स्विजल्याण्डको सडकमा एक्कासि रोक्ने “ओ ओ नेपाली झण्डा”

IMG_20151207_111125

नेपालका तिन पत्रकार अब्दुल्लाह मिया, सबिन शर्मा र अम्रित तिम्सिना जेनेभातिर हानिए । क्रिस्मस पर्वको किनमेलले मानिसहरुलाई पागल बनाएको थियो । अन्य बेला प्लस्टिकका झोला बोक्ने मानिस यो शहरको हुनेखाने टोलतिर पस्दा पाखे कहलिन्छ । तर यो क्रिसमस पर्वमा भने उपहारका सामान बोकेका पाखेहरुले सडकका पेटी र सपिङ सेन्टर, पसलहरु भरिन्छन् । बिहान विश्वको सपना देश, नेपालसित तुलना गरिने देशको बेहुली जस्तो शहर जेनेभा घुम्न, घुमाउन निस्कियौं हामी । जेनेभा शहरबाट पारीपट्टी जाने पूल पार गर्दा माहुरीलाई ठिक्क हुने फुचुने घरहरु लहरै देखिए । काठमाडौंबाट पेरिसमा आयोजना गरिएको विश्व जलवायू सम्मेलेनमा भाग लिन आएर स्विजरल्याण्डतिर हानिएका यि जिज्ञासू पत्रकारका लोभी आँखा मध्ये कसैको जिज्ञासु हेराई इत्रुको नेपाली झण्डामा पर्यो । ऊ चिच्यायो “ऊ ऊ ऊ नेपाली झण्डा ।” 
IMG_20151207_111115

“”काँ काँ ?”
‘हत्तेरी ऊ के त यतापट्टी छेउमा के ।’
त्यो इत्रुको घरभित्र रहिछिन् शर्मिला मगर । उनीपनि त्यहाँ ‘स्विस नागरिक भन्दा के कम ?’ अन्य स्विस नागरिकहरुले सरह सानो ब्यापार गर्न बसेकि ।
एक छेउमा तात्त्तातो समोसा । अर्कोतिर नेपाली मम । बिदेशीकालागि लाटो स्वादको अचार । नेपालीकालागि जिब्रो बिच्क्याउने खालको पिरो अचार । च्याट्ट त्यहिँ पकायो । तातो मम भट्टाभट दियो । दाल, भात, तर्कारी, अचार । सुख्खा रोटी । नेपाली खानाको ब्यवस्था । सबै महिलाको ब्यवस्थापन ।

IMG_20151207_111038

बिहानको ठण्डी मौसम । ठूलो भाँडोमा स्विस रातो वाईन तताएको । जाडो भगाउनुपर्छ यहि वाईनले । आँखाहरु सन्किए । ‘वाईन छ, हैन ?’
‘छ’ ।
‘एक गिलास मारुम न त ‘
केहिबेर आएन वाईन ।
‘वाईन छ भन्या होइन ? खै त ?’
‘यस्तो बिहानै खाने हो र ?’
‘जाडो चाहिँ एकाबिहानै हुन हुने ? वाईन मार्न चाहिँ नहुने ?
‘हाहाहाहाहा’ शर्मिल मुर्छा परिन् ।
त्यसपछि आयो तातो रातो वाईन ।

सधैँ बांगो टिंको बोल्ने, रेला गरिराख्ने जोक्कर जस्ता यि तिन कलमधारी ठिटाहरु मध्ये हामी तिन जनाले तातो वाईनको चुस्की मार्यौं । अब्दुल्लाह मुख मिठ्याएर रमाईलो माने ।
‘ओहो वाईन त दामी पो रैछ ।’
‘मिठो हुन्छ भन्या’ ग्राहकलाई मख्ख पार्ने शैलीमा शर्मीला भन्छिन् ।
‘हाम्ले नखाको हो र ? मिठो हुन्छ भन्ने जानेरै त मैले खाको नी हो ।’ हामी मध्ये कसैले जवाफ दियो ।
‘मैले त खाको थिईन । आजै हो पैलोपल्ट चाख्या । मिठो हुने रैछ’ सबिनले तातो वाईनको बखान गरे ।

