निमका छेस्का बेचेर लाखौंलाख आम्दानी, निमको दन्तब्रुस अति लाभदायक

चिकित्शकहरु भन्छन् ‘हरेक दिन दाँत माझ्नुपर्छ ।’ प्राय विहान र साँझ दुई पटक दाँत माझ्नुपर्ने भनाई चिकित्सकको छ । अफ्रिकामा यसको अर्थ भिन्नै लाग्छ ‘दाँत माझ्ने ब्रुस दिनभरि मुखमै राख्नु ।’

कुनै रुखका साना हाँगा काटेर दाँत माझ्नुभएको छ ? पहिले पहिले गाउँघरमा विशेषखाले रुखका साना हाँगा काटेर त्यसले माझ्ने चलन थियो । नेपाल, भारत, श्रीलंका र अफ्रिकामा अझैपनि छ, यो चलन । त्यहि रुखका हाँगा काटेर दाँत माझ्ने ठेड्का बेचेर मानिसहरुले लाखौं कमाईरहेका छन् । स्वास्थ्यका लागि उत्तिकै फाईदा गरिरहेको छ ।

अहिले यसरि छेस्काले माझेको देख्नेमा ‘पाखे’ भन्छन् । हाम्रोतिर शहरी क्षेत्रमा देख्नै मुस्किल छ । तर अफ्रिकाको सहारा मरुभूमी ओगट्ने महादेशभरिनै छ्याप्छ्याप्ती देखिन्छ । ठूलाठूला ब्यापारीहरुलेपनि मुखमा सानो छेस्को अड्याएर ब्यापारिक काममा लागेको देखिन्छ । त्यो छेस्का तिनले दिनभरि मुखमा राख्छन् । अलिअलि टोकेर चपाउने, चुस्ने गर्छन् । खाना खाने बेला झिकेर केहि बेरलाई थन्क्याउँछन् ।

अफ्रिकीहरुले आफ्नै झाडीबाट साना हाँगा काटेर बनाउँछन् । हाम्रोतिरपनि अंबा (बेलाउति), कागती, भोगटे, निमका साना हाँगा काटेर माझ्ने चलन थियो । थारु समूदायमा यो चलन ज्यादा थियो । अफ्रिकामा रुखका हाँगा काटेर बनाउने ब्रुस सस्तो, सजिलो र दाँतकालागि फाईदाजनक छ । ‘काठबाट आउने रसले प्लास्टिकको ब्रुसले भन्दा धेरै गुणा राम्रोसित दाँत सफा गर्छ’ अफ्रिकीहरु भन्छन् ।

यो असाध्यै फाईदाजनक छ, स्वास्थ्यकालागि । त्यसैले यता युरोपतिर अहिलेपनि केहि अफ्रिकी मूलका नागरिकले साना टुक्रा हातमा लिएर दाँत माझेको देखिन्छ । अन्यत्र थाह छैन, तर ईटाली, स्पेन, पोर्चुगलतिर अफ्रिकीहरुको बर्चस्व भएका पसलमा (अफ्रिकी ग्राहक धेरै जाने, अफ्रिकीलेनै चलाएको पसल) पाइन्छ । रोयटर्सका अनुसार त अहिले यस्ता छेस्काहरु अमेरिकामापनि बिक्रि हुन थालेको छ । अफ्रिकीहरुको भनाईमा यसले मुखको गन्ध हटाउने, दाँत सफा राख्ने, मुख सफा पार्ने र रसले पेटलाईपनि सफा राख्छ । दिमाखको लागिपनि यो स्वास्थ्यबर्धक छ ।

विश्व स्वास्थ्य संगठनले पनि काठका यस्ता दन्तब्रुसहरुलाई ‘दाँत सफा गर्ने धार्मिक महत्व बोकेको, स्वास्थ्यकालागि बैकल्पिक स्रोत’ भनेर उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनक अनुसार गरिब मुलुककालागि यो मुखको स्वास्थ्यका लागि राम्रो बिकल्प हो जहाँका नागरिकले ब्यापारिक उत्पादनको ब्रुस किन्न सक्दैनन् । सेनेगालका मुस्लिमहरुले चाहिँ यसलाई सफा रहन प्रयोग गरिने धार्मिक वस्तुका रुपमा लिन्छन् । ‘धार्मिक कर्म गर्न मानिस सफा रहनुपर्छ, त्यसको एउटा मुख्य भूमिका खेल्ने दाँतपनि हो । त्यसैले दाँत सफा गर्न धार्मिक वस्तुको प्रयोग हुनुपर्छ ।’

अफ्रिकाबाट निमका साना साना हाँगा काटेर मुठा पार्ने र त्यसलाई युरोपेली बजारमा पठाउने रहेछन् । निम कति फाईदाजनक हो धेरैलाई थाह भएकै कुरा हो । दाँतलाई त निमले असाध्यै बलियो, चम्किलो बनाउने रहेछ । सफापनि ज्यादै राम्रोसित गर्छ ।

निमको काठबाट काईयो बनाएर कोरेमा कपाल नझर्ने, बलियो बनाउने र कपालको रोग नलाग्ने वा कम गर्ने भनाईपनि अफ्रिकीको छ । त्यसैले निमको काठबाट काईयो बनाएरपनि तिनले बिक्रि गरिरहेका छन् ।

अफ्रिकीहरुले मसलाको रुखका हाँगा काटेरपनि ब्रुस बनाउँछन् । खासगरि निमका हाँगा बढि प्रचलनमा देखिन्छ । निम उमार्न, हुर्काउन र खेति गर्नपनि सजिलो छ । तातो मौसम हुने देशमा निम सजिलै हुर्किन्छ । एशियाली मुलुकका देशमा झनै राम्रोसित हुन्छ निम । निम मधुमेह, उच्च रक्तचापको औषधीका रुपमापनि प्रयोग गरिन्छ । अफ्रिकी मुलुकबाट निमका डाँठहरु युरोप, अमेरिका र अन्य मुलुकमा लाखौं युरो बराबरको निकासी हुन्छ ।

अहिले फ्रान्सेलीहरुलेपनि बाँसबाट ब्रुस बनाउने अभियान थालेका छन् । प्लास्टिकबाट अब मान्छे वाक्क भए । आधुनिक वस्तुले गाउँको पुरानो सिप केहि समयकालागि ध्वस्त पारे पनि अब बिस्तारै उहि पुरानो प्रविधीमै फर्किन रहर गर्दै छन् । हाम्रो जस्तो देशले त झन निमका छेस्का बेचेरै लाखौं कमाउने संभावना छ ।

तपाइँको प्रतिक्रिया