युरोपेली भेलाबारे असन्तुष्ट भएर जारी ज्ञापनपत्रको चिरफार

११ औं एन आर एन ए युरोपेली भेला सकिएलगत्तै त्यहाँ सहभागि, एन आर एन एका १७ अभियन्ताका नाममा त्यो भेलामा कमजोरी भएको भन्दै ज्ञापनपत्र आयो । २० बुँदे ज्ञापनपत्र पक्कैपनि केहि कमजोरी भएरै आयो । पक्कैपनि त्यहाँ दाउपेच चल्यो, अघिल्ला भेलाहरुमा जस्तै । तर जसरि १७ जनाको नाममा ज्ञापनपत्र आएको छ त्यसमापनि समग्रमा एन आर एनको दिर्घकालिन हित, आम नेपालीको सेवा र संस्थागत प्रगतिभन्दा केहि आबेग, केहि आक्रोश, केहि कुण्ठा, संस्थामा तानतानको लोभ, आफ्नो प्रभुत्व बढाउने आकांक्षा र केहि कमजोरी लुकाउने हिसाबले आएको छ । तिनै २० बुँदे ज्ञापनपत्रलाई यहाँ सकेसम्म केलाउने कोसिस गरिएको छ । ज्ञापनपत्रका हरेक बुँदाको मुन्तिर रातो अक्षरले कोष्ठकमा दिएको जवाफ ज्ञापनपत्रको चिरफार हो । ज्ञापन पत्रको बुँदामा लागेका विषय बोल्ड गरिएको छ ।

ज्ञापनपत्र

श्रीमान अध्यक्ष ज्यु ,संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, पदाधिकारी ज्युहरु ,आईसीसी सदस्य ज्युहरु र एनसीसी अध्यक्षज्युहरु ,
सबैलाई नमस्कार,
गैर आवासीय नेपाली संघले संसार भरी छरिएर रहेका नेपालीहरुलाई संगठित गरी स्वदेश तथा विदेशमा सबैको हक,हित र अधिकारहरुको निम्ति आवाजको अभियानमा निरन्तर लागी रहेको छ  

(अभियन्ताहरुले बुझ्नुपर्ने अन्यत्रको त कुरै छोडौं एन आर एन एका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, हस्तीहरु हेम शर्मा, एन आर एन बेलायतका अध्यक्ष योग कुमर फगामी रहेकै देशमा जति नेपाली छन् ति मध्ये दश प्रतिशत नेपालीपनि एन आर एन एमा समेटिएका छैनन् । एन आर एन ए मा सक्रिय र उच्च पदमा पटक पटक पुगेकाले खै त नेपालीहरुलाई समेट्न सकेको ?) शुखी र समृद्ध नेपालको निर्माण गर्ने लक्ष्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघले १५ औ बशन्त पार गरी सकेको छ । गैर आवासीय नेपाली संघको उद्गम स्थान लन्डन, २००३ मा स्थापाना भएको संघले युरोप क्षेत्रमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुको हक हित आधिकारहरुको पक्षपोषण सहित सामुहिक भेटघाट,शुभकामना,आदानप्रदान गर्ने,सूचना, शिप र कलासाहित्यको अभिवृद्धि गर्न पाउने सुवर्ण अवसरको रुपमा उपयोग गर्ने हेतुले गैर आवासीय नेपाली संघले प्रत्येक बर्ष युरोपमा कार्यरत २७ एनसीसीहरुको साझा कार्यक्रमहरुको रुपमा क्रमिक कुनै एक राष्ट्रमा बैठक गर्दै आएका छौ । गैर आवासीय नेपाली संघ युरोपको गत २९ र ३० जुलाई २०१८ मा लक्जम्बर्गमा १४ बुदे घोषणा पत्र सहित ११औ युरोप बैठक तथा ९औ महिला बैठक सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ लक्जम्बर्गले आयोजना गरेको ११ औ युरोप बैठक तथा ९ औ महिला बैठक धेरै राम्रो प्रबन्ध मिलाएको थियो। युरोपको सानो देश थोरै नेपाली बसोबास रहेको गैर आवासीय नेपालीहरुले विभिन्न देशहरुबाट आएका गैर आवासीय नेपालीहरुलाई गरेको धेरै राम्रो सत्कार र ठुलो सम्मान अथिति देवभवले सधै स्मरण गर्ने छन। गैर आवासीय नेपाली संघ लक्जम्बर्गको सिधा सम्पर्क राज्य सत्ता, स्थानीय तह र नेताहरु र सामाजिक अभिन्यता सम्म सिधा राम्रो सम्पर्क रहेको प्रधानमन्त्रि ज्युको शुभकामना संदेश,मन्त्रि ज्युको सहभागीयता र शहरको मेअरको उपस्थितिले एनआरएनएको उचाई बढेको महशुस भएको छ आयोजक राष्ट्रको धेरै राम्रो ब्यबस्थापनको साथ सहयोग पाएको ११ औ युरोप बैठक तथा ९ औ महिला बैठक आफैमा अब्यबस्थित भद्रगोल भएर सम्पन्न भएको छ

