कीर्तिपुर सहरबारे लुकेका तथ्य

गोपीचन्द्र कार्की

कीर्तिपुर आफैमा एउटा पुरानो ऐतिहासिक सहर हो । ऐतिहासिक सहर कीर्तिपुर घुम्दा कला संस्कृति, मन्दिर चैत्य र चाडपर्वले भरिभराउ भएको पाइन्छ । गुँलापर्व शुरु भएपछि त कीर्तिपुर सहर, टोल टोलमा रहेका पाटी पौवाहरुमा विहानै देखि नेपाल भाषाका भजन कीर्तनले गुन्जायमान हुन्छ । कीर्तिपुरका रक्षकको रुपमा रहेको बाघभैरव मन्दिरमा विहानै देखि भक्तजनहरुको संधै घुइचो लाग्छ । कीर्तिपुरको उच्चस्थानमा रहेको कोतघर र उमामहेश्वरको मन्दिरमा दर्शन गर्नेहरु र उपत्यका हेर्न आउनेहरुको को संधैनै भिड देखिन्छ ।

हरेक विहान कीर्तिपुर पुग्दा नेवार कला संस्कृति परम्परा र नेवारी जीवनशैलीको संग्रालय जस्तै लाग्छ । भूकम्पले क्षति पारेर बन्दै गरेको चिलन्चो विहार (जगतपाल विहार) वि।सं। १५७२ मा स्थापना भएको हो, जहाँ घुम्न आउने पर्यटकहरु संधै भेटिन्छन् । उमामहेश्वरको डवलीबाट उपत्यका छर्लङ देखिन्छ । उमा महेश्वरको मन्दिरमा अहिले रहेको ठूलो घंटामा इ।सं १८९५ उल्लेख छ । यो घंटा पहिला पहिला बज्दा पुरै कीर्तिपुर र हाम्रो गाउँघरतिर पनि मिठो धुन टनन।। ।टनन।। गरेर बज्थ्यो । तर अहिले घंटको एकातिर फुटेकोले खासै आवाज आउँदैन । अझ यस भन्दा पहिलेको घंटा बज्दा पुरै काठमाडौँ, भक्तपुर र ललितपुर तिनै सहर गुन्जन्थ्यो भनिन्छ । त्यो घंटा चोरिएर पाटन दरवारमा पुगेको छ । पाटनको नर्सिङ दबुली अर्थात कृष्णमन्दिरको चोकबाट अहिले पनि कीर्तिपुरको त्यो चोरिएको घंटा देख्न सकिने भनेर बुढापाकाहरु भन्छन् ।

वारी तीनथाना पारी कीर्तिपुर साँधमा बल्खुखोला । सानै देखि देखेको कीर्तिपरमा पाइलैपिच्छे कलात्मक मन्दिर, चैत्य, ढुंगेधारा र कलात्मक झ्यालढोका आदि देख्न पाइन्थ्यो । कीर्तिपुरमा प्राय बौद्धधर्म मान्नेहरु रहे पनि मठ मन्दिर चैत्य, गुम्वा स्तुप भने बौद्ध र हिन्दुधर्मका सरोवर देखिन्छन् । हाम्रो तिर हिले धुले बाटो छँदा उता कीर्तिपुर सहरभित्र जताततै ढुँगा, इटा विच्छाइएका वाटाहरु हिँड्न पाइन्थ्यो । छ सात वर्ष देखि गाइगोठाला जान थाले देखिनै कीर्तिपुरको सेरोफेरो लगाएको छु । सुरुमा हाम्रो खानेपानीको स्रोत कीर्तिपुरनै भएकोले खानेपानीका सिलसिलामा पनि धेर्रै पटक आइजाइ हुँदा धेरै साथीसँग यही वेला चिनजान पनि भयो । कीर्तिपुरका पुराना मानिसले अझै पनि हामीलाई डुप्पा बासी भनेरै चिन्छन् । बल्खुखोलाको दिःखुमा रहेको चिहान पश्चिम हाम्रो गाउँ भएकोले डिपा अर्थात चिहान नजिकैको गाउँ भएकोले हामी डिपाबाट अपभ्रंस भएर डुप्पाबासी भयौंं ।

