व्यापार बहाना

padova-exhibition-kantipur

– ददि सापकोटा

पुस २, २०७३- इटालीको मिलान सहर निवासी विशाल तामाङ नेपाली हस्तकलाको व्यापार गर्छन् । करिब एक दशकदेखि मिलान बस्दै आएका उनको व्यापारिक सीप र बजारीकरणको ज्ञान बढ्दै जाँदा व्यवशाय बढ्नुपर्ने हो । तर मिलानमा लागेको आर्जियानो फियरा (आर्टिसनल मेला) मा उनी निराश छन् । मेलामा उनको व्यापार आशालाग्दो छैन । बर्सेनि घट्दो छ । क्रिसमसलाई केन्द्रित गरेर इटालीकै अर्को सम्पन्न सहर पादोभामा पनि ओरियन्टल मेला लागिरहेको छ । यी दुवै सहरका मेलामा सहभागी नेपालीहरू सन्तुष्ट छैनन् । एक दशकअघिको तुलनामा आफूहरूको व्यापार घट्दै गएकाले नेपालीहरू निराश भएका हुन् ।

नेपाली व्यवसायीहरूका अनुसार केही नेपालीले चिनियाँ र भारतीय बजारका सामान ल्याएर बिक्री गर्छन् । हरेक वर्ष आफ्नो देशको पहिचान नै नदेखिने न्यून स्तरका सस्ता सामान बिक्री गर्न थालेकाले बिक्री खस्किएको हो । मेलामा लामो समयदेखि सहभागी व्यापारीका अनुसार अमेरिका लगायत अन्य धनी देशको भिसा लगाउने मूल उद्देश्य राखेर मेलामा नेपालीहरू आउने गरेकाले नेपाली बजार खस्कँदो छ । ‘इटालीको मेलामा आएर दुई चार पटक सहभागी भएपछि अमेरिकाले ए यो त साँच्चै व्यापारी रहेछ भनेर भिसा सजिलोसित दिन्छ । त्यस्ता व्यापारीको उद्देश्य पैसा कमाउने हुन्न । सस्ता सामान बोकेर ल्याउने र घाटा खाएर पनि बेचिदिने गर्नाले वास्तविक व्यापारीलाई असर परेको छ । त्यस्ता व्यापारीको उद्देश्य जसरी पनि खर्च मात्रै उठाउने हुन्छ । त्यसैले तिनले सस्ता सामान ल्याएर बेचिदिनाले नेपाली सामानको बदनाम पनि भएको छ,’ विशाल तामाङले सुनाए ।

नेपाल च्याम्बर अफ कमर्सका तर्फबाट इटालीका प्रतिनिधि भरत तामाङ ओरियन्टल मेलामा नेपाली व्यवसायीहरूलाई सहभागी गराउने काम गर्छन् । उनले यो काम थालेको आधा दशक भयो । उनी पनि नेपाली व्यापारीहरूको व्यापार देखेर सन्तुष्ट छैनन् । उनले पनि मेलामा हस्तकलाका सामान राखेका छन् । उनका अनुसार ओरियन्टल मेलामा कम्तीमा पचास लाख इटालियनले भ्रमण गर्छन् । यो मेला एसियाली क्षेत्रको कला, संस्कृति र सभ्यता चिनाउनकै लागि आयोजना गरिन्छ । भारत, चीन, थाइल्यान्ड, कम्बोडिया, पाकिस्तान, श्रीलंकालगायतका देशले आआफ्नो देशको धर्म, संस्कृति, वेशभूषा झल्काउने केही न केही चिनो बनाएका छन् । आफ्नो देशको सांस्कृतिक टोली ल्याएर मेलाभरि देखाउने गर्छन् । भारतीयहरूले त होली पर्वसमेत मनाउँछन्, इटालियनलाई सहभागी गराएर । तर नेपालको तर्फबाट भने मेला हेर्न आउनेलाई आकर्षण गर्ने केही पनि छैन ।  ‘सामान जति सबै डुप्लिकेट । नेपालीले आफू–आफूमै सस्ता सामान मूल्य घटाएर बेच्न हानथाप गर्ने । अनि नाच्ने, गाउने र रमाइलोका लागि केही पनि नदेखाउने । केका लागि आउने त इटालियनहरू नेपाली स्टलमा ?’ भरतले प्रश्न गरे ।

