका चोक्टा फुलेझैं देखिने । शरिर मिलेको, पातलो, छरितो, तन्दुरुस्तले मात्रै भाग लिन सक्ने भन्ने लाग्छ । तर यो म्याराथुनमा यस्ता मानिस मात्रै थिएनन् । अझ अचम्म लाग्दो त कोहि क्रित्रिम गोडा जोडेर जिवनयापन गर्नेपनि सहभागि थिए । अझ कोहि त व्हिल चेयरमै थिए । आठ महिनाकी गर्भवतीदेखि साना बच्चा विकासे कोक्रोमा च्यापेरपनि कोहि सहभागि थिए । ब्रिद्दहरुसमेत स्वाँस्वाँ नगरि दगुरेको देख्दा हामीलाई बरु बुढेसकाल लागेजस्तै महसुस हुन्थ्यो । १२५ देशका ३८ हजार पाँच सय नागरिक सहभागि थिए । ति हरेक म्लाई टिसर्टको मूल्य फरक फरक रोजाईको थियो । अधिकांशले दश युरो गोटामा टिसर्ट किनेका थिए । त्यसबाट उठेको ६१ हजार तिन सय ७० युरो त्यहि दिन सबैका सामुन्ने क्यान्सरसँग संवन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो ।
यो म्याराथुन आगामी वर्ष म्याराथुन ओलम्पिक शुरु भएको एक सय वर्षको उपलक्ष्यमा सेप्टेम्बर १२ तारिखकादिन नयाँ तरिकाले आयोजना हुने जनाइएको छ । जित्न नसकिएला यसबाट हामी नेपालीले धेरै उत्साह आर्जन गर्न सक्छौं । धेरै ज्ञान लिन सक्छौं । आगामी वर्ष धेरै नेपाली मिलेर सहभागि बनौं । यताको ज्ञान उता बाँडौं । नेपाललाई यता चिनाउन जति सकिन्छ उति गरौं । आफुपनि रमाऔं । रमाईलो सितै ज्ञान र उपयोगी कर्मपनि गरौं ।