एन आर एन ए युरोप दशौं क्षेत्रिय भेला : नवौं भेलाका एजेण्डा बेवारिसे, दशौं भेलाको औचित्य के ?
एन आर एन ए को दशौं युरोप भेला यहि जुलाई महिनाको अन्तिम साता जर्मनीको फ्र्यांकफर्टमा हुँदै छ । त्यसैले नवौं भेलाका उपलब्धि के भयो ? त्यसको समिक्षा हुनु जरुरि छ । नवौं भेलाले केहि ठोस एजेण्डाहरु अघि सारेको थियो । ति योजनाहरु धेरै थिए । तर समग्रमा ति योजना सफल हुन सकेनन् । नवौं योजनाका एजेण्डाहरुनै असफल र बेवारिसे भएको अवस्थामा दशौं भेलाको औचित्य के ? अर्थात् दशौं भेलाले के एजेण्डाहरु अघि सार्ने हो ? यसका विषयमा अग्रिम ग्रिहकार्य हुनु जरुरि छ । नवौं भेलाका एजेण्डाहरु किन असफल भए ? कसको असफलताले गर्दा बेवारिसे भए भन्ने मनन, आलोचना र बहस गर्नु जरुरिपनि उत्तिकै छ । एन आर एन ए नवौं भेला डेनमार्कको कोपनह्यागन शहरमा भएको थियो । त्यो भेलाले केहि महत्वपूर्ण एजेण्डा, विषयहरु उठाएको थियो । नवौं भेलाका केहि एजेण्डाहरु गम्भिर थिए । आम नेपालीले चासो, साथ र समर्थन दिने खालका थिए । तैपनि ति सफल हुनै सकेनन् ।
नवौं भेलाले १३ वटा बुँदाहरु पास गारेको थियो (ति बुँदाहरु अन्तिममा बुँदागत रुपमा हेर्नुस) । बुँदा नंबर तिनमा थियो – ‘नेपालमा लगानी प्रवद्र्धन गर्न गैह्रआवासीय नेपालीको निजीक्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघ बीच हुदै आएको सहकार्यलाई अझ बिस्तार गर्ने अभिप्राय स्वरुप, युरोपमा बस्ने नेपालीहरुले हाललाई रु १ अर्ब बराबरको लगानीका लागि प्रतिवद्धता अनुरुप महासंघले परियोजना छनौट गर्न पहल गर्ने निर्णय भयो ।’ रु एक अर्व बराबरको रकमको परियोजना छनौट गर्ने भनिएपनि त्यो काम हुनै सकेन । एन आर एन ए युरोपका तर्फबाट दह्रोसित यो परियोजनाकालागि रकम उठाउने ब्यवस्थित पहल हुनै सकेन । यो परियोजना अरबमा होइन करोडमापनि उठ्नसकेन । आर्थिक मामिलामा महत्वाकांक्षी लाग्ने यो परियोजना त्यत्तिकै थला परेको छ । यो योजना, प्रस्तावका प्रस्तावक, डिजाईनर को हुन् ? ककसले समर्थन गरेको थियो ? पहल कसले लिनुपर्ने थियो ? यसलाई सफल बनाउन, पहलकदमि लिन को कुन पद र जिम्मेवारिमा बसेको थियो ? यस विषयमा दशौं भेलामा गम्भिर बहस हुनु जरुरि छ ।
त्यस्तै गरेर बुँदा नंबर छ मा थियो “गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने निश्कर्ष सहित यो बैठक, महिलाहरु बीचको सम्पर्क विस्तार गर्दै महिलाहरुको पक्षमा बिभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, युरोप क्षेत्रमा बसोबास गरिरहेका युवा तथा महिलाहरुको उद्यमसीलता बिकास तथा संयुक्त लगानीका परियोजनाहरु संचालन गर्न आवस्यक सहयोग गर्ने निर्णय पनि यो यो बैठक गर्दछ ।”
