यस्तै पाराले कति वर्ष आउलान् पोखरामा पर्यटक ?
नेपालको दोस्रो पर्यटकिय स्थल पोखरा । यतिखेर पोखरा जाने पर्यटक खुशि हुँदैनन् । वर्षाद र बादलले उत्तरतिरका हिमाल छोपेर मात्रै होइन । पोखरा फोहोर, मुख्य आकर्षण फेवा तालको नाजुक स्थिति र अब्यवस्थित पर्यटकिय गतिबिधीले गर्दा हो । पोखराको सौन्दर्यता भनेको त्यहाँबाट् देखिने हिमाल मात्रै होइनन् । फेवा तालको सौन्दर्यपनि हो । तर फेवा ताल हेरिसक्नु छैन । ताल देखेर मन खुशि, प्रफुल्लीत हुन्न । आनन्द आउन्न । बरु मन कटक्क हुन्छ । पहिले देखेको सफा, कञ्चन पानीको फेवा ताल, सफा र सुग्घर पोखरा रहेन अब । यहि पारा रहिरहेमा कति वर्ष यो बिजोग हेर्न आउलान् र पर्यटक ?
जलकुम्भी झारले छपक्कै ढाकेको छ ताल । तालमा डुंगा चलाउँदा त्यो झारले डुंगानै अड्काउँछ । झार कता छैन खोजेर डुंगा त्यतै छिराएर चलाउनुपर्छ । यो झारको आक्रमण वर्षेनी बढ्दो छ । तालका किनारमा राखेका डुंगा केहि दिनमै भरिन्छन् जलकुम्भीले । एकदमै छिटो फैलिन्छ यो जलकुम्भी ।
पोखरेलेहरुले जलकुम्भी नझिकेका होइनन् । हप्तै पिच्छे डुंगामा हालेर निकाल्छन् । तर केहि दिनमै फैलिहाल्छ त्यो । डुंगा चलाउनेहरु जति निकालेपनि नसकिने, वरिपरिको खोलाबाट सबै पानी तालमा सिधा मिसिनाले खोलाबाट आएको जलकुम्भी तत्कालै फैलिने गरेको बताउँछन् । यसकालागि दिर्घकालिन योजना र जलकुम्भी मास्ने, फैलिन नदिने भरपर्दो उपाय, उपचारको खाँचो छ । तर ध्यान कसले दिने ?
फेवा तालको किनारमा हजारौं छन् होटेल र रेस्टुरेन्टहरु । तिनको मुख्य आम्दानीनै त्यहि फेवा ताल देखेर लिने हो । तर तालमा भैंसी आल खेलिरहेका हुन्छन् । साबुन र सर्फ लगाएर लुगा धोइरहेका हुन्छन् । तर कसैले वास्ता गर्दैन । ताल बचाउने नाममा अनेक एन जि ओ, आइ एन जि ओहरु सक्रिय छन् । पोखरेलीहरुको फेवा बचाउ अभियानपनि छ । तर तिनले यसमा खै ध्यान दिएको ?
चाउ चाउ, चकलेट र बिस्कुटका खोल, पानीका बोत्तल फेवा तालको किनारमा जतापनि बग्रेल्ती देखिन्छन् । फोहोर फाल्ने भाँडा भएपनि तिनलाई प्रयोग नगरि भुइँमा फालिन्छ । कतिपय ठाउँमा फोहोरका भाँडा भरिएपनि खालि गरिन्न । तालको किनारमा सुस्ताउन राखिदिएका बेञ्चमा बस्यो, खाने कुरा खाएर फोहोर त्यहिँ फालिन्छ हावाले उडाएर ति फोहोर तालमा लैजान्छ । ताल पुरिने त छँदै छ, फोहोर हुन्छ । तालका माछा लगायत अन्य जिवहरु। को जिवन संकटमा परिरहेको छ । यहि दूर्गन्धित बन्दै गएको तालको माछा पर्यटकहरुलाई बेचिरहेका छन् रेस्टुरेन्टहरुले । यसले समग्र पोखराकै पर्यटन ब्यवशायलाई बदनाम गरिरहेको छ । तर यसमा कसैको ध्यान गएको देखिन्न ।
फेवा ताल २५ वर्ष अघि यति सानो थिएन । पश्चिममा देखिने यि पहाडको काखैसम्म फैलिएको, पुगेको थियो । डुंगामा बसेर पश्चिमका ति डाँडाकै काखसम्म पुग्न सकिन्थ्यो । तर अहिले सानो कुलेसो जस्तो बनाएर केहि परसम्म डुंगा छिर्ने बनाइएको छ । यो डुंगाको मार्गपनि वर्षेनी खुम्चिँदो छ । तर अहिले फेवा ताल पुरिएर आधा जति भैसक्यो ।
खोलाबाट आउने बालुवा, माटो, गेगर र फोहोर । ताल वरिपरिको डाँडाबाट झर्ने माटो र पहिरो । पोखराका होटेल र रेस्टुरेन्टले निकाल्ने फोहोर । यि सबै तालमा मिसिँदा फेवा ताल खुम्चिने, पुरिने, दूर्घन्धित बन्ने क्रम तिब्र छ । फेवा तालको वरिपरिका डाँडामा होटेल, रेसोर्ट, रेस्टुरेन्ट, गुम्बा र मन्दिर बनाउने होडपनि निकै चलेको छ । तर त्यसबाट उत्पन्न हुने नकात्मक पाटालाई कसरि नियन्त्रण र ब्यवस्थित गर्ने ? कसैको ध्यान गएको देखिन्न । सबैमा आआफ्ना तरिकाले विकास गर्ने, संरचना बनाउने र दाम कमाउने प्रतिस्पर्धा चलेको छ । यो प्रतिस्पर्धाका बिच फेवाको भविष्यकालागि दिर्घकालिनरुपमा सोच्ने फूर्सद खासै कसैलाई देखिन्न ।