एक पटकपनि नरोकिई २,४०० किमीको यात्रा

Blackpoll-Warbler-e1427919288645
एउटा फाउन्टेन पेनको जत्ति तौल भएको चरो । यति फुच्चे चरोले कहिँ कतै एक पटकपनि नरोकिकन, केहि नखाईकनै दुई हजार चार सय किमी भन्दापनि बढि उड्न सक्छ भनेर पत्याउन मुस्किल पर्छ । तर बैज्ञानिकहरुले त्यो तथ्य प्रमाणित गरिदिएका छन् । ब्ल्याकपोल वाब्लर (Blackpool Warbler) भन्ने फिस्टे चराले त्यति लामो दूरी एकै खेपमा उडेर पुरा गर्दो रहेछ ।

अझ अपत्यारिलो लाग्ने त के भने यो चराले दुई देखि तिनदिनमै त्यति दूरी उड्दो रहेछ । यो थाह पाउन उनीहरुले २० वटा यस्ता फिस्टा समाते । अमेरिकाको उत्तरपूर्वी भाग भेरमोन्टमा २० र स्कटल्याण्डको नोभास्कोटियामा अर्का २० वटाको शरिरमा जेओलोकेट प्याक (अर्थात् भौगोलिक पहिचान र मापन गर्ने यन्त्र) जडान गरिदिए । ति चरालाई स्वतन्त्र छोडिदिए ।

पछि ति मध्ये नोभा स्कोटियाबाट उडेका दुई वटा र भेरमोन्टबाट उडेका तिन वटा चरा समात्न सफल भए । ति चराको यात्राबारे अनुसन्धान गरे ।

बैज्ञानिकहरुले ५० वर्ष अघिदेखि अनुमान चाहिँ गरेका थिए- हरेक ठण्डी मौसम शुरु हुने बेलामा जंगलको झाडीमा बस्ने, सानो चरा, ब्ल्याकपोल नामको बसाई सर्छ । न्यु इङ्ल्याण्ड र क्यानडाको पूर्वी भागबाट एटलान्टिक सागरको आकाशमाथिबाट सिधा उडेर दक्षिण अमेरिका जान्छ । तर तिनले हालसम्म प्रमाण फेला पार्न सकेका थिएनन् ।

blackpoll-warbler

अहिले बैज्ञानिकहरुको अन्तर्राष्ट्रिय टोलीले के प्रमाणित गरिदियो भने यो चराले दुई देखि तिन दिन भित्रैमा २,४००देखि २,७७० किमी पार गरेर दक्षिण अमेरिकाको पुएर्तो रिको, क्युबा, दक्षिण अमेरिकाकै ग्रेट आन्ट्लिर्स भन्ने टापूमा पुगेर मात्रै रोकिँदो रहेछ । त्यसपछि यो चरा फेरि उडेर भेनेजुएला र कोलम्बियासम्म पुग्दो रहेछ । साना, गित गाउने चरा (सङ बर्ड्स) को समूहमै कतै नरोकिइकन यति लामो दूरी उडेको पत्ता लागेको यो पहिलो अभिलेख र प्रमाण हो, विश्वमै ।

बसाइ त अरु चरापनि सर्छन् यि क्षेत्रबाट । अल्बात्रोस, स्याण्डपाईपर र जल कुक्कुट (गल) चराहरु । तर यिनले समुद्री बाटो नलिएर जल र स्थल दुबै भएको बाटो रोज्छन्, उडानका क्रममा । ब्ल्याकपोल वाब्लर चाहिँ यस्तो प्रजाति देखापर्‍यो जसले पानीनै पानीको मार्ग छान्दो रहेछ । यो परिवारका ज्यादै कम चराले मात्रै यस्तो घातक मार्ग रोजेको पाइएको छ । किनभने पानीनै पानी माथि उड्दा न केहि खान पाइन्छ । न आराम गर्न, रोकिन । आँधी र कुनै वातावरणिय खराबी भएमा तत्कालै ज्यान जान्छ, जोगिने उपायनै हुन्न ।

यो चराको तौल जम्मा १२ ग्राम हुन्छ । अर्थात् १२ वटा भिजिटिङ कार्डको तौलजति । ज्यादै सानो भएकाले यसको उडानको जानकारि अध्यावधिक गर्नपनि ज्यादा गहंगो, ठूलो भएर बैज्ञानिकहरुले राडार र जमिनबाट अवलोकनलाई आधार बनाएका थिए । समातेर छोडिएका चरामा पहिचानकालागि साना ट्याग मात्रै लगाइएको थियो ।

यो उडान गर्नु पहिले यि चराले सकेसम्म धेरै खाएर शरिरमा बोसोको मात्रा बढाए । यो बेला शरिरको पहिलेको तौल भन्दा झन्डै दोब्बर हुने रहेछ । उडानका बेला यहि बोसोलाई आहाराका रुपमा प्रयोग गर्छन् । यसले शक्ति दिन्छ, खानाको काम गर्च र रोकिएर अन्य आहार खाइरहनुपर्दैन । यि चराले यति धेरै लामो दूरी पर गर्ने भएकाले ‘मर्ने कि पुग्ने’ भन्ने हो । कि पुग्छन् जोखिम लिएर कि त समुद्रमै खासेर मर्छन् । अर्को बिकल्पनै हुन्न ।

हरेक वर्ष अघिल्ला वर्षमा पुगेकै थलोको वरिपरि पुग्छन् । त्यहिँ बचेर कोरल्छन् । तर असाध्यै जोखिमपूर्ण यात्रा भएकाले यात्रामा निस्केका मध्ये पचास प्रतिशत मात्रै सकुशल पुग्छन् । बाँकी बाटोमै मर्छन् ।

तपाइँको प्रतिक्रिया