यो बुँदा झन लज्जास्पद लाग्छ । एन आर एन ए युरोप क्षेत्रिय संगठनले महिलाहरुको उद्दमशिलताकालागि न त कुनै पहल गर्यो । न महिलाहरुको सहभागितानै बढ्यो । बरु समग्रमा महिला वा पुरुष सबैको चासो र सहभागिता एन आर एमा घटेको, खिईएको महसुस सबैले गरेका छन् । युरोप क्षेत्रिय संगठनले, नेत्रित्वकर्ताले न यसकालागि ग्रिहकार्य गरे न तिनको पहलकालागि कुनै ठोस योजनानै प्रस्तुत गर्न सके । उद्दमशिलता युरोपका महिलाकालागि के हो ? कुन क्षेत्रमा हुन सक्छ ? त्यसकालागि कति महिला तयार र चासोका पक्षमा छन् ? महिला उद्दमशिलताकालागि एन आर एन ए युरोप क्षेत्रिय संगठनको चासो, सामर्थ्य र लगानी के कति हो ? यसका विषयमै घोषणाकर्ताहरु काँचा, बेअनुभवि र बेयोजनाकार देखिए ।
अझ बुँदा नंबर सात हेर्ने हो भने त यो दशौं बैठक शुरु हुनै सक्दैन । बेक्कारको लाग्छ । दशौं बैठकमै चरम बिवाद, द्वन्द र असहमतिका बिच आरोप प्रत्यारोप नहोला भन्न सकिन्न । यसमा एन आर एन ए का अभियन्ताहरुले कसरि लिन्छन्, कतिसम्म सहनसिल बन्छन् भन्नेमा निर्भर गर्छ । किनभने बुदा नंबर सातमा लेखिएको छ ‘यो बैठक अहिले सम्मका आठ वटा क्षेत्रीय बैठक गरेको निर्णयहरुको समिक्षागर्दै त्यसको कार्यान्वयन भए नभएको मुल्यांकन गर्न एक समिति गठन गर्ने निर्णय गर्दछ ।’
आठ वटा क्षेत्रिय बैठकको समिक्षा गर्ने छ भनेको एन आर एन ए ले किन समिक्षा गर्न सकेन ? कसको स्वार्थमा यो बुँदा राखियो ? र कसको स्वार्थले गर्दा समिक्षा गर्ने हिम्मत गर्न सकिएन ? यो समिक्षा गर्दा को असफल हुने देखेकाले समिक्षा गरिएन ? अर्थात् कसको हात माथि पर्ने र कसको छबी घट्ने हुनाले समिक्षा गरिएन ? समिक्षा गर्ने बुँदा राखेर किन क्षेत्रिय बैठक अन्त्यको घोषणा गरियो ? गर्नै नसक्ने कामको फेहरिस्त तयार पारेर किन एन आर एन भेला अन्त्य गरिन्छ ? यसको जवाफ संवन्धित समिति र नेत्रित्वकर्ताले यो दशौं भेलामा दिनै पर्ने छ । एन आर एनलाइ माया गर्ने, यसमा मलजल गरेका, आशा र भर राख्ने वा शुभेच्क्षुक सबैले यो विषयलाई गम्भिरतापूर्व उठाउने, यसको सहि जवाफ खोज्ने हिम्मत गर्नै पर्छ । नवौं भेलाको सहि समिक्षा नभएसम्म दशौं भेलाको औचित्य छैन भन्ने गम्भिरतालाई मनन गराउनै पर्छ ।
नवौं भेलाले अर्को गम्भिर र महत्वपूर्ण विषय उठाएको रहेछ । मानव तस्करिका विषयमा । नवौं भेलाको आठौं बुँदामा छ “युरोपको बिभिन्न क्षेत्रमा हुनेका मानव तस्करीलाई रोक्न आफ्नो तहबाट उचित पहल गर्न यो बैठक प्रतिवद्धता जनाउँदछ ।” यो विषय भेला पछि खासै उठाएको, उठेको देखिएन । मानव तस्करिका बारेमा यति गम्भिर किन बन्यो नवौं सम्मेलन ? नेपाली दुतावास खोल्ने विषयमा आवाजहरु उठे । राजदूतहरुपनि संलग्न भए । बिचार र विमर्श भयो । तर एकैसाथ उठाएको मानव तस्करिका विषयमा नवौं भेलाको बुँदा किन उठेन ? किन यसलाई तुहाइयो ? वा यसको महत्व र गम्भिर्यताको महसुस किन गरिएन ? यसका केहि कारण छन् । एक त यहि एन आर एन ए युरोप क्षेत्रिय समितिका वा एन आर एन ए को अभियन्ता मध्येकै केहि यो