पोर्तुगलको पानीभन्दा सस्तो बियरसँग नुहाउनेहरुसँग मैले के नै जोहरी खेल्नु ?
- गणेश पाण्डे / पोर्तुगल
केहि दिन अगाडी एन आर एन पोर्तुगलका केहि साथीहरुको साथमा अरुपनि नेपाली साथीहरु मैले काम गर्ने रेस्टुरेन्टमा आउनु भएको थियो । त्यही हुलमा केहि भद्र र केहि झुण्ड पनि थिए । केहिले मलाई के लेख्न हुने र के लेख्न नहुने भनेर सम्झाए । मैले सहज नै स्वीकार गरें । केहिले बबाल थर्काए । मेरा रेस्टुरेन्टका मालिक चुपचाप हेरिमात्रै रहे । मपनि निरिह, मौन भएर हेरी मात्रै रहें । सुनिमात्रै रहें । एउटा भनाई छ नि ” अनिकालमा बिऊ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु ।” मेरा लागि यहि नै उत्तम उपाय थियो त्यो समय को लागि । टेबल टक भएको भए म नि खुल्ला बहस गर्न तयार थिएँ । तर पोर्तुगलको पानीभन्दा सस्तो बियरसंग नुहाउनेहरुसंग मैले के नै जोहरी खेल्नु ? बिचरा म अहिलेसम्म सोमरसको स्वाद कस्तो हुन्छ सम्म थाहा पाएको छैन ।
अनि बहस चल्यो, एन आर एन को बारेमा । मैले लेखेको समाचार र लगाएको आरोपको बारेमा। उनीहरुको तर्क थियो, एन आर एन ए पोर्तुगलले कसैले केहि लेख्यो र भन्यो भन्दैमा आफ्नो आर्थिक गतिबिधि कसैलाई देखाउन जरुरी छैन । फिनान्सियल स्टेटमेन्ट त अधिबेशनमा आफ्ना सदस्यहरुलाई मात्रै देखाउने कुरा हो । जो सदस्य छैन, उसलाई अधिबेशनमा सहभागी हुने अधिकार पनि छैन । एन आर एन ए पोर्तुगलले चाहेमा घोक्रेठ्याक लगाएर बाहिर निकाल्न पनि सक्छ । लौ नागरिक समाजले यो माथिको हरफको विश्लेषण गरोस न त । कुरो कति जायज छ ? एन आर एन केहि सदस्यहरुको र केही व्यक्तिहरुको मात्रै पेवा हो ? यदि हो भने त्यो सामाजिक संस्था कदापी होइन । केही झुण्ड व्यक्तिहरुको कमाई खाने भाँडो हो ।
सबैभन्दा महत्वपूर्ण पाटो, एन आर एन ए पोर्तुगलको आर्थिक चलखेल तथा संस्थाको कोषको रकम बैंक दाखिला नभएको र व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुने गरेको आरोप हो । एन आर एन ए पोर्तुगलका एक जना पदाधिकारीले नयाँ व्यवसाय शुरु गर्ने भएछन । तर उनलाई पर्यो फसाद । पैसा नेपालबाट ल्याउनु पर्ने । नेपालको कानुन बमोजिम पैसा तुरुन्तै झिकाउन नमिल्ने, केहि समय लाग्ने भयो । नेपालबाट पैसा नआउनजेल केहि दिनको लागि पैसाको बन्दोबस्त कसरि गर्ने होला ? एन आर एन ए पोर्तुगलको कोषको रकम जो जो संग छ, तिनीहरुले उनलाई ठ्याक्कै जवाफ दिए, “हामीसंग कोष को रकम छ नि, तपाई को पैसा नआउन्जेल चलाउदै गर्नुस । बाँकी तपाइको पैसा आएपछि मिलाउँला ।” तर सलाम छ एन आर एन ए पोर्तुगलका ति पदाधिकारीलाई जसले यस्तो प्रस्ताव अस्विकार गरे । बाहिरबाट पैसाको बन्दोबस्त गरेर मासिक ८०० यूरो ब्याज तिरे । आफ्नो पैसा नआउन्जेल । यति भनेपछि त जो जो यो काण्डमा संग्लग्न छन्, बुझेहोलान । कि त अब सबैको नाम नै किटेर लेखौ ?