मेला आयोजकले सहभागी सबै देशलाई सांस्कृतिक प्रदर्शनीका लागि स्टल दिएको छ । भारत, पाकिस्तान, श्रीलंकालगायतका मुलुकले आआफना देशका नृत्य र अन्य सांस्क्रतिक महत्त्वका कार्यक्रम देखाएका छन् । त्यो हेर्न मेलामा भीड लागेको देखिन्छ । तर नेपाललाई सित्तैमा दिएको स्टलमा भने एउटा झन्डा टाँगिएको छ । स्टल खाली छ । विशाल तामाङले सुनाए, ‘तिम्रो देशको नाचगान देखाऊ भनेर मनोरञ्जन गराउन फोकटमा दिएको स्टल त खाली छ । फ्रीमा दिएको स्टलमा नाचगानसमेत देखाउन नसक्ने हामी नेपालीले व्यापार गरेर खान्छौ ?’ नेपाली व्यापारीले कतिसम्म कमजोरी गरेका छन् भने एक्रेलिक र प्लास्टिकका गलबन्दी, भारतमा बनेका सिंगिङ बल (पित्तलका कचौरा), भारतीय भिक्स र धुपलगायतका वस्तु बिक्री गरेका छन् । तिनमा ‘मेड इन चाइना’, ‘मेड इन इन्डिया’ भनेरै लेखिएको छ । अधिकांश सिंगिङ बल भारतबाट जोखेर तौलका आधारमा खरिद गरिन्छ । ‘सिंगिङ बल भारतबाट आउँछ । गलबन्दी, धुप र पस्मिनाका अन्य सामान भारत वा चीनबाट आउँछन्,’ तामाङले भने ।

अर्कोतर्फ, इटाली भित्रिएका सामान अहिले इटाली सरकारले प्रयोगशालामा गुणस्तर परीक्षण गरेको छैन । यदि नेपाली सामानको परीक्षण गर्ने हो भने नेपाली कम्पनीहरू सीधै डुब्ने अवस्था छ । ‘इटालीको सरकारले नेपालीले गरिखाओस् भनेर होला नेपाली सामानको परीक्षण गरेकै छैन । भोलि नेपालीले ल्याएका सामान परीक्षण गर्ने हो भने सबै सामान बरामत गरेर फोहोरको कन्टेनरमा फालिदिन्छ । नेपाली कम्पनी डुब्छन् र नक्कली सामानलाई सय प्रतिशत पस्मिना भन्दै बेच्नेहरू जेल जान्छन्,’ विशाल तामाङले भने । तर एक दशकअघिको अवस्था यस्तो थिएन । त्यो बेला नेपाली पस्मिनाको व्यापार युरोपमा राम्रो थियो । सय प्रतिशत पस्मिनाको गलबन्दीलाई सयदेखि डेढ सय युरोमा बिक्री हुने गथ्र्यो । अहिले प्लास्टिकका गलबन्दीलाई सय प्रतिशत पस्मिनाको ट्याग नै लगाएर बिक्री गर्ने गरिएको छ । यसले सक्कली सामान बिक्री गर्ने केही व्यापारीलाई मर्का परेको छ ।

पादोभा सहरमा आयोजित मेलामा बजार अनुसन्धानका लागि एभरेस्ट क्राफ्टका तर्फबाट शिव रिजाल सहभागी भइरहेका छन् । उनका अनुसार मेलाहरू भनेको आफ्ना सामानको प्रचार गर्ने, बजार फैलाउने, आफ्ना उत्पादन परिचित गराउने र विश्वास जित्ने प्लेटफर्म हो । यस्तो मेलामा नक्कली, गुणस्तहीन र विदेशी सामानलाई आफ्नो भन्दै झुक्याएर बिक्री गर्न दिनुहुन्न । ओरियन्टल मेला संस्कृति र कला चिनाउने मूल उद्देश्यले गरिने हुँदा नेपाललाई विश्व बजारमा पहिचान गराउने ठूलो अवसर हो ।  ‘आफ्नो देशको कला र संस्कृति चिनाउने थलोमा अर्काको देशको सामानमा ट्याग हालेर बिक्री गर्दा अन्तर्राष्ट्रिय जगत्ले नै नेपाललाई नराम्रो सूचीमा राख्छ । यसका लागि नेपाल सरकारको आधिकारिक निकायले नेपाली सामग्रीका नाममा जाने प्रत्येकको गुणस्तर जाँच्नुपर्छ । अर्काको सामानलाई नेपालको भनेर बिक्री गरी आफ्नै देशको बदनाम गर्नेलाई सरकारको कारबाही र नियन्त्रण गर्नुप‍र्‍यो । देशको बदनाम हुने सामान बाहिर जान दिनुभएन,’ रिजालले भने ।

प्रकाशित: पुस २, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-12-17/20161217100215.html

तपाइँको प्रतिक्रिया