स्विजरल्याण्डमा नेपाल प्रदर्शन : आकर्षण माओवादी लडाकू
स्विजरल्याण्डको जेनेभा शहर यतिखेर पर्यटकहरुले भरिभराउ छ । लेमेन लेक भनेर चिनिने जेनेभा तालको किनारमा मानिसको भिड किरा जस्तै स्याउँ स्याउँती छन् । तालको किनारमा यतिखेर फलामका घोंचामा टाँसेका पोस्टरहरुमा विभिन्न मुलुकका तस्विरहरुको फोटो प्रदर्शनीपनि छ । तालको किनारमा अहिले चलिरहेको जेनेभा मेलामा आउने बिभिन्न मुलुकका पर्यटकहरुको आँखाको तारो ति फोटोहरु भैरहेछन् । दर्जनौं तस्विर मध्ये त्यहाँ पर्यटकहरुको आँखा विशेषगरि एउटा तस्विरमा गएर अलिबेर रोकिन्छ । माओवादीको जनयुद्दकालमा बन्दूक बोकेर लडेका जनसेनाको जिवनपनि प्रदर्शनीमा भएकाले त्यसैमा धेरैको आँखा अडिने गर्छ ।
कोहलपुर, दाङका ३६ वर्षिय किर्ती बहादुर पुन मगर सिकर्मीको काम गर्छन् । स्विस विकास परियोजना अन्तर्गत हेल्भेटिया भन्ने स्विस संस्थाले सिपमुलक तालिम दिएर उनलाई सिकर्मी बनाएको हो । माओवादी जनयुद्दमा हतियार बिसाएका उनी यतिखेर अरुलाई सिकर्मी पेशा सिकाउने गर्छन् ।
यो स्विस परियोजनाले विश्वका धेरै मुलुकमा पेशा नभएका, गुजारा चलाउन नसकेका, केहि गरौं, सिप सिकेर आत्मनिर्भर बनौं भन्ने भावना भएकालाई सिपमुलक तालिम दिएर जिवन गुजार्ने बाटो देखाउँछ । नेपालमापनि यो संस्थाले त्यहि गरिरहेको छ ।
नेपालमापनि हेल्भेटियाले कसैलाई स्कूल पढ्नकालागि सहयोग गरिरहेको छ ।
कोहि तालिम लिएर तरकारी खेती गरिरहेका छन् । महिलाहरुलाई उन्नत तरिकाले खेति गर्न सिकाइएको छ ।
कोहि ग्रिल उध्योग चलाएर जिवन धानिरहेका छन् । केहि महिलालाई सिलाईबुनाई र लुगा सिलाउने सिप दिएका छन् ।
कोहि बाख्रा पालनमा जुटेका छन् ।
कोहि तालिम लिएर धारापानीका पाईप र सामाग्रिको पसल चलाएका छन् ।
सुकुटेकी ३० वर्षिय मधु थापा भूकम्प पिडित हुन् । भूकम्पले घर भत्काएर अल्पकालिन टहरोमा बसेकी उनी हेल्भेटियाकै तालिम लिएर कफी खेती गर्छिन् ।
यस्ता फरक फरक सिप लिएर आत्म निर्भर बनेका, अरुलाईपनि सिप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गरेका, गुजारा चलाएर केहि कमाएकाहरुको सफलताको कथालाई यतिखेर जेनेभाको प्रदर्शनीमा समेटिएको छ । यो प्रदर्शनीले गर्दा जेनेभा आउने थुप्रै मुलुकका पर्यटकलाई नेपाल चिनाउन सहयोगपनि गरिरहेको छ ।
(सबै तस्विर – बिजय शर्मा दर्पण)

















