एन आर एन स्विजरल्याण्डको उपाध्यक्षमा पत्रकार विजय शर्माको उमेदवारी
एन आर एन को नेत्रित्वमा जान चाहने पत्रकारहरुको संख्या बढ्दै गएको छ । आगामी सेप्टेम्बर ३ का दिन हुन गैरहेको एन आर एन स्विजरल्याण्डको उपाध्यक्ष पदमा पत्रकार बिजय शर्मा दर्पण (आचार्य) ले आफ्नो उमेदवारी घोषणा गरेका छन् । उनले आफू उपाध्यक्ष पदमा रहेर एन आर ए स्विजरल्याण्डलाई नेत्रित्व गर्न सबल, सक्षम र अनुभवी रहेको दाबी गर्दै उक्त घोषणा गरेका हुन् । उनी लोकप्रिय समाचार साईट मेरोजिल्ला डट कमका प्रधान सम्पादक र निर्देशक हुन् ।
यस अघि उनी एन आर एन स्विजरल्याण्डको सदस्य पदमा निर्वाचित थिए । तर त्यस कार्यकालमा एन आर एन स्विजरल्याण्डको नेत्रित्वले एकतर्फीरुपमा निर्णयहरु गर्ने र साझा एजेण्डाहरुमा छलफलसमेत नगरि लागू गराउने कोसिस गरेको भन्दै आफ्नो पदबाट राजिनामा दिएका थिए । हाल पहिलेको भन्दा तुलनात्मक रुपमा बढि समाबेशी, क्षेत्रिय सन्तुलन सहितको नेत्रित्व आउने अवस्था देखिएकाले आफू उमेदवार बनेको नेपालप्लसलाई बताए । बिगतमा एन आर एन स्विजरल्याण्डमा धेरै मतभेद रहेको, निर्वाचित समूहले स्विसबासीको पूर्णरुपमा मन जित्न नसकेको र स्विसबासी नेपालीहरु बिभिन्न चिरामा बिभाजित रहेकाले हाल त्यसलाई मिलाएर लैजान, स्विसबासीलाई एकता गर्न र आगामी कार्यहरु पारदर्शी र समतामूलक ढंगले गर्न भन्दै आफू नेत्रित्वमा आउन चाहेको तर्क दिएका छन् ।
आफूले बिगतका समयमा नेपालबाट कलाकार, सामाजिक ब्यक्तित्व र अन्य क्षेत्रका ब्यक्तिहरु आउँदा सक्रियतापूर्वक सहयोग र संलग्न रहेको, स्विजरल्याण्डमा हुने सामाजिक कार्यक्रमहरुमा सहयोग, समर्थन र सहभागिता देखाउँदै आएको तथा आफ्नो सामाजिक रुपमा संवन्धपनि ब्यापक रहेकाले आफू उपाध्यक्ष पदकालागि योग्य रहेको दाबी गरे । आगामी सेप्टेम्बर ६ का दिन निर्वाचन स्थलसम्म कसरि मतदाताहरुलाई लैजाने भन्नेबारेमा छलफल हुँदै गरेकाले केहि दिनमा त्यसको सार्वजनिक जानकारि दिने बताए । उनले स्विसबासी नेपालीहरुले सबल, सक्षम र योग्य ब्यक्तिहरुलाई नेत्रित्वमा पठाउन यो निर्वाचन अधिबेशनमा भागलिनपनि सबै स्विसबासी नेपालीहरुलाई आग्रह गरेका छन् ।





