फलानाको छोरो विदेश पढेर के भो ? घर घडेरी जोडेनछ

1028079653

नेपाल आएको दुई साता भयो । केहि दिन मैले पोखरा बिताएँ । पोखरा जाँदा बसमा मानिसहरु पैसाकै कुरा गर्थे । कि त कसका छोरा विदेश गए । कति समय बसे । कुन देशमा गएका छन् । यस्तै चर्चा गरेको सुनें । भेटमा होस की मोबाईलमा अन्य कसैसित कुरा गर्दा । त्यहि विदेशको चर्चा अनि विदेशबाट कति पैसा कमायो भन्ने सोधखोज । पैसाका कुरा पछि जहाँपनि घडेरी किनेको कुरो सुन्थें। कसका छोरा, बुहारीले कतिमा, कुन ठाउँमा घडेरी किनेका छन् । पोखरा पछि मैले केहि दिन काठमाडौंमा बिताउँदापनि त्यहि पैसा, घर घडेरी र विदेश जाने कुरो मात्रै गरेको सुनिन्छ ।

म केहि दिनदेखि चितवनमा छु । म सकेसम्म पैदलमा गाउँघर हेर्न रुचाउँछु । कि साईकल चढेर गाउँमा कोको छन् । ति कुन विषयमा के सोच्छन् भन्ने जान्न मन लाग्छ । सानैदेखि देखे चिनेका आफन्त, मित्रहरु, गाउँका मानिसहरुलाई भेटेर पुरानो चिनजान ताजा बनाउन मन लाग्छ । तिनका कुरा सुन्न मन लाग्छ ।

एक साहातपनि नबित्दा मैले भेटेका मध्ये धेरैले मलाई यहि विदेश, पैसा र घर घडेरीकै चर्चा सुनाए । मलाई धेरैले सुझाव दिए, अब सौराहा जग्गा किन्नुस र होटेल वा रेस्टुरेन्ट चलाउनुस। अब भरतपुरमा घडेरी किनिहाल्नुस् । एउटा घर त नभैहुन्न । अब ए उटा घर नकिनी बिदेश जाँदै नजानुस्।

धेरैले सोधे, कति वर्ष हभयो बिदेश बसेको ? म जवाफ दिन्छु, १४ वर्ष भयो । त्यसपछि जिब्रो टोक्ने धेरै निस्किए, बाफ रे बाफ पैसा कहाँ राख्ने यति वर्ष कमाएको ? के गर्ने विचार छ यतिका वर्ष कमाएको पैसाले ? केहिले त सिधै भने ‘महिनाको एकै लाखका दरले कमाएको भएपनि चार करोड भन्दा बढि भैसक्यो । के गर्ने हो त्यो पैसा ? बैंकमा राखेर के काम ? यतै घर घडेरी जोड्नुस, भाडामा लगाएर आरामले बस्नु र गाडी चढेर हिँड्नुस ।’

अशिक्षित, गाउँको परिवेशबारे अरु नबुझेका, नदेखेकाहरुले त विदेशको मोहबारे भन्नेनै भए । विदेश जानासाथ पैसाको बिटो फल्छ भनेर भ्रम पाल्नेनै भए । तर स्नातक सम्म पढेका, विदेशका कहानी, दुख र वेदनाका अनेक प्रसंगहरु सुनेका, पढेकाहरुपनि अबुझ जस्ता देखिए । ‘लौ न मेरा भाई, छोरालाईपनि उतै लैजानुपर्‍यो, भिसाकोलागि सिफारिस गरिदिनुपर्‍यो’ भन्नेहरु निकै भेटिए । विदेश पुग्नासाथ फराकिला कोठा भएका अपार्टमेन्टम्ला बस्न पाइन्छ । विदेशको भूमी टेक्नासाथ दैलामै लाखौं रुपियाँको तलब दिनेगरि जागिरको प्रस्ताव गर्न आईपुग्छन् गोरेको मुलुकका मानिसहरु । त्यहाँ पुगेकै दिनदेखि दुख र पीडा टुंगिन्छन् । आफ्नो सन्तानले विदेश पुगेको खबर पाएकै दिनदेखि लाखौं रुपियाँको घर घडेरी जोड्न सकिन्छ भन्ने भ्रम पाल्नेहरुपनि निकै भेटिए । तिनले मेरै अगाडि विदेश पुगेका आफन्तका सुख, ऐस आराम, मस्ती, सुविस्ता र कमाईको बेलिबिस्तार लगाए ।

