ब्रह्माण्ड तात्नुको असर – उम्लेको ताप्केमा जिउँदो भ्यागुतो

  • ददि सापकोटा

frog

ताप्केमा भकभकी पानी उम्लेको छ । त्यसमा एउटा भ्यागुता राखिदिँदा के गर्ला ? छट्पटिन्छ, सहनै नसकेर । तत्कालै उफ्रीएर भाग्ने कोसिस गर्छ । तर चिसो पानीको ताप्केमा भ्यागुता राखिदिएर मन्द आगोमाथी ताप्के बसालिदिनुस् त के गर्ला ? उ ताप्केमै बसिरहन्छ । किनकि मन्द गतीमा ताप्के तात्दै जाँदा उसको शरिरले पानी तातेको मेसो पाउँदैन । सहँदै जान्छ । तर उसको शरिर तातोले बिस्तारै गलाउँदै लैजान्छ । अन्तत: हलचल गर्नै नसक्ने भएर ताप्केभित्रै मर्छ । हो, अहिले ब्रह्माण्डमा भैरहेको तापक्रम ब्रिद्दीलेपनि हामी मानव जाति र अन्य जिवजन्तुलाई यस्तै असर पारिरहेको छ । अर्थात् चिसो पानीको ताप्केमा भ्यागुता राखेर मन्द तातो लगाए जस्तै ।

त्यसो त, ब्रह्मान्डमा बढ्दै गएको अप्राकृतिक तापक्रम बृद्दिले मानव जीवनमाथि हुने क्षतीकाबारेमा छलफल प्रशस्तै हुने गरेका छन । तर जीवजन्तुमाथी पर्ने असरका बारेमा चाहिं उती चर्चा भएको पाईन्न । अप्राकृतिक तापक्रम बृद्दिलेगर्दा पृथ्वीका जीवजन्तु लगायत हामी मानवलेपनि त्यहि ताप्केको भ्यागुताको नियति भोग्दै छौं ।

वायुमण्डलमा बढ्दो तापक्रम बृद्दिबाट उत्पन्न मौसम परिवर्तनले जीवजन्तुमा कती असर पर्छ भन्ने बिश्वका अन्य मुलुकमा भएका अध्ययनलाई हेर्दापनि थुप्रै जानकारी मिल्छन । रसियाको उत्तर पश्चिम भागमा सन २००५ को जनावरीको दोस्रो साता  तापक्रम बढ्नाले सेन्ट्स्पीटर्सवर्गस्थित चिडियाखानाका काला भालु शितनिन्द्राबाट ब्युँझिए । खैरा भालु चाहिँ शितनिन्द्रामा गएकै थिएनन । त्यतिबेला यो क्षेत्रमा अघिल्ला वर्षहरुमा भन्दा सात डिग्रीले तापक्रम बढेको थियो । त्यतिबेला झाडि सुँगुर (हेज हग) पनि शितनिन्द्राबाट ब्युँझिएका थिए । जनावरी महिनामा प्राय: त्यहाँको तापक्रम शुन्य दशमलवबाट पनि ओरालो लाग्ने गर्थ्यो । तर यो वर्ष त्यसो भएन ।

त्यसो त, हाम्रा हिमाली क्षेत्रमा तापक्रम बृद्दिले हिमनदी र हिमालहरु पग्लिने गरेका छन । तर वन्यजन्तुमाथि परेको असरचाहीँ बिरलै आउने गर्छ । यसबारे गहिरा अध्ययन नभएरपनि हो । तर वन्यजन्तुले चाहिँ प्रत्यक्ष प्रतिकृया देखाइरहेका छन । यसको प्रत्यक्ष उदाहरण हो, बर्दिया राष्ट्रिय निकुञ्ज । डेढ महिनादेखि चढेको तिब्र गर्मि र तातो हावाले पानीको अभावमा यो क्षेत्रमा एक दर्जन भन्दाबढि बाँदर र चित्तल मरे गत सन् २०१२ को असारको पहिलो साता । गर्मि धेरै बढ्यो । पानीको मुहान सुके । जनावरहरु पानीको खोजि गर्दै गुलरिया र अन्य वस्तितिर पुगे ।

