एन आर एन बेल्जियमको निर्वाचनमा अन्तर्घात र गोप्य गठबन्दनका भित्रि खेल

एन आर एन बेल्जियमको निर्वाचन त भयो । तर त्यसले उत्पन्न गरेका तरंगहरु भने बेल्जियममा बल्ल सल्बलाउन थालेका छन् । त्यो किनभने नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उमेदवारबिच भित्रि खेल र अन्तर्घात भए । यहि अन्तर्घात र खेलको असर सतहमा देखिन थालेको छ । पार्टीका बैठकहरु चल्दै छन् र गोप्य भेटघाट भएका छन् । बेल्जियममा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसकै उमेदवारले कसरि हारे ? कसले हरायो ? एउटै प्यानलकापनि कसैले ठूलो मतले हारे त केहिले ठूलो मतको दूरीमा जिते । यस्तो कसरि संभव हुन्छ ? यसका भित्रि कथाहरु रोचक छन् ।

कांग्रेस निकट जनसम्पर्क समितिका पूर्व अध्यक्ष जोशीको पार्टीगत मतनै १२ सयको हाराहारीमा थियो । एमाले निकट प्रवासी नेपाली मञ्च सहित दुई ठुला संगठनका साझा उमेदवार थिए उनी । दुई हजार भन्दा बढि मतदाता रहेको दुई साझा संगठनका अध्यक्षमा एक मात्र उमेदवार सुभास जोशीले कसरि पराजय भोगे ? जम्मा आठ सय मतदाताको फर्म भरेका लोक प्रसाद दहालले अन्तर्घात बिना जित्न संभव थियो कि थिएन ? अर्थात् लोक दहाल एक खेलाडी नभएको भए उनले जित्न सक्थे कि सक्थेनन् ?

यो निर्वाचनमा आर्थिक फाईदा लिने र दिने हरेक खाले खेल भएकोपनि देखिन्छ । बिगतमा एक अर्कालाई लगाएको गुण तिर्ने कामपनि नेपाली कांग्रेसका केहि नेता र जनजातिको प्यानल बनाएकाले गरे । एमालेको भात्रि संगठनसित गठबन्दन गरेको नेपाली जनसंपर्क समितिका तर्फबाट अध्यक्षमा सुभास जोशी थिए । तर एमाले पक्षले उनका पक्षमा खासै चासो दिएन । अध्यक्ष पदको दाबेदार आफ्नो पार्टीको नभएको र महासचिव र आइ सिसी सदस्य पदमा मात्रै उमेदवार भएकाले आफ्नै उमेदवारलाई जिताउनेतिर ध्यान दिए । एमालेको तर्फबाट आइसिसी सदस्यमा उमेदवार बनेकी सरस्वती चापागाईलाई आन्तर्पेनमा नरुचाउनेको मत केहि बढि भएकाले साझा प्यानलका अध्यक्ष सुभास जोशीको मतपनि त्यहाँ घट्यो ।

एन आर एन बेल्जियमका अध्यक्ष बनिसकेका प्रेम गुरुङपनि सुभास हराउ अभियानमा लागे । र जनजातिको प्यानलका समर्थक बनिदिए गोप्य तरिकाले । बेल्जियममा देउवा पक्षका गंगाधर गौतम र कोइराला (पौडेल) पक्षका भनेर चिनिने सिता सापकोटा पक्षको सधैं आन्तरिक संघर्ष चल्छ । गएको निर्वाचनबाट नेपाली जनसंपर्क समितिको अध्यक्ष बनेकी सिता सापकोटालाई देउवा पक्षले असफल बनाउने खेल खेल्ने ठाउँ खोजिएको थियो । यहाँ एन आर एन बेल्जियमको निर्वाचन भनिएपनि मुख्य खेल देउवा पक्ष बलियो बन्ने की पौडेल पक्ष बलियो बन्ने वा एकले अर्कोलाई पत्तासाफ पार्ने भन्नेमा देखियो । सिता पक्षलाई कमजोर पार्न प्रेम गुरुङ, जानकी गुरुङ, पदम गुरुङसहित गंगाधर गौतमको पक्ष लोक दहाललाई मत दिने र सुभास जोशीलाई हराउनेमा लाग्यो ।

