घर न घाटका एन आर एनहरू
– रविचन्द्र भट्टरार्इ / भियना, अष्ट्रिया
एन आर एनलाई दोस्रो दर्जाका नेपालीहरूको रूपमा लिइन्छ । नेपालबाट हेर्दा देश छाडेर बाहिर बस्ने सबै नेपालीहरूले जतिसुकै माेजमस्ति र रमाइलाे गरेकाे देखिए पनि वास्तविकता अर्कै हुन्छ । केके न गरूँला भनेर देश छाड्ने प्रायः नेपालीहरू अहिले घर न घाटकाे अवस्थामा पुगेका छन् । विदेश बस्ने रहर पुरा गर्न बाहिरिने नेपालीहरूकाे रहर अब बाध्यता जस्तै भएकाे छ ।
जन्म नागरिकता अथवा पासपाेर्ट मान्छेको वास्तविक परिचय होइन रहेछ । मान्छेको सबैभन्दा ठूलाे परिचय रहेछ ऊ कहाँ हुर्कियाे ? उसकाे लालन पालन कसले गर्याे ?उसकाे बाल्यकाल कसरी बित्याे ? कक्षामा साथीभाइहरू काे काे थिए ? पिपलगेडि क-कसले बाँडेर खाए ? गुच्चा र चुँगीकाे लागि झगडा र दाेस्ति कोसँग गरियो ? यी सबै पलहरू जीवनभर बिर्सनै नसकिने रहेछ । जुनसुकै देशमा पुगेपनि, जति नै भाेगबिलासिताको जीवन बिताएपनि सँगै हुर्केकाे हर्के र बिर्खेले केके गरेका छन् भन्ने चासाे मुटुमा बेसरी गढेकाे हुन्छ ।
मान्छे सानैमा लाेभि हुन्छ बिस्तारै बैंस चढ्दै गर्दा माेहले सताउँछ। बैंसकाे माेह त्यस्ताे भ्रम हाे जसले बिपरित लिङ्गीय मित्र हाे र अरू सबै दुश्मन हुन् भन्नेमात्र सुचना दिन्छ । याे समय सबैमान्छेलार्इ अाउँछ, पाखाे पखेराे नै बगाउँला झै गरेर । तर त्याे धुन्धुकारी बैंश धेरैबेर रहँदैन । अाउँछ र जान्छ । जीवनकाे सबैभन्दा महत्त्वपूर्ण पल त्यसपछि अाउँदाे रहेछ: रहर । रहरले मान्छेलार्इ कुनबाटाेमा लैजान्छ स्वयंलार्इ पनि थाहा हुँदैन । जीवन यहाँसम्म पनि भ्रम नै जस्ताे लाग्छ । त्यहि रहरै रहरमा काेहि सहि बाटाे समाउन पुग्छन् भने काेहि गलत ।
धन कमाउने रहर त प्रायः सबैकाे हुन्छ । धन नै जीवन, सुख र शान्ति अनि रहरहरूकाे केन्द्र बिन्दु नै बनिदिन्छ ।
धन कमाउन सबै भन्दा सजिलाे यात्र विदेश किनकि अाफुमा त हामी विश्वासै गर्दैनाै । मान्छेकाे नराम्राे बानी नै यहि हाे । छिमेकिका खेतिपाती सप्रेकाे डाहा लाग्छ । अर्काकि छाेरी राम्री भए अाँखा लाग्छ । सानातिना त अाँखाले देख्दै देख्दैन ठूलैमात्र ताक्छ । यस्ताे बेला रहर झन् बलवान् बनेर अाउँछ । विदेशबाट अाउनेले लगाएका नानाथर अत्तरले नाकमा हाेइन सिधै मुटुमा बिझाउँछ । पासपाेर्ट च्यापेर अाजै कि भाेलि नै जानपाए कस्ताे न हाेला हुन्छ । ज्यानै छाडेपछि चन्द्रमा पुग्न गाह्राे नभएकाे समयमा विदेश कुन ठूलाे कुराे हाे र ।
