सफल स्कुल : जोन हल्ट र हाम्रा बिद्यालय

  • सिद्धिचरण भटराई

स्कुल हाम्रो जीवनको अभिन्न अंग भईसक्यो घर जस्तै स्कुल पनि । आज स्कुल कस्तो हुनु पर्छ भन्ने बहसले घर कस्तो हुन्छ र समाज कस्तो बन्छ भन्ने कुराको छिनोफानो गर्छ । अर्थात घर, स्कुल र समाज सधैभरी भईरहन्छन र यीनका विचमा अन्यौनाश्रित सम्वन्ध छ ।

हामी पढने स्कुल कस्ता थिए ? हामीले स्कुलमा के अनुभव गर्‍यौं ? अवका वाल वच्चालाई कस्तो स्कुल दिनुपर्छ ? यी कुरा कति त हामीले मनन गरेर पनि अवका स्कुल कस्ता हुनुपर्छ भन्ने कुरा तिर हामी जान सक्छौं । कतिपय अन्यत्रका असल अभ्यासबाट सिक्न सक्छौं ।

स्कुल शिक्षाको आरम्भ जंगवहादर राणा बेलायत भ्रमणबाट फर्केर दरबार हाईस्कुल खुलेबाट प्रारम्भ भएपनि यसको बिस्तार गाउँसम्म हुन कैयौ दशक लाग्यो । त्यस अघि सामुदायिक आवश्यकता पुरा गर्न गुरुकुल शिक्षाहरु थिए, जहाँ चण्डी, बेद, ज्योतिष बिद्याहरु पढाइन्थे । ती परम्परागत पद्धतीहरु स्कुली शिक्षा र नयाँ शिक्षा एैन लागु भएपछि बिस्थापीत हुँदै गए ।

मैले पढने स्कुल :

०३५ सालतिर गुल्मी जिल्ला ठूलो लुम्पेक धुसेनी पाहाँदी । शिक्षक २ जना मात्र । स्कुलमा लेख्न नजान्ने, गृहकार्य पुरा नगर्ने, कक्षामा होहल्ला गर्नेलाई चर्को घाममा स्कुलको पर्खालमा बिछाइएको तातो ढुंगाको सुताएको मैले देखेँ र भोगेँ । एबिसिडी र ककाकिकी नजान्दा तातो ढुंगामा सुत्नु पथ्र्यो ।

त्यतिखेर २ वटा कुराको मात्र महत्व हुन्थ्यो । पास या फेल । अहिले जस्तो कति प्रतिशत र ग्रेडको महत्व त्यति भईसकेको थिएन । अर्को संजाए हुन्यो सिस्नो पानी । स्कुल जान साह्रै डर लाग्थ्यो । बर्खे छुट्टी हुँदा र शनिवार, दशैको लामा छुट्टी हुँदा बिद्यार्थिहरु साह्रै खुशी भइन्थ्यो । बर्षको एक पटक परिक्षा हुन्थ्यो बार्षिक परिक्षा । ३ कक्षामा वनभोज जान नगद पैसा दिन नसक्दा बार्षिक परिक्षाफल नै रोकिएथ्यो ।
मावि तह पढदा अंग्रेजि शब्दको स्पिीलिंग दिन नसक्दा हामी बिद्याथिका आमा र बुवाको अपमान गर्ने गरी शिक्षकले अभिव्यक्ति दिएकाले त्यसका बिरुद्ध बिद्रोह समेत गर्‍यौं । त्यस पछि स्कुलको वातावरण विद्यार्थिका लागि पनि सम्मानयोग्य बन्दै गयो । यसले पढाईलाई कमजोर भने बनाएन ।

अहिलेका स्कुल :

पहिलो बिद्यार्थि उमेरले बोक्ने क्षमता भन्दा कितावको भारी ठूलो । दोश्रो परिक्षा र नम्बरको आतंक । तेश्रो कक्षा कोठाको निंरकुश वातावरण । बिद्यार्थिले के सिक्यो, के बुझयो , के गर्दैछ भन्ने बारेमा भन्दा पनि उसले सबैले पछि पारेर अघि बढयो बढेन ? यसैले मापन गर्छ बिद्यालयको प्रगति । स्कुलको गृहकार्य सबै भन्दा ठूलो त्रास । शिक्षकहरुको एकोहोरो पढाई र बिद्यार्थीहरुको एकोहोरो सुनाई, त्यसैको पुर्नअभिव्यक्ति नै सिकाई । हामीले स्कुलहरुमा गरेको आम अभ्यास यही हो ।

