सत्यलाई ढाकछोप गर्न एन आर एन बेल्जियमको बिज्ञप्ती

-सन्तोष न्यौपाने / बेल्जियम

नेपाल प्लसमा प्रकाशित समाचारपछि एन आर एन बेल्जियमले खण्डन गर्दै विजिप्ती जारी गर्यो । जुन सामाजिक सञ्जालको ग्रुप च्याटदेखि सार्वजनिक फेसबुक वालमा व्याप्त छ । यही विज्ञप्तिलाई आधार बनाएर एन आर एन बेल्जियमको विश्लेषण गरौं ।

एन आर एन बेल्जियममा सबैभन्दा बढि हावी प्रवक्ता दीपेन्द्र केसी रहेको विज्ञप्तिले प्रस्ट पारेको छ । अहिलेसम्मको नियम तोडेर उनले विज्ञप्तिमा आफ्नो नाम समेत जोडेर बाहिर ल्याए । सामान्यता विज्ञप्ती जारी गर्दा प्रवक्ता वा महासचिव वा अति महत्त्वपूर्ण भए महासचिव र अध्यक्षले जारी गर्ने नियम हुन्छ । तर एन आर एन बेल्जियमले यो नियम उल्लंघन गर्दै तिनै जनाको नाम राखेर प्रेस नोट जारी गर्यो । प्रवक्ता केसीको नजरमा उनलेनै तयार गरेको विज्ञप्ति भएकोले यो सही नै होला । तर नियम्बद्ध जाने हो भने यो सरासर गलत छ । यो प्रवक्ता केसीले बुझ्ने कुरो हो ।

अर्कोतर्फ विज्ञप्तिमा ति जनाको नाम छ । कार्यसमिति भित्रकै केहीले आफू यसबारेमा अनविज्ञ भएको प्रस्ट बताएका छन् । “जब प्रेस नोट बाहिर आयो तब थाहा भयो । न त बैठक बसालियो न कुनै छलफल । केही व्यक्तिको हालीमुहालीको प्रतिफल हो यो’ कार्यसमितिमा रहेका एक ब्यक्तिले बताए । प्रेस नोट निकाल्न बहुमत हुनुपर्दछ । के आफूखुसी निकाल्न पाइन्छ ? यसबाट एन आर एन बेल्जियमको अध्यक्ष लोक दाहाल भएपनि चालक दल अरु नै कोही छन् भन्ने प्रस्ट हुन्छ ।

अब लागौं विजिप्तिमा खण्डन गरिएका विषयवस्तु तर्फ । विजिप्तिमा राजदुतावासबाट राम्रो सहयोग भएको विविध कार्यक्रमबाट प्रस्ट हुन्छ भनिएको छ । तर समाचारमा दुतावासले कुन विषयमा सहयोग गर्न आनाकानी गर्यो भन्ने प्रस्टै छ । महिला उत्पीडन का घटना होस् वा दलालीका घटना, दुतावास चोखिन खोजेको प्रस्टै छ । बाँकी दुतावास र एन आर एनको पहलमा हुने अन्तर्क्रिया कार्यक्रम सामान्य विषय नै हुन्। यसलाई विज्ञप्ति तयार पार्ने प्रवक्ता केसीले नबुझेको प्रस्ट देखिन्छ ।

बेल्जियम स्थित नेपाली समाजमा घटेका हरेक घटनाहरुको समाधान तर्फ एन आर एन लाग्नुपर्ने हो । अझ महिला उत्पीडनका घटना सार्वजनिक हुँदाबित्तिकै एन आर एनले अभिभावकीय भूमिका खेल्नु जरुरी छ । व्यक्तिगत घटना भन्दै पन्छिने हो भने पदिय दायित्वबाट राजीनामा दिए उत्तम हुन्छ । सबै संस्थाको साझा चौतारी एन आर एन बेल्जियम कसैको पेवा पक्का होइन । यहाँ भित्र रहेका हरेक पदाधिकारी वा कार्यसमितिका साथीहरुलाई नातावाद, कृपावाद,लगायतका गुटबन्दी विचार त्याग्नै पर्दछ । होइन भने हरेक लेखको खण्डन गर्दै यस्ता विज्ञप्तिप्रेस नोट दर्जनौं निस्कन्छन् । त्यस्ता विज्ञप्ति औचित्यहीन नै हुनेछन् ।

