यस्तो छ एन आर एन बेल्जियमको निर्वाचनका भित्रि खेल

यहि आइतवार सेप्टेम्बर ३ का दिन एन आर एन ए बेल्जियमको निर्वाचन हुँदै छ । यो निर्वाचनमा दुई प्यानल बनाएर दुई थरी भिडन्तमा छन् । नेकपा माओवादी केन्द्र, बिप्लव समूहको नेपाल कम्युनिष्ट पार्टी, राप्रपा, संघिय समाजवादी फोरम, नेकपा एमाले र नेपाली कांग्रेस यि पार्टीहरु दुई खेमामा बिभाजित भएर मैदानमा उत्रिएका हुन् । सधैँ राजनितिक झगडा र किचलो, आरोप प्रत्यारोप र तानातानमा तल्लिन रहने गरेपनि चुनावी मोर्चामा यि दलहरु जम्मा दुई खेमामा विभाजित भएर एकताको सन्देश दिन खोजेझैं गरेका छन् । जनप्रगतिशिल मञ्च मार्फत माओवादी केन्द्र, जनप्रगतिशिल मोर्चा मार्फत नेपाल कम्युनिष्ट पार्टी (बिप्लव नेत्रित्वको), राप्रपा र संघिय समाजवादी फोरमको एक समूह छ जसको नेत्रित्व लोक प्रसाद दहालले गरेका छन् । अर्कोतिर प्रवाशी नेपाली मञ्चमार्फत नेकपा एमाले र नेपाली जनसम्पर्क समिति मार्फत नेपाली कांग्रेसको समूहको नेत्रित्व सुभास जोशीले गरेका छन् । झट्टा हेर्दा यि दुई खेमामा बिभाजित देखिएपनि भित्रभित्रै यि खेमा भित्रपनि नेता पिच्छेका गूट, तानातान र कसले कसलाई कसरि छिर्के हान्न सक्छ भन्ने भित्रि खेल चलिरहेको छ । यहि छिर्के हान्ने खेलमा कसले तगडासित खेल खेल्न सक्छ यो निर्वाचनमा उसैको पक्षले जित्न सक्छ ।

एन आर एन बेल्जियमको लागि निर्वाचन नगरि साझा सहमतीको प्रयास थालौं र सर्वसम्मत बनाउँ भन्दै जनसंपर्क समिति, बेल्जियमले शुरुमा प्रस्ताव फ्याँक्यो । त्यसपछि सहमतीका प्रयास र कोठे बैठक शुरु भए । जनसंपर्क समितिकी अध्यक्ष सिता सापकोटा र उनको पक्षकाले सहमतीको प्रयास थाल्यो । उनीहरुले सुभास जोशीलाई अध्यक्षका रुपमा अगाडि सार्ने निधो गरिसकेका थिए । तर एन आर एन ए बेल्जियमका अध्यक्ष गंगाधर गौतमले आफूले सबै दलहरुलाई विश्वाशमा लिएर सहमती जुटाउने र फेरि एक कार्यकाल आफैंले अध्यक्ष भएर चलाउने प्रस्ताब जनसंपर्क समितिमा राखे । त्यसपछि जनसंपर्क समितिले ‘सबैको सहमती जुटाउन सक्ने भए ठिक छ’ भन्ने आशयले सहमती जुटाउने प्रयास थाल्न गौतमलाई दियो । तर उनले सबैलाई सहमतीमा ल्याउन सकेनन् । त्यसपछि जनसंपर्क समितिले सुभास जोशीको पक्षमा सकेसम्म सहमती जुटाउने प्रयास थाल्यो ।

बिभिन्न कोठे बैठकहरु भए । माओवादी केन्द्रमापनि यस विषयमा बहस भयो । यसमा हाल मुख्य खेलाडी भनिएका माओवादी केन्द्रका चित्र सुबेदी र जित लामा लागे । जित लामा माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्ष र सुबेदी प्रचण्ड पक्षका हुन् । बेल्जियममा श्रेष्ठ  पक्षधरको खासै प्रभाव छैन । तैपनि माओवादी केन्द्रको बेल्जियम संगठन जनप्रगतिशिल मञ्चका अध्यक्ष लामानै छन् ।