शिक्षक शैक्षिक सामग्रीहरु मध्ये पाठयपुस्तक कै मात्र भर गर्छ । उसले अन्य सिकाई सामग्रीहरुमा ध्यानसम्म दिँदैन । सरकारले दिने तालिमहरु मात्र दिनका लागि हुन अभ्यास गर्न होइन भन्ने बुझाई छ शिक्षकहरुमा । बिद्यालयको निरिक्षण पद्धति कामयावी बन्न सकेको छैन । शिक्षकहरुको दलिय सिन्डीकेटको प्रभावले निरिक्षण निष्प्रभावी जस्तै छ । अरु त अरु आफैले पढाउने स्कुलमा अंग्रेजी माध्यमको पढाई भएपनि उ नीजि स्कुलमा छोरा छोरी भर्ना गर्छ । शिक्षण सिकाईमा तालिम प्राप्त नभएकै शिक्षकले पढाउने बिद्यालय उसको छनौटमा पर्छ । यो व्यवहार शिक्षकको आफैप्रतिको अविश्वास र धोका हो। सामुदायिक बिद्यालयको प्र्रतिको जनविश्वास यही हो । सरकारी लगानीको क्षतिको एक उदाहरण हो यो ।

असफल स्कुल पढे पछि

सिकाई समुहका सरदचन्द्र वस्तीको सम्पादनमा अमेरिकाका बिख्यात शिक्षाविद जोन हल्टको नेपालीमा अनुवादीत असफल स्कुल पढने मौका मिल्यो । यो किताव पढेपछि मेरा सोँचहरु फेरिएका छन । यद्यपी म शिक्षक भने होइन । एक समाजशास्त्रीय बिद्यार्थि भएकोले स्कुल, समाज र मानवीय आवश्यकताबारेको अध्ययन मेरो रुची छ । मैले धेरै शिक्षक मित्रहरुलाई यो किताव पढने सुझाव दिएको छु । बिद्यालयको सिकाई वातावरण बनाउन चाहनेले यो किताव पढनु पर्छ भन्ने मलाई लाग्छ ।

अहिले नेपालमा पनि स्कुलहरु असफलतातर्फ अगाडि बढेकोमा शिक्षाविदहरु चिन्तित छन । बाबुआमा छोराछोरी भनेजस्तो नबनेकोमा असन्तुष्ट, शिक्षक बिद्यार्थिहरु पढाए जसरी नम्बर नल्याएकोमा असन्तुष्ट, देशका शैक्षिक सरकोकारवालाहरु शैक्षिक उत्पादनले काम नपाएर असफल भएकोमा असन्तुष्ट । यसको दायरा फराकिलो छ ।
आखिर बिद्यार्थिको सिकाईको बाधक को हो ? के हो ? कसरी हो ? किन हो ? । कमजोरी कहाँ छ ? र सुधार कहाबाट गर्ने ? यसको उत्तर खोज्न जरुरी छ ।

किन असफल छन स्कुल ?

यो एक बृहत्तर प्रश्न हो । यसले जवाफमा व्यापक बिस्तृतीकरणको पनि माग गर्छ तर संक्षेपमा हामी भन्न सक्छौ कि हामीले पढाएको शिक्षण प्रक्रियाहरु मै हामीले राम्रो गरी प्रश्न गर्नु पर्छ । त्यसपछि मात्र पाठयक्रम र पाठयपुस्तक र परिक्षा प्रणालीहरुमा रहेका कमजोरीहरु थाहा पाउन सक्छौं ।

जोन हल्ट भन्छन ”स्कुल त केटाकेटीका लागि जेल हो । जहाँ उनिहरुलाई बन्दीको जस्तो व्यवहार गरिन्छ, । आज्ञापालक कठपुतली बनाइन्छ । पढ्नु आनन्द होइन यातनाको बिषय बन्छ । मौलिकता र सिर्जनात्मकता दण्डनीय बिषय हुन्छन । पुरस्कार, दण्ड, ग्रेड, डिग्री र प्रमाणपत्र आदिबाट सुसज्जजीत आजको शिक्षा मानव जातीको सबैभन्दा तानाशाहिपुर्ण र खतरनाक आविश्कार हो । बिश्वव्यापी गुलाम राज्य व्यवस्थाको गहिरो जग हो ।”

उनका अनुसार शिक्षा प्रणालीलाई २ तरिकाले विभाजन गर्नु पर्छः पहिलोले मानिसलाई रित्तो भाँडो ठानेर भरिदिन चाहन्छ । दोश्रोले ज्ञानको चिज उसगै छ भनेर भएको ज्ञानलाई विकसित गर्ने अवसरको रुपमा लिन चाहन्छ । पहिलो धार शिक्षा विद लर्ड मेकालेले ब्रिटिश साम्रज्यवादले आफनो उपनीवेशका क्रममा औद्योगिक पुँजी बजारलाई चाहिने गरी जनशक्ति बनाउन बनाइएको पद्धतीको प्रतिनिधीत्व गर्छन भने दोश्रो धार हाम्रा पुर्वज वा ऋषीमुनीहरुको धार हो । यो महान शिक्षकहरु बुद्ध, जनक, कपिलमुनिहरु देखाएको बाटो हो । जोन हल्ट दोश्रो धारको पक्षपोषण गर्छन ।

उनले पुस्तकमा निम्न कुराहरुमा जोड दिएका छन । १। हाम्रो सष्कृति र परम्पराको उच्च मुल्य सिकाउनु । २। केटाकेटी जुन समाज बाँचीरहेका छन त्यसबारे अवगत गराउनु ३ उनिहरुलाई कुनै रोजगारीका लागि र सम्भव सफलताका लागि तयार पार्नु । यी मध्ये एउटा पनि काम स्कुलले गर्न नसकेको बताउँछन । यसैलाई उनले स्कुलको असफलता संग जोडेका छन । सानो उमेरमा स्वतन्त्रतापुर्वक सिक्ने अवसरलाई लत्याइएका कारण केटाकेटीहरु लागुपदार्थहरु जस्तो कुलतमा फस्न पुग्छन । हामी यस्तो स्कुल बनाएका छौ जहाँ एउटाले जित्छ र अरु सयौले हार्छन । सबैले जित्ने स्कुल हामीले बनाएका छैनौ ।

कक्षा कोठामा शिक्षक एकदमै बढि बोल्छन अर्थात उनले बिद्यार्थिलाई बढि सुन्नु पर्ने हो । छलफल भन्दा नियन्त्रण बढि हुन्छ । बिद्यार्थिहरुलाई चुपलगाएर कक्षा कोठा शान्त पार्दै आफनो भाषण सुनाउनु शिक्षकको सफलता हो । गल्ती गर्न पाउनु त बिद्यार्थिको अधिकार हो तर गल्ती हुन्छकी भनेर गल्तीबाट सिक्ने अवसर नै नदिनु शिक्षकको मुर्खता ।

हाम्रा बिद्यार्थिको एउटा काम मात्र महत्वपुर्ण हुने गरेको छ त्यो हो सबै भन्दा बढि अंक ल्याएर शिक्षणा संस्थालाई गौरवान्वित गराउनु । यही दौड लिगलिगे दौडमा छन प्राथमिक, माध्यमिक बिद्यालय र कलेजहरु । प्रतिशत कम आयो भने उनिहरुको बिद्यालयमा कोही भर्ना हुन आउने छैनन भन्ने चिन्ता छ सबैलाई ।

स्कुल असफल बनाउने अर्को घटना हो परिक्षा । समग्र शिक्षा प्रणाली नै परिक्षामा आधारित भएर चलेको छ । सिकाईमा आधारित भएर होइन । यो सब दण्ड र पुरस्कारका लागि गरिएको हो । परिक्षामा दिइने उत्तर बिद्यार्थिको खोज नभएर शिक्षकको दिमागको वा पाठयपुस्तकको कपि मात्र हो ।

म एउटा प्राविधिक शिक्षालय संग आवद्ध छु । सरकारको मापदण्ड अनुसार ८० प्रतिशत प्रयोगबाट २० प्रतिशत सैद्धान्तिक कक्षाबाट सिक्ने पाठ््यक्रम बनाइएको छ । तर व्यवहारमा छ ठिक उल्टो । अरु बिद्यालयको पनि अवस्था झन विकराल नै छ । अभ्यास नै अनिवार्य भएको शिक्षामा पनि परिक्षा आतंक नै यसको मुल कारण हो । शिक्षकहरुलाई सोध्यो बिद्यार्थिहरु नै गर्न चाहँदैनन भनिन्छ । घोकेर परिक्षाको ३ घण्टामा कपिमा उतार्न सक्ने व्यक्ति सफल अरु असफल ?

जोन हल्टले भने जस्तै आफनो परम्परा र संष्कृतिका मुल्य र आफु वरीपरीको वातावरणबारे जानकारी दिलाउन हाम्रै अगुवाईमा बौद्धदर्शन र देवदह परिचय स्थानिय पाठयक्रम र पाठयपुस्तकको शुरुवात समेत भएको छ । तर पढाउने तरिका शिक्षा कार्यलयको तोकेका ४० पुर्णांकमै आधारित भएर फेरी बिद्यार्थिहरु परिक्षा आतंकको सिकार हुन्छनकी भन्ने त्रास बाँकी छ । मलाई लाग्छ त्यस्तो नहोस असफल तरिकाहरुबाट सफल तरिकाहरु तर्फ अगाडि बढनु पर्छ ।

सही र गलत छुट््याउन पहिले दृष्टीकोण नै सही बन्नु पर्छ । दृष्टिकोण निर्माण नहुँदा सम्म गलत सही ठानेर हामी गरि रहेका हुन्छौ जस्तो मलाई जोनहल्टको असफल स्कुल पढेपछि लागि रहेको छ । सिकाई र शिक्षण अभियानमा लागेका सबैले यति कुरा हेक्का राख्नै पर्छ । पहिले हामी सही विचार बोकेर बिद्यालय भित्र प्रवेश गरौ असल सिकाईको आधार यही हो ।

(लेखक बिद्यालय व्यवस्थापन समिती सञ्जाल संग आवद्ध छन् )

तपाइँको प्रतिक्रिया