एन आर एन बेल्जियमको एक वर्षमा बसेका बैठकहरुमा काम उपस्थित हुने प्रेम तिमिल्सिना र उपस्थित नै नहुने रबिन पण्डित भनेर अध्यक्ष लोक दाहाल मात्रै होइन अरूले पनि हाकै भन्ने गरेका छन् । यो कुरालाई लुक्याउन विज्ञप्ति नै जारी गर्नुपर्ने कतिसम्मको लाजमर्दो स्थिति हो ? किन गलत लाई गलत र सही लाई सही भन्न कन्जुस्याइँ गर्ने ? के समाजलाई सही दिशामा लैजानकै लागि पदिय जिम्मेवारी लिएर अगाडि बढ्ने प्रतिबद्दता जाहेर गरिएको थिएन र ?

यति मात्रै होइन । केही दिन अघि सम्पन्न वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन पनि झारा टार्ने भनेर धेरैले बताए । अघिल्लो दिनसम्म प्रतिवेदन तयार थिएन । लथालिङ्ग अवस्था रहेको र कोषाध्यक्षले नभइ अरू कोही व्यक्तिले रातारात लगाएर प्रतिवेदन तयार गरिदिएको कार्यसमितिकै व्यक्तिले बताएका थिए । अब भन्नुस् एन आर एन बेल्जियमको हालत कुन दिशामा जाँदैछ ?

एन आर एन केन्द्रका अनुसार एन आर एन भवन निर्माणका लागि भनेर बोलेको रकम नदिनेमा धेरै बेल्जियमका छन् । यो भन्दा लाजमर्दो अरु के हुनसक्छ ? कि यसलाई पनि विभिन्न बाहानामा झारा टार्ने काम गर्ने ? यो त धेरै परको कुरा भयो । केही समय अगाडि शीतलहरका पीडितलाई सहयोगका लागि बोलेको रकमपनि केही व्यक्तिले धेरै पछि मात्रै दिएको सबै सामु प्रस्ट नै छ । यसमा एन आर एन बेल्जियमले के गर्न सक्यो ?

बेल्जियममा युवा पिढीको बाहुल्यता बढदै छ । एन आर एन बेल्जियमले उनीहरूको लागि एक वर्ष भित्र के के काम गर्यो ? युवा संयोजकको पहलमा युवाहरुको लागि केके उल्लेखनीय कार्य भए ? क्षेत्रीय संयोजक र तिनको मातहतमा रहेका पदाधिकारीको सक्रियतामा केके काम भए ? यो समाचारको खण्डन गर्दै आउने अर्को प्रेस नोटमा सबै जवाफ पढ्न पाइयोस् ।

बेल्जियमको नेपाली समाज साँच्चै परिवर्तन गर्ने हो भने गलत लाई गलत भनेर औंला उठाउनु पर्दछ । जब ढाकछोप र चाकडी गरिन्छ,ज्यू हजुर लगाइन्छ तब सही विचार पनि गलत साबित हुन पुग्दछ । आफ्नो स्वाभिमान कुल्चेर जिउनुको मज्जा हुँदैन । गलत भन्ने जान्दा जान्दै पनि मौन बस्नु मूर्खता सिवाय केही होइन । यो परम्परा एन आर एन बेल्जियममा मात्रै होइन बेल्जियम स्थित बुद्धिजीवी वर्गमा पनि उत्तिकै व्याप्त छ । यो जरैदेखि उखेल्न एन आर एन बेल्जियमको वर्तमान जागरुक कार्यसमितिमा सामर्थ्य रहोस् ।

तपाइँको प्रतिक्रिया