जर्मनीमा भेला एन आर एन युरोप स्तरको : चर्चा र तयारि आगामी केन्द्रिय निर्वाचनको

भोलीबाट जर्मनीको फ्र्यांकफर्टमा एन आर एन ए को युरोपस्तरिय दशौं भेला हुँदै छ । यो भेलाको तयारि बाहिरबाट हेर्दा युरोपेली स्तरकै समस्या, यहिँका एजेण्डा र विषयमा भए जस्तो देखिन्छ । तर वास्तबिक रुपमा भने भित्रभित्रै यसको तयारि आगामी अक्टोबरमा हुने केन्द्रिय अधिवेशन (निर्वाचन अधिवेशन) मा केन्द्रित छ । हिजैदेखि केहि देशबाट भित्रिएका एन आर एन ए का अभियन्ता, नेत्रित्वकर्ता, प्रभावशाली भनिएका केहि केहि ब्यक्तिहरु त्यहि आन्तरिक छलफलमा जुटिसकेका छन् । गूट उपगूट, आआफ्नो समूहका आन्तरिक छलफल शुरु भैसकेको छ । केन्द्रिय अधिबेशन निकट भएकाले यो भेलालाई धेरैले आफ्नो प्रभाव जमाउने, आफ्ना एजेण्डा स्थापित गराएर मत माग्ने, राष्ट्रिय समन्वय परिषदका प्रभावशालीहरुलाई आफ्ना पक्षमा पार्ने, अर्को पक्षका रणनिति बुझ्ने, आगामी केन्द्रिय निर्वाचनलाई जसरि हुन्छ आफ्नो अनुकूल बनाउने रणनितिमा लागेका छन् । राष्ट्रिय समन्वय परिषदका लागि आगामी कार्यकालका दाबेदारहरुले केन्द्रिय नेत्रित्वकर्ताको साथ र समर्थन बटुलेर, निकटता देखाएर आफू बलियो, आधिकारिक, सबल र सक्षम देखाउँदै आफूलाई राष्ट्रिय तहको नेत्रित्वमा उभ्याउने दाउमा छन् । केन्द्रिय अधिवेशन निकट भएकाले यो भेलामा धेरै देशबाट सहभागि हुने देखिएको छ । आज बेलुकासम्म फ्र्यांकफर्ट विश्वभरका नेपालीको जमघटले तात्ने छ ।

आगामी केन्द्रिय अधिवेशनकै लागि एन आर एन का मुख्य अभियन्ताहरुको चाख र चासो भएकाले होला दशौं अधिबेशनका एजेन्डा, निति र योजनाका बारेमा खासै बहस र छलफल भएको देखिन्न । भोलीदेखि भेला शुरु हुने भएकाले छलफल त हुन बाँकि नै छ । तर एन आर एनका मुख्य हस्ती र अभियन्ताहरुकाबिच दशौं भेलाको खासै रमझम छैन । किनभने सबैको चासो केन्द्रिय निर्वाचनतिर छ । दाउ र हुटहुटी अबको केन्द्रिय निर्वाचनको छ ।

दशौं भेलाको मुख्य चासो युरोपेली स्तरमै रहेर एन आर एन ए अभियानमा लाग्ने, राष्ट्रिय स्तरका समस्यामा केन्द्रित रहने, राष्ट्रिय स्तर वा बढिमा युरोपेलीस्तरको राजनिति, समाजसेवा वा एन आर एनको क्षेत्रिय स्तरसम्मको राजनिति गर्नेहरुलाई हो । यो भेलामा त्यो स्तरका कमैले बहस गरेको देखिएको छ । किनभने अक्टोबरमा हुने केन्द्रिय स्तरको निर्वाचनलेनै सबैलाई तताईरहेको छ ।

