राजदुतले कस्ता गैह्र आवासिय नेपाली प्रति गर्व गर्ने ?

-सन्तोष न्यौपाने / बेल्जियम

“बेल्जियममा धेरै नेपालीहरुले व्यवसाय गरेर बसिरहनु भएको छ । लगभग करोडौं युरोको लगानी यही गर्नु भएको छ । यो कुरा मैले बेल्जियमका उच्च स्तरका नेताहरु संघको भेट्घाटमा उदारहण दिँदै भन्ने गरेको छु र मलाई गर्व लाग्दछ।” बेनेलुक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले हरेक पटकको नेपाली कार्यक्रममा दोहोराएर भन्ने भाषण हो यो ।

राजदूत थापा क्यारियरको माध्यमबाट राजदूत भएर बेल्जियम आयका हुन । कूटनीति क्षमतामा अब्बल मानिने थापाले खाली यही कुरालाई किन दोहोराएर भन्न चाहे । यो विषयको खोजी हुनुपर्दछ ।

बेल्जियममा लगभग चार सयको हाराहारीमा नेपाली व्यवसायी छन् । सामान्यदेखि ठूला ठूला व्यवसाय गर्ने सम्मका नेपाली यहाँ छन् । यिनीहरू मध्ये केही नेपाली नै हुन भने केही नेपाली मूलका बेल्जीक नागरिक भइसकेका छन् । यिनीहरू मध्ये धेरैले बेल्जियममा आर्जन गरेको कमाई यहिँ लगानी गरिरहेका छन् भने कतिपयले आफ्नो व्यवसाय सञ्चालनका लागि नेपालको सम्पत्ती बेचेर यता ल्याएका छन् । तर यताको कमाइ नेपाल लगेर व्यवसायमा लगानी गर्ने नेपालीको संख्या एकदम न्यून देखिन्छ । अब प्रश्न उठ्छ यों अवस्थामा राजदुतले यी नेपालीहरु प्रति किन गर्व गर्ने ?

बेल्जियममा कमाएको कमाई स्वदेश गएको छैन । बरु बेल्जियममा नै प्रयोग भएको छ । यसको मतलब बेल्जियमको अर्थतन्त्र मजबूत बनाउन थप सहयोग नेपालीले गरेका छन् । बरु ठूलो रकम नेपाल र बेल्जियममा कारोबार गर्दा हुन्डी व्यवसायीहरु भने पक्का फस्टाएका छन् । बैंक मार्फत ठूलो रकम नेपाल पठाउन सकिँदैन । जसको कारण नेपाली रकम नेपालमा दिने र यता युरो दिने प्रचलन बढी नै छ । भूकम्प पीडितहरुको लागि उठेको रकम नेपाल पठाउँदा पनि यही विधि अपनाइएको थियो । अब यो अवस्थामा राजदुतले यी नेपालीहरु प्रति गर्व गर्नु भन्दा यताको आर्जित सम्पती नेपालमा जति सक्यो धेरै पठाउन मिल्ने ब्यबवस्था बेल्जियम सरकारसँग गराइदिनु पर्दछ ।
अर्को तर्फ आगामी अक्टोबरमा हुने स्थानिय निकायको चुनावमा नेपाली समुदायबाट आधा दर्जन बढी नेपालीहरु यहाँको राजनैतिक दलमा आवद्ध भई ती दलले उम्मेद्वार बनाएका छन् । यो आफैमा खुसीको कुरा हो । तर ती उम्मेद्वार आफ्नै परिश्रमले उम्मेद्वार बनेका हुन । न त त्यसमा दुतावासको हात नै छ न नेपाल सरकारको । त्यस्ता उम्मेद्वार नेपाली मूलका बेल्जीक नागरिक हुन् । अब यसमा पनि राजदुतले गर्व गर्ने ? बरु यी नेपाली भित्र पनि रहेको फाटोलाई मिलाएर कुनै एक उम्मेदवारलाई मात्रै जिताउन सकियो भने बरु नेपाली समुदायले राजदूत प्रति गर्व गर्नेछन् ।

अहिले नेपाली नेपाली उम्मेद्वार बीच फाटो परेको छ । नेपाली राजनीति लाई यहाँको राजनीतिमा घुसाएर उम्मेद्वार हराउन नेपाली नै लागि परेका छन् । यो अवस्थामा राजदूत थापाको भुमिका महत्त्वपूर्ण हुन्छ । उनले नेपाली समुदायलाई एकत्रित बनाएर कुनै एक उम्मेदवारलाई जिताउन पहल गरे भने उनले यो कार्य प्रति घमण्ड गर्न सक्छन् ।