(एन आर एन ए लक्जमवर्गले राम्रो ब्यवस्थापन गरेको भनेपछि कसरि कार्यक्रम भद्रगोल भयो ? भद्रगोल, अब्यवस्थित कार्यक्रमले एन आर एन एको उचाई बढाउँछ र ?)

त्येसैले युरोपका बिभिन्न एनसिसीहरूले आगामी बर्षमा आयोजना गरिने १२ औ युरोप बैठक र १०औ महिला बैठक ब्यबस्थित बनाउन आईसीसीको ध्यान आकर्षण गर्दै ११औ युरोप बैठक र ९ औ महिला बैठकमा भएका कमि कमजोरीहरुको निराकरण गर्न यो सामुहिक ज्ञापन पत्र पेश गरेका छौ।

१- प्रस्तुत कार्यक्रमको रुपरेखा बनाउदा समेत एकरुपता नआएको प्रस्तुत कार्यक्रमको तयारीको लागी युरोप क्षेत्रका एनसीसी अध्यक्ष,आईसीसी सदस्य, अफिस ब्यरिअर र पदाधिकारहरुसित बिष्तृत छलफल हुनु पर्ने थियो । छलफलको परिणाम अनुसार सहमतिको आधारमा प्रस्तुत कार्यक्रमको रुपरेखा तयार गर्नु पर्ने सर्वपरी प्रचलन र गैर आवासीय नेपाली संघको परम्परा रहदै आएकोमा ११ औ युरोप बैठक तथा ९ औ महिला बैठक त्येसो हुन नसक्नु दुर्भाग्य भयो

(गत साल जर्मनीमा एन आर एन ए युरोप क्षेत्रिय बैठक जर्मनीमा हुँदानै आगामी ११ औं बैठक लक्जमवर्गमा हुने पक्का थियो । एन् सिसिसीका जिम्मेवारहरुलाई त आगामी युरोपेली भेला कसरि गर्ने भनेर छलफलमा ल्याइएनहोला नै । एक वर्षको समयमा तपाई सचिव, केन्द्रिय उपाध्यक्षहरुले के हेरेर बस्नुभयो ? किन भएका छलफलमा आगामी भेला यसरि हुनुपर्छ भन्न सक्नुभएन ? तपाईहरुको भूमिका किन प्रभावकारी देखिएन ? कम्तिमापनि युरोपेली भेला शुरु हुनु अघि भेला राम्रोसित आयोजना नहुने संकेतका बारेमा सार्वजनिक गर्नुभएन ? हरेक आ इसिसी सदस्यको काम केन्द्रसित समान्जस्य गरेर एन सि सि सित साझेदारी गर्ने हो । ति आइ सि सि सदस्यहरुले किन भूमिका खेलेनन् ? किन बोल्न सकेनन् ?)

के कति कारणले यस्तो हुन सकेन यस बिषयको बारेमा पुन: छलफलमा प्रवेश गरी दरार भएका बिचारहरुलाई एकै ठाउमा ल्याउने उपाएको खोज निकाल्ने।

गैर आवासीय नेपाली संघ गैर राजनितिक संस्था भएको विधानको प्रस्तापनामा उल्लेख गरेको छ तर पनि गत युरोप बैठकमा प्रत्येक्ष नेपालको राजनीतिक रोमेलिएको आभासले संघको छविलाई धमिलाउने कोशिस गरेको महशुस हामी सबैले गरेका छौ