जर्मनीमा भोलीदेखि हुनगैरहेको एन आर एन ए युरोपेली भेलाको अर्को चर्किएको विषय हो- केन्द्रिय अध्यक्ष शेष घलेबिरुद्द अनुशासन समितिमा महासचिव डा बद्रि केसीले दिएको अनुशासनको कारवाहीको माग । एन आर एन एको ईतिहासमै केन्द्रिय अध्यक्षबिरुद्द अनुशासन समितिमा कारवाहीको निबेदन परेको यो पहिलो पटक हो । एन आर एन ए अमेरिकाको निर्वाचनमा अध्यक्ष शेष घलेले नियम बिरुद्द हस्तक्षेप गरेको भन्दै महासचिव बद्रि केसीले घलेमाथि अनुशासनको कारवाही गर्नुपर्ने मागसहितको निबेदननै हालेपछि यो विषयले एकखाले हंगामा मच्चिएको छ । अहिले एन आर एन ए राष्ट्रिय समन्वय परिषदका धेरै अभियन्ताहरु यसको वास्तबिकता बुझ्न खोजिरहेका छन् र ति कुनै न कुनै पक्षमा बिभाजित छन् । यो विवादित विषयलाई भजाएर केहि तेस्रो पक्षकाले आगामी केन्द्रिय अधिबेशनमा फाईदा लिने प्रयास हुँदै गरेको गुनासोपनि सुनिन्छ । तर यो तेस्रो पक्ष भनेको को हो कसैले खोल्दैन । शेष घले र बद्रि केसीबिच निति र नियमको टेको टेकेर दुबै पक्षले गरेको यो विवादलाई अनुशासन समितिले कसरि टुंगो लगाउँछ भन्ने हेर्न बाँकि छ । यदि यो विषयमा अनुशासन कमिटीले कुनै एक पक्षलाई दोषी देखायो भने आगामी केन्द्रिय अधिबेशनमा त्यसले दोषीलाई पक्कै क्षती पुर्‍याउने छ । हात माथि पर्ने पक्षले यो नारा उरालेर निर्वाचन अधिबेशनमा उत्रिने छ । तल पर्नेको मनोबल गिर्ने छ ।

एन आर एन ए युरोपेली नवौं भेला २०१६ को जुलाईमा डेनमार्कको कोपनहेगनमा भएको थियो । त्यस भेलाले १३ बुँदे घोषणा पत्र जारि गरेको थियो । यो भेलाले केहि राम्रा बुँदाहरु उठाएको थियो । तर लगभग यो घोषणापत्र म्रिततुत्य छ । यो घोषणा पत्र लागू गराउने काम एन आर एन युरोप संयोजक कूल आचार्य र युरोपेली समितिको हो । घोषणा पत्र महत्वाकांक्षी बनाएर त्यसबेला वाहि वाहि त लिईयो तर त्यसपछि त्यसलाई ब्यवहारमा लागू गराउन सकेनन् । तर अहिलेसम्म नवौं अधिबेशनका ति एजेण्डा के भए ? कति लागू भए, कति सफल भए ? कति असफल भए र किन भए ? एन आर एन ए युरोपेली समितिले स्पष्ठ खुलाएको छैन । यो विषयलाई केहि अभियन्ताहरुले उठाएका छन् । तर जुन रुपमा उठाउनुपर्ने हो त्यो स्तरमा उठाइएको छैन । केन्द्रिय स्तरका नेताहरु चुपचाप छन् । यो विषय त बहसका क्रममा उठ्ला । तर गम्भिररुपमा उठ्ने आभास मिल्दैन ।

भोलीदेखि शुरु हुने दशौं भेलाका लागि आज साँझसम्ममा सबैजस्तो सहभागि आइसक्छन् । नेपालबाटपनि करिब दुई दर्जन मेडियाकर्मीहरु आउने गाइगुइँ सुनिएको छ । तर कुन कुन मेडियाबाट कोको आउँदैछन् । त्यसको खर्च कसले ब्यहोर्छ । एन आर एन ए दशौं भेला आयोजक समितिले की मेडियाकर्मीहरु स्वलगानीमै आउन लागेका हुन् ? आआफ्ना गूटका नेताहरुले आआफ्नै गूटका पत्रकार पो ल्याउन लागेका हुन् कि ? त्यो अहिलेसम्म स्पष्ठ भैसकेको छैन । जे होस भोलीबाट शुरु हुने दशौं भेलाको गरमागरम बहस, छलफल, नेत्रित्वकालागि होडबाजी, आगामी निर्वाचनकालागि नयाँ दाबेदारी आदि विषयमा आज मध्यान्हबाट गरमागरम बहस शुरु हुने छ ।

तपाइँको प्रतिक्रिया