विमान टिकट, उपहार र भ्रमणको फल : पत्रकार महासंघ युरोप शाखामा टिके पद
बेल्जियममा नेपाल पत्रकार महासंघ युरोप शाखा (एफ एन जे युरोप) को दोस्रो तयारि हुँदै थियो । मलाई त्यो अधिबेशनमा सहभागि हुने मनशाय थिएन । तयारिपनि गरेको थिईन । किनभने मैले यो एफ एन जे शाखाको बखेडा, बिवाद र राजनिति देखेर दोस्रो अधिवेशनमा सहभागि नहुने बिचार गरेको थिएँ । वाक्कदिक्क भैसकेको थिएँ । तर म बेल्जियम आफ्नै कामले नेदरल्याण्ड हुँदै बेल्जियम आएका बेला केजिन राईले लुभेनस्थित रेल स्टेशनमा एकैछिन् भएपनि भेटौं भनेर जोड गरे । धेरै पटक आग्रह र जबर्जस्तिसम्म गरेपछि मैले भेट्न मजुरी गरें । तर मलाई थाह थिएन, केजिन राई कुनैपनि हालतमा एफ एन जे युरोपको अध्यक्ष बन्न खोजेका छन् । उनले गोप्य रुपमा त्यो तयारि केन्द्रिय केहि पदाधिकारीसितको मिलोमतो र सहयोगमा आयोजना गरिरहेका छन् भन्ने । अधिबेशन हुनु केहि दिन अघिसम्मपनि उनले आफ्ना भित्रि तयारी र योजनाका बारेमा फुत्काएनन् । हामीलाई प्रयोग गरेर, फसाएर जसरिपनि अध्यक्ष बन्ने दाउ उनको रहेछ । बरु यो अधिबेशनमा अन्य साथीहरुलाईपनि खबर गरेर जसरिपनि सहभागि हुने बनाउनुस् भनेर जिद्दि गरिरहे । मैले अधिबेशनमा आउन अनिच्क्षुक केहि अन्य मित्रहरुलाईपनि आउनुपर्छ भनेर बोलाएँ ।
अधिबेशन चल्यो । अधिबेशनमा एफ एन जे युरोप शाखाका तर्फबाट सदस्यता फाईल प्रस्तुत गरिएपछि विवाद शुरु भैहाल्यो । शाखाले बैधानिक तरिकाले लिएकाहरुको निबेदनमाथि मात्रै छलफल गर्नुपर्ने भनाई तत्कालिन सचिव प्रकाश ढकालले राखेपछि विवाद चर्किहाल्यो । ‘मैलेपनि सदस्यता फर्म लिएको छु’ भनेर केजिन राई उठिहाले । दुबै तर्फकाले आफू बैध र अर्को अबैध भन्न थाले । लामो छलफल र बहसपछि तत्कालकालागि आबेदन दिएका सबैलाई अधिबेशनमा सहभागि हुन दिने निर्णय भयो ।
अधिबेशनमा शाखाले केन्द्रिय अध्यक्ष महेन्द्र विष्टलाई निमन्त्रणा गर्यो । यता केजिन राईले उजिर मगरलाई आफ्नो तर्फबाट निमन्त्रणा पठाए । उनले अधिबेशनमा बहुमत पुर्याएर नेत्रित्व लिने योजना बनाएका रहेछन् । त्यसैले उनले आफ्नो योजना सफल पार्न उजिर मगरलाई बोलाए । केजिन राइले भन्थे ‘केन्द्रमा महेन्द्र विष्ट अल्पमतमा छन् । उजिर मगरको बहुमत छ। उजिरले प्रस्ताव गरेपछि जेपनि सदर हुन्छ ।’ महेन्द्र विष्टले एफ एन जे शाखालाई आफ्नो कब्जामा लिन दिँदैनन्, मान्दैनन्। त्यसैले शाखा आफूले कब्जा गर्न उजिर मगरलाई बोलाउनुपरेको भन्ने कुरो उनले निकै पछि मात्रै सुनाए ।
त्यो सत्यता अर्को पक्षले नबुझ्ने कुरै भएन । शाखाको अधिबेशनमा किन दुई जना केन्द्रिय प्रतिनिधी ? फेरि दुई फरक समूहका लागि अलग अलग ? के एफ एन जे केन्द्रिय अध्यक्ष वा महासचिव दुबैका, सबैका हुन सक्दैनन् ?