अस्पतालका नाममा बीरअस्पताल र कालिमाटीका कम्पाउण्डर चिनियामान वाहेक हाम्रालागि उतिवेला औषधी गर्ने अर्को ठाउँ नजिकको अर्थात कीर्तिपुरका इसीलाल (इश्वरलाल) र व्रम्हचा थिए । कपाल काट्न, हात खुटृा मर्के भाँचिए नाउ जोगलाल बा र भाँडाकुँडा वनाउन पाइन हाल्न कर्मीका घरमा कीर्तिपुर जानैपर्ने थियो । कपाल काट्ने र भाँडाकुँडा पाइन हाल्नेले भने वर्षेनी बाली लान्थे । यसरी किर्तिपुरसँग मेरोे सम्वन्ध वालापन देखिकै हो ।

हाम्रो गाउँतिर पनि कीर्तिपुरेको प्रसस्तै जग्गा जमिन भएकाले उनीहरुको पनि यता त्यस्तै सम्वन्ध थियो । कीर्तिपुरको इन्द्रायणी मन्दिर तल ठूलो ढुँगा थियो, जहा हामी गोठाला गए पिच्छे त्यसलाइ हात्ती सँझेर चढ्थ्यौँ । साँच्चै त्यो अजङगको ढुंगा अहिले छैन, त्यस ठाउँमा घर वनिसके । अर्को खाँसि वजारतिर जाने ठाउँमा भएको ढँगामा खोपो जस्तो थियो जहाँ हामी ढुँगा फालेर खेल्थ्यौं । चिहान नजिकै पनि यस्ता अचम्मसँग अडेका ठूला ढुँगा थिए ति पनि आज छैनन् । अहिले कीर्तिपुर अस्पताल नजिकको पाँचभाइ चिलाउनेको रुखमुनिको चौर त गोठालाको मुख्य खेल्ने थलोनै थियो । एकै ठाउँमा पाँचवटा चिलाउनेको रुख हत्केलाका औँला जसरीनै वसेको थिए । त्यसैले पाँचभाइ भनेको होला । दशैंताका कीर्तिपुरको कोतघरमा हनुमान ढोकामा फुलपाती जसरी भित्राइन्छ त्यसरीनै यहांँ पनि भित्राइन्थ्यो । जमरा रख्थे र ९ दिनसम्म तीनथानाकै मगरहरु गएर जमराको पूजा गर्थे । उनीहरु अहिलेसम्म पनि छँदैछन् । ०४७ , ०४८ सालबाट भने कोतघरमा यहाँका मगरहरु गएर जमरा राख्न पाएनन् । त्यो तिनथाना अथवा कीर्तिपुरको पश्चिमटृी डुप्पातिरवाट बल्खुखोलाको पुरानोपुल पारगरेपछि कीर्तिपुर पुग्ने तीनवटा वाटा छन् । तीनवटै बाटो ढुंगा छापिएका थिए । पुरानो कीर्तिपुरलाई चारैतिर अग्ला ढुंगाको गाह्रोको पर्खालले घेरिएको किल्ला भित्र थियो । पूर्व पश्चिम लम्वाइ रहेको कीर्तिपुरभित्र १४ वटा साना ठूला ढोकाहरु रहेका छन् । पहिलेको कीर्तिपुर सहर ढुँगाको पर्खालले घेरिएको किल्ला भित्र मात्र थियो । पर्खाल वाहिर एउटा पनि घरहरु थिएनन् । किल्ला वाहिर वनेका घरहरु पछि पंचायतकालमा थपिएका हुन्, ०३६ साल ०४६ सालमा ।