(गैह्र आवाशिय नेपाली संघ गैह्र राजनितिक संस्था हो भन्ने उल्लेख छ । यो नारा मात्रै हो वा उद्देश्य हो र त्यो अनुसार एन आर एन ए बन्न सकेको छैन भन्ने के हेक्का नभएर यसो भन्नुभएको हो ज्ञापनपत्रमा ? तर तपाई हस्ताक्षरकर्ताहरु गैह्र राजनितिक हुनुहुन्छ ? कुल आचार्य, जानकी गुरुङ, राम महतो, एकराज गिरी, सोम सापकोटा, सुवर्ण बिक्रम हमाल, बिजय मोक्तान, यमलाल सुवेदी, चिन्तामणी सापकोटा गैह्र राजनितिक हुनुहुन्छ ? तपाईहरु मध्ये अधिकांश कुनै न कुनै नेपाली राजनितिक दलको भूमिकामा हुनुहुन्न ? हुनुहुन्थेन ? पद लिनुभएन ? आफ्नो भूमिका, ईतिहास र संलग्नतानै राजनितिक छ अनि अरुलाई गैह्र राजनितिक बन्ने उपदेश दिन सुहाउँछ ? एन आर एन ए को हरेक निर्वाचन, हरेक आइसिसि र केन्द्रिय निर्वाचनमा राजनितिक तानातान र राजनितिक एकता, गूटउपगूट हुने गरेको छैन ? तपाईहरुले राजनिति भयो, हुनुहुन्थेन एन आर एन एमा भनेको कतिले पत्याउँछन् ?)

यस बिषयमा आइसीसी सल्लाहकार आदरणीय सुरेन्द्र श्रेष्ठले आफुले अनुभूति गरेका आभास सहितको अभिव्यक्तिले अझ धेरै स्पस्ट पारेको छ। आगामी दिनमा यस्तो प्रवृतिको घटना पुरानावृति नहुन एनसीसी अध्यक्ष, आईसीसी सदस्य र अफिस बेरिअर तथा पदाधिकारीहरुको गोलमेल बृहत छलफलको माग गर्दछौ।

३- गैर आवासीय नेपाली संघमा आगामी पिडिको नेतृत्व र क्षमता तथा ज्ञानको बिकासको लागी नयाँ पुस्तालाई प्रोत्साहन गर्ने भन्ने अमृत वाणी बोल्दै आएको गैर आवासीय नेपाली संघले हरेक बर्ष एकै व्यक्तिलाई कार्यक्रम संचालन गर्ने जिम्मेवारी सुम्पिनुमा गैर आवासीय नेपालीहरुको क्षमता र ज्ञानको बाधक बनिरहेको छ

(कार्यक्रम सन्चालन एकै ब्यक्तिले गर्दैमा नयाँ पुस्तालाई प्रोत्साहन हुने वा नहुने होइन। बरु नयाँ पुस्ताका समस्या, चाख, चासो, ब्यक्तित्व विकास, तिनका समस्याको पहिचान र निराकरणको प्रयास, नयाँ पुस्तालाई एन आर एनमा कसरि सक्रिय र सहभागित अगराउने भन्ने सहि निति र कार्ययोजनाले हो । तपाई अभियन्ताहरु मध्ये कति वर्ष देखि एन आर एन एको पद र भूमिकामा हुनुहुन्छ  तर यस अघि किन बोल्नुभएन ? अबका आफ्ना योजना किन सार्वजनिक गर्न सक्नुभएको छैन ? तपाईहरुको योजना चाहिँ के हो त ? कार्यक्रम सन्चालक त कुनै एक युवाले गर्ला ? एउटा कार्यक्रम एक युवाले सन्चालन गर्दैमा सबै युवाहरुलाई प्रोत्साहन हुन्छ ? तर हरेक वर्ष सन्चालक फेर्ने हो भने नयाँ स्वाद भने पक्कै हुन्छ ।

बिडम्वना कार्यक्रम संचालकले आयोजक देशको नाम सम्म बिर्सिएको थिए। त्येसैले आगामी दिनमा यो जिम्मेवारी पनि नयाँ पुस्ताहरुलाई सुम्पनु पर्ने जोडदार माग राख्दछौ।

४- युरोप क्षेत्रको कार्यक्रम भएकोले कार्यक्रमलाई सफल बनाउन युरोपका एनसीसी अध्यक्ष, आइसीसी सदस्यहरुको सकृय भुमीका सहितको सहभागीयता हुनु पर्ने थियो तर कार्यक्रमलाई आइसीसी महासचिब ज्युको सिधै हस्तक्षेप भएको कारणले भुमिका बिहिन अबस्थामा कार्यक्रममा ताली बजाउने, फोटो खिच्ने, शहरमा घुमफिर तीर ध्यान केन्द्रत भयो।

(यो माग सहि उठाउनुभएको छ । तर यस्तो समस्या अघिल्ला एन आर एन ए सम्मेलनमापनि भएका थिए । गत साल जर्मनीमा भएको १० औं युरोपेली भेलामापनि एन आर एन ए बेलायतको दबदबा देखिएको थियो । तर त्यो बेला बेलायत निवासी एन आर एन एका दिग्गजहरु सोम सापकोटा, उपाध्यक्ष कुल आचार्यले किन उठाउनुभएन ? आफूले पद पाउँदा, आफ्नो बर्चस्व र प्रभाव रहँदा वा गुम्दा मात्रै हो आवाज उठाउने ?)