‘खै अर्को एक गिलास पाम त ।’
‘लाग्ला नी एकाबिहानै खाली पेटमा धेरै खाँदा ?’ शर्मीलाले सतर्क बनाउन खोजिन ।
‘ह्या, जाबो दुई तिन गिलासले लाग्छ ?’
फेरि एक एक ‘राउण्ड’ त्यो तातो रातो झोल हाम्रा गिलासमा उक्लिए ।
अब भने रिम रिम बनायो । यो जाडोको सातो लिने भो तातो वाईनले ।

IMG_20151207_111134

‘ठिटा हो लाग्नुपर्छ अब, यत्ति जाँडै मारेर त जेनेभा घुमिन्न होला केरे’ मैले भनें ।
ठिटाहरुले केके हो के के सोध्न थाले यो फुचुने घरकी अल्पकालिन ब्यापारी शर्मीलासित ।
‘पत्रकारले सोधेसि फेरि पत्रिकामा आउला नी !’ उनले हाँसो गरिन ।

त्यहाँ हाँसो र ठट्टा मात्रै होइन । साह्रै गम्भिर र नेपालीले सिक्नुपर्ने केहि प्रसंगपनि शर्मीलाले सुनाईन ।
नेपालीहरु जति छन् स्विजरल्याण्डमा तिनले ब्यवशाय गर्नतिर जोडनै गर्दैनन् । बरु दुई हजार मासिकको काम होस त्यसैमा रमाउने । तर यता के कस्ता संभावना छन् भनेर नखोज्ने । ‘आ त्यस्तो टाउको दुखाउने लेठो कसले गरोस ? बरु जागिर खायो। खुरुखुरु तलब आउँछ टन्टै साफ ।’ नेपाली मानसिकता हो यो ।

तर शर्मिला फरक छिन् । साहसिक, उत्शाही र मेहनतिपनि । उनलाई आर्काको काम गर्न उति मन लाग्दैन । किन ?
काममा तनाब धेरै दिन्छन् स्विजरल्याण्डमा । अन्य देशतिर भन्दा । थोरै तलबकालागि साहुको कचकच र दबाब सुन्नुपर्छ । उसले भनेको समयमा पुग्नुपर्यो । दुख गरेर बढि कमाइदिएपनि आफूलाई थप केहि हुन्न । ‘बरु सानो गर्ने, थोरै कमाउने । थोरैमै सन्तुस्ट हुने । आफ्नो काम गरे कसैको हप्कीदप्की त सहनुपर्दैन, आफ्नो मालिक आफैं’ उनले भनिन ।

स्विजरल्याण्डमा बिभिन्न पर्व र प्रदर्शनी भैरहन्छ । यस्ता साना घरहरु सरकारले, नगरपालिका कार्यालयले ब्यवस्था गरिदिन्छ । यिनमा थोरै भाडा तिरिदिएपछि बत्ति, पानी, टेबल कुर्सी सब ब्यवस्था गरिदिएको हुन्छ । आआफ्ना सामान लग्यो । त्यहाँको नियम र परिधीमा बसेर बेच्यो । यसो गर्दा धेरै ब्यापारिक ज्ञानपनि सिकिन्छ । काम गर्दै जाँदा अक्किलहरु आउँछन् । ‘यस्ता प्रदर्शनीहरु स्विजरल्याण्डमा भैराख्छन् । राम्रोसित काम गर्यो भने सानै भएपनि आफ्नै कामले पुग्छ । आर्काको जागिर भन्दा त यसैमा सन्तुस्टि र गुजाराको बाटो झन राम्रो’ शर्मिलाले सुनाईन् ।

झण्डाको महिमा कहाँ टुंगिएको छ र ? छेउमा यसरि नेपाली झण्डा राखेपछि त्यो परैबाट देखिन्छ । नेपाल चिन्नेहरुमा नेपालको धङधङी हुन्छ । ति झण्डातिर हानिएर आइपुग्छन् । ममका डल्ला कोप्ल्याक कोप्ल्याक पार्छन् नेपाल संझिँदै । नदेख्नेहरुले अचम्म मानेर हेर्छन् । नेपाल सुनेकाले जान नपाएपनि नेपालको स्वादभएपनि लिन खोज्छन् ।

