युरोपेली क्षेत्रीय वैठकलाइ भेला होइन ‘रमाइलो मेला’ बनाइयोस्

  • पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क

purna-bandhan-denmark-121क्षेत्रीय भेलाका सकारात्मक कुराहरू पहिले लेखेर, नकारात्मक कुराहरूलार्इ पुछारमा राख्न पाएको भए कति रमाइलो हुन्थ्यो । यसमा जे देखें त्यै लेखें। यसमा अनुशरणीय कुराहरू भने दूरदर्शक यत्र लगाएर खोज्नु पर्ने खालका छन्, है ।

नेपाल गरिब अवश्य छ । यद्यपी निरिह भने छैन । एनआरएनका नीति र कार्यक्रमहरु नेपाल निरिह छ भन्ने शंकेत गर्दै बेलाबेला सम्पन्न हुन्छन् । यस पटक कोपनहेगनमा सम्पन्न नवौं युरोपेली क्षेत्रीय भेला पनि त्यसरी नै समाप्त भयो ।

सन २०१२ मा नेदरल्याडमा सम्पन्न छैटौं क्षेत्रीय भेलामा पंक्तिकार ग्लोबल न्यूज यूकेको डेनमार्क प्रतिनिधी भएर गएको थियो । त्यस बेला जे देखियो, नवौं भेलासम्म आइपुग्दा अनन्त कुराहरुमा सुधार भैसकेको आशा गरिएको थियो । त्यहि आशा अनुरुप, आफू बसेको शहरमा हुन लागेको कार्यक्रममा सहयोगीको भूमिकामा उपस्थित हुनका लागि मेरो पनि सामाजिक दायित्व बुझेर गईयो । प्रवेश शुल्क स्वरुप चारसय डेनिस क्रोनर तिरेर जान कर गरेका हुन् । तर रहरले तिरेर गइयो । तर नेदरल्याण्ड देखि कोपनहेगनसम्म आईपुगेको क्षेत्रीय भेला, अझ थप अमर्यादित, अनुशासनहिन, समयसारणीको दुरूपयोगी र महिलाहरु प्रति बढि भेदभावपूर्ण देखियो ।

यूरोपका २० देशबाट आएका प्रतिनिधीहरुका देशनैपिच्छेका लम्बेतान प्रगती प्रतिवेदन सुनाउनुपर्ने । ति प्रस्तुतिहरुमा कागजमा लेखिएका भाषण पढ्ने प्रस्तोताहरु मानौ कुनै स्कूलको कक्षामा बोल्दै छन् । वक्तव्य दिने कला सिक्दैछन् जस्ता । हरेक देशका प्रतिनिधीका रुपमा उपस्थित हुने प्रस्तुतिहरु अत्यधिक पट्यार लाग्दा र उदेकपूर्ण थिए । सम्बोधन नगर्न पहिले नै आव्हान गरिएको भए तापनि प्रत्येकले लम्बेतान सम्बोधनको लर्कोको रुपमा संस्थापक अध्यक्ष देखि वर्तमान अध्यक्ष लगायत सबै धनाढ्यहरुकै नामको शंकृतन जस्तो सुनिने प्रस्तुतिमा प्रगतीप्रतिवेदन होईन, व्यक्ति विशेषको बढाइचढाइ थियो ।

मैले सभाकक्षमा बसुञ्जेल, लगभग ७ देसका प्रतिवेदन मध्ये फिनल्याण्डको प्रतिवेदन भने क्रियाकलापको झलकमुखी थियो । पावरप्वाइन्टको स्लाइडमा देखाइएका रनफर नेपाल, नेपालमा बनाइएका स्कूल र वृधाश्रमका तस्वीरहरु सम्मिलित थिए । आयोजक देशका प्रतिवेदनमा, उल्लेख हुनुपर्ने र सर्वसाधरण सबैले जानेबुझेका कार्यक्रमहरुको कुरा खासै उल्लेख नभएर कता तराईतिरका फलफूल र तरकारी व्यवसाय प्रवर्धन गर्ने भावी कार्यक्रमको नालिबेली सुनाइयो । जुन हामी स्थानीय मध्ये खै कतिका साथ सरसल्लाह गरेर फलाकेका हुन् महासचिवले, हेक्का भएन । स्थानीय प्रतिवेदनमा दुइ वर्ष पहिले शेष घले र उपेन्द्र महतोको रहोवरमा सम्पन्न कल्याणकारी कोषका लागि यति दिने र उती दिने भनेको कोषको रकम उठे नउठेको, उठेको भए कता प्रयोग भएको र कता वचत गरिएको आर्थिक कुरा लगायत अन्य आर्थिक हिसाब कितावका कुराहरुको झलक सुन्न पाउने आशा गरिएको थियो । तर त्यस्को कुनै प्रशंग नै नजोडिनु खेदजनक थियो ।