अध्यक्ष र महासचिव दुबै जना सहभागि हुने भनेपछि शाखाको बैधानिक समितिले महेन्द्र विष्टको खर्च मात्रै ब्यहोर्छौं भन्न थाल्यो । विष्टलाई ल्याउने निर्णयपनि समितिका केहिको मात्रै थियो । किनभने धेरै सदस्यले ‘केन्द्रिय प्रतिनिधीको खर्च ब्यहोर्न सकिन्न, हरेक अधिबेशनमा केन्द्रिय प्रतिनिधी चाहिन्छ भन्नेपनि छैन’ भनेका थिए । तर शाखाले मानेन र ल्याउने निर्णय गर्यो ।
तर दुबै पक्षलाई आफ्ना प्रतिनिधी चाहिएको । त्यसैले एक पक्षले अध्यक्ष र अर्को पक्षले महासचिवलाई निम्त्याए । तत्कालिन समितिलाई खर्चको मुख्य समस्या भएन । शाखामा सदस्यताकालागि उठेको रकमबाट ब्यहोर्न पाइने भयो । तर केजिन राईले कसो गर्ने ? शाखा कब्जा गर्न पाएको भए बैधानिक तरिकालेनै उजिर मगरको खर्च ब्यहोर्ने निर्णय गराउन पाइन्थ्यो । तर त्यो सपना तुहियो ।
अधिबेशन सकिएपछि केजिन राई रुम्ला झैं गरे ‘उजिर मगरलाई निम्ता गरेको पैसा धेरै लाग्या छ । म एक्लैले हाल्या छु । त्यो खर्च ब्यहोर्नुपर्यो ।’ उनले लक्ष्मण देवकोटा, प्रेम परियार, विरमान घर्ति मगर, म लगायतसित रकम उठाए । यताबाट रकम उठाए । तर उनले उजिर मगरलाई फेरि खर्च हालेर पोर्चुगल र स्विजरल्याण्ड पठाए ।
यता केजिन राईले उजिर मगरलाई लागेको खर्च भन्दै सहयोग रकमपनि उठाए । तर केन्द्रका अध्यक्ष महेन्द्र विष्ट र उजिर मगरले टिका लगाएर टिके पदमा पुगेपछि अधिबेशनमा सदस्यताबाट उठेको रकम दिनुपर्यो भन्दै तत्कालिन कोषाध्यक्षसित जम्मा भएको रकम मागिरहेका छन् केजिन राईले । संस्थाको रकम केन्द्रिय प्रतिनिधीलाई भ्रमण खर्च तिर्ने हो भने उनले के के शिर्षकमा रकम खर्च भयो त्यसको बिल देखाउनुपर्छ की पर्दैन ? जबकी एफ एन जे युरोप शाखाको पहिलो अधिवेशनमा भएको खर्च हामीले फोटोकपी गरेको बिलपनि राखेका, बुझाएका थियौं ।
उजिर मगर बेल्जियममा भएको अधिवेशनमा आए । सदस्यहरुले तिरेको रकमबाट किन पोर्चुगल र स्विजरल्याण्डको खर्च ब्यहोर्ने ? उति बेला ‘मेरो ब्यक्तिगत खर्च भयो, पैसा हाल्नुपर्यो’ भन्दै रकम उठाउने । टिके पदमा पुगेपछि फेरि पत्रकार महासंघ युरोप शाखासित चार हजार युरो लाग्या छ खर्च’ भन्दै सुनाउने ?
बेल्जियम र त्यस बाहिरका देशमा बिना बिल, बिना सहमती भ्रमण गराएको रकम अन्य सदस्यहरुबाट असुल गराउने यो भ्रस्टाचार हो की होइन अध्यक्ष र महासचिव महोदय ? नैतिकवान केन्द्रिय प्रतिनिधीले यो बोल्नुपर्छ की पर्दैन ? शाखाप्रति गम्भिर भए यो केन्द्रको चासो र चिन्ताको विषय हो की होइन ? तपाईहरुका नाममा अन्य कसैले लुटेको रहेछ, झुक्क्याएको रहेछ भने त्यो यथार्थता सार्वजनिक भएपछि बोल्नुपर्छ की पर्दैन ?
अधिबेशनको लगत्तै अध्यक्ष महेन्द्र विष्ट आफ्नी पत्नीसहित बेल्जियम हुँदै फ्रान्स जाने प्रसंग उठाए केजिन राईले । फेरि उनको भ्रमणको खर्चपनि युरोपका पत्रकारले तिर्नुपर्ने भन्न थाले । अहिले उजिर मगरको भ्रमण खर्च चार हजार लागेको छ भन्नुको अर्थ के हो ? केन्द्रका प्रतिनिधीको भ्रमणमा गरिएका जाँडपानी, गाडीको इन्धन, रेस्टुरेन्टको खाना खर्चसमेत हो की होइन ? एक जना प्रतिनिधीको खर्च चार हजार युरो कसरि लाग्छ?