नेपाली कांग्रेसको संगठन सधैं तानातान र आन्तरिक किचलोमै चल्दै आएको हो । गंगाधर गौतम पक्ष र सिता सापकोटा पक्ष त स्पष्ठ देखिएकै छन् । यसमा भित्रि खेल खेल्ने अर्का खेलाडीपनि छन् । जानकी गुरुङ, हाल आइसिसि सदस्यका उमेदवार पदम गुरुङ र युवराज गुरुङको अर्को खाले समूह छ र यो समूहलाई जनजातिलाई बढि उचाल्ने र अलिकति अतिवादको पक्षमा लाग्ने भनेर चिनिन्छ । मूलत बेल्जियममा यि तिन गूटबिच प्रतिस्पर्धा चल्छ । गंगाधर गौतम शेर बहादुर देउवा पक्षका हुन् भने सिता सापकोटाको पक्ष कोइराला पक्ष (हाल रामचन्द्र पौडेलकोपनि भन्न सकिने) का हुन् । सिता सापकोटाको पक्ष बढि सरल, सहमतीमा लैजान खोज्ने र सबै पार्टीप्रति बढि उदार भनेर चिनिन्छ । हो यहि नेत्रित्वकाबिच जित लामाले सिता सापकोटा समूहको वा अहिलेको नेपाली जनसंपर्क समितिको नेत्रित्वसित सहमतीको प्रयास गरेन । उनीहरुले गंगाधर पक्षसित सहमती गर्न त खोजे तर सुभास जोशी र सिता सापकोटाको निर्वाचित र हाल शक्तिशाली मानिएको समूहसित सहमतीको विश्वाशिलो प्रयासनै गरेन । यिनका बिचमा मध्यस्तता गरिदिनेपनि कोहि निस्किएन ।

यहि बिचमा नेकपा एमालेको प्रवाशी नेपाली मञ्चसितपनि बहस र छलफल चलिरहेकै थियो । राजनितिमा खेलाडी मानिएका अर्जुनकुमार श्रेष्ठ (एन आर एन ए केन्द्रिय सचिव) ले सिता सापकोटा र सुभास जोशीसित चुनावी तालमेलकालागि गम्भिर बहस थाले । त्यस अनुसार महासचिव र आइसिसी सदस्य दुई प्रमुख पद आफूले लिएर बाँकी पदहरु नेपाली कांग्रेसलाई दिन तयार देखिएपछि कांग्रेस र एमालेबिच गठबन्दन बन्यो ।

जित लामा बेल्जियममा जनजातिको नारालाई बढि उचाल्ने वा जनजातिका मुद्दा चर्काउनेसित नजिकिन्छन् । जनप्रगतिशिल मञ्चका अध्यक्ष भएपनि उनको प्रभाव संगठनमै दह्रो छैन । त्यसैले उनको दाउ यहि निर्वाचनमा आफ्नो प्रभाव बढाउने हो । करिब दुई सय सदस्यपनि नभएको, पछिल्लो समयमा कुनै भेला र गोष्टी, बैठक र प्रभावकारी कार्यक्रम दिन नसकेर थन्किएको संगठनलाई आफूले नेत्रित्व गरेपछि एन आर एन ए बेल्जियमको निर्वाचनमा स्थापित गराएँ भन्ने जसलिएर अगाडि बढ्न खोजेको दाउ लामाको देखिन्छ । त्यसैले, उता सिता सापकोटा, सुभास जोशी र प्रवाशी नेपाली मञ्चको गठबन्दनमा मिल्न नदिएर उनले यता राप्रपा, संघिय फोरमसित गठबन्दन गराएको देखिन्छ ।

कसको मत कति ? जितको आधार के ? 

नेपाली जनसंपर्क समितीको हाल करिब एक हजार दुई सय पंजिक्रित सदस्य छन् । करिब एक हजारको संख्यामा उपस्थित हुने गरेका छन्, यो संगठनको अधिवेशनमै । बँकि एमाले (प्रवाशी नेपाली मन्च) कोसमेत हिसाब गर्दा एमाले र नेपाली कांग्रेसका करिब दुई हजार सदस्य वा मतदाता छन् । अर्थात् सुभास जोशीको अध्यक्ष पद र उनको प्यानलका पक्षमा दुई हजार मतदाता भए ।

उता लोक प्रसाद दहालको पक्षमा ? नेकपा माओवादी केन्द्र (जनप्रगतिशिल मञ्च) का करिब दुई सय सदस्य हुन् । बढिमा दुई सय पचास । राप्रापाको संगठन सानो छ । यिसित करिब ४० सदस्य छन् । उता संघिय फोरमसित करिब सय । यि सबै जोड्दा करिब पाँच सय मतदाता हुन् । यसरि पार्टीगत वा संगठनात्मक हिसाबले हेर्दा सुभास जोशीको प्यानलसित नेपाली कांग्रेस र एमालेको गरि करिब दुई हजार मतदाता छन् भने यता लोक प्रसाद दहालको प्यानलसित पाँच सय मतदात रहेका छन् । तैपनि लोक दहालले करिब आठ सय सदस्यको फर्म बुझाएका छन् । उनले सदस्य बनाएका सबैले उनैको प्यानललाई मत दिन्छन् भन्ने निर्क्यौल हुन्न । उनले सदस्य बनाएका सबैले मत दिएपनि जम्मा आठ सय भयो । अन्यत्रबाट कति मत आउला ?