वल्खुखोलामा रहेको पुरानो पुल तरेर तल्लोवाटो सिदै जांदा खाँसिवजार पुगिन्थ्यो । कीर्तिपुर र आसपास गाउँका लागि खाँसिवजार उतिवेलाको ठूलो बजार हो । खाँसि बजार पुग्नु अगाडि गुहिनेटोल आउँथ्यो । त्यो अति फोहर थियो । यतावाट जाँदा पहिलो पोखरीलाई नेवारहरु नेपाल भाषामा ‘लाभा पुखू’ भन्थे । त्यो पोखरी कटेपछि नाउ जोगलालको घर अगाडि अर्को पोखरी आउंथ्यो त्यो बीचको पोखरीलाई नेवारहरु ‘भिं पुखू ’ भन्थे । पहिले भिं पुखूमा दूध पोखरी देखि कुलो बनाइ पानी ल्याएर यसमा हालिन्थ्यो । यो पोखरी भरिए पछि दायाँ वायाँका पोखरी पानी भरिन्थ्यो । पहिले पहिले यही पोखरीको पानी पुरै कीर्तिपुरवासीले बोकेर खाने गर्दथे भन्ने सुनिन्छ ।

प्रहरी चौकी अगाडिको पोखरीलाई भने मभिं पुखू भनिन्थ्योँ । यसैको छेउमा ०४६ सालका ऐतिहासिक जनआन्दोलनमा चैत्र २० गते सहिद भएका लनबहादुर महर्जन, हिराकाजी महर्जन,राजमान माली, र राजेन्द्र महर्जन समेत ४ जनाको सालिक रहेको छ । यी सहिदका मुर्तिहरु तीनथानाकै वलराम (रामकृष्ण) भण्डारीले वनाएका हुन् । तीनथानाबाट सहिदको मूर्तिलाँदा तत्कालिन एमालेकी नेतृ बिद्यादेवी भण्डारीले एक कार्यक्रमबीच हस्तान्तरण गर्नु भएको थियो । कीर्तिपुरबाट आएको ठूलो जन समुहले बाजागाजा सहित सहिदहरुको सालिक लगेका थिए । यसरी वस्ती भन्दा तल कीर्तिपुरको दक्षिण तर्फ लस्करै तीनवटा पोखरी थिए । सबै पोखरी पानीले भरिएका हुन्थ्ये । खेती किसानी गर्नेहरु, लुगा धुने तथा भांडा भाज्ने , खेतवाट फर्केपछि हातगोडा धुने विहान सवैरै उठेर हात मुख धुने लगायत दिसा धुने काम पनि यही पोखरीमा गरेको देखिन्थ्यो । लामो समय सुख्खा अवस्थामा रहेको पोखरी अहिले भने जनप्रतिनिधि आइसकेपछि पुनः यी पोखरीहरुलाई पुरानै स्वरुपमा फर्काउने गरी काम भै रहेको देखिन्छ ।

दोस्रो वाटो बीचको ढुँगा छापेको बाटो थियो । जुन वाटोको माथि दाहिने पटिृ एउटा शिला लेख भएको गाडिएको ढँंगा थियो । ठाडो ढुँगा भनेर हामी भन्थ्यौ । यो बाटो समल पुगिन्थ्यो । कीर्तिपुर भरीका मृतकको लास बाहिर यही समल ढोका भएर वल्खुखोलामा रहेको चिहानमा अन्तिम संस्कारका लागि ल्याइन्छ । लास ल्याउंदा उतिवेला प्राय सवैको काल वजारएरै ल्याउँथे । हामी सानो छँदा प्राय दैनिकै दुइ तीनवटा लास नल्याएको विरलै हुन्थ्यो । अचेल शिक्षा स्वास्थ्य चेतनाका कारण अकालमा मर्नेको संख्या पनि ज्यादै कम देखिन्छ । चिहान भने पहिले देखिनै जाति पिच्छेकै थिए । अहिले झन् धेरै देखिन्छ । कालवजाएर लास ल्याउने चलन पनि कम भएकै छ । यही बाटोबाट गठेमँगलका दिन नर्कट, छ्वालीबाट बनाइएको गठामँग (घण्टाकर्ण) लाई तीनथाना र कीर्तिपुरको सीमानामा रहेको बल्खुखोलामा सेलाउने ल्याउन चलन धेरै पहिलादेखिको थियो । यही ढुंगेबाटोबाट घिसार्दै यता ल्याउन लागेका मानिसलाई तीनथानापटृीबाट भने ढुंगामुढा गरेर ल्याउन वा सेलाउन दिँइदैनथ्यो । हरेक वर्ष गठेमंगलका दिन दुवै तर्फवाट ढुंगा हान्ने, घुंयत्रो, गुलेली चलाउने गर्दथे । यता उता दुवै तर्फका धेरै मानिस घाइते हुन्थ्ये । हामी केटाकेटी त्यतिवेला गढेमंगल आउनु भन्दा अघि देखिनै ढुँगा, इटाका टुक्राका थुप्रो लगाउँथ्यौँ । राति अवेलासम्म पनि गठेमँगललाई बल्खुखोलामा सेलाउन दिंदैनथ्यौ । पछि एकदुई पटक ठुलै युद्ध मान्छे मर्नेसम्मका घटना घटे पछि भने धेरै वर्ष अघि देखि ढुँगाहान्ने चलन रोकियो । अचेल कीर्तिपुरबाट पनि बल्खुखोलामा गठेमँगल सेलाउने कार्य भएको देखिँदैन ।