यो त भए वर्तमान अवस्थामा देखिएका केही विषयहरू । अब लागौं राजदुतले गर्व गर्न लायक केही कुराहरू तर्फ । बेल्जियममा हरेक वर्ष नेपालबाट इरासमासको छात्रवृत्तिबाट बेल्जियम अध्ययन गर्न आउने विद्यार्थीको सांख्या दर्जन बढि छ ।उनीहरू स्नातकोत्तर तथा पी इच डी गर्न आउने गरेका छन् । उनीहरूले अध्ययनको क्रममा नयाँ नयाँ खोज गरेर कृतिमान राखेका छन् । उदारहणको लागि विगतमा गेन्ट युनिभर्सिटीमा पी इच डी गरेका सावित्रा घिमिरेको जोडीलाई लिन सकिन्छ । ती विद्यार्थी प्रति गर्व गर्न सकिन्छ जसले कृषिमा विशेष दक्षता हासिल गरेर नेपालमा कार्यरत छन् । राजदुतले यस्ता गर्व गर्न लायक विद्यार्थीको मात्रामा वृद्धि गर्नको लागि बेल्जियम सरकार वा युरोपियन युनियनसँग छात्रवृत्तीको लागि विशेष कोटाको माग गर्नुपर्दछ । भारतबाट हरेक साल पाँच सय बढी विद्यार्थी छात्रवृत्तिमा अध्ययन गर्न आउँछन । यो मात्रामा नभए पनि केही हदसम्मको लागि राजदूत थापाले पहल गर्ने सक्ने अवस्था छ जुन उनको कायकलमा गर्व गर्न लायक विषय हुनेछ ।

राजदूत थापाले अर्को गर्व गर्न लायक विषयको लागि बेल्जियम वा नेदरल्याण्ड्सबाट सिधा नेपालको लागि उडान ब्यबस्था गर्न विभिन्न हवाई कम्पनी संग छलफल गर्न सक्ने अवस्था छ । हरेक वर्ष बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग, जर्मनी, फ्रान्स, स्पेनबाट हजारौं पर्यटक नेपाल जाने गर्दछन् । उनीहरू र नेपालीको लागि पर्यटकिय महिनाहरू कम्तीमा छ महिना मात्रै सीधा उडान गराउन सके पनि देशको लागि धेरै फाइदा हुने देखिन्छ । त्यसको लागि नेपाली पर्यटन दुतहरुलाई सक्रिय बनाएर राजदूतले विशेष पहल गर्न सक्नुपर्दछ । अनी राजदूत थापा र उनले गर्व गर्ने ठाउँ रहन्छ।

नेपालको प्रचार प्रसार र सहयोगको लागि धेरै बेल्जीक नागरिक खटेर लागि परेका छन् । उनीहरूले सकेको सहयोग विभिन्न क्षेत्रमा गरिरहेका छन् । हो, उनीहरू प्रति राजदूत र दुतावासले गर्व गर्नुपर्दछ । उनीहरुलाई विशेष सम्मान दुतावास वा नेपाल सरकारद्वारा दिलाउनु पर्दछ । यस तर्फ दुतावासको ध्यान उत्तिकै जानु जरुरी देखिन्छ ।
राजदूत आफैमा उच्च पद हो । अझ क्याबाट आएका राजदुतले आफ्नो चार वर्षे कार्यकालमा के कति उपलब्धि भए वा गर्न सकिन्छ भन्नेमा धेरै जोड दिनुपर्दछ । युरोपमा बसेका नेपाली र खाडी मुलुकमा कार्यरत नेपाली नेपाली बीच धेरै फरक छ ।त्यो फरक युरोपियन नेपाली राजदुतले बुझ्न सक्नुपर्दछ । देशको लागि कुन बढी महत्त्वपूर्ण छन् भन्ने कुरा उनीहरूले बुझ्न सकेमा बढी फाइदा हुने देखिन्छ । होइन भने धेरै फाइदाजनक कुराहरू बिचमै छाडिने र आफ्नो क्यारियरको विशेष ध्यान गर्दा दलाल, चम्चागिरि र नेतागिरी चंगुलमा राजदूत फस्ने संभावना हुन्छ । यसतर्फ सबैले ध्यान दिनु जरुरी देखिन्छ ।

तपाइँको प्रतिक्रिया