भुइँ न भाँडामा, कुकुरलाई टाँडोमा

  • ददि सापकोटा / जेनेभा

Dipesh-pun-1

जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष गंगा भुसालसित देखभेट थिएन । सामाजिक सञ्जालमा बाँधिएका थियौं हामी, लामै समयदेखि । मञ्चको स्विजरल्याण्ड शाखाको अधिबेशनमा उनी स्विजरल्याण आएका रहेछन् । स्पेनबाटै खबर गरे ‘ददिजी मिल्छ भने भेटौं । म स्विजरल्याण्ड आउँदै छु । केहि विषयमा भलाकुसारी गर्न, प्रत्यक्ष भेट्न मन छ ।’

उपराष्ट्रपती नन्दकिशोर पुन पुत्र दिपेश पुनपनि बर्नबाट जेनेभा आएका छन् बिहानै भन्ने खबर उनै भुसालले दिए । त्यो सुन्नासाथ जेनेभाका पत्रकार विजय शर्मा दर्पण हौसिए ‘लौ भेटम न त उसो भए एक पल्ट । एउटा फोटो भएपनि खिचम न  ।’

मैले भनें ‘के गर्ने त्यो फोटो ?’

‘फेसबूकमा राखेर देखाउने’ गंगाजी हाँसे ।

हामी तिनै जना निस्कियौं । गंगा भुसालसित बाटोमा युरोपका नेपाली संघ संगठन, पार्टीका भात्रि संस्था, तिनको औचित्य र उपयोगिताकाबारेमा छलफल गर्दै गयौं, जेनेभा तालतिर जाँदै गर्दा । बाटोमा भुसालले सुनाए ‘दिपेश पुनपनि त्यतै जेनेभा तालतिरै छन् रे । जाम न त भेटम ।’

हामी तालतिर लाग्यौं । गंगाजी तालवरिपरिका केहि द्रिष्यहरुको तस्विर लिन लागे । तालको किनारमा पुग्नासाथ गंगाजीले भने ‘ए दिपेशपनि यहिँ रहेछ त । ऊ फोटो सेसन गर्दै रैछ, सेल्फि हान्दै रैछ ।’ त्यो बिचमा उनको संगठनका केहि सदस्यसित फोनमा सम्पर्क भएको थियो फोनमा । तिनैले पुन तालतिरै घुम्दै गरेको सुनाएछ ।

बिजयको इच्क्षा एउटा तस्विर भएपनि उपराष्ट्रपती पुत्रसित लिने । उनको इच्क्षा पुरा गराईदिउँ न त भन्ने चाहना हाम्रो । पुन मोबाईलमा आफ्नै भिडियो खिच्दै एक्लै भाषण गर्दै थिए

‘हामीलेपनि नेपाललाई स्विजरल्याण्डको जेनेभा जस्तै बनाउन सकिन्छ । यो स्विजरल्याण्डको पानी विश्वमा प्रसिद्द छ । हामीसितपनि अथाह स्रोत छ, पानीको । हामीले हाम्रो देशको पानी यसैगरि सहि सदुपयोग गरेर नेपाललाई जेनेभा जस्तै बनाउन सकिन्छ । हामीले पनि यस्तै पर्यटकिय विकास गरेर आर्थिक रुपमा देशलाई महान बनाउन सकिन्छ । ‘

उनी भाषण गर्दै गए ‘ हामीसित के छैन नेपालमा ? अँ नेपालमा हामीले गर्न सक्ने सम्भावना रहेको अर्को  जरिबुटी हो । जरिबुटीको उपयोग गरेर देशलाई आर्थिक रुपमा समुन्नत बनाउन, पर्यटक आकर्षण गरेर सम्पन्न बनाउन सकिन्छ ।’

Dipesh-pun-2

गंगा भुसाल माओवादी केन्द्रकै भात्रि संगठनको स्पेनमा नेत्रित्व लिएका ब्यक्ति । मिठो बोली, सुमधुर संवन्ध राख्न सिपालु र सहनशिल बानीका उनीसित पार्टीगत हिसाबलेपनि दिपेश पुन निकट होलान् भन्ने हाम्रो बुझाई । पुन निकैबेर भिडियो रेकर्डिङमा फतफताईरहे । हामीलाई पुलुक्क हेरे । तर वास्ता गरेनन् । केहिबेर हामी अलि वरै पर्खियौं । उनको भिडियो सेल्फी रोकिने छाँटकाँट देखिएन ।

त्यसपछि गंगा भुसाल आफैंले पुनसित भेट्न, म र बिजय शर्मासित परिचित गराउन खोजे । तर उनले त आफ्नो मपाइँत्व, अहंकार र राजसी ठाँड देखाइहाले ‘म ब्यस्त छु, तपाईहरु जानुस् । म यतै बस्छु ।’ उनको मपाइत्व देखेर गंगा भुसाल आफैं जिल परेहोलान् । हामीसित खासै केहि भन्न सकेनन् ।