यो पटक नेपाली कांग्रेसको प्रेम गुरुङ, जानकी गुरुङ, पदम गुरुङ र उता लोक दहाल पक्षका माओवादी केन्द्रका जित लामा र वीर मान घर्तिमगर मिले । त्यसैमा संघिय समाजवादी फोरमका पिजी शेर्पाले आन्तरिक गठबन्दन गरे । जित लामा र विरमान घर्तिमगरले दहाललाई अध्यक्षमा जिताउन लागे । आफ्नै पार्टीका आइ सिसी सदस्यमा उठेका चित्र सुबेदीलाई उनले असहयोग गरेको देखियो । उनीहरुले एक जनालाई मात्रै मत माग्नुपर्थ्यो । बल्ल चित्रले जित्ने थिए । तर उता पदम गुरुङ र सरस्वती चापागाईलाईपनि मत माग्दा ति दुईले दुबैतिरको मत पाउँदा चित्र सुवेदीको मत घट्यो । यहि करणले उनले हारे । यतिसम्म की जनप्रगतिशिल मोर्चाका तर्फबाट एक जना उमेदवारपनि नभएको मोर्चाका मेघ गुरुङपनि त्यहि जनजाति गठबन्दनतिर लागे ।

सुभास जोशीको तर्फबाट आईसिसी सदस्यमा उठेका पदम गुरुङ उति नरुचाईएका हुन् । तर अरु भोट नआएपनि जनजातिको मत आउनाले उनले जित्छन् भन्ने आँकलन गरियो । भयोपनि त्यस्तै । यता सुभास जोशीलाई असफल बनाउनेलेपनि लोक दहाललाई मत दिए । उता जनजातिको भावना पक्रेर एकता प्रक्रिया र आन्तरिक सहमति गराउन प्रमुख भूमिका खेलेका जित लामा र वीरमान घर्ती मगरकोपनि प्राथमिकता अध्यक्षमा लोक प्रसाद दहाललाई जिताउनेमा भयो । नत्र ११ सय भन्दा बढि मत ल्याएर जितेका लोक दहालको आफ्नै प्यानलका र एउटै पर्टीका चित्र सुबेदीले कसरि हार्थे ? आखिर संगठनमा चित्र सुवेदीपनि अलोकप्रिय त थिएनन् ।

आइसिसी सदस्यकी उमेदवार सरस्वती चापागाई सितपनि अध्यक्षमा लोक दहाललाई मत दिए तपाईलाई आइसिसी सदस्यमा मत दिन्छौं भन्दै मत मागे । दहाल पक्षकाले ‘हामी हाम्रो भोट दिन्छौं, तिम्रो भोट दहाललाई देउ अध्यक्षमा’ भन्ने सहमती गराए । पदम गुरुङलाईपनि त्यहि भनियो ‘तपाईको मत अध्यक्षमा लोक दहाललाई दिनुस्, हामीपनि आइसिसीमा तपाईलाई दिउँला’ भनियो । आइसिसी सदस्यको मत तिन जना उमेदवारमा बाडिँदा पदम गुरुङ र सरस्वती पक्षाकाले दुबैतिरको मत पाए र चित्र सुवेदी हार्न पुगेका हुन् ।

लुभेनमा नेपाली कांग्रेसको पार्टी दह्रो मानिन्छ । कांग्रेसका प्रमुख खेलाडी गंगाधर गौतम र सिता सापकोटाको क्षेत्रपनि हो त्यो । लुभेन शहरबाट सुभास जोशीलाई आउनुपर्ने भोटपनि उनलाई आएन । दहालको पक्षमा गयो । लोक प्रसाद दहालले त्यति धेरै भोट पाउनु, करिब ५० जना मात्रै सदस्य रहेको राप्रपाका तर्फबाट दहालको प्यानलकी योगिता थापाले उपाध्यक्षमा जित्नु तर त्यहि प्यानलका आइ सिसी सदस्यका उमेदवार तर चित्र सुबेदीले हार्नु के यो सामान्य हो ? आन्तर्पेनमा एमाले र कांग्रेसको संगठनको अवस्था अझ बलियो हो । तर त्यहिँबाटपनि मत जोशीको प्यानललाई आउनुपर्ने जति आएन ।