NCC अध्यक्ष र ICC सदस्यहरुलाई बैठकमा केन्दित गर्न सकिएन। केवल अर्थ संकलन र सहभागीयताको संख्यामा बृद्धी गर्ने काम मात्र उपयोग गर्न कोशिस गरीयो । आईसीसी पदाधिकारीहरुलाई क्षेत्रीय बैठकमा सम्मानित अथितिको रुपमा स्वागत गरिनु पर्दछ तर आससीसी महासचिवले क्षेत्रिय समन्वय परिषद्को काम कर्तब्य र अधिकार तथा जिम्मेवारीलाई सिधा हस्तक्षेप गर्नु गैर आवासीय नेपाली संघको बिधान बिपरित हुन आउछ

(हरेक सम्मेलन बढि मात्रामा अर्थ संकलनमै केन्द्रित हुने गरेको छ । यस अघिका सम्मेलनपनि त्यस्तै थिए । एन आर एन एको नेत्रित्वमा बसेर त्यस्तो हुन नदिने तपाईहरुको भूमिका यस अघि किन देखिएन ? अबको योजना के छ ? अनि महासचिवले हस्तक्षेप त गरेछन् । तर के हस्तक्षेप गरेका हुन् स्पष्ठ लेखे हुन्न ?)

आगामी दिनहरुमा आईसीसीले हस्तक्षेप नगर्ने प्रतिबद्धताका साथमा ११ औ युरोप बैठक तथा ९ औ बैठकमा गरेका हस्तक्षेपको क्षमा याचना माग्नु पर्ने माग गर्दछौ।

५- आइसीसीले क्षेत्रीय संयोजक उपसंयोजक ज्युको काम,कर्तब्य र जिम्मेवारी के के हुन ? निर्धारण गरीदिन हार्दिक अनुरोध पनि गर्दछौ। बर्षको एकपटक क्षेत्रीय बैठक मात्र गर्ने कामलाई पनि आइसीसीको सिधै हस्ताक्षेप गर्ने प्रवृतिलाई निषेद गर्नु पर्ने देखिएकोछ  

(क्षेत्रिय भेलाहरु क्षेत्रिय चासो, माग, भूमिका, समस्या, योजना, निति र क्षेत्रिय विषयमा केन्द्रित हुनुपर्छ । तर यस अघि पनि भएको थिएन । तर तपाई हस्ताक्षरकर्ताहरु मध्ये अधिकांशले यस अघि किन बोल्नुभएन ? के यस अघि यो विषयमा आवाज उठेको थिएन ?)

६-युरोप क्षेत्रका ४० -४५ जना आइसीसीहरुको ११ औ युरोप बैठक र ९ औ महिला बैठकमा भूमिका र जिम्मेवारी बिहिन हुदा आफैमा अपमानित भएको महशुस भएकोमा आगामी १२ औ युरोप बैठक १० औ महिला बैठकमा यस बिषयको बारेमा बृहत छलफल हुनु पर्दछ।

(यहाँपनि तपाईहरुको कमजोरी वा स्वार्थ देखिएको छ । जुन देशमा युरोपेली महिला भेला हुन्छ त्यो देशकोलागि विशेष अवशर, समय र भूमिका दिनुपर्छ । गत साल जर्मनीमा १० औं युरोपेली महिला भेला हुँदा बेलायतको भूमिकाले अन्य देशका महिलाका समस्या, भूमिकालाई छायाँमा पारेको महसुस धेरैले गरेका थिए । तर त्यो भेलाबारे किन बोल्नुभएन ? कि अब महसुस भएको हो ?)