विदेश जानु भएको पैसो कमाउने मात्रै होइन । विदेश पढाईका लागि जान्छन् । उच्च शिक्षा लिएर फर्किन्छन् । सबल र सक्षम नागरिक बन्छन् । तिनले विदेशको अनेक प्रविधी, सिप, अनुभव, विकासका नमूनाहरु सिक्छन् । विदेशमा सिकेको ज्ञान र सिपलाई स्वदेश फर्केर आफ्नो देशको हितकालागि लगानी गर्छन् । विदेशमा देखे, सिकेको, भोगेको, अनुभव आफ्नो समाजकालागि काम लाग्छ । विदेश जानु भनेको अर्काको मुलुकमा कामदार, भरिया बन्नुमात्रै होइन । श्रम बेच्नैकालागि मात्रै विदेश जाने गरिँदैन । तर यो सोचको लगभग अन्त्य भैसकेको रहेछ गाउँमा । कोहि उच्च अध्ययन गर्न गएपनि उसले विदेशमा आर्जन गरेको अध्ययन, सिप र अनुभवको चर्चा हुन्न । विदेसको शिक्षाले शिक्षित बनेर आएपनि सोध्ने गरिन्छ ‘कति पैसा कमायौ ? फलानाको छोरोले कति पैसा लिएर आयो ?’ अध्ययन मात्रै गरेर फर्किएको हो र पैसा कमाएको छैन भने उसलाई बुद्दिहिन, बेक्कारमा विदेश गएर उमेर फालेको, कमाउन नसकेको, नामर्दका रुपमा हेर्न थालिएछ । ‘फलानाको छोरो विदेश पढेर के भो त ? घर घडेरी जोडेनछ केरे’ भन्दै शिक्षा, अनुभव र सिपको अवमूल्यन गरिने रहेछ ।

गाउँ पहिले यस्तो थिएन । गाउँका मानिसहरु यसरि पैसा, घर र घडेरीका पछाडि लाग्दैनथे । गाउँमा युवाहरु थिए । ति रचनात्मक विषयमा छलफल, चिन्तनमनन गर्थे । पूल, पुलेसा, कुलो, नहर र गाउँको विकासका कुरा गर्थे । पुस्तकालय र बाटो बनाउने छलफल चलाउँथे । गाउँमा सामूहिक विकासका काम कसरि गर्ने भनेर चिन्तनमनन गर्थे । गाउँमा अप्ठेरो पर्दा सहयोग गर्थे । मेला, पर्व र सामाजिक काममा गाउँका मानिसहरुको ठूलो सहभागिता हुन्थ्यो । गाउँमा पैसाको चलखेलपनि उति हुँदैनथ्यो । किनभने विदेश जाने परिपाटी र अवस्था त्यो बेला उति थिएन । कोहि विदेश पुग्यो भने त्यसको चर्चा गाउँभरि हुन्थ्यो । तर अहिले गाउँको त्यो परिवेश उल्टो भएछ । अहिले कसको घरबाट कोहिपनि विदेश गएको छैन ? त्यसको चर्चा हुन थालेछ । विदेश जान थालेपछि गाउँमा युवाहरु कम भए । नगद भित्रिन थाल्यो । विदेशको कमाईले घर घडेरी जोड्न थालियो । त्यसैले अहिले गाउँमा विदेश, घर र घडेरीकोमात्रै चर्चा हुन थालेछ ।

तपाइँको प्रतिक्रिया