संयुक्त राष्ट्र संघ, विश्व वन्यजन्तु कोष, वेटल्याण्ड इन्टरनेशनल, विश्व संरक्षण संस्था (आइयुसिएन) लगायतका संस्थाको संयुक्त प्रयासमा बैज्ञानिकहरुले पृथ्वीको भूगोलको २० प्रतिशत भूभागमा प्रकृतिमाथी मौसम परिवर्तनको प्रभावबारे अध्ययन गरे । यो अध्ययनबाट १५ देखि ३७ प्रतिशत जीवजन्तुका प्रजातीहरु आगामी २०५० सम्ममा लोप हुनसक्ने पत्ता लाग्यो । एक हजार एक सय तिन प्रजातीका बिरुवा, स्तनधारी, चरा, सरिसृप, उभयचर, पूतली र अन्य मेरुदण्ड नभएका जीवहरु अन्यत्र बसाइ सर्छन भन्ने पनि पत्तो लाग्यो ।

यो अध्ययन टोलीका एक बेलायतको लिड विश्वविध्यालयका प्राध्यापक क्रीस थोमसका अनुसार यदि ब्रमाण्डको तापक्रमका कारण मौसम बदलीको असर अहिलेकै गतीमा अगाडिबढिरहे १० लाख प्रजातीक जिवजन्तु र वनस्पती लोप हुने खतरामा छन । त्यसो त रिसोर्सेस हिमालयकै एक रिपोर्ट अनुसार हाम्रै हिमाली भागका हिमचितुवामा पनि मौसम परिवर्तनको असर परेको छ । सन् २००३ मा बैज्ञानिकहरुले एक हजार ५ सय प्रजातीका जीवको परिक्षण गरेका थिए । त्यतिबेला उनीहरुले एक हजार २ सयमा तापसँग सम्बन्धित परिवर्तन देखा परेको पत्ता लगाएका थिए । त्यो परिवर्तन ब्रमाण्डमा बृद्दि हुँदै गएको तापसँग सम्बन्धित थियो ।

अमेरिकाको स्टानफर्ड विश्वविध्यालयकी जीव बैज्ञानिक एलिजावेथ हाड्लीले मौसम परिवर्तनले जीवजन्तुमा पार्ने असरबारे थुप्रै अनुसन्धान गरेकी छन । उनका अनुसार ब्रमाण्डमा बृद्दि हुँदै गएको तापको असरले गर्दा वंशाणुगत बिबिधतालाइ घटाउन सक्छ । बढ्दो तापक्रमले एक अर्कासंग सबन्धित भएर बसेका प्राणीको संख्या मध्ये धेरै मर्न सक्छन् । उनको भनाईमा वंशाणुगत विविधता भएका प्राणीहरु छरिएर रहँदा तिनमा बंशको घुलमिल हुन नपाउनाले रोगबाट बढि ग्रसित हुन थाल्छन ।तापक्रम हेरफेर हुनासाथ विरुवाको फूल फूल्ने समय, प्राणीहरुले फुल पार्ने समय र बसाईसराई सर्ने समयमा पनि फेरबदल हुन्छ ।

जैवीक परिवृत्ती प्रणाली (ईकोसिस्टम) भनेको एउटा जालो हो । हरेक जीव प्रकृतिको कुनै न कुनै जालोमा बाँधिएका हुन्छन । त्यसैले, तापक्रम बृद्दि हुँदै जाँदा तापक्रममा भर नपर्ने, प्रकाशको मतलव नहुने जीवपनि प्रभावीत हुन्छन । किनकी यस्ता जीव अर्को कुनै जीवसँग संबन्धित हुन्छन जसलेगर्दा अर्को जीव मार्फत् असर पर्छ । उदाहरण बाघ र चितुवालाई दिन सकिन्छ । आहारा पचाउनकालागि यदाकदा खाएपनि यी जनावर घाँसमै चाहिँ भर पर्दैनन् । तर घाँसेफाँट मासिए यीनलाईपनि असर पर्छ । किनकी यीनका प्रमुख आहारा चित्तल र मृगको मुख्य अहारानै घाँस हो ।

