गर्मीमा सित्तल, भूकम्पले नछुने सस्तो घर

DSC07651 copy
गत वैशाखको मध्येतिर एकाबिहानै  म नवलपरासीको अमलटारी ‘होम स्टे’ क्षेत्र घुम्न निस्किएँ । नेपालका भूकम्प पिडितलाइ राहत दिन म एकपछि अर्को गर्दै सात आठ जिल्ला गएको थिएँ । साढे एक महिनाजति लगातार खटिँदा अति ब्यस्त समय बिताएकाले थकित थिएँ ।  त्यसपछि केहि दिन प्रक्रितिसित रमाउन, एक्लै आनन्दको समय बिताउन मैले यो क्षेत्र रोजेको थिएँ ।

अमलटारीको अर्घ्यौली गाउँमा एकबिहानै पुग्दा उनी घर बनाउन ब्यस्त थिए । वरिपरि सिकर्मी, डकर्मी कोहि थिएनन् । ईट्टा, बालुवा र छडको टन्टोपनि उनलाई थिएन । किनभने उनलाई महल चाहिएको थिएन, सामान्य घर भए पुग्थ्यो । त्यसैले उनी एक्लै सय प्रतिशत सुरक्षित घर बनाउन तल्लिन थिए ।
‘के बनाउन लाग्नु भएको काका ?’ मैले सोधें ।
घर ।
‘घर ?’
हो ।
‘यति सानोपनि घर हुन्छ ?’
हुन्छ नी किन नहुने ? सुत्ने मात्रै त हो ।
‘पकाउने, खाने, सामान राख्ने घर अर्को छ ?’
‘किन चाहिएको त यस्तो घर ?’
भूकम्प आयो । धेरै घर भत्कियो । धेरै मान्छे मर्‍यो । मलाईपनि डर लाग्यो । त्यसैले यस्तो घर बनाएको । यस्तो घरमा ल भूकम्पको बाउपनि छिर्न सक्दैन ।
‘अर्को घरमा सामान लिन, पकाउन खान जाँदा भूकम्प आयो भने नी ?’
DSC07644 copy
अर्को घरपनि पक्की त होइन । तैपनि भत्कियो भने मर्छ की भनेर डराएको मात्रै । दिनमा त जमिन हल्लिनासाथ भागिहाल्ने । मर्ने डर त सुतेको बेला हुन्छ । राती यसमा सुतेपछि यो गर्मी महिनामा सित्तल हुन्छ । भूकम्प बाटपनि बचिहाल्छ ।
‘कति खर्च लाग्यो यो घर बनाउन ?’
के लाग्छ ? केहि लाग्दैन । वनबाट घोचा ल्यायो । गाईको गोबरमा माटो मिलायो, दाउरा अोछ्याएर गोबर र माटोले पोत्यो । सक्किहाल्यो ।
‘कसले सिकायो तपाईलाई यस्तो घर बनाउन ?’
यस्तो घर बनाउन सिकाउनुपर्छ र? आफैं जानेको । धेरै पैसामा ठूलो घर बनाउनेहरु रात्भरि सुत्दैन । म एक सुको खर्च नगरि घर बनाउने रातभरि सुत्छु हाहाहाहा ।’
DSC07701 copy
म यिसित कुरा गरेर अलि माथि गाउँ घुम्न गएँ । आधा घण्टा जतिमा फर्किँदा त उनको घर तयार पो भैसकेछ ।

तपाइँको प्रतिक्रिया