पहिलो अधिवेशनमा तत्कालिन अध्यक्ष शिव गाउँलेलाई निम्ता गर्दा करिव दुई हजार युरो लागेको थियो अधिवेशनमा । तर महाचिव एक जनाको मात्रै खर्च चार हजार कसरि ? किन तिर्ने समितिले दुई जना केन्द्रिय प्रतिनिधीको खर्च ? महा सचिवकालागि चक्र हजार युरो खर्च भएछ । अध्यक्षका लागि कति लाग्यो ? अध्यक्षकोपनि खर्च जोड्दा कति हुन्छ ?
गाउँलेलाई अन्य देशको भ्रमण गराउँदा सोहि देशका पत्रकार साथीहरुले रहर मानिमानि घुमाउनुभएको थियो, आफ्नै खर्चमा । तर किन दोस्रो अधिबेशनमा दुई जनाको खर्च ब्यहोर्ने पत्रकार महासंघ युरोप शाखाले ? अधिबेशनमा आउनेलाई त्यो देशभन्दा बाहिर घुम्नु छ भने किन यहाँको शाखाले खर्च हाल्ने ? अधिबेशनमा सहि निर्णय दिन नसक्ने, अधिवेशनको म्यान्डेटपनि तोड्ने, पछि छलकपट, निजि फाईदा लिएर टिका लगाएकै भरमा पद दिनेहरुलाई भ्रमण र मोजमस्ति गराईदिनकालागि मात्रै बसेका हुन् युरोप शाखाका पत्रकार ?
उजिर मगरलाई केजिन राईले आई फोन किनेर दिएको चर्चा यता मात्रै होइन उता नेपालमापनि चलेको हो । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमै बसेको केन्द्रिय समितिको दोस्रो बैठकमा यसबारे चर्चा चलेको थियो । केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्य रुद्र प्रसाद शर्माले उजिर मगरले युरोपबाट आइफोन उपहार ल्याएको, महेन्द्र विष्टकी पत्नीलाई उपहार ल्याएको हाकाहाकी बताएका थिए । यो विषय शर्माले उठाउँदा त्यसबेला चर्काचर्की परेको थियो । मिटिङमै उजिरको आइफोन र विष्ठकी पत्नीलाई उपहारबारे कुरा राखेर बैठक बहिस्कार गरिएको थियो । उता केन्द्रिय समितिको बैठकमा भने उजिर मगरले आफ्नै खर्चमा युरोप भ्रमण गरेको बताएको एक केन्द्रिय सदस्यले जानकारि दिए । यताका पत्रकारले चार हजार युरो ब्यहोर्नुपर्ने उता गएर आफ्नै खर्चमा भनेर जवाफ किन दिईयो ? शर्माले बैठकमा मगरको बिरोध गरेको भन्दै पत्रकार खिल बहादुर भण्डारी, अध्यक्ष विष्टसमेत उनको बिरोधमा उत्रिएको ति केन्द्रिय सदस्यले बताए । यि भ्रमहरु चिर्ने काम तपाईहरुको हो की होइन ?
यो विषय केन्द्रिय बैठकमा पटक पटक उठेको हो । फेरि पोखरामा पश्चिमाञ्चल भेला भयो । त्यो बेलापनि यो विषय उठ्यो । केन्द्रिय कार्यालयमा भएको बैठकमा भन्दा झन चर्कोसित उठ्यो । बिवाद बढ्दै जाँदा महासचिव उजिर मगर र केन्द्रिय सदस्य शर्माकाबिच पोखराको साईमन होटेलमा हात हालाहाल भएको थियो ।
कति नालायक हामी ?
अधिवेशनमा कसकसलाई सदस्यता दिने भन्ने विषयमै बिवाद पर्यो । यि समस्या शाखाका सदस्य र केन्द्र दुबैले हल गर्न सकेनन् । यसको दोष शाखा र केन्द्रिय प्रतिनिधी दुबैले लिनुपर्छ । तर अधिवेशनलेनै सबै पत्रकारको छानबिन गर्ने, त्यसपछि मात्रै सदस्यता छानबिन गरेपछि बैधानिक सदस्यहरुको अधिवेशन गर्ने म्यान्डेट अधिबेशनले गरेको हो । तर किन त्यत्रो समय कटिसकेपछि सुटुक्क चोर बाटोबाट टिका लगाएर पद दिलाउनु भयो ? सदस्यता छानबिन सबैको गर्ने भनेपछि कसरि तिनै अबैधानिक सदस्यहरुले पत्रकार महासंघको शाखामा पद लिन मिल्छ ? अधिबेशन भन्दा ठूलो, महत्वपूर्ण र बैधानिक केन्द्रिय प्रतिनिधी हुन् ? को हुन् उजिर मगर र महेन्द्र विष्ठ अधिबेशनको म्याण्डेटलाई लात हानेर, अनादार गरेर मन परेका ब्यक्तिलाई टपक्क टिपी टिको लगाइदिने, पद दिने अँध्यारो कोठाबाट ? तपाइहरुले यतिसम्म नालयकी, हेपाहा, मिचाहा र मनपरि केकालगि गर्नु भयो त ? त्यहि जाँडपानी, होटेल खर्च, विमान तिकट, आई फोन र भ्रमण पाएकाले होइन ? होइन भने त मुख खोलेर स्पष्ठ पार्न सक्नुपर्यो नी ।
कोषाध्यक्षबाट स्पष्ठ भैसकेको छ की केजिन राईले चार हजार युरो खर्च लाग्यो महासचिवको भ्रमणकालागि भन्दै अघिल्लो समितिको बचत रकम मागेको । तत्कालिन शाखाका पदाधिकारीले फेरि महेन्द्र विष्टको खर्च तिर्नु छ भन्दै त्यहि रकम दाबि गरिरहेकोपनि स्पष्ठसित बाहिर आयो । अनि शाखालाई बोझ पारेर, मस्ति गरेर, अधिवेशनको म्यान्डेटलाई लात हानेर, छानबिन समितिलाई काम गर्नपनि नदिई टिको लगाएर शाखा बनाउने र आफ्नो दुनो सोझाउने ? हामीमाथि राजनिति गर्ने ?