तेस्रो माथिल्लो ठाडो बाटो पनि ढुंगा छापिएको बाटो थियो । जुन वाटोवाट देवढोका (देवताको ढोका ) जाने बाटो हो । त्यो ऐतिहासिक देवढोका अहिलेसम्म जस्ताको तस्तै छ । देवढोकासंगै रहेको ऐतिहासिक पाटीमा विहान विहान दाफा भजन भैरहन्छ । वाघभैरव जान पर्दा यही वाटो जानु पथ्र्यो । देवढोकाको अगाडि इन्द्रायणीको मन्दिर छ, जहाँ विहानै दर्शन गनेर्को भिड हुन्छ । कीर्तिपुर सहर वाहिर रहेको इन्द्रायणीको जात्रा हरेक वर्ष पौष सङक्रान्तिका दिनमा मनाइन्छ । यस दिनलाई कीर्तिपुरवासीहरुले सवभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् ।

कीर्तिपुर नगरपालिका हुनुभन्दा अघि कीर्तिपुरभित्र चिठुविहार, लायकु, बाघभैरव र बाहिरीगाउँ समेत ४ वटा गाविस थिए । इन्द्रायणी मन्दिर अगाडि एउटा पुरानो सानो पोखरी थियो । जुन अझै पनि छ । कीर्तिपुर नगरपालिका भए पछि कार्यालय यही पोखरी अगाडि रहेको छ । जहां हामी गोठाला जांदा सानो पोखरीमा निकै पौडि खेल्थ्यौ । पोखरीको डिलमै लाेंहकोटबाट आएको खानेपानीको एक धारा यहां खोलिएको थियो । जसवाट संधै पानी खसिरहने भएकोले अरु पोखरी भन्दा अलि सफा हुन्थ्यो । यहाँ अहिले पनि पोखरीको छेउमा सार्वजनिक रुपमा धारो रहेकै छ । यस संगै पाखामा रोपवे( रज्जुमार्ग) का अलि होचा दुइवटा खम्वाहरु अझै पनि छन् । खोलामा पौडिखेले पछि गोठाला आउँदा दोस्रो खेल यही रोपवेको खम्वामा चढेर भेट्टाइ खेल्थ्यौ । बुद्ध गुम्वाका रुपमा ढुँगाले गाह्रो लगाएको सानो घरमा गुम्वा थियो । टुंसिङद्धारेले चलाएको भन्थे । टुंसिङद्धारेका छोरा रत्न वहादुर मानन्धर पछि तीनथानाकै प्रधानपंच समेत भएका थिए । गुम्वा अगाडि अमलाको रुख भएकोले हामी अमला फल्ने समयमा अमला चोर्न जान्थ्यौ । टुसिङद्धारेले अमला चोर्नजांदा हामीलाई धेरै पटक लखटेका छन् । अहिले त्यहाँ ठूलो बौद्ध गुम्वा बनेको छ । सफा र सुन्दर बगैँचा छ , हेर्न जाने मानिस थुप्रै हुन्छन् । उतिवेला गुम्वाभित्र हामीलाई भित्रन प्रेरित गर्ने त्यो अमलाको रुख भने सुकेको भए पनि अझै छ ।