जितको आधार के ?

लोकप्रसाद दहाल एक सफल ब्यापारी र समाजसेवा गरेका ब्यक्तिपनि हुन् । उनले नेपालमा दैवीप्रकोप लगायतका धेरै आपतबिपतमा सामाजिक सहयोग गरेका छन् । बेल्जियमका ब्यवशायीहरुबिचपनि उनी लोकप्रिय हुन् । तर निर्वाचनमा नेपालमा सामाजिक सहयोग गरेको, कम बोल्ने, बिवादमा नमुछिने गरेकैले मतदाताहरुले मत कति देलान ? नेकपा एमाले र नेपाली कांग्रेसका मतदाताले पार्टीगत लाईन हेरेर मतदान गर्ने हुन् । दहाल बिवादमा नआउनुको अर्को कारणपनि छ, त्यो हो बेल्जियममा देखिएका बिवादित विषयहरुमा उनी उति सरिक हुने र बादबिबादमा सहभागि हुने गरेका छैनन् । त्यसैले चुनौतिपूर्ण, बिबादित र अप्ठेरा विषयमा जो कम बोल्छ, सहभागि हुन्छ उ बिवदितपनि कमै हुन्छ । त्यसैले उनको छबी सबैसित असल, सौम्य, नरम र भद्र देखिएको हो । तर यसैलाई आधार मानेर नेपाली कांग्रेस र एमालेको मत उनले बिजयी हुनेगरि पाउने अवस्था देखिन्न ।

सन्तोस जोशीको आधार भनेकै उनको सांगठनिक क्षमता हो । नेपाली जनसंपर्क समिति सन्तोश जोशीको कार्यकाल अघि सधैं फूटमै थियो । अघिल्ला निर्वाचनमा नेपाली कांग्रेस दुई फ्याकमा बिभाजित भएरै एन आर एन एको निर्वाचनमा भाग लिन्थे । तर जब सन्तोस जोशीले नेत्रित्व लिए तब उनले नेपाली जनसंपर्क समितिलाई एकतामा ल्याए । हाल नेपाली कांग्रेस एक ढिक्का भएर एकै समूहबाट एन आर एन ए बेल्जियमको निर्वाचनमा तालमेल गर्नु जोशीकै देन हो । धेरै नबोल्ने, बोलेका कुरामा अडिग रहने, अन्य दलहरुसितपनि सुमधुर सम्बन्ध बनाउन सक्ने, सांगठनिक सुधारमा लागिरहने र युवाहरुलाईपनि सांगठनिक गर्दै लैजाने सक्ने जोशी ब्यक्तिगतरुपमापनि बलिया छन् । उनी हालसम्म कुनै बिबादमा मुछिएका पनि छैनन् ।

बेल्जियममा सात संगठनको कार्यगत एकताको प्रयास थालियो । त्यहाँका सात संगठनलाई एकै मोर्चामा ल्याएर मिलाएर लैजान सक्नुलाई जोशीको नेत्रित्व क्षमता र समाजलाई मिलाएर लैजान सक्ने कुशल संगठकको रुपमापनि बेल्जियममा हेरिन्छ । जोशीकालागि यो अर्को प्रभावकारि आधार हो ।

अन्तर्घातको अर्को पाटो

बेल्ज्यममा यस्ता निर्वाचनमा धेरै अन्तर्गात हुने गरेका छन् । यो पटकपनि नहोला भन्न चाहिँ सकिन्न । किनभने आइसिसि सदस्यमा जोशीको तर्फबाट उमेदवार बनेकी सरस्वती चापागाई नेकपा एमालेमा माधव नेपाल पक्षकी हुन् । तर बेल्जियममा नेकपा एमालेको तर्फबाट प्रभावशाली मानिएका शिव बरुवाल केपी ओली र अर्का खेलाडी अर्जुन कुमार श्रेष्ठ भिम रावल पक्षका हुन् । माधव नेपाल पक्षभन्दा ओली र भिम रावल पक्ष निकट छन् । त्यसैले सरस्वती चापागाईलाई मतदान नगरि माधव नेपाल पक्षलाई सदाकोलागि पत्तासाफ गर्न ओली र रावल पक्षको मत लोक दहालले नेत्रित्व गरेको प्यानलका आइसिसी सदस्य चित्र सुबेदीलाईपनि जान सक्छ । अघिल्लो निर्वाचनमापनि पराजय भोगेकी चापागाईलाई यस पटक पनि हराउन सके बेल्जियममा माधव नेपाल पक्षलाई पत्तासाफ पार्न सकिन्छ भन्ने दाउपनि चल्न सक्छ । तर सांगठनिक रुपमा देखिने र बुझिनेगरि यसरि अन्तर्घात गर्न भने उति सजिलो छैन ।

