किन मनाउने अन्तर्राष्ट्रिय नेपाली पोशाक दिवश ?

नेपाली टोपी दिवश भर्खरै सकिएको छ । नेपाली युवाहरुले भने विश्व नेपाली पोशाक दिवश अथवा अन्तर् राष्ट्रिय नेपाली पोशाक दिवश मनाउने तयारि गरेका छन् । नेपाली पोशाक दिवश मनाउनुको औचित्यबारे सामाजिक सञ्जालमा बहस र प्रतिक्रियापनि शुरु भएको छ । नेपाल विविध भाषा, संस्क्रिति, भिन्न सामाजिक वनावट, भौगोलिक बिभिन्नता बोकेको देश हुनाले त्यो विविधतालाई समेट्न सक्नेगरि साझा दिवशका रुपमा मनाउनुपर्छ भन्ने युवाहरुको पहलमा पुष २७ (जनवरी ११) का दिन हरेक वर्ष विश्व पोशाक दिवश मनाउन खोजिएको हो ।

नेपाल एक सय भन्दा बढि भाषा र त्यो भन्दा बढि जातजातिको साझा देश हो । एक सयभन्दा बढि जातजाति अनुसार तिनको संस्क्रिति, भाषा, धार्मिक आस्था, प्रचलन र सामाजिक जिवनपनि धेरैको अलग छ । ति फरक समूदायको पोशाकपनि फरक छ । भौगोलिक भिन्नता र मौसमको फरकलेपनि फरक ठाउँमा बस्ने समुदायले फरक पोशाक लगाउने गर्छन् । नेपालमा देखिने पोशाकले सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, सांस्क्रितिक भिन्नताको रहस्य बोकेका छन् । तिनका बारेमा अझैपनि गहिरो अध्ययन हुन सकेको छैन । भएका जानकारी र तिनको महत्वका बारेमापनि यथेष्ट मात्रामा सार्वजनिक गरेको पाइन्न ।

आफ्नै देशभित्र के कति पोशाक छन् । कुन जाति, कुन समुदाय, समुहका मानिसले कस्तो पोशाक लगाउँछन् भन्ने प्रचार गरिएकोपनि छैन । एउटै समूदायभित्रपनि लिङ्ग र उमेर अनुसार फरक खालको पोशाक लगाउने प्रचलन पाइन्छ । सामाजिक रितिथिति अनुसारका पोशाकपनि मनग्गे छन् । ति मध्ये केहि पोशाकहरु लोप हुने खतरामापनि छन् । त्यस्ता पोशाकको संरक्षण हुनु जरुरि छ । त्यसैले यस्ता विविध जातजाति र समूदायको पोशाकका बारेमा सार्वजनिक हुनु जरुरि छ । यस्ता पोशाकहरुलाई अन्तर्राष्ट्रिय पोशाक दिवशका रुपमा विश्वभरि प्रचार गरिनुपनि उत्तिकै महत्वपूर्ण छ ।

त्यति मात्रै होइन, अहिले विश्वभरि प्रतिलिपी अधिकार (पेटेन्ट राईट) लिने होडपनि उत्तिकै चलेको छ । नेपालमा वर्षौंदेखि चलेको हुक्का पिउने चलन र त्यो हुक्कालाई परिमार्जित गरेर पश्चिमेलीहरुले आफ्नो भएको दाबी गरिसकेका छन् । हाम्रा कतिपय हिमाली जरिबुटी अरु देशले आफ्ना नाममा दर्ता गरिसके । काठमाडौंका सडकमा टुकटुक नाममा चल्ने ग्याँसवाला टेम्पो अहिले स्विजरल्याण्ड र फ्रान्सका सडकमा त्यहि नाममा गुडेको देख्न पाइन्छ । वास्मती चामललाइ अमेरिकाले आफ्नो पेटेन्ट राईटमा दर्ता गरेको समाचार धेरै पहिलेनै सार्वजनिक भएकै हो । अझ हाम्रा केकति सम्पदा हामीले थाहै नपाइ अरुले आफ्ना नाममा दर्ता गरिसके हामीनै अनबिज्ञ छौं । हामीले बेवास्ता गरेका हाम्रा मूल्यवान वस्तु अरुले आफ्नो बनाइसकेकापनि हुन सक्छन् । त्यसको खोजिपनि हामीले गरेका छैनौं । अहिलेको फेशनको युगमा हाम्रा कति पोशाकहरु अन्य देशका फेशन ब्यापारीले परिमार्जित गरेर मालामाल दाम कमाइरहेका पनि हुन सक्छन् । त्यसको हेक्कापनि हामीलाई छैन ।