कुकर्ममा संलग्न छन् । तिनका बारेमा एन आर एन केन्द्रिय समितिसम्म उजुरि परेको सबैलाई ज्ञातनै छ । जो संलग्न छैनन् ति मध्येपनि संलग्न मध्येका पार्टी, समूह, गूट र ब्यवशायमा सम्मिलित छन् । तिनले यस विषयमा गम्भिरताका साथ मुख खोल्दैनन् । अन्य केहि छन् तिनले किन शत्रुता साँध्ने भन्ने भन्ने मानसिकता पालेका छन् । यो भेलामा मानव तस्करिको विषय उठाउने मध्येकै केहिले विगतमा मानव तस्करि गरेका छन् । तिनले झन यो विषयमाई उठान गर्ने कुरै भएन । यस्तै विविध कारणले गर्दा मानव तस्करिको यो विषय ओझेलमा परेको हो । अबको दशौं सम्मेलनमा यसलाई गम्भिरताका साथ उठाउनुपर्छ । नवौं सम्मेलनले उठाएको यो विषयले कति मूर्त रुप लियो भन्ने विषयमा बहस र प्रश्न गरिनु जरुरि छ ।
डेनमार्क घोषणापत्र
१.अबिरल बर्षासँगै आएको बाढी र पहिरोका कारण देशका बिभिन्न भागमा धेरै नेपालीले ज्याउन गुमाउनु भएको छ । हज्जारौको संख्यामा अहिले पनि बाढी, पहिरो र ढुवानको त्रासमा रहनु को भएको छ । यस्तो अवस्थामा यो बैठक मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अप्ठ्रोमा परेका परिवारलाई सहयोग गर्न यस क्षेत्रका सम्र्पूण एनसिसिहरुलाई आह्वान गर्दछ । सहयोग गर्न सम्बन्धित स्थानमा जाँदा आवश्यक पर्ने भौतिक सहयोग नेपाली सेनाले गर्ने सम्झौता भइसकेको छ र कुनै पनि सहयोग रकम संघको परोपकारी तथा मानव कल्याणकारी हित समिति मार्फतबाट गर्ने निर्णय गर्दछ ।
२.देशको समृद्धी नै हाम्रो चाहना हो । जसको लागि लगानीको वातावरण पहिलो आधार हो । अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन भई देशलाई पूर्ण स्थायित्वको बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ । जसको लागि प्रमुख राजनीतिक दलहरु वीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पनि पूर्ण रुपमा समर्थन गर्दछ ।
३.नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपालीको निजीक्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघ बीच हुदै आएको सहकार्यलाई अझ बिस्तार गर्ने अभिप्राय स्वरुप, युरोपमा बस्ने नेपालीहरुले हाललाई रु १ अर्ब बराबरको लगानीका लागि प्रतिवद्धता अनुरुप महासंघले परियोजना छनौट गर्न पहल गर्ने निर्णय भयो ।
४.अन्तर्राष्ट्रिय समन्वय परिषदको समाजिक उद्यमशीलता बिकास उपसमितिले अगाडि सारेको लघुबित्त कार्यक्रमलाई युरोप क्षेत्रबाट सहयोग गर्ने निर्णय गर्दछ ।
५.गैरआवासीय नेपाली नेपाली संघ संचालन गरिरहेका परोपकारी तथा मानवहित सम्बन्धि र अन्य परियोजनाहरु (जस्तै: एक हजार घर निर्माण, शंखमूल पार्क, भवन निर्माण लगायत) आवस्यक कानूनी प्रकृया पुरागरी निर्माणको चरणमा प्रवेश गरेको अवस्थामा यस क्षेत्रबाट भएको प्रतिवद्धता अनुसारको रकम तत्काल जम्मा गर्ने र अरु थप अर्थ संकलन गर्न प्रयास गर्नुका साथै स्वयमशेवी रुपमा आफ्नो शिप लगायतका सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ ।