त्यस्तै, ब्रमाण्डको तापले पानी तताउँछ । यस्तो पानीको गूणमा परिवर्तन आएपछि जलचरमा असर पर्छ । मौसमको हेरफेरले ल्याउने परिवर्तनसँग शरिरलाई अनुकुल पार्न नसकेपछि सधैं चिस्यान, धापमा बस्ने भ्यागुता, अजिङ्गर जस्ता जीवहरु मर्न सक्छन । यदि बढ्दो तापक्रमले धाप र चिस्यान सुके भने विश्वकै महत्वपूर्ण सिमसार क्षेत्रका रुपमा रहेको हाम्रै कोशीटप्पूबाटपनि धेरै जीव लोप हुन सक्छन् । रैथाने र आदिवासी वनस्पती तथा जीवमा तापले गर्दा झन ठूलो असर पर्न सक्छ । किनकी यिनका आहाराको छ्नौट र वासस्थानको सिमा स्थानान्तरित (बसाई सर्ने) हुने जीवका तुलनामा थोरै हुन्छन । त्यसैले, धेरै जीव परिवर्तित मौसम सहन नसकेर मर्छन् । खडेरिको कारणले पाहा र भ्यागूताहरुमा बढि रोग लाग्ने र शरिर पाक्ने सम्भावना बढि हुने औंल्याएका छन्, बैज्ञानिकहरुले । यहि कारणले गर्दा कोस्टारिकाबाट गोल्डेन टोड भनिने पाहा हराएको तथ्य हाम्रालागिपनि शिक्षाप्रद हुन सक्छ ।

बिज्ञान सम्बन्धि प्रसिद्ध पत्रीका ‘द नेचर‘ मा सन् २००१ मा प्रकाशित एक रिपोर्ट अनुसार ब्रमाण्डमा बृद्दि भएको तापले गर्दा तालमा घामको किरण बढि पर्नाले पानी तात्छ । यसले गर्दा बि नामको बैजनी किरण (अल्ट्रा भायोलेट-बी) बढि उत्पन्न हुन्छ । यो किरण बढि भएपछि फुलबाट पाहा बन्ने अवधिमा बढि तातो हुन्छ । त्यसले भ्रुणहरुलाई बढि मर्मावस्था (भल्नरेबल) मा पुर्याउँछ । तापक्रम बृद्दि हुदै जाँदा खोला र ताल तलैयाहरुमा पानीको तापक्रम बढेपछि चिसो पानीमा बस्ने माछा र जीव मासिन्छन । चिसो पानीका जीव तुलनात्मकरुपमा बढि सम्बेदनशिल हुन्छन । त्यतिमात्रै कहाँ हो र ? तापक्रम बृद्दि भएपछि हिमाली क्षेत्रको हिउँ ढिलो जम्ने र छिटो पग्लने गर्छ । यसलेगर्दा हिमाली भालु लगायत शितनिँद्रामा जाने जीवहरुलको बोसो सन्चित गर्ने समय घट्छ जाडोयाममा । जाडोयाम छोटिने हुँदा छोटो अवधिमा जम्मा पारेको बोसोले लामो समय थेग्नुपर्ने हुन्छ ।

तापक्रम बृद्दिले पारेको असरबारे हाम्रा हिमाली भालुमा अध्ययन भएको तथ्यांक त फेला पर्दैन । तर पश्चिमी आर्कटिक क्षेत्रको हड्सन खाडीका भालुहरुको सन्तान उत्पादन र तौल १० प्रतिशतले घटेको छ । यहि तथ्यलाई हेर्दापनि हाम्रा हिमाली भालु, वन बिराला र हिमचितुवामा कुनै न कुनै असर परेको अनुमान लगाउन मुश्किल पर्दैन । आइयुसिएनको अध्ययनले आगामी ३५ देखि ५० बर्षमा पोलार भालुको सङ्ख्या ३० प्रतिशतले घट्ने देखाएको छ । प्रवृत्ति अलि फरक ढङ्गको भएपनि आखिर हाम्रा हिमालपनि पग्लिएकै छन । हाम्रा हिमाली जीवजन्तुमा चाहिँ के असर परेको नहोला त ?