झड्याम्म पाइला पर्छ कुनै देशमा । साउदि कतार दुवर्इ, माैका परे अलि परै । गैरि खेत दाउमा हालेर हाम्फाल्दा जान पनि सक्छ या केहि गुना थपेर अाउन पनि सक्छ । केहि भर छैन तर रहर बलियाे हुन्छ । रहरकाे अगाडि कसैकाे केहि लाग्दैन । दुबइ हाेस् या अमेरिका अवस्था सबैकाे उस्तै छ । दुइ चार पैसामा फरक हाेला तर जीवन तुलामा हालेर जाेखे जस्तै बरावर । गैरि खेत जाेगाएर के भाे त मन जाेगिएन क्यार । दुइ चार पैसा कमाएर के भाे त, न यता काे न उताकाे । पहिला म पनि यस्तै साेच्थें । विदेश गएपछि सबथाेक ठीक हुन्छ । रहर त पूरा भए तर अब बाध्यता शुरू भए । याे बाध्यताले जीवनभर मुटु खाइ रहनेछ । पीडा दुइथरी हुन्छन् देखिने र नदेखिने । देखिने पीडा निमिट्यान्न पार्न पनि सकिन्छ तर नदेखिने पीडा जीवनभर साथै रहन्छ । नेपालमै बसेकाहरूको देखिने पीडा छन् अाजै अथवा भाेलि कुनैपनि बेला त्याे निमिट्यान्न पार्न सकिन्छ । तर अमेरिकामा बस्ने सँगैकाे साथीका पीडा नदेखिने छन् । ऊ अाफ्नाे पीडा अरूलार्इ देखाउनै सक्दैन । ऊ जस्तै कतिलार्इ त थाहा पनि छैन त्याे लुकेकाे पीडा के हाे भन्ने कुरा ।
एकजना मित्र, नेपाली इतिहासका ज्ञाता पनि बाध्यताले युराेपमा एन अार एन जीवन बिताइरहनु भएकाे छ । उहाँ भन्नुहुन्छ जीवन न यताकाे भाे, न उताकाे भाे । जतिसुकै पैसा कमाए पनि अब नेपालमा गएर फेरि त्याे समाजमा घुलमिल हुन सकिने रहेनछ । युकेमा एउटा ख्याति प्राप्त युनिभर्सिटिमा पढाउने गुरूकाे मनमा सन्ताेष छैन । उहाँ भन्नुहुन्छ केहि पाइयाे तर धेरै गुमाइयाे । अमेरिका छिरेका मेरा असल मित्र भन्नुहुन्छ दिनमा एकपटक रून्छु घर सम्झेर । दुबइमा १२ वर्ष बिताएका मेरा गाउँले मित्र घर फर्किए र केहि महिनापछि फेरी दुबइ नै फिर्ता भएछन् । उनी भन्छन्, बस्नै सकिनँ । गएका केहि महिना सबैकाे हाइहाइ भाे । पैसा सकिए, कसैले वास्तै गर्दैन । त्यसपछि बाध्य भएर बाइबाइ भाे । गुच्चा खेलेर हुर्केका साथीहरूले पनि पराइजस्ताे व्यवहार गरे। उनिहरूकाे अाफ्नै समूह बनिसकेकाे रहेछ । याे बिदेसबाट अाएकाे भनेर विश्वासै गर्दैनन् । त्यसपछि वाक्क लागेर फेरी दुवइ छिरेकाे । उहाँ भन्नुहुन्छ अाफन्त परिवार त पाहुना अाए जस्ताे गर्छन् अरूले के विश्वास गर्ने । त्यसैताका हाम्रा बालापनका हिराे सराेज खनाल नेपाल गए । मेरा लागि त उनी अझैपनि हिराे नै हुन् तर नेपाली समाजले उनकाे स्थान खाेसिसकेकाे रहेछ । फेरि त्याे स्थान पाउन उनले ठूलाे मेहेनत गर्नु पर्ने देखिन्छ । त्याे देखर मलाइ थाहा भयाे अब म घर न घाटकाे भएछु भन्ने ।