६.गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने निश्कर्ष सहित यो बैठक, महिलाहरु बीचको सम्पर्क विस्तार गर्दै महिलाहरुको पक्षमा बिभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, युरोप क्षेत्रमा बसोबास गरिरहेका युवा तथा महिलाहरुको उद्यमसीलता बिकास तथा संयुक्त लगानीका परियोजनाहरु संचालन गर्न आवस्यक सहयोग गर्ने निर्णय पनि यो यो बैठक गर्दछ ।
७.यो बैठक अहिले सम्मका आठवटा क्षेत्रीय बैठक गरेको निर्णयहरुको समिक्षागर्दै त्यसको कार्यान्वयन भए नभएको मुल्यांकन गर्न एक समिति गठन गर्ने निर्णय गर्दछ ।
८.पोर्चुगल, स्पेन, आयरल्याण्ड र फिण्डल्याण्डमा नेपाली दुताबास स्थापना गर्न अन्तराष्टिय समन्वय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ । साथै युरोपको बिभिन्न क्षेत्रमा हुनेका मानव तस्करीलाई रोक्न आफ्नो तहबाट उचित पहल गर्न यो बैठक प्रतिवद्धता जनाउदछ ।
९.नेपालको कानून तथा भौतिक संरचना अपांगमैत्री बनाउन तथा शारीरिक रुपमा असक्त ब्यक्तिलाई स्वःनिर्भर तथा स्वाभलम्भि बनाउने परियोजना तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ । अन्तराष्टिय समन्वय परिषदको युवा फोरम मार्फत शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वनिर्भर र स्वाभलम्भि बनाउन अभियान चालउने निर्णय गरियो । हाललाई शारिरिक रुपमा असक्त ब्यक्तिहरुको हितमा कार्यरत डेनमार्क निवासी अनुजा गौतमलाई गैरआवासीय नेपाली युवा दुत घोषणा गर्दै उनको अभियान अन्तराष्ट्रिय समन्वय परिषद मार्फत सञ्चालित गर्ने गरी यस भेलामा प्रतिवद्धता जनाइएअनुसार रु. ३२ लाख संकलन भएको छ । यसैगरी स्पेन निवासी आईना द्धारा संचालित परियोजनालाई प्रतिवद्धता जनाएअनुसार करिव १३ लाख अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत संकलन गरि प्रदान गरिने छ ।
१०.दोश्रो पुस्ताका गैरआवासीय नेपालहरुलाई नेपालप्रति भावनात्मक सम्बन्ध कायम राख्न गर्न बिभिन्न कृयाकलाप गर्न सम्पूर्ण राष्टिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ ।
११.भुकम्पपछि खस्कदै गएको पर्यटन क्षेत्रको पवद्र्धन गर्न अन्तराष्टिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको अथितिदेवो भवः अभियानलाई सहयोग गर्ने र्निणय गरियो ।
१२.दशौँ क्षेत्रिय बैठक २०१७ मा जर्मनीमा गर्ने निर्णय गरियो ।
१३.नबौँ युरोपियन क्षेत्रिय वैठकलाई सफल बनाउनको लागि सहयोग गर्नु हुने डेनमार्क स्थित नेपाली दुतावास, गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद, राष्टिय समन्वय परिषद, पत्रकार, कलाकार तथा विभिन्न संघसंस्था तथा सम्पुर्ण सहयोगीहरु प्रति यो बैठक हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछ ।
३१ जुलाई २०१६