प्रतिवेदन प्रस्तुत गरिरहँदा, हलभित्र मानिसहरुको ग्यालग्याल चलेकोले प्रस्तोताका कुरामा ध्यान केन्द्रीत गर्न खोज्दाखोज्दै पनि कतिपय कुराहरु सुन्नै पाईएन । स्वयंसेवकका रुपमा खटिईका व्यक्तिहरु समेत हुल बाँधेर एक ठाउँमा बसेर सारौं कराए जस्तै हल्ला नगरिदिनु भनेर अरुलाई अनुरोध गर्नुको साटो आफै हल्ला गरेका थिए । कार्यक्रम सुन्न चाहने व्यक्तिहरुलाई उदेक लगाएर हलबाटै बाहिरिन विवस बनाएका थिए । सहभागीहरु मध्ये अन्य देशबाट आएका अधिकांस सहभागीहरु एकअर्कासंग भेटघाट र भलाकुसारीमै कार्यक्रम चलिरहेकै बेला भ्याइनभ्याई थियो । त्यो पनि हुनु त पर्ने हो, तर कार्यक्रम रोकिएका बेला । कमसेकम कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउनु उपेन्द्र महतो, शेष घले, जीवा लामिछानेहरुले मात्रै पुरै कार्यक्रमभर बसेर सुनिदिनु । मानौ उक्त प्रतिस्पर्धात्मक कुनै कार्यक्रमका जज जस्ता प्रतित हुन्थे तिपनि । अरुले त सभा तथा कार्यक्रमहरुमा पालना गरिनुपर्ने कुनै अनुशासन पालना गरेमा उनीहरूकै इज्जत जान्छ जस्तो मस्ताराम घुमफिर गरिरहेका थिए, वेरोकतोक ।

यावत नकारात्मक कुराहरुका अतिरिक्त समय सारणीको मामलामा त झनै वेथिती थियो । तय गरिएका कार्यक्रमहरु भन्दा तीनचार घण्टा ढिलो भैसक्दा पनि आयोजकहरुलाई वेवास्ता गरिएको थियो । उल्टै ग्लोबल कमिटीका पदाधिकारीहरुले नै माईक समातेर, अत्यन्त लामो भैसकेको कार्यक्रममैपनि अरु कोही हुनुहुन्छरु भन्दै सहभागीहरु भएकातिर माईक दिएर अनुजा गौतम, दृष्टिविहिन प्रतिभाशाली बालिकाको कार्यक्रमका लागि आर्थिक सहयोग गर्नेहरुलाई गुहारेका गुहारेइ थिए । आर्थिक सहयोग दिने व्यक्तिलाई माईक दिँदै मन्तव्य दिन लगाएर समय सारणी र आयोजकहरुको अवस्थालाई बेमतलव गर्न मिल्छ ?

अनुजा गौतमको सारगर्भित प्रस्तुती, सिमा पौडेलको प्राविधिक रुपले गुणस्तरीय युवा प्रस्तुतिहरु असाध्यै आशा लाग्दा थिए । लोकराज शर्माको माइक्रो फाइनान्स सम्बन्धी अवधारणाको प्रस्तुतिहरुका सन्दर्भ सामग्री पछिल्लो पुस्ताको गृणस्तरीयताका उदाहरण थिए । तर, दृष्टिविहिन अथवा अपांग वाहेकले गरेका हरेक प्रस्तुतीहरु अनुशासनहिन युरोपका अन्य देसबाट आएका अतिथी स्वरुपका सहभागीहरुकै ओहरदोहर, भलाकुसारीका कारण अत्यन्त ओझेलमा परेकै हुन् । आयोजक स्वयंमसेवकहरु अनुरोध गरेर पनि अनुशासनहिन पाहुनाहरुका यस्ता बानीव्यहोरा देखि दिक्क भएको पनि देखियो । डेनमार्कका अध्यक्ष दिपेन्द्र चूडालले कार्यक्रमलाई सफल बनाउन निकै मेहनत गरेको, यद्यपी कमीकमजोरीहरु हटाउनुको साटो पाहुनारुपी भलादमी र विशिष्टहरुबाटै उलंघीत हुनु खेदजनक थियो ।