यताबाट बिश्वविद्यालय जाने वा बागमती खोलामा भएको लच्कनेपुल तरेर लगन खेलमा रहेको सदर चिडियाखाना जान सकिन्थ्यो । यही वाटो गए पछि पनि एउटा पोखरी कीर्तिपुरको उत्तर पटिृको भागमा दुइवटा पोखरी दक्षिण तर्फको भन्दा साना थिए । दुवै पोखरीको बीचमा एउटा पुरानो पाटी थियो अहिले मर्मत पछि सुन्दर पाटी भएको छ । पाटी अगाडिको सार्वजनिक पोखरीमा भने अहिले विष्णुदेवी अस्पतालको भवन र कम्पाउण्ड वालले घेरिएको छ । अलिपर विजुलीपाटी थियो । जहाँ कीर्तिपुरमा विजुली लान मेसिन राखिएको थियो । यहीवाट उक्लेर वाघभैरवको मन्दीर जान मिल्थ्यो । अहिले यो बाटोमा ढुँगाको राम्रो ११६ वटा खुड्किला रहेको सिँढी बनेको छ । बाघ भैरवको मन्दीर पछाडि उत्तर तर्फ बाघभैरव सार्वजनिक स्कुल थियो । यही स्कुलमा हामी केटाकेटीछंदा ‘रामतेरी गंगामैली’ भन्ने सिनेमाको केही सो चलेको थियो । स्कुल अहिले यहाँबाट हटेर पाखामा बनेको छ । गाइवाख्रा गोठाला लाग्दा आफु खेल्नमै रमाउँदा बीउ बाली खाएर हाम्रो गाइवस्तु धेरै पटक कीर्तिपुरका कान्जी हाउसमा थुनेका छन् । एक पटक त हराएको चार पाँच दिनपछि पनि चार पाँचवटा खसि वाख्रा आमाले फिर्ता ल्याउनु भएको थियो ।

ऐतिहासिक सहर कीर्तिपुर नामाकरण कसरी भयो भन्ने बारेमा कीर्तिपुरबासीका रोचक भनाइ छ ‘प्राचिनकालमा यसको नाम पद्यमकाष्ठपुर थियो । एकदिन किसानकोमा भिक्षा माग्दै जोगी आएछन् । मुलाको बीउ केलाइरहेका किसानले यहाँ के छ र दिनु भन्दै एक मुठी मुलाको बीउ दिएछन् । जोगीले यो के हो भनेर सोधेछन् । किसानले केपु भनेछन् । नेवारी भाषामा केपु भनेको मुलाको बीउ हो । मलाई केपु दियौ अवउप्रान्त यस देशको नाम पनि केपु नै रहोस भन्दै जोगी हिंडेछन् । त्यसपछि नै पद्यमकाष्ठपुरबाट कीर्तिपुर रहेको भन्ने एउटा भनाइ छ भने अर्को भनाइमा पशुपतिको श्लेषमान्तक वनमा गै केपुको गाइले दूध चढाउन थालेपछि केपुको नाम जताततै चल्न थाल्यो । केपुको गाइआइ कीर्तिराख्ने काम भएकोले सवैले कीर्तिपुर भन्न थाले भन्ने जनश्रुति पनि छ ।

पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने सिलसिलामा मेरो गाउँ तीनथानाको नाम पनि जोडिएको छ । हाम्रो पुस्ता उतिवेला एकिकरणमा भागलिंदै कीर्तिपुरको लडाइमा सहभागीहुन आउँदा यतै बसेका हुन् । तीनथानाको उचाभागमा ऐतिहासिक गढी छ । दहचोक कव्जामा लिएपछि त्यतैबाट पृथ्वीनारायण शाहले पहिलो पटक बि।सं। १८१४ जेठ १९ गतेका दिन कीर्तिपुर आक्रमण गरेका थिए । आक्रमण गर्न दहचोक ( इन्द्रदह) बाट ओर्लेर नैकाप, तीनथाना हुंदै कीर्तिपुर ट्याङलाटारको उकालो चढ्न लाग्दा कीर्तिपुर राज्यका प्रधान सेनापति काजी धनवन्तको नेतृत्वमा सेनाहरु र त्यहाँका जनताहरु कुटो कोदालो, र डल्याँठा समेत बोकी डाँडाबाट ओर्लेर टयाङलाफाँटमा दुवै पक्षको जम्काभेटमा ठूलो युद्ध भयो । सेनापति कालु पाँडेको मृत्यु भयो । पहिलो युद्धमा बीर कीर्तिपुरे जनताले पृथ्वीनारायण शाहका सेनालाई भगाएका थिए । कीर्तिपुरका बासुपासाले आफनो पुस्तक ‘कीर्तिपुर ’ मा पनि यस्तै उल्लेख गरेका छन् । कीर्तिपुरसँगको युद्धमा सूरप्रताप शाहको आँखा फुट्यो, दलजीत शाह मरे । बीर कीर्तिपुरवासीसँग तेस्रो पटक लड्दा बल्ल १८२२ चैत्र ३ गते कीर्तिपुर विजय गरेको इतिहास छ ।

कीर्तिपुरलाई ऐतिहासिक रुपमै राख्न कीर्तिपुरवासी लाग्नु पर्छ । कला संस्कृतिलाई बचाउन युवा पुस्तामा सार्नु पर्छ । अचेल दाफा भजन गाइरहने समुहमा युवापुस्ता देखिदैंनन् । गुँलापर्वको यात्रामा भने केही देखिन्छन् । हरेक भाद्र १ गते नागपञ्चमीको भोलीपल्ट बाघभैरवको जात्रा लाग्छ । बाघभैरवलाई कीर्तिपुरको रक्षक ठानिन्छ । विहान बाघभैरवमा पूजा गर्ने वत्ति बाल्नेको ठूलो भिड लाग्छ । बाघभैरवको जात्रा भने बेलुका ५ वजेतिरबाट शुरु हुन्छ । बाघभैरव अगाडि रहेको ‘देय पुखू ’देशको पोखरीलाई चारैतिर पक्कि पर्खाल लाएर पहिलेको भन्दा राम्रो बनाइ पोखरीमा पानी जमाइएको छ । देय् पोखरीको ठीक पश्चिमपटृी उतिवेला निकै चलेको परोपकार अस्पताल थियो । त्यहाँ तीनथानावासीहरु पनि निकै जान्थे । म पनि घाउ खटिरा आएर धेरै पटक गएको छु । अहिले यो भवन पुरानै शैलीमा वन्दै गरेको देखिन्छ । विहान देवढोकावाट बाघभैरवजाँदा वा कीर्तिपुर बिहान घुम्दा आफना घर अगाडि गोलो आकारमा वनाइएको सूर्यलाई लिपपोत गरी पुजाआजा गरेर बत्ति बालेको दृश्य र थाली बोकेर बाघभैरव र इन्द्रायणी मन्दिर जानेको लस्कर पनि देख्न पाइन्छ । अचेल कीर्तिपुरको नेवार वस्तीमा घुम्दा हाकु पटासी लगाउने महिला भने भेटिन्नन् ।

