बेलायतमा सस्तो सम्मान, अग्रजहरुले नै गरे कार्यक्रम वहिष्कार

लन्डन । आफूलाई बटुवा बताउँदै विश्व घुम्ने दाउमा भौंतारिरहेका नेपालका एकजना चलचित्र पत्रकारले लन्डनमा वितरण गर्न खोजेको नागरिक सम्मान कार्यक्रम पूर्णरुपमा असफल भएको छ । सम्मान ग्रहण गर्दा झन् बदनाम हुने भएपछि बेलायतस्थित अग्रजहरुले कार्यक्रम नै वहिष्कार गरिदिए । कार्यक्रममा सम्मानका लागि छानिएका व्यक्तित्वमात्र होइन, प्रमुख अतिथी नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी, पत्रकार र अतिथीहरु नै आएनन् । मंगलबार साँझ लन्डनको सि एण्ड एल कन्ट्री क्लब नर्थहोल्टमा कार्यक्रम आयोजना गरिएको थियो । ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ भनिएको उक्त कार्यक्रममा अधिकांश व्यक्तित्व लज्जा महशुस गर्दै अनुपस्थित रहे ।

५१ जनालाई नागरिक सम्मान गर्ने आयोजकको पूर्व योजना त्यतिबेला विफल भयो जतिबेला सहभागी मध्येबाट सम्मान दिंदा पनि यो डेढ दर्जनमात्र पुग्यो । कुल सहभागिता संख्या चालिस जना हाराहारी मात्र रहेको त्यहाँ पुगेका एक सहभागीले बताए ।

कार्यक्रम हुनुअघि नेपाल प्लससहित केही मिडियामा यसको छनोट प्रक्रिया, स्तर र दिने व्यक्तिको हैसियतमाथि प्रश्नचिन्ह उठेर विवाद उत्पन्न भएको थियो । समाचार भाइरल भएपछि प्रमुख अतिथीका रुपमा निम्त्याइएका नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले तत्काल कार्यक्रममा सहभागी हुन नसक्ने जनाउँदै कार्यक्रम रद्द गरे । पछि विशेष अतिथीहरु सांसद बीरेन्द्र शर्मा, इलिङ डेपुटी लिडर रन्जित धीर, इलिङ पूर्व मेयर एवं काउन्सिलर हरबजन कौर र तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले समेत कार्यक्रम रद्द गरे ।

नागरिक सम्मानका लागि छनोट गरिएका व्यक्तित्वहरु प्राध्यापक डा. सूर्य सुवेदी, डा. पदम सिम्खडा, डा. राघवप्रसाद धिताल (ओबिइ), खगेन्द्र नेपाली, गौरिका सिंह, गायिका सितु खरेल, गोर्खा अभियन्ता ज्ञानराज राई, समाजसेवी सूर्य गुरुङ, नवीन गुरुङ, सोलिसिटर राजु थापा, व्यवसायीहरु रबिजंग लामिछाने, महन्त श्रेष्ठ, दीपक श्रेष्ठ, राजन कंडेल, पशुपति भण्डारी, कृष्ण तिमिल्सेना, एनआरएनए अभियन्ता सोम सापकोटा, अर्थ व्यवस्थापनविद विकलचन्द्र आचार्य, दृष्टिबिहीन सृष्टि केसी, कोमल मल्ल, विकास देवकोटा, विजय थापा लगायतले सम्मान अस्वीकार गरेर कार्यक्रममा आएनन् । ति व्यक्तिले मिडियामा विवादास्पद खबर आएको, आयोजकको उद्देश्य जेन्यूइन नभएको, छनोटमा मापदण्डबिनै एकलौटी निर्णय गरिएको र ५१ जनालाई दिंदा यसको महत्व न्यून भएको आदि कारण दर्शाउँदै सम्मान ग्रहण गर्न नगएको बताएका छन् । साथै उनीहरुले सम्मानित व्यक्तित्वबाट जनही तीस पाउण्डका दरले टिकट शुल्क र प्रायोजन समेत गराउन लगाइ व्यवसायिक प्रयोजनका लागिमात्र कार्यक्रम प्रेरित भएपछि आफूहरु त्यहाँ गएर सम्मान लिनुको कुनै औचित्य नभएको समेत बताएका छन् ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, बेलायतका प्रतिनिधिसहित अन्य पत्रकारहरु कोही पनि सहभागी भएनन् । कार्यक्रममा अतिथीका रुपमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव राजकुमार त्रिपाठीमात्र पुगेका थिए । ति दुवै एनआरएन नेता प्रचारका भोका हुन् । अझ रमाइलो त माइक समाउन पाए जस्तोसुकै कार्यक्रममा समेत पुग्ने फगामी र त्रिपाठीले कार्यक्रमलाई लाजै नमानी ऐतिहासिक भनिदिए ।

आर के सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतमा उक्त कार्यक्रम गरेका थिए, कार्यक्रमको संयोजन व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका हुन् ।

नेपालमा ‘बक्स अफिस’ नामक पत्रिका निकाल्ने आरके एनटिभी मेट्रोमा फिल्मी कार्यक्रम समेत चलाउँछन् । उनको मिडियाबाहेक फिल्म अवार्ड वितरणको लोभलाग्दो व्यापार छ । सुवेदीले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा हाइ अल्टिच्यूड अवार्ड वितरण गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाइसकेको र समुद्रमाथि, समुद्रमुनी, उडिरहेको हवाइ जहाजमा, खाडी मुलुक, युरोप र एसियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड वितरण गरेको अस्त्र प्रयोग गर्दै आएका छन् ।

यी हुन् सम्मान थाप्ने भाग्यमानीहरु

उक्त सम्मान मदन थापा, मनिषकुमार श्रेष्ठ, प्रसुना कँडेल, शर्मिला बर्देवा, बासु शर्मा, सुशील प्रजापति, निलहरि घिमिरे, मनिषा डंगोल, सनमकुमार बैराग, कुशल श्रेष्ठ, शान्ति गुरुङ, सपनकुमार राई, अमृता गिरी गजुरेल, ध्रुव दत्त, सिम्मी पुन, हरिसिंह थापा, सुजानो भन्ते र मन सुनुवारले ग्रहण गरे । सम्मानित हुने केही व्यक्तित्वबाहेक अधिकांशको सामाजिक योगदानबारे प्रश्न चिन्ह उब्जिएको छ । अग्रजहरुले सम्मान ग्रहण गर्न अस्वीकार गरेपछि अन्तिममा नयाँ अनुहार चयन गरिएको हो ।

यस्तो फितलो कार्यक्रमले सम्मानको महत्व झन् घटेको कतिपयको विश्वास छ । कतिपयले भने सम्मान लिईसकेपछी बेककरमा लिएको, राम्रो हुन्छ भन्दै फसाईयो’ भन्दै हिँड्न थालेका छन् । केहिले भने ‘ठूला ठूला, चर्चितहरुलेपनि लिन थालेका छन् भनेकाले हात थापियो, होइन रहेछ, बेक्कारमा बदनाम मात्रै भयो’ भन्दै हिँडेका छन् । बेलायतबासी अन्य नेपालीहरुले भने ‘सम्मानका भोकाहरुलाई चिन्न पाइयो, , अरुले नलिएपछी अलपत्र परेको सम्मान थाप्ने भोकाहरु’ भन्दै यो सम्मानलाई हाँसोको विषय बनाईरहेका छन् ।

तपाइँको प्रतिक्रिया