विविध जातजाति, भाषा भाषी र संस्क्रिति बोकेको देशमा कुनै एक जाति, भाषा भाषी, समूदाय र संस्क्रितिको पहिचान झल्काउने पोशाकले राष्ट्रिय एकता, समान बिचार, राष्ट्रिय गौरव र अपनत्वको महसुस गराउन सक्दैन । सबैको सांस्क्रितिक पहिचान झल्किनु पर्छ । त्यसले मात्रै कम्तिमा सांस्क्रितिक एकता कायम गराउन सक्छ । सबैलाई अपनत्वको महसुस गराउन सक्छ । त्यसैले, पुष २७ लाई राष्ट्रिय पोशाक दिवशका रुपमा मनाउन खोजिएको हो । यो दिन मुलुकभरका सबै समूदायले आआफ्ना पोशाक वा आफूलाई मन परेको समूदायको पोशाकको प्रवर्धन गर्न सक्छन् । यस्ता पोशाकहरुलाई विश्वभरि फैलाउन सके विश्वभरिका पोशाकका पारखी, डिजाईनकर्ता, फरक खाले पोशाकका ब्यापारी र सांस्क्रितिक विविधताको अध्ययन अनुसन्धन गर्न चाहनेकालगिपनि यो सुनौलो अवशर बन्न सक्छ । यस्ता पोशाकहरुका बारेमा सकेसम्म धेरै जानकारि खोजेर सार्वजनिक गरिनुपर्छ ।

एउटै मौसम, एकै याम र समयमापनि हाम्रो देशमा मौसम र भौगोलिक बिभिन्नताका कारणले फरक फरक पोशाक लगाउनुपर्ने अवस्था छ । हाम्रा विविध समूदायले तराईको गर्मी याममा लगाउने पातला लुगा र हिमाली क्षेत्रका विविध समूदायले लगाउने बाक्ला लुगाहरु अन्य हिमाली र गर्मी याममा बस्ने देशका नागरिककालागि महत्वपूर्ण पहिरन बन्न सक्छन् । ति पोशाकहरुलाई विश्वभरि सार्वजनिक गरिदिने हो भने हाम्रा विविध पोशाकहरुको विश्व बजारमा माग बढ्न सक्छ । ति पोशाकहरु नयाँ फेसन र आधुनिक चाहना अनुसार परिस्क्रित वा परिमार्जन गरेर बैदेशिक मुद्रा कमाउन सक्ने माध्यम बन्न सक्छ । हाम्रा हिमाली क्षेत्रमा जाडो याममा लगाउने न्याना पोशाक युरोपको कठ्यांग्रिँदो जाडोमा बस्नेहरुकालागि महत्वपूर्ण बन्न सक्ने संभावना छ । विश्वभरि मानव सभ्यता र संस्क्रितिको अध्ययन अनुसन्धानगर्नेहरुका लागि आकर्षण बन्न सक्छन् । यस्ता पोशाकहरुको महत्व ति पोशाक लगाउने समूदायसित जोडिएकाले सांस्क्रितिक पर्यटनको विकासकालागिपनि महत्वपूर्ण बन्न सक्छन् । त्यसकोलागि हाम्रो देशमा के कति खालका पोशाक पाइन्छन् भन्ने खोजि हुनु जरुरि छ ।

यस्ता पोशाक लगाउँदा अझ हरेक नागरिकले आफ्नो समूदायको भन्दा फरक समूदायका पोशाक लगाइदिने हो भने भात्रित्व, भाईचारा, सहनशिलता र अरुको संस्क्रितिप्रति चासो, चाख, आदर र सम्मान बढ्छ । ति पोशाकका धार्मिक, सामाजिक, भौगोलिक, सांस्क्रितिक पाटाका बारेमा सार्वजनिक गर्न सके आफ्नै देश र बाहिरी मुलुकका नागरिककालागिपनि आकर्षणको विषय बन्छ ।

विश्व बजारमा नयाँ साजसज्जाका वस्त्रहरुको माग वर्षेनी बढ्दो छ । नयाँ डिजाईनका वस्त्रहरुको आविष्कार गर्न करोडौं खर्च गरिन्छ । ईटालीको मिलान, अमेरिकाको न्युयोर्क, फ्रान्सको पेरिस लगायतका शहरमा वर्षै पिच्छे फेशन सोहरु आयोजना गरिन्छन् । तिनले आफ्ना शहरलाई फेशन सिटीका रुपमा विकास गर्न करोडौं रकम खर्चिरहेका छन् । नयाँ डिजाईनका वस्त्रहरुलाई विश्व बजारमा लैजाने उद्देश्य तिनको हुन्छ । हामीले हाम्रा विविध खाले पोशाकहरुलाई ति फेसनपारखीहरुका आँखामा पार्न सके आम्दानीको स्रोत बन्न सक्ने संभावना छ । त्यसकालागि हाम्रा पोशाकहरुको प्रचारप्रसार हुनुपर्छ । विश्वभरिका नागरिकलाई हाम्रो पोशाक चिनाउने महत्वपूर्ण पाटो अन्तर्राष्ट्रिय पोशाक दिवशपनि हो । हाम्रो पोशाकको प्रचारप्रसार सँगसँगै हाम्रो देशमा भएका पर्यटकिय आकर्षण, हाम्रो विविध संस्क्रिति र समूदायका बारेमापनि विश्वभरि प्रचार हुन्छ ।

त्यसैले, पुष २७ लाई अन्तर्राष्ट्रिय नेपाली पोशाक दिवशका रुपमा मनाउँ । यस दिन हामीले आफ्नो देशमा पाएसम्मका हाम्रा विविध जातजति, भाषा भाषी र संस्क्रिति बोकेका विविध खाले पोशाकहरुको प्रचारप्रसार गरौं ।

तपाइँको प्रतिक्रिया