७- ११ औ युरोप बैठक र ९ औ महिला बैठकमा युरोप क्षेत्रका एनसीसीहरुको आपसमा बृहत छलफल बहस हुनु पर्ने थियो। तर बर्ष भरिको प्रगती विवरण को लागी,छुट्टाएको ५ मिनेटको समय पनि पुरा गर्न नपाई पटक पटक चिट दिने काम बन्द गरिनु पर्दछ ।

८- गैर आवासीय नेपाली संघ एउटा भाई चाराको सामाजिक संस्था भएकोले अग्रज तथा आपसी सम्मान,मान मर्यादा क्रम ( Protocal) अनुसार गर्ने चलन अग्रजले दिएको शिक्षालाई सधै ग्रहण गर्नु पर्दछ। उपाध्यक्ष कुल आचार्यको नाम प्लेट नै सिटबाट हटाएको थियो । उपाध्यक्ष कुल आचार्य ज्यु बोल्दा महासचिब ज्युले गतिरोध उत्पन्न गर्नु शुभानिय होइन । कार्यक्रम संचालकले आईस ( IES) का पदाधिकारीहरु सचिब जानकी गुरुङ र सहकोषाध्यक्ष सोम सापकोटालाई आसन ग्रहण गराउने क्रममा नाम लिन नै भुलेका थिए । धेरै समय पछि मात्र नाम उच्चारण गरेका थिए। माफ माग्न पर्ने थियो तर मागेनन। यो निर्वाचित आईसीसी पदाधिकारीहरु माथि गरेको ठुलो अपमान र अमर्यादा थियो । बिगतका युरोप बैठकको उद्घाटन सत्रमा NCC अधयक्ष र ICC सदस्यहरुलाई आसन ग्रहण स्वागत गर्ने चलन थियो तर ११ औ युरोप बैठक तथा ९ औ बैठकको उद्घाटन सत्रमा कार्यक्रममा बिभिन्न देशहरुको NCC को नेतृत्व गर्ने NCC अध्यक्ष र आईसीसी सदस्यहरूलाई कार्यक्रम संचालकले नाम उच्चाहरण सम्म गर्न सक्दा अपमानित भएको आभास भएको छ । प्रोटोकलको महत्वहिन तवरले अगाडी जाने यस्तो चलनको बिकासले हाम्रो नयाँ पुस्तालाई NRNA मा कस्तो किसिमको शिक्षा र प्रचलन सिकाउन खोजेका हौ यस बिषयमा समिक्षाको माग गर्दछौ।

(आसनग्रहणको यत्रो पिर र यो विषय यति महत्वपूर्ण ? कुल आचार्यको नाम नंबरप्लेटमा भएको प्रमाण यहि तस्विरले सिद्द गर्दैन ? आसनग्रहण मुख्य अतिथि, निम्तालुलाई मात्रै गराएर, हरेक वर्ष युरोपेली भेलालाई महत्वपूर्ण विषयमा छलफल, बहस र चिन्तनमनन गर्न समय दिउँ भनेर किन भन्न सक्नुहुन्न ? अझैपनि तपाईहरुपनि फलानाले कुर्सी पायो, आसनग्रहण अग्राईयो फलानाले पाएन भन्नेमै केन्द्रित हुन चाहनुहुन्छ ?)

९- गैर आवासीय नेपाली संघ युरोप बैठक र महिला बैठक नाम आफैमा विवादित छ । बैठकलाई हामीले ११ बर्ष सम्म परिभाषित गर्न नसक्नु हाम्रो अक्षमतालाई स्विकार्नु पर्दछ। एजेण्डा बिनाको बैठक कहिँ हुनै सक्दैन। बैठकले निर्णय निकाल्छ तर घोषणा पत्र निकाल्दैन। बैठकको निर्णय गर्दा सहमति असमति हुन्छ। बहुमतले पारित गर्ने चलन हुन्छ।बैठकमा सहभागी सबैले हस्ताक्षेर गरेर सहभागी जनाउछन। बन्द सत्रमा गरिने भएकोले बैठक भनिएको हो।यी कारणले ११ औ युरोप बैठक थिएन। यो साधारण बार्षिक भेला थियो। काम अनुसारको नाम परिबर्तन गर्न माग गर्दछौ।

१०- ११ औ युरोप बैठक तथा ९ औ महिला बैठकमा आर्थिक पारादर्षिकता बिषयमा छलफल हुनु पर्छ । कुन पाहुनालाई पुरा खर्च व्यहोर्ने हो । अहिले सम्म छलफल स्पष्टतासित भएको छैन। होटेल खर्च करिव २४ हजार युरो के कसरी खर्च भयो ? यसको जानकारी सबै गैर आवासीय नेपालीहरुलाई गराउनु पर्दछ । कुन पाहुना को खर्च कति ? कसको विविधवत खर्च ब्येहोर्ने भन्ने छलफलबाट तय हुने बिषय भएकोले पुरै आयव्ययको विवरण संगै छलफल हुनु पर्दछ । बिगतमा भएका युरोप बैठकहरुका हिसावकितावको रकम अझै केन्द्रले प्राप्त नगरेको भनेर बारम्बार NCC हरुलाई ताकेता गरेकाछ । ११ औ युरोप बैठक र ९ औ महिला बैठकमा चन्दा दाताले बोलेर पनि रकम उपलब्ध नगराएका ब्याक्तिहरुको नाम सार्वजनिक गर्नु माग गर्दछौ

