पर्यटक लोभ्याउन घरभरि रुखै रुख

मिलान शहरमा एउटा अचम्मको ठाउँ छ, माछा किन्ने । त्यहिँ अकस्मात भेटिए चितवनका मेरा मित्र क्रिष्ण सुवेदी । उनैको निम्तामा म क्रिष्ण सुवेदीका परिवारसित रमाउन पाएँ दुई रात । एक दिन पुरै समय निकाले भाई बिजय सुवेदीले । सोधे ‘दाई मिलान शहरमा कहाँ कहाँ घुम्नु भएको छ ?’ पुगेकै भएपनि एक दिन सररर घुमेका ठाउँको याद कसरि गर्नु ? घुमेका ठाउँको कुनै जानकारि दिन नसकेपछि उनले लगे गारिबाल्दि भन्ने पर्यटकिय क्षेत्र । ईटालीको यो मिलान नगरपालिकाले गज्जबको अक्किल निकालेको रहेछ । रुखै रुख उमार्ने । घरका हरेक तल्लामा र पर्यटकहरु तान्ने ।

खासै नयाँ, उत्पात विचारशिल केहि होइन । लाखौं, करोडौं लाग्ने योजनापनि होइन यो । अक्किल भए पैसा धेरै खर्च नगरिकनैपनि पर्यटक तान्न सकिन्छ भन्ने उदाहरण भने पक्कै हो । करोडौं डलरका योजना बनाउने र दशौं वर्ष पर्यटक आकर्षणका योजना बुन्नेलाई केहि पाठ भने पक्कै हो ।

मिलान शहर उत्तरि क्षेत्रमा पर्छ । यो शहर औध्योगिक र कल कारखानाले निकटबाट नियालेको शहर हो । ईटालीको जति उत्तर गयो उति सभ्य, शालिन र भद्र, सभ्यतापूर्ण मानिन्छन् शहरहरु । मिलान धनी, सम्पन्न शहर हो । यहाँका नागरिक सभ्य र शालिन मानिन्छन् ।  ईटालीका अन्य शहर घुमेर यहाँ पुग्दा अनुभूतिपनि त्यस्तै हुन्छ ।

पर्यटक तान्न उनीहरुले विशाल भवनका हरेक तल्लामा रुखहरु रोपेका छन् । ति रुख झट्ट हेर्दा भवनमाथिको वन जस्तो लाग्छ । हरेक तल्लामा ब्यवस्थित तरिकाले रोपेका छन् रुख । तिनको हेरचाह र निगरानी नगरपालिकाले गर्छ । यहि हेर्न सयौं होइन वार्षिक लाखौं पर्यटक आउँछन् । भवन माथि यस्तो वन हुर्काउन उनीहरुलाई खासै ठूलो रकम लाग्दैन । खर्चिलो छैन । र अप्ठेरो हुन्न । यसले वरिपरिको वातावरणलाई स्वच्छ पनि लाग्छ । आनन्द दिन्छ । आफ्नो कोठाको ब्यक्तिक स्वतन्त्रतालाइ हानी र दखल पनि पुर्‍याउन्न ।

विजय सुवेदीले मलाई यो ठाउँका बारेमा केहि जानकारि गराए । ईटालीको यो शहर सम्पन्न भएपनि पर्यटक संख्यामा कमि छ । त्यसैले मिलान नगरपालिकाले यो अक्किल निकालेको हो, पर्यटक तान्ने । घरका तल्ला तल्लामा वन जस्तो बनाएका यिनले गारिबाल्दिमा पानीका फोहोरा, काठको अनौठो घर, ठूला र महँगा ब्यापारिक संस्थाकालागि ब्यापार गर्ने क्षेत्र बनाइदिएका छन् । यहि काठका घर, रुखैरुखका अपार्टमेन्ट हेर्न पर्यटक धाउँछन् । किनभने यस्तै सामान्य तर अनौठो क्षेत्र अन्यत्र कतै हेर्न पाइन्न ।

अहिले पर्यटक तानेर सजिलोसित बिदेशी मुद्रा कमाउने र रोजगारी बढाउने रोग सबैतिर सरेको छ । देश देशका बिचमा मात्रै होइन आफ्नै मुलुकभित्रपनि कसले कहाँका, कति पर्यटक तान्ने भन्ने लोभ छ । रोम शहरले जति पर्यटक तानेको छ त्यो देखेर ईटालीकै अन्य क्षेत्रका योजनाकार र स्थानियहरु पर्यटक तान्न लोभिएका छन् । उनीहरु कुन तरिकाले पर्यटक तान्न सकिन्छ भन्ने तल्लिनमा छन् । उनीहरुले त्यहि योजना अनुरुप गारीबाल्दिमा सस्तो र सामान्य तरिकाले पर्यटक तान्ने यो अक्किल रचेका हुन् । यो योजना बिस्तारै सफल भैरहेको छ ।

तपाइँको प्रतिक्रिया