गंगाजीलाईपनि यो मान्छेले अनादार गरेकै हो भन्ने लागेरै होला । उनले भने ‘हामी उस्तै परे प्रधानमन्त्री, राष्ट्रपतीलाई त भाउ दिँदैनौं । तिनका छोराछोरी त को नै हुन् र हामीले अनावश्यक भाउ दिने ? उता तिनको जे होला, यता हाम्रो आफ्नै परिचय, स्थान, भूमिका, ईज्जत र प्रतिष्ठा छ । हामी आफ्नै दुखजिलो गरेर बाँचेका छौं । हामीलाईनै अनादार गर्छन् भने हामीलेपनि तिनलाई किन धुरीमा चढाउने ?’

उपराष्ट्रपतीका पुत्रको भाषण तालका किनारमा सुनेर हामी तिनै जनालाई हाँसो लाग्यो । नेपाललाई स्विजरल्याण्डसित तुलना गर्दै आफैले भाषण गरेको निकैबेर भिडियो खिचेका थिए । उनको मैमत्त स्वभाव, नेपालीले नेपालीलाईनै उपेक्षा गर्ने अहं देखेपछि बिजयले आफैं भने ‘भो अब यो मान्छेसित फोटोपनि नखिचम । यस्तो चढेको मान्छेसित के फोटो खिच्नु ?’

IMG_0023

मार्च २६ का दिन माओवादी भात्रि संगठनको बर्न शहरमा आयोजित अधिबेशनमा उनी प्रमुख अतिथि बनेर आएका रहेछन् । प्रवाशको ठाउँमा देशको जिम्मेवार पदमा पुगेको ब्यक्तिको छोरो अतिथि बनेर आएको छ । ऊसित प्रवाशी नेपालीका अनेक गुनासा, इच्क्षा र ब्यक्त गर्न मन लागेका विषय हुन्छन् नै । ति गुनासा सुनिदिए के हुन्छ ? उच्च ओहदामा पुगेको ब्यक्तिको छोरोलाई नै किन नहोस्, आफ्ना कठिनाई सुनाउन पाए उपराष्ट्रपतिसम्म पुग्ला । निति निर्माण तहमा पुगेका ब्यक्तिले ति सुनेर नितिनै बनाउनपनि सक्लान् । के यतिपनि प्रवाशका नेपालीले आशा गर्न पाइन्न ? त्यसो होइन भने नेपालीसित भेट्नै नरुचाउने यस्ता हेपाहाहरु किन नेपालीकै कार्यक्रममा अतिथि बनेर आउनु ? प्रवाशमा भेटिएका नेपालीलाई मान गर्न नसक्ने, परिचय गर्नसम्मपनि आवश्यक नठान्ने यतिबिघ्न टुप्पिएको ब्यक्तिले अधिबेशनमा कस्तो भूमिका खेल्यो होला ?

उनी कुनै कार्यक्रममा पनि त थिएनन् । तालको किनारमा सेल्फि खिच्दै न थिए । दुई मिनेट हामीसित यिनले परिचय मात्रै गरेको भए के बिग्रिन्थ्यो ? सामान्य परिचय गरेर उनी हामीबाट छुट्टिनपनि त सक्थे ।

हजारौं नेपालीहरुको रगत र पसिनाको खोलोबाट उत्रिएर दिपेश पुनका पिता उपराष्ट्रपती बनेका हुन् । उनको पिताको पदमा लाखौं नेपालीको आँसु सिन्चिएको छ । हजारौं बिधवाको सिंदुर पुछिएको छ । हजारौ, लाखौंका सपना खोसेर उनका पिता उपराष्ट्रपतीको कुर्सीमा उक्लिन पाएका हुन् । उपराष्ट्रपतीको पुत्र बन्ने उनको अवशर लाखौं सपनाहरुमा डोजर पेलेर निस्किएको हो । उनका पिता र उनको पिताले हाँकेको पार्टीले हजारौं सपना बाँडे जुन कहिल्यै पुरा भएनन् । तैपनि पिता उपराष्ट्रपती हुँदैमा यो ठिटोलाइ कति मात चढेको ? आफैं महत्वपूर्ण पदमा यो ब्यक्ति कुनै दिन पुग्यो भने कति नेपालीलाई अनदार गर्ला ? मलाई खुल्दुली लागिरह्यो । सोचें बुढापाकाहरुले ‘भुइँ न भाँडामा, कुकुरलाई टाँडोमा’ भन्ने उखान त्यसै त बनाएका होइन रहेछन् ।

(आज बुधवार जनआस्था साप्ताहिकमा प्रकाशित)

तपाइँको प्रतिक्रिया