(आउने पाहुना र गरिने खर्च, कुन कुन ब्यक्तिको खर्च ब्यहोर्ने, ब्यहोरियो भन्ने माग सार्वजनिक गर्नुपर्छ भन्ने माग जायज हो । तर यस अघिका भेलामा यहि माग पटक पटक राख्दा कुल आचार्यलेसमेत दिनुभएको थिएन । कूल आचार्य युरोप संयोजक हुँदा नदिने, आफैं केन्द्रिय उपाध्यक्ष भएर केन्द्रबाटै यो प्रावधानकालागि पहल नगर्ने, गरेको भए सार्वजनिक नगर्ने तर अहिले यहि माग अरुतिर राख्नु कति उचित होला ? त्यसो त, एन आर एन बेल्जियमको अध्यक्ष हुँदा जानकी गुरुङलाई यहि माग राखिएको थियो । उनलेपनि दिने गरेकि थिईनन् । ढिलै भएपनि यो माग उठ्नु जायज हो)

११- बिगत ९,औ र १० औ युरोप बैठकले वितरण गर्दै आएको एनआरएनए युरोप सम्मान पुरस्कार यस बर्ष किन निरन्तरता दिन सकिएन? युरोप संयोजक ज्युबाट बिष्तृत जानकारी पाउने आशा गरेको छौ।

१२- गैर आवासीय नेपाली संघ अमेरिकाका संयोजक गौरी जोशी ज्यूलाई २०१८ को सर्बोतम उध्यमी आवर्ड नेपाल ब्रिटेनडट कमले आफ्नो ११ अो वार्षिकउत्सवमा दिने घोषणा गरेकोमा हार्दिक बधाई छ। तर गैर आवासीय नेपाली संघ युरोपको बैठकसित त्येस पुरस्कारको कुनै सरोकार नरहेकोले त्यो केबल आ आफ्नो व्यक्तिगत सम्बन्ध बिस्तार को लागि गरिएको कार्यक्रम भएकोले गैर आवासीय नेपाली संघको युरोप बैठकमा किन प्रयोग गरियो? यस बारेमा युरोप संयोजक र महासचिब ज्यु द्वयबाट स्पस्ट पार्नु हार्दिक अनुरोध गर्दछौ।

१३- गैर आवासीय नेपाली संघ ११ औ युरोप बैठक र ९ औ महिला बैठक सधै ढिला गरी कार्यक्रमलाई सुरु गर्नाले ९ औ महिला बैठक लाई समय नै पुगेन। गैर आवासीय नेपालीसंघले नारी समानता,स्वतन्त्रता र महिला ससक्तिकरण र महिला जागरणको ठुला बहस गर्ने गर्दछ तर आधा आकास ढाक्ने महिलाहरूलाई गैर आवासीय नेपाली संघले बेवास्ता गरेको देखियो । युबाहरुलाई निरुत्साहिक गरीयो । युबाहरु आक्रोसित भइ कार्यक्रम नै नगरने भनेर बहिरिने क्रममा अर्को हलमा युबाहरु को बैठक सन्चालन गरियो । जसको कारणले पुरुष युबाहरु महिलाहरुको कार्यक्रममा सहभागी हुन सकेनन महिलाहरूको कार्यक्रममा युबाहरु उपस्थित हुनबाट बन्चित भए। अत:आगामी १२ औ युरोप बैठक र १० महिला बैठकमा महिला तथा युबाहरुको कार्यक्रमको निश्चित मापदण्ड बनाउन माग गर्दछौ

(समग्रमा महिला भेला देखाउनकालागि मात्रै गरिन्छ । महिला भेलामापनि पुरुषहरुकै बर्चस्व, आसनग्रहण हुने गर्छ । यतापनि ध्यान दिने की ?)

