२१ वर्षमा बल्ल साईकल देखेको हुँ
विगत दश वर्षदेखि म साईकलको माध्यमबाट संसारलाई परिक्रमा गरिरहेको छु। यो अवधिमा मैले ११७ वटा मुलुकको यात्रा पुरा गरे। संसारका सबै महादेशहरुको। र त्यो यात्राको क्रममा मेरो साईकलको पंाग्राले १ लाख ८६ हजार किलोमिटर दूरी पार गरेको छ। नापेको छ भन्नु पर्छ। लगभग झण्डै संसारलाई पाच फन्को दूरी लगायो भन्दापनि हुन्छ ।
हाल संसारमा भईराखेको जातिय युद्द, धार्मिक युद्द र राजनीतिक युद्द जस्ता कुराहरुले संसारको सन्तुलन बिग्रीराखेको अवस्थामा नेपाल जस्तो एउटा सानो मुलुकबाटपनि शान्तिको फिलिंगो बोकेर संसारलाई शान्ति बाँड्न सकियोस भनेर म हिँडिराखेको छु।
यात्रा आफैमा कठिन हुन्छ। हरेक दिन बदलिईरहने हावापानी, वातावरण, प्रक्रिति, भाषा, खानेकुरा, मानिसका ब्यवहार र संस्क्रितिले हरेक दिन यात्रालाई चुनौति दिईराखेको हुन्छ। साँच्चिनै भन्ने हो भने यो एउटा एकदम कठिन कामनै हो। तरपनि म अहिले आफ्नो यात्राको लगभग लगभग अन्तिम पाईलामा आईपुगेको छु। म अझै एक वर्ष हिँड्छु। अब यो एक वर्षको अवधिमा अझै ३२ वटा मुलुक पार गर्छु भन्ने छ मेरो सोच अनुसार।
मेरो एक सय ५० वटा देशको यात्रा पुरा गर्ने लक्ष्य हो। यताबाट शुरु गरेर म पूर्वी यूरोप हुँदै पूर्वी सोभियत गणराज्यहरु पार गरेर म तिब्बत भएर नेपाल फर्किन्छु । अर्को वर्ष अर्थात् २००९ को अप्रिल, मे तिर म नेपाल पुग्छु।
सर्वप्रथम हामी नेपालीहरु। एडभेन्चर लाईफ (साहसिक यात्रा) मा पुगिसकेकै छैनौं भन्दापनि हुन्छ । म दोलखा जिल्लाको एउटा एकदम दूर्गम गाउँमा जन्मिएको मान्छे। माध्यमिक विद्दालय उत्तिर्ण गरेर २१ वर्षको उमेरमा काठमाडौं आएपछि बल्ल मैले साईकल देखेको, छोएको, समातेको अनी सिकेको। त्यस्तो मान्छेले साईकलमा संसार कसरि हिँड्यो भन्ने ठान्नुहोला। अचम्मै लाग्दो कुरा।
त्यसमाथिपनि हामी नेपाली। भनौं न आर्थिक हिसाबलेपनि कहिँ भ्रमण गर्न सक्दैनौं ।
क्रमश:
(उहाँका यात्राका असाध्यै चाख लाग्दा अनुभव र तस्विरहरु नेपालप्लसमा लगातार आउँदैछन। हेर्न र आफ्ना प्रतिक्रियाहरु लेख्न नभुल्नुहोला-नेपालप्लस)