नेपालको झण्डा र उनको पेशाको अर्को झन ठूलो फाईदा छ । देशकैलागि । नेपालको प्रचारप्रसार हुन्छ । नेपाली खाना, नेपाली मुस्कान र आदर चाखेर जान्छन् । जेनेभा विश्वभरिका मानिसको जमघटको थलो हो । नेपाली स्वाद चाखेकाहरु छरालिन्छन् । त्यो स्वाद फैलिँदै जाँदा नेपालको प्रचारपनि हुँदै जान्छ । विश्वका अन्य मुलुकमा । सरिताको यो बुटिकले स्वयम्भु चिनाउँछ । अन्नपूर्ण हिमालको स्वाद चखाउँछ । गौतम बुद्दको जन्मथलो देखाउँछ । नेपाली संस्क्रितिको थोरै भएपनि प्रचार गर्छ । पोस्टरनै सहि, उनले नेपाल चिनाउन भित्तामा यि आकर्षक थलाहरु राखेकि छिन् ।

ठिटाहरुले जेनेभा शरर फन्को मारे । मुसुक्क मुस्कुराएका हिमाल देखिने गरेको जेनेभाबाट । बादल र हुस्सुले पुरै लुकाइदियो । केहि देखिएन । साँझ पर्‍यो ।

IMG_20151207_181946

‘केटा हो रातकी बेहुली हेर्ने होइन ?’

‘कस्तो रातकी बेहुली ?’

‘दिनमा भन्दा रातमा सुन्दर देखिन्छन् नी बेहुली ? हो त्यस्तै जेनेभाको रातकी बेहुली ।’

‘हत्तेरी जेनेभा शहर रातमा बेहुली जस्तै धपक्क बल्छ । चम्किन्छ । सजिन्छ । झलमल्ल बल्छ । राती एकदमै सुन्दर बेहुली जस्तो देखिन्छ । त्यो नेहेरि त के जेनेभा आको मतलव भो र?’

‘हत्तेरी त्यसो भा त हेर्नु परो नी ‘ केटाहरुले भटाभट मोबाईलका तार ताने । बाटो लागियो बेहुली हेर्न ।

झलमल्ल बलेको जेनेभा शहरको फन्को मार्न सन्दिप थापापनि मिसिए । ‘हत्तेरी साँच्चिकै दिउँसो हेरेको जेनेभा शहर राती हेर्दा त अर्कै त्यहि शहर जस्तै नलाग्दो रैछ’ ठिटाहरु जिल्लिए ।

3379256823_34e4e323df_b

जेनेभा ताल (लेमन लेक पनि भन्छन् जेनेभा ताललाई) वरिपरि सडक छ । त्यो वरिपरिका मुख्य भवनहरुमा सबैभन्दा महँगा, ठूला र प्रसिद्द बैंक, कम्पनीहरुले कार्यालय राखेका छन् । विश्वका ब्रान्डेड कम्पनीहरुको तुजुक देखाउने यि भवनहरुबाट चम्किने प्रकाश जेनेभा तालमा साँझपरेपछि ओर्लिन्छन् । तालको चारैतिरबाट प्रकाशहरु बेहुलीको सिउँदो ओर्लिएझैं तालमा पर्दा यो शहर धपक्कै बल्छ । पानीले प्रकाश उत्पादन गरे जस्तो । पानीका छालहरु हल्लिँदा यि बत्तीहरु छालसितै नाच्छन् । यो जेनेभा ताल र वरिपरिको भाग विश्वकै सबैभन्दा सुन्दरी जस्तो बनिदिन्छ । जेनेभा शहरका गल्ली गल्लीका बत्ति, पर्खालमा राखिएका मोती जस्ता सेता बत्तीले यो शहरलाई अझ सुन्दर बनाउँछ । रातको द्रिष्य चाख्न पर्यटकहरुको भिड लाग्छ । त्यहि भिडमा सात समुद्र पारीबाट आएका पत्रकारहरुको टोलीपनि छ । रातको स्वाद क्यामरामा भण्डार गर्न यि ठिटाहरु हतारिएका छन् ।

तपाइँको प्रतिक्रिया