हिमाल पग्लनुको खतरा जीवजन्तुमाथि त्यतिमै सिमित छैन । माथिल्लो हिमाली भागको हिउँ पग्लिन थालेपछि तल्लो हिमाली भागमा बस्नेहरु माथि सर्दै जान्छन । तल्लो भागको हिउँ झन पग्लिने हुनाले । यसलेगर्दा सिमित वासस्थानमा चाप थपिनाले एक आपसमा द्वन्द बढाउँछ । द्वन्दमा हार्नेको सङ्ख्या घट्ने, स्वास्थ्यमा असर पर्ने वा लोप हुने पनि हुन सक्छन । हिमालको तल्लो भागको हिउँ पग्लिएपछि त्यहाँका जीव र वनस्पती त अली माथी सर्लान । तर हिम रेखाका जिवजन्तु भने त्यो भन्दा माथी कहाँ जाने ? तिनको त बिकल्पनै हुँदैन ।

अमेरिकी भौगर्भिक सर्वेक्षेण जैवीकस्रोत शाखाका माइकल ए बोगनका अनुसार मौसम परिवर्तनले गर्दा ट्री स्वालो भनिने रुखका टोड्कामा बस्ने गौथलीको बसाइसराइ र प्रजननमा असर परेको छ । यो नेपालमा पनि पाइने चरा हो । यसको प्रजनन् समय बितेको केहि बर्षदेखि ५ देखि ९ दिन अगाडिनै हुने गरेको पाइएको छ । कारण स्पष्ठ छ- फुल तात्न निश्चित तरिकाको तापक्रम चाहिन्छ । ताप धेरै भएपछि फुल छितो तात्छ । फुल तातेपछि बचेरापनि छिटो निस्कन्छन फुलबाट ।

त्यसो त, तापक्रमले किराको उपलब्धतालाईपनि प्रभाव पार्छ । ताप धेरै भएपछि लार्भा छिटो हुर्किएर किरा हुन्छन् । किरा छिटो हुर्किएपछि चरालेपनि आहाराको उपलब्धता हेरेर प्रजनन्कालागि हतारिनु पर्छ । नत्र बचेरालाइ के खुवाउने ? बसाइ सर्नेहरुपनि त्यस्तो ठाउँमा छिटो पुगेर छिटै फर्किनुपर्ने हुन्छ । यसरी चरानै बसाइ सरिदिएपछि वननै सखाप हुन बेर लाग्दैन । किनकी थुप्रै विरुवा किराको आक्रमणबाट छिटो प्रभावित हुने खाले हुन्छन । ति किराका नियन्त्रक चरा हुन । मौसम बदलीको कारणले चरा अन्तै सरिदिएभने किराले विरुवा सखाप पार्छ । परिणामत : धेरै वन सुक्छ । वन जति सुक्यो गर्मियाममा उति डढेलो लाग्छ । डढेलोले साना वोटविरुवा र जीवजन्तु डढाउने त छँदै छ, वनको प्राकृतिक ढाँचानै बदलिन्छ । यस्तो डढेलोले गर्दा झन ताप निस्कन्छ । पृथ्वी झन बढी तात्छ ।

जल तथा मौसम बिज्ञान विभागका अनुसार नेपालमा वर्षेनी शुन्य दशमलव शुन्य छ डिग्रीका दरले तापक्रम बढिरहेको छ । हिमाली सिमानामा त झन त्यसको दोब्बरका दरले बढिरहेको छ । यसबाट हाम्रा कुन कुन क्षेत्रका कुन कुन र कति जीवलाई कस्तो प्रभाव पर्छ भन्ने सामान्य जानकारीसमेत हालसम्म हामी नेपालीलाई छैन । संयुक्त राष्ट्र सङ्घिय वातावरणीय कार्यक्रम (युनेप) कै अध्ययनले पनि नेपालका २६ हिमताल फुटे भने हाम्रो हिमाली क्षेत्रको वन्यजीवनमा कस्तो असर पर्ला ? संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम (युनेप) का प्रमुख डा। क्लाउस टोफर भन्छन “यदि पृथ्वीका १० लाख प्रजाती लोप भएमा दुख पाउने बोटविरुवा, वनस्पती, वन्यजन्तु र पृथ्वीको सुन्दरता मात्रै पर्दैन कि हामी करोडौं मानिसपनि पर्छौं ।’

(ददि सापकोटाको जिवजन्तु र वातावरणबारे प्रकाशोन्मुख पुस्तकको असंपादित अंश)

तपाइँको प्रतिक्रिया