१४-बिगतका युरोप बैठकहरुमा साना साना समुहहरु बनाएर छलफल गर्ने हरेक सहभागीहरुले आ आफ्नो बिचार राख्ने प्रचलनको बिकास भएको थियो। ती सामुहिक बिचारहरुलाई घोषणा पत्रमा समाबेस गरिने गरिन्थियो तर ११ औ युरोप बैठक र ९ औ महिला बैठकमा यस्तो हुन सकेन। कुनै ब्यक्ति ४-५ पटक सम्म भाषण गरे तर खास हुनु पर्ने मेगा प्रोजेक्टहरुको बिषयमा बिस्तृत छलफल हुनसकेन। यस्तो भयो भने संघको बिस्वास र पारादर्शितामा समेत प्रश्न उठने गर्दछ। आगामी १२औ युरोप बैठक र १० औ महिला बैठक मा सामुहिक बिचारहरु लिने ब्यबस्था हुनु पर्ने र घोषणा पत्रमा पनि समावेस गर्नु पर्ने।

१५-२७ वटा युरोपका एनसीसीहरुको युरोप बैठक भन्ने कार्यक्रमको नामकरण गरेको ठाउमा हरेक पटक हस्तक्षेप भएको छ आफ्नोलाई कार्यक्रममा स्थानमा व्यक्तिगत प्रतिसोध,राजनीतिक पूर्वाग्रह, मानसिक दवाव दिने काम गरिएको जलन्त उदाहरण सह सम्योजक एकराज गिरिले माईक छोडेर हिंडे पछी बुझ्न सजिलो भएको छ । यस बिषयमा छानबिनको माग गर्दछौ ।

(हरेक पटक हस्तक्षेप हुँदा यस अघि किन बोल्नुभएन ? महत्वपूर्ण पदमा बसेर किन समस्या समाधानको प्रयास गर्नु भएन ? त्यो हस्तक्षेप कस्तो विषयमा, कुन बुँदा र कार्यक्रममा हुने गरेको छ किन स्पष्ठ लेख्नुहुन्न ?)

१६- आईसीसी एनआरएनएन टाक्स फोर्समा बिज्ञको रुपमा नेपालको सवारी दुर्घटना नियन्त्रण तथा रोड सेप्टिको बारेमा गृहमन्त्रि प्रहरी आइजीपी तथा क्षेत्रीय प्रादेशिक र नगरमा काम गरेका NRNA Road सेप्टीका संयोजक थर्क सेनले आफ्नो असन्तुस्ट उनको फेस बुकको वालमा बिसाएका छन। फडिन्द्र पन्थले समय अभावको कारण देखाउदै कार्यक्रम सकिनु पहिले कार्यक्रम स्थान छाडेको खबर आएको छ। असन्तुस्ट जायर गर्दै सहकोषाध्यक्ष सोम सापकोटाले पनि कार्यक्रम सकिनु अधि स्थान छाडेका छन। धेरै एनसीसी अध्यक्षहरुले एनसीसी लक्जम्बर्गलाई धन्यवाद ज्ञापन गरेको पाइयो तर गैर आवासीय नेपाली संघ युरोपलाई धन्यवाद पनि दिएको देखिदैन भने कार्यक्रमको सफल भएको कसैले उत्गृत गरेका पनि छैनन। केवल सम्पन्न भएको मात्रै भनेका छन। यो सबै प्रतिसोध,अवमुल्याकंन र भेदभावको कारणले भएको थियो। यस्तो बिकृती र बिसंगतीलाई हटाउन बृहत छलफलको माग गर्दछौ।

(कतिपय अवस्थामा कमजोरी हुन्छन् । तर यहाँ माथि उठाएका विषय र बुँदा झिना मसिना हुन् । यहांँ उल्लेखित ब्यक्तिहरुलेपनि आफू भूमिका र पदमा रहँदा अरुलाई सम्मान गर्ने, भूमिका दिने नगरेको उदाहरण धेरै छन् । आफ्नो भूमिका घट्दा बल्ल होसमा आ उने मानसिकता त्याग्नुपर्छ । ब्यक्तिविशेष भन्दा सांगठनिक हितलाई सर्वोपरी ठानिनुपर्छ ।)

१७- ११ औ युरोप बैठक र ९ औ महिला बैठकको घोषणा पत्र युरोप संयोजकले प्रकाशन गर्नु पर्ने थियो किन आईसीसी प्रबक्ता मार्फत प्रकाशित गरियो। यो सिधै हस्तक्षेप भएको देखियो। के कति कारणले यस्तो भयो? प्रस्ट पार्न हार्दिक अनुरोध गर्दछौ।

