वर्षादमा हिमाली यात्रा झन मज्जा (फोटो कथा)

  • बबिता  / जोमसोम

वर्षायाममा हिमाली यात्रा, ट्रेकिङ जान मज्जा हुन्न । जुगा लाग्छन् । छिनछिनमा पानीले खेद्छ । भिजाउँछ । आकाश कालो गजधम्म पर्छ । हिमाली टाकुराहरु अन्माउन लागेकी बेहुलीले झैं अनुहार ढाकेर बस्छन् । उस्तै परे बादलले ढाकेर हिमाल कता छन् भनेर खोज्नुपर्छ । हिउँदमा सुइँकोपनि नपाइने साना कुलेसा वरिपरिका डाँडा ढाक्दै गडगडाएर ओरालो लाग्छन् । बाटो चिप्लिएर एकैचोटि कहाँ कुन खोचमा चटनी बन्न पुगिन्छ त्यसकोपनि पत्तो हुन्न । वर्षदमा त घुम्नेनै होइन, डुल्नुनै हुन्न । हो यहि मानसिकता छ हाम्रो । वर्षौंदेखि प्रचारपनि यसैगरि हुँदै आएको छ । तर यो सत्य होइन । घुम्न जान्ने हो भरपुर आनन्द लिन सकिन्छ। रमाउन सकिन्छ। हिमाल र हिमाली जिवनको स्वाद चाख्न मन हुने हो भने वर्षादको बेला हिमाली यात्रा झन गज्जब हुने रहेछ ।

वर्षादका बेला बाह्रै घण्टा पानी पर्ने होइन । दिनमा केहि बेर पर्छ अनि रोक्किहाल्छ । साना कुलेसा होइन् की खोलाहरु सबैका आ आफ्ना बाटाहरु छन् हिँड्ने । ति अफ्नै बाटामा दगुर्छन् । हामी आफ्नै बाटो लाग्छौं । हिमाली क्षेत्रमापनि मानिसको वस्ति छ । जिवन छ । दैनिक जिवन चलिरहेकै हुन्छ । वर्षादकै बेला होस् पाखाहरुमा भेँडाबाख्रा र खर्कमा चौंरीहरु चरिरहेकै छन् । पहाडबाट झरेर बेशि लाग्ने र शहरतिर हिँड्ने पैदलयात्रिकोपनि यो बेला शुन्यता छैन ।

हामीलाई पोखरामा प्याराग्लाईडिङ गर्न केहिले छेकेन । हिमालहरु पोखराबाटै मुस्कुराईरहेका थिए । पोखराबाट जोमसोम, मार्फा, कागबेनी हुँदै मुक्तिनाथसम्म पुग्दा आकाश खुलेकै थियो । हिमालहरु बेला बेला छक्याएर आउने बादलहरुलाईनै छक्काइदिएर हाँसिरहेकै थिए । चौंरीहरु खर्कमा चरिरहेकै थिए । भेडा र च्याङ्राहरु फुर्लुङ्ग फुर्लुन्ङ खोंचहरुमा हाम्लीरहेकै देखिए । खच्चरका ट्र्लिङटिर्लिङ घण्टहरु सुन्नपनि पाइयो । हिमालहरु टिलिक्क टल्केको देख्नपनि पाएकै थियौं । वास बस्ने लजहरुका ढोका खुलै थिए । स्वागतकालागि तम्तयार हँसिला अनुहारहरुको भान्छामा कमी थिएन ।

हामीलाई वर्षादका बेला कुनै झमेला, अप्ठेरो र हिमाली क्षेत्रको यात्रा कठिन बनेन । वर्षादमापनि हिमाली क्षेत्रको यात्रामा हामीले भरपुर आनन्द लियौं । वरु अन्य ब्यस्त मौसममा भन्दा भिडभाड कम थियो, लजदेखि पैदलमार्गमा । वर्षादको बेला अझ सहज र सजिलोसित हामीले हिमाली क्षेत्रको यात्रा गर्‍यौं ।

तपाइँको प्रतिक्रिया