यी कुराहरू बुझ्न धेरै मेहेनत गर्नै पर्दैन फेसबुक खाेलेर हेरे पुग्छ । देशका लागि लेखिएका देशभक्तिले अाेतप्राेत शब्दहरू प्राय एन अार एनले नै पाेष्ट गरेका हुन्छन् । अाकुल ब्याकुल छन् ती घर न घाटका एन अार एनहरू । देस प्रतिकाे माया, समाजप्रतिकाे दायित्व, अाफन्त प्रतिकाे झुकाव, माटाेकाे भाेक र बाल्यकालकाे सम्झनाले सताउँछ । पाेख्छन् मजैले फेसबुकमा । यसाे गरेर हुन्छ कि उसाे गरेर हुन्छ कि । नेपालभर भएका सामाजिक संस्थाहरू कुनैपनि एउटा सानाे देसमा बस्ने नेपालीहरूले स्थापना गरेका छन् । पाउनकाे लागि हाेइन । देसकाे लागि केहि गर्न सकिन्छ कि भनेर । यसले केही हदसम्म उनीहरूले गुमाएकाे माटाेकाे भाेक मेटाउँछ । सामाजिक संजालमा देसभक्तिले भरिएका स्टाटस पाेख्दैमा त केही हुन्न तर नेपालमा बस्नेलाइ रिस चाहिँ हुँदाे रहेछ । त्यस्ता स्टाटसका प्रायः कमेन्ट एउटै हुन्छ । विदेशमा बसेर धेरै नखाेकम् मित्र, हिम्मत भए यहाँ अाएर गरेर देखाउनु ।
हर्केले गाउँकाे खाेलामा माछा मार्छ रे । नजिकैकाे पसलमा त्याे माछा बेचेर दिनभर बसेर साथीहरूसँग तास खेल्छ रे । उसलार्इ जीवन कसरी बित्ला भन्ने पिर पनि छैन सायद । दिनभर हाँसेरै काट्छ । घर फर्कदाँ श्रीमतीलाइ केही न केही किनेर लगिदिन्छ । उनी मुसुक्क मुस्कुराउँछिन हाेला । उनकाे त्याे लजालु मुस्कान नै हर्केकाे लागि सातै रंगले भरिएकाे जीवन हाे । स्कूल पढ्दा पढ्दै भगाएकाे थियाे उसले । कति माया गर्थ्याे । त्यही मायाले गर्दा उसलार्इ विदेश जाने रहरले छुँदै छाेएन । उसकाे जीवन यसरी नै बितिरहेकाे छ । चल्दाे रहेछ जसरी पनि । अाखिर ऊ जति खुशी उसलार्इ गाउँमा छाडेर जानेहरू भएकाे देखिनँ ।
सामान्य रूपमा हेर्दा त लाग्छ विदेसमा बस्नेहरूले माेजमस्ति गरेका छन् । सुख छ, सयल छ । राम्रा फाेटा फेसबुकमा । गाउँमा बस्ने त्याे गुच्चा खेल्ने साथी हर्केले साेच्दछ माेज गरेकाे छ । जस्तै नभएपनि डाहा लाग्छ हाेला । तर वास्तविक धरातल अर्कै हुन्छ । घर जाँदा न अाफन्त परिवारले खुलेर कुरा गर्छन् न साथीभाइहरू अाफ्ना रहन्छन् । अाफ्नाे समूह त अर्कैकाे भैसकेकाे हुन्छ । तार टुटिसकेकाे छ खुलेर हाँस्ने साथी पनि पाउन मुस्किल । पैसा कमाएर नेपाल जानेहरू पनि खुशी भएनन् पुुरानाे सम्बन्ध टुटिसकेकाे हुन्छ । साथीभाइहरू पराइ भैसकेका हुन्छन् । घरकाे कुकुरले पनि देखेर तर्साउने गरी भुक्छ । गाउँमा सबै नाैलाे जस्ताे लाग्छ । जन्मे हुर्केकाे ठाउँ एकाएक परार्इ जस्ताे भान हुन्छ । दुइ चार दिन त खुबै रमाइलाे हाेला । फर्केरै जान्न जस्ताे । तर परिवर्तन भइसकेकाे ट्रयाक समाउन द्रुतगतिमा चल्दै गरेकाे रेलबाट हाम्फाल्नु जस्तै हुँदाे रहेछ । अनि थाहा हुन्छ किन फर्किन्छन् अरू । युराेपकाे भियनामा २५ वर्षदेखि बस्दै गर्नु भएका एकजना ब्यवसायी भन्नुहुन्छ मलाई यहाँ बस्न मनै छैन तर गएर त्याे समाजकाे ट्रयाक समाउन पनि सक्दिनँ ।
एउटा सामान्य नेपाली भीसा नभइकन युराेपमा बस्ने रिफ्युजी हाेस् या ठूलाे तहमा काम गर्ने कुटनीतिज्ञ अवस्था सबैकाे उस्तै छ । यहाँ सेटल हुन पनि त्यति सजिलाे छैन । भाैतिक सेटल भए पनि मन भने हुँदाे रहेनछ र त्याे मनकाे तुष पाेख्नमात्रै भएपनि सामाजिक संजालमा लेखिरहन्छन् । मनमा शान्ति छैन । उथल पुथल भएकाे छ । माटाेकाे भाेक बढ्दै जान्छ । नेपाल गएर त्याे वातावरणमा घुल्न सक्ने क्षमता पनि छैन । धेरै थाेक पाएर पनि सबथाेक गुमाएका छन् । ठूलाे प्रगति गर्नेहरू पनि देश छाेडेर पछुताएका देखेकाे छु । भविष्य बनाएँ भन्नेहरू पनि जीवन गुमाएकाे जस्ताे अदृष्य पीडामा अल्झीरहेका छन् । एउटा पि अारकाे लागी मरिहत्ते गर्नेहरूले अाफ्नै अस्तित्व गायव भएकाे पनि थाहा पाएका छैनन् । मैले त अाजसम्म जीवन सफल भएकाे खुसी कुनै पनि एन अार एनकाे अाँखामा देखेकाे छैन । बाहिर खुशी देखाउनेहरूकाे गहिराे पीडा छर्लङ्ग भएकाे देख्छु । संभवतः नेपाली संसारकै उत्कृष्ट समाजिक प्राणी हाे । त्यसैले एक्लै स्वर्गमै बस्न पाएपनि उसलाई त्याे नर्क जस्ताे भान हुनेछ । सानाेमा गुच्चा र चुँगी खेल्दाका साथीभाई जहाँ छन् त्यहि नै स्वर्ग हाे । छरछिमेक, सानैमा दगुरेकाे पाखा पखेराे, भन्ज्याङ्ग चाैतारी जत्ति नजिक अरू हुँदाे रहेनछ । याे सबै गुमाएका छन् एन अार एनहरूले । न यता न उताका भएका छन् ।
मेराे त नेपालमा बस्नेहरूलार्इ यहि अनुराेध छ । यी घर न घाटका भएका एन अार एनहरूलार्इ अरू शब्दै शब्दले नबजाउनुहाेला । यिनको त सर्वस्व भएकाे छ । फेसबुकमा हजाराैं साथी भएपनि हर्के र बिर्खे जस्ता मनका साथी छैनन् । अाफन्त छैनन् । यिनका अाफ्नै परिवारमा पनि पाहुना जस्ताे हुनु परेकाे अवस्था छ । एन अार एनलार्इ घृणा हाेइन मायाकाे अावश्यकता छ । विश्वासकाे खाँचाे छ । माटाेकाे भाेक त अब पुरा हाेला न हाेला । नेपाल अाउँदा अाफन्तले पाहुना जस्ताे नगरून् । साथीभाइले कानेखुसी नगरून् । त्यसाे भइदिए यी घर न घाट भएका एन अार एनहरूकाे मन अलिकति भएपनि शान्त हुने थियाे ।