१८- ११औ युरोप बैठक तथा ९ औ महिला बैठक को अत्यन्तै महत्वपूर्ण शेसनहरु मध्येका नेपाल को पर्यटन प्रबर्धन र गैर आवसिय नेपालीहरुको भुमीका र एन आर एन ले आयोजना गरेको पर्यटन प्रबर्धन को लागि गरेको भिडियो प्रतियोगिता बारे घोषणा पत्रमा उल्लेख नपर्नुमा आपत्ति जनक छ। जुन युरोप बैठकको आकर्षण र नौलो सेसनको रुपमा सबै भन्दा रोचक रहेको उपस्थित सहभागीहरुको प्रतिकृया रहेकोछ। नेपाल पर्यटन बोर्ड र बिभिन्न प्रतिष्ठित संघ सास्था HAN TAAN जस्ता संस्थाहरुको समेत सहकार्य गर्दै अगाडी बढिरहेका छन। ११औ युरोप बैठकको घोषणा पत्रमा किन पर्यटन प्रबर्धन बिषयले स्थान पाएन? कारण के थियो जान्ने अपेक्षा राख्दछौ।

(पर्यटन प्रवर्धन गर्न बिगतमा पद र जिम्मेवारी लिएकालेपनि यस्तै गरेका थिए । खास पर्यटन प्रवर्धनको खाका, निति र ज्ञाननै थिएन । आफू हिरो बन्न हाअट्टहुट्ट कार्यक्रम गरेर चर्को प्रचारबाजी गरिन्थ्यो। गरिँदै आएको छ । बिगतदेखिको रोग हो यो । अहिले मात्रै औंलो उठाउनु युक्तिसंगत होइन । तर यसलाई सुधार्नु जरुरि छ)

१९ – नेदरल्यान्डमा सम्पन गरिएको ५ औ युरोप बैठक मा तात्कालिन अध्यक्ष नारायण आचार्य ज्यु ले उठान गरिएको आयोजक राष्ट्रका एनसीसी प्रेसिडेन्टले कुनै एक ( Opening or Closing Session ) को सभापति गर्ने भन्ने चलन घोषणा पत्रमा उल्लेख गरिएको थियो तर ११औ युरोप बैठक तथा ९ औ महिला बैठकमा किन खारेज गरिएको हो? स्पष्ट पारीदिनु होला।
२०- आम्सर्डाम घोषणा पत्रले जारी गरेको मिताब्ययताको नियम कार्यान्वयन होस।

यी माथि लेखिएका बुदागत समस्याहरुलाई समाधान गर्न गैर आवासीय नेपालीहरुको अभिभावक आईसीसीलाई हार्दिक अनुरोध गर्दै गैर आवासीय नेपाली संघ ११ औ युरोप बैठक तथा ९ औ महिला बैठकमा सहभागी तपसिलका एनसीसीहरुले माग गरेकाछौ। यदि बेवास्ता गरी एकलौटी तवरमा अगाडी बढियो भने यसको परिणाम १२ औ युरोप बैठक र १० औ महिला बैठकमा नकारात्मक असर पर्ने समेत गरिने जानकारी गर्दछौ।
आदरणिय अग्रज तथा साथीहरु हामीले यि बिभिन्न बिषयहरु हाम्रो संयुक्त आवाजको रुपमा उठान गरेको छौ।
धन्यवाद ।
१-बिजय मोक्तान—- जर्मनी
२-योग कुमार फगामी– युके
३-यम लाल सुबेदी —-डेन्मार्क
४-चिन्तामणी सापकोटा–स्पेन
५-कुबेर कार्की——–पोर्तुगल
६- ठाकुर प्रसाद शर्मा –नेदरल्याण्ड
७- राम महतो- स्विजरलाण्ड
८-जिवन जंग कुँवर—– अष्ट्रिया
९-नब राज कोइराला —-आयरल्याण्ड
१०- डा भोजराज सुबेदी— पोल्याण्ड
११- सुवर्ण बिक्रम हमाल —फ्रान्स
१२- अर्जुन कुमार श्रेष्ठ—- स्विडेन
१३-सन्जिब कुमार थापा —-नर्वे
आईसीसी पदाधिकारीहरु
१४ -कुल आचार्य—आईसीसी उपाध्यक्ष
१५ -जानकी गुरुङ–आईसीसी सचिब
१६ -सोम सापकोटा–आईसीसी सहकोषाध्यक्ष
१७- एकराज गिरी –युरोप सहसंयोजक

तपाइँको प्रतिक्रिया