हाम्रो चासोको बिषय पनि यहि हो । हाम्रो समाज र एन आर एन ए पोर्तुगलको बोर्डमा भएका साथीहरुको एउटा कमजोरी के हो भने सत्य कुरा बोल्न नसक्नु । मेरो साथीभाई रिसाउलान कि ? मेरो कोहि दुश्मन बन्ला कि ? तर एउटा कुरा के हो भने जबसम्म यिनीहरु आफैं या यिनका परिवारका सदस्यहरु खाल्डोमा खस्ने छैनन्, यिनका घैटोमा घाम लाग्नेवाला छैन ।
म एउटा कुरा यहाँ उल्लेख गर्न चाहन्छु, एन आर एन ए पोर्तुगलको बिषयमा । मेरो निरन्तर एन आर एन ए पोर्तुगलका साथीभाईहरुसँग कुरा भईनैरहन्छ । आदरणीय भिम कमल दाई र हेमराजजीले मलाई ब्लक गरेको हुनाले केहि समय हाम्रो दोहोरो संचार टुटेको थियो । तरपनि फोनमार्फत हाम्रो कुरा चलिनैरह्यो । एन आर एन ए पोर्तुगलको आर्थिक विवादको बहस चरम उत्कर्षमा पुगेको बेला उपाध्यक्ष शम्भु गौतमसँग धेरै नै पटक कुरा भएको थियो । उहाँले मलाई कयौं पटक इटालीबाट समेत फोन गर्नु भएको थियो । उहाँको एन आर एन ए पोर्तुगलप्रति गहिरो चासो रहेको मैले पाएँ ।
त्यस्तै, सचिब ध्रुब सापकोटा र सदस्य धर्मराज अधिकारीसंग पनि धेरै नै पटक कुरा भयो । सुर्जे भट्टचनदाई संग पनि कयौ पटक कुरा र बहस भयो । मैले बुझ्न नसकेको एउटा कुरा के भने धेरै साथीहरुको मसँगको कुराकानीमा एन आर एन ए पोर्तुगलमा धेरै नै कमजोरी र विसंगति छन् । साथीहरुको बिचमा मतभेद र बिभेद छ भन्नुहुन्छ । तर आमने सामने बोल्ने हिम्मत कसैले गर्दैनन् । किन ? के ले रोकेको छ आखिर सत्य कुरा बोल्न ? एउटा माछा मरे पोखरी नै गन्हाउँछ । त्यसैले या त मरेको माछालाई पोखरीबाट झिकेर फाल्नुपर्छ होइन भने अरु माछाहरुले स्वच्छ हुन त्यो पोखरी छोड्नुपर्छ ।
शम्भु गौतम, ध्रुब सापकोटा, सुर्जे भट्टचन आदि इत्यादीहरु यदि आफ्नो सामाजिक मर्यादा र इज्जतको ख्याल राख्दछन भने कि त नागरिक समाज र कलम चलाउनेहरुसंग एउटा गोलमेच सम्मेलन गरी सबै कुराहरु स्पष्ट राख्नसक्नुपर्छ । होइनभने आफ्नो इज्ज़त र स्वच्छ छबि जोगाउन यो कार्यसमितिबाट राजिनामा दिनुपर्छ । एउटा सानो भाई को सुझाब । आगे हजुरहरुको ईच्छा ।
हेमन्त सेढाईको सानो विवादमा एन आर एन पोर्तुगलको कार्यालयमा बोलाएर धम्क्याउने एन आर एन पोर्तुगलले यत्रो बिबाद सामाजिक संजाल, अनलाइन र टेलिभिजन समाचारमा बारम्बार आउँदा पनि एक पटकसम्मपनि टेबल टक गर्न उचित ठानेन । कानमा तेल हालेर बसेको छ । बडो अचम्म र बिडम्बनाको कुरो । एन आर एन ए पोर्तुगलले आफुलाई लागेको आरोपलाई गलत साबित गर्न पत्रकार तथा नागरिक समाजको सम्मेलन गर्न सक्नुपर्थ्यो । जुन अहिलेसम्म हुन सकेको छैन । हरेक सामाजिक संस्थाको सोसल अडिट हुन जरुरी छ । एन आर एन ए पोर्तुगल कुनै अपबाद संस्था होइन । यद्यपी यो गन्थन लेख्दै गर्दा एन आर एन पोर्तुगलले गरेको सामाजिक कार्य र दुखमा परेका नेपालीहरुलाई लगाएका कयौ गुन सार्है नै प्रशंशनिय रहेको कुरा छन् । गन्हाएको पोखरीमा सधैभरी पौडी खेलेर आफु पनि फोहोरी हुने या कुहिएका माछाहारुलाई पोखरीबाट झिकेर फाल्ने ? इच्छा तपाईहरुको ।