अन्तर्घातको अर्को खेल नेपाली कांग्रेसभित्रैपनि हुन सक्छ । एन आर एन बेल्जियममा आइसिसीकालागि तिन जना छन् । अर्का उमेदवार पदम गुरुङ हुन् । पदम गुरुङको प्यानल भनेको जानकी गुरुङ र युवराज गुरुङ लगायतका अनुदार र अनिवादी भनेर चिनिएकाको प्यानल हो । नेपाली कांग्रेसभित्रै यो धारलाई नरुचाउनेको संख्या ठूलै छ । यो धारलाई मन नपराउनेहरुले पदम गुरुङलाई मत नदिएर चित्र सुबेदीलाई मत दिन सक्छन् । अन्तर्घातका यि दुई पक्ष हाबी भएमा चित्र सुबेदीले आइसिसी सदस्यमा हात पार्ने संभावनापनि छ । र चित्र सुबेदीपनि “आफ्नो प्यानलको कुरो त्यस्तै हो, हारिन्छ, अरु जे होस मलाई एक पटक मौका देओ, मिलेरै काम गरौंला” भन्ने दाउमा अगाडि बढेका छन् भित्र भित्रै ।

अन्तिम अवस्थासम्म अन्तर्घातको तेस्रो पाटोपनि देखिन सक्छ । त्यो हो, संघिय फोरमका पिजी शेर्पालाई गंगाधर गौतम मार्फत मिल्न लगाएर मनोनितमा फोरम पक्षकालाई केहि पद दिने र उताको मत जोशी प्यानलतिरै तान्ने । किनभने गंगाधर गौतम नेपाली जनसंपर्क समितिको नेत्रित्वमा रहेकै बेला फोरमका पिजी शेर्पा गौतमकै सहयोग र समर्थनमा एन आर एन ए बेल्जियमको अध्यक्ष बनेका थिए । पिजी शेर्पाले गौतमका प्रस्तावहरु काटेर हिँड्दैनन् भन्नेहरुपनि बेल्जियममा निकै छन् ।

बिप्लव छन् बिप्लव छैनन्

जनप्रगतिशिल मोर्चा नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) को निकट जनवर्गिय मोर्चा हो । यो संगठनको युरोप मोर्चाका प्रमुख विष्णु भुजेल लोक प्रसाद दहालले नेत्रित्व गरेको समूहका चुनावप्रचार प्रसार संयोजक छन् । तर अचम्म के भने आफैं चुनावप्रचारप्रसारमा बसेपनि उनको मोर्चाका तर्फबाट एक जना सदस्यपनि एन आर एन ए बेल्जियमको निर्वाचनमा उमेदवार बनेका छैनन् । त्यसैले यो निर्वाचनमा बिप्लव पक्षबाट विष्णु भुजेल प्रचारप्रसार संयोजकमा भएपनि निर्वाचनमा सहभागिता छैन । त्यसैले, यो निर्वाचनमा उनको संगठन छ की छैन दोधार देखिन्छ ।

सधैं एन आर एन एलाई बहिस्कार गर्दै आएको यो टोलीले यसपटक एन आर एनलाई उपयोग गर्ने निति लियो । तर आफ्ना तर्फबाट एक जनापनि उमेदवार खडा नगरेपछि यो समूहलाई उल्टै एन आर एन ए र खासगरि माओवादी केन्द्रलेनै उपयोग गरिदिएको चर्चा बेल्जियममा छ ।

अन्तिम परिणाम के होला  ?

चुनावी रणनिति, सांगठनिक क्षमता, प्रभाव र सबै संगठनका पन्जिक्रित सदस्यहरुको आँकडा हेर्दा सुभास जोशीको प्यानले धेरै मतको अन्तरले जित्ने देखिन्छ । बेल्जियमका बिभिन्न शहरमा भएको दुई पक्षको चुनावी प्रचारप्रसार र सहभागितालेपनि सुभाश जोशीको प्यानल बलियो देखिएकै छ । उनको प्यानलका केहि अनुदारहरु भित्रि अन्तर्घातका कारण वा मतदाताले नरुचाएकैले हार खप्नुपरेपनि अधिकांश पदमा यिनैको प्यानल बिजयी हुने देखिन्छ । उता सोझा, बिवादमा नमुछिएका, समाजसेवामा चाख राख्ने लोक प्रसाद दहाललाई प्रयोग गरेर सांगठनिक उचाई बढाउने, आर्थिक सहयोग लिने र दहाललाई बिनासित्तीमा हारको किनारातिर लैजाने स्थिति देखिएको छ । 

तपाइँको प्रतिक्रिया