सन्तोस न्यौपानेलाई ‘यो बेल्जियममा बसेर पत्रकारिता गरिरहेको नेपाल पत्रकार महासंघको सदस्य हो’ भनेर निबेदन दिन नसक्ने तपाई अध्यक्ष र महासचिव होइन ? अहिले सडक सडकमा नेपाल पत्रकार महासंघ र अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइ एफ जे) को कार्ड बाँड्ने तपाईहरु होइन ? थाह छ कस्तालेपनि पाएका छन् त्यो कार्ड ? तपाईले कार्ड दिएका केहि पत्रकारलाई हाम्रा अगाडि राखेर सानो न्युज लेख्न लगाउनुस् । हामी तिनले सानो न्युज राम्रोसित लेख्न जानेछन् भनेपनि काट काट्छौं । जानेनन भने तपाईहरुपनि त्यस्तै सजायँ भोग्न तयर हुनुहुन्छ ? यो मेरो चुनौति हो ।
वर्षौं देखि धाक धम्की सहेर, जोखिम मोलेर पत्रकारिता गरिरहेको पत्रकारलाई सिफारिस दिन नसक्ने । तर पार्टीका डन र अनेक संस्थामा लागेका, कहिल्यै पत्रकारितानै नगरेकालाइ नेपाल पत्रकार महासंघ र अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्ड दिने ? यो केको स्वार्थले हो त ? त्यहि जाँड, विमान तिकट, भ्रमण र उपहारले होइन ? नत्र केन्द्रिय प्रतिनिधीले आफ्ना पत्रकारमाथि यति अन्याय र बिभेद गर्न मिल्छ ?
अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्डपनि सडक सडकमा बाँडिएको छ । महासचिव र केन्द्रिय अध्यक्षका टिके शाखा अध्यक्ष केजिन राईले हालसालै फ्रान्स भ्रमणमा आएका केन्द्रिय प्रतिनिधीहरुलाई कार्ड दिँदापनि भ्रमण गराउनु पर्ने शर्त राखे । ‘तपाईहरुले फलाना फलाना केन्द्रिय नेतालाई भेटेर घुमाउनुस र कार्डपनि लिनुस् ।’ सडक सडकमा कार्ड बाँड्ने पत्रकारको ? आफ्नो कार्ड लिन कसैलाई घुमाउनुपर्ने ? अधिवेशमा मस्ति गरेर हिँड्दापनि युरोपका पत्रकारले कार्ड लिनपनि शर्त मान्नुपर्ने ? कतिपयका कार्ड घुमाइदिएपछि पाउने । तर कतिपयका कार्ड बनेपछिपनि थन्काएर राख्ने ? सिफारिस माग्नेलाई सिफारिस पत्र नदिने केन्द्रले । कार्ड नमागेकालाई कार्ड बनाएर दिने । संवन्धित ब्यक्तिलाई जानकारिपनि नदिईकन फेसबूकमा अर्काको कार्डको फोटो खिचेर बधाई भन्दै हालिदिने ?
आफ्नो संस्थाको त बेइज्जति भयो भयो, प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रकार महासंघ जस्तो संस्थाको गरिमामाथिपनि खेलवाड भएको छ । नेपाली पत्रकारहरुको यो क्षमता, लोभ, सानो फाईदामा र्याल काढ्ने छवी अन्तर्राष्ट्रिय संस्थाका प्रतिष्ठित ब्यक्तिकहाँ पुगेको छ । यसका बारेमा गम्भिर हुनुपर्दैन ? महासचिव र अध्यक्ष महोदय तपाईका टिकेहरुका बारेमापनि बुझ्नुस् र बोल्नुस् क्रिपया ।