कांग्रेसका तर्फबाट लुभेनमा मुख्य घात भयो । उता एमालेको तर्फबाट आन्तर्पेनमा घात गरियो । आन्तर्पेनमा एमालेले आफूले आइसिसि सदस्यको मत लियो, यता अध्यक्षको भोट लोक दहाललाई दिए । किनकि अध्यक्ष पदको उमेदवार आफ्नो पार्टीको थिएन । भित्रि रुपमा जनजाति प्यानल नबनेको भए लोक दहाललाई आएको मत सुभास जोशीले ल्याउनुपर्ने मत हो र सुभास जोशीले ल्याएको मत लोक दहालले ल्याउनुपर्ने मत हो ।

यो निर्वाचनमा स्पष्ठ के देखिन्छ भने बाहिर बाहिर पार्टीगत गठबन्दन एकातिर नेपाली कांग्रेस र एमालेले गरेको देखियो । अर्कोतिर संघिय फोरम, बिप्लव समूहको मोर्चा, माओवादी केन्द्र र राप्रपाको गठबन्दन त देखियो । तर वास्तविकतामा बेल्जियममा पहिचानका बिरोधी भनेर चिनिएका कांग्रेस र एमाले एकातिर देखिए । अर्कोतिर पहिचानका पक्षधरहरु एकातिर देखिए । यहि पहिचानका पक्षधरसित सहकार्य गर्दै आएका गंगाधर गौतम यो निर्वाचनमापनि कांग्रेसलाई लत्याएर पहिचानका पक्षधरकै बठबन्दनलाई सहयोग गर्न आए । अन्तिम अवस्थामा आफ्नाहरुलाई सर्कुलर गरेर पहिचानका पक्षधरहरुलाई जिताउन भूमिका खेले उनले । तर आन्तरिक गठबन्दन भने पदम गुरुङ, लोक दहाल, योगिता थापा र आङमाया लामा शेर्पालाईनै जिताउने थियो जुन गोप्य राखियो ।

अर्को चाखलाग्दो पक्ष के छ भने गंगाधर गौतम पक्षले आफ्ना कतिपय ब्यक्तिहरुलाई निर्बिरोध बनाईसकेका थिए । अहिले उनकै पक्षकाले जितेकाले एन आर एन बेल्जियममा गंगाधर गौतमकै पकड बलियो बनेको छ । अहिले पहिचान पक्षका उमेदवारहरुलाई जिताउँदापनि गंगाधर गौतमकै पक्षमा अघोषित रुपमा एन आर एन बेल्जियमको प्यानल बन्न पुगेको छ ।

बेल्जियम युरोपमा नेपाली राजनितिको केन्द्र हो । नेपाली कांग्रेस, एमाले, पह्चानवादी र बिरोधी सबैको टक्कर र युरोपलाई प्रभाव पार्ने राजनिति यहिँ हुन्छ । वर्षौंदेखि फुटेर आएको नेपाली कांग्रेसलाई सुभास जोशीले जसरि मिलाएर ल्याएका थिए अहिलेको राजनितिक अन्तर्घातले कीँग्रेसको युरोपभरिकै संगठनमा प्रभाव र किचलो पार्न सक्छ । एन आर एन बेल्जियममा भएको भित्रि गठबन्दनले अन्य संगठनहरुमापनि किचलो पर्ने देखिन्छ । एन आर एन बेल्जियमको निर्वाचनको परिणाम लगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसमा किचलो शुरु भैसकेकोपनि छ ।

तपाइँको प्रतिक्रिया