गुँला पर्वका अवसरमा टोलटोलबाट विहान बाजागाजा सहित भैंसीको सिङ पनि बजाउंदै केटाकेटी लगायत सवै उमेरका भेला भएर बाघभैरव इन्द्रायणी मन्दिर घुमेको देखिन्छ । आजभन्दा चारसय वर्ष अघिनै कवि राजा सिद्धिनरसिंह मल्लले नेपाल भाषामा ३२ वटा रागमा दाफा लेखेको भनिन्छ । खिं, टां (फलामको सानो झ्याली ) र पोङगा बजाएर ठाउं ठाउंमा भजन हुन्छ अझ गुँलापर्व लागेपछि त सबै पाटीमा बृद्धबृद्धाहरु दाफा भजनमा मस्त देखिन्छ । मन्दिरहरुमा वज्ने घँटको आवाजले मानिसलाई मन्त्रमुग्ध पार्छ । ठाउँ ठाउँमा रहेका चैत्यहरुमा पुजाआजा गर्ने महिलाहरुको लस्कर देखिन्छ । गठु नाच त हामीले केटाकेटी देखिनै हेरेका हौँ । हरेक १२ वर्षमा मुकुन्डो पोल्ने भनेर वल्खुखोलामा रहेको चिहान आसपास रातको समयमा यो काम गरिन्थ्यो । यो मुकुन्डो पोलेको हेरेमा रोग व्याधी हट्छ भनेर आमाहरुले उतिवेला आ आफना स साना नानीहरुलाई देखाउने चलन पनि थियो । कृष्ण अष्टमी जात्रा ,इन्द्रायणी जात्रा, लाखे नाच र आदीनाथमा माघ महिनामा वस्ने निराहार ब्रत आदि कीर्तिपुरका आफनै साँस्कृतिक सम्पदा हुन् ।

गाइजात्राका दिन पाटनमा मतयाको रुपमा, काठमाडौंमा साया (सापारु) का रुपमा, भक्तपुरमा विभिन्न वाजागाजा र नाच सहित घिंताङ घिसिङ गर्दै गाइजात्रा मनाइन्छ । गाइजात्राका दिन कीर्तिपुरमा भने ‘धें धें पापा’ नाच निकालिन्छ । इतिहासविद् तीर्थ महर्जनका भनाइ अनुसार यो नाच कीर्तिपुर र पाँगामा वाहेक अन्यत्र छैन । यहाँ निकालिने गाइजात्राको पनि विशेष महत्व छ । अन्यत्र जस्तो आआफना हिसावले गाइजात्रा निकालेर नहिंडि सवै भेला भएर एकसाथ देश घुमाइन्छ । कीर्तिपुरभित्रका १४ टोलले पालैपालो गाइजात्रा निकाल्छन् । जुनटोलबाट गाइजात्रा निकाल्ने हो त्यही टोलको गणेशस्थानमा गाइजात्रामा निस्कने देवीदेवताहरुको मुकुट पुजा सङकल्प गरिन्छ ।

यसपाल मानोट्वा ल्वहदेंगः टोलको पालो थियो । गाइजात्राको नाच पनि तिनै तोकिएका टोलको स्थानमा भेलाभै देखाइन्छ । गाइजात्राको दिन महिला मृतकहरुको नाममा गाइ घुमाउने छोरा वा लोग्नेले महिलाकै भेष भुषामा सजिएको देखिन्छ । गाइजात्राकै दिन बेलुका तिर बाघभैरव अगाडिको देव पुखू मा मकै, रांगाका खुटृा फालिन्छ । मानिसहरु पौडि खेलेर त्यसलाई छोप्छन् । कीर्तिपुर ऐतिहासिक, सांस्कृतिक जात्रा पर्वजस्ता परम्पराले पनि सम्पन्न छ । कलात्मक मठ मन्दिरले पनि कीर्तिपुर धनी छ । यहाँको बाघ भैरव, उमामहेश्वर, चिलन्चो विहार आदि ऐतिहासिक सहर कीर्तिपुरमा बिहार चैत्य ल्हो देग,मजा देग, चुन दे, चिठु विहार, इन्द्रायणी, नगर मण्डप, कीर्तिविहार, र पुराना पोखरीहरु हेर्दै अहिले पनि कीर्तिपुर घुम्दा पुरानो ऐतिहासिक सहरको झझल्को अझै दिन्छ ।

लेखक, खोजकर्ता गोपिचन्द्र कार्की

तपाइँको प्रतिक्रिया