डेनमार्क डबलीका अभियन्ता प्रभात किरणले उठाएका प्रश्नहरु २०१२ मा पनि विभिन्न सहभागीहरुले उठाएकै थिए । यस पटक पनि पुनः निम्नरुपमा उठेका प्रश्नहरुमा कारवाही गरेर देखाउने क्षमता कसैसंग छैन । राजनैतिक दलमा आवद्ध कतिपय देसका पदाधिकारीहरुलाई कारवाही गर्नुको साटो नजरअन्दाज गरिनुलाई निती, नियम, दस्तावेज र विधानको कागजी घोडा हो भनेर पुनः प्रश्न गरियो । यद्यपी त्यो आगामी दिनमा कस्ले कस्लाई कारवाही गरेर एनआरएन वास्तवमा नेपालीले नेपालीका लागि भन्ने नारा अनुरुपको कहिल्यै पनि नहुने संकेत दिंदै थियो । यसअर्थमा, युरोपेली क्षेत्रीय मेलालाई भविष्यमा पनि यसरी नै समयको अपहेलना, पाहुना र आयोजकलाई नै वेवास्ता गरेर सञ्चालित हुने हो भने यसको नाम परिवर्तन गरिनु पर्छ । एनआरएन युरोपेली क्षेत्रीय सम्मेलनको सट्टा ‘युरोपेली क्षेत्रीय रमाईलो मेला ।’ बरु त्यहाँ हरेक देशका नेपालीहरु आएर स्टल राखुन, खाना तथा अन्य ब्यापार व्यवसाय गरुन र भलाकुसारीका साथ तस्वीर खिचाखिच गरुन् । त्यसो हुन सक्यो भने यति धेरै सकारात्मक कुराहरु लेख्न खोज्दाखोज्दै पनि नकारात्मक पक्षको दस्तावेज बन्दैनथ्यो ।
निम्न प्रश्नहरु पनि उठाइरहनु पर्दैनथ्यो ।

प्रभात किरणका चोटिला प्रश्नहरु जस्ताका तस्तै :

कुराको मात लाग्यो है , कति दोहोर्याएका एऊटै कुरा । ३० जनाले एऊटै कुरा ३० चोटी भन्दा त भुसुक्कै निदाईएछ । मैले हाई कमान्डमा ऊठाएका चार सवालहरु , लोभीपापी पत्रकारले मेरा कुरा कभर गर्दैनन् मलाई थाहा छ । त्यसैले आफै मपाई वनें लुखास्त ॥

१- एन आर एन ए ले सधै एऊटालाई मागेर अर्कोलाई दिने खालको मध्यस्थकर्तामात्र भईरहनेकी दिगो आर्थिक श्रोतको लागि कुनै आर्थिक ऊपार्जनको कार्यक्रम पनि लाने ?

२ – एन आर एन को विधान कागजी घोडा मात्र होईन भने राजनैतिक संघ संगठनमा पनि र एन आर एनमा पद ओगटेर वसेकालाई कार्वाही हुनुपर्यो ।

३- एन आर एन ए ले Think Globally Act Locally  को अवधारणा अनुसार काम गर्न सकेन भने स्थानिय स्तरमा राम्रो छवि बनाऊन सक्दैन । यो कुरा मनन गर्नु पर्यो ।

४ – स्थानीय जनाधार शुन्य भएका मान्छेहरुलाई पहुँचको आधारमा टिका लगाएर, पद दिएर एन आर एनको काम स्थानिय तहमा कहिल्यै प्रभावकारि हुँदैन । यो प्रचलनको अन्त्य हुनुपर्यो ।

 

तपाइँको प्रतिक्रिया