एन आर एन ए युरोप को अर्डिनेटरमा मेरो उमेदवारी किन ?

  • सुभास पोखरेल

subhash-pokhrel(swissगैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को केन्द्रिय निर्वाचन यहि अक्टोबर महिनाको १४ देखि १७ मा हुँदै छ । त्यसमा धेरै अग्रज, मित्र र चिर परिचित वा अपरिचितहरुले केहि योगदान गर्ने हिसाबले सक्रियता देखाउनुभएको छ । म गैह्र् आवाशिय नेपाली संघमा आफ्नो प्रवाश बसाईको शुरुदेखिनै सक्रिय रहें । त्यसैले यो पटक मेरो सक्रियताले अझ बढि महत्व बोकेको छ । मैले यस पटक गैह्र आवाशिय नेपाली संघ युरोपका तर्फबाट उपसंयोजकमा उमेदवारी दिएको छु । यसले पनि धेरैलाई चासो लाग्न सक्छ, सुभास पोखरेल भनेको को हो ? के योगदान छ गैह्र आवाशिय नेपाली संघमा ? नेपालका लागि प्रवाशमा बसेर के योगदान गर्यो ? नेपाली संघ संस्था चलाउन कुन तहको अनुभव छ ?  आफ्नो उमेदवारीका साथ मैले ति कुराहरु प्रस्ट्याउने कोसिस गरेको छु ।

हामी प्रवाशमा रहेका नेपालीहरु कुनै न कुनै पिडा, अवशर र आफ्नै देशमा रोजगारीको अभावले बिदेशिएका छौं । हामी सबैका आफ्नै खाले पीडा छन् । हामी यतापनि संघर्ष गरिरहेकै छौं बाँच्नका लागि । नेपाली नेपाली एकजुट भए केहि सहयोग हुन्छ । नेपालको परिवर्तनमापनि प्रवाशबाट योगदान पुग्छ भनेर विभिन्न संघसंस्था मार्फत सक्रिय छौं । म आफूपनि स्वदेशमा हुँदा सक्रियतापूर्वक लागेको सांगठनिक भूमिकालाई यता प्रवाशमा आएपछिपनि छोडिन । बरु अझै सक्रिय भएँ ।

सन् २००२ को अलिकति पहिला सम्म म स्विडेनमा थिएँ । त्यो बेला नेपालीहरु छरिएका देखें । नेपालीहरु धेरै छन् तर सांगठनिक छैनन् । त्यो नहुँदा दुख पाएका नेपालीलाई साथ र सहयोग दिन सक्ने अरु नेपाली हुँदाहुँदैपनि त्यसबाट बञ्चित भएको देखें मैले । र स्विडेनमा नेपालीको संस्था हुनुपर्छ भन्ने लागेर नेपाली सोसाईटी इन स्विडेन भन्ने संस्था खोलियो । त्यसमा मेरा मित्रहरुले सहयोग गरे । म आफैं संस्थापक अध्यक्ष बनेर मेरो नेत्रित्वमा त्यो संस्था गठन गरेर नेपालीका हितमा काम गर्न थालियो ।

सन् २००५ मा म बेल्जियममा थिएँ । त्यति बेला फेरि नेपाली संस्थाको खाँचो महसुस भयो । बेल्जियममा धेरै नेपालीका अनेक समस्या थिए । त्यहाँको प्रशासनसित नेपालीहरुका समस्या राख्न, सुल्झाउन र अधिकारकालागि लड्नपनि संस्थागत प्रयासको खाँचो थियो । आफ्नो देशमा भैरहेका परिवर्तन र राजनितिक वातावरणका बारेमा जानकार रहन र प्रवाशबाट सकेको सहयोग गर्नपनि त्यस्तो संस्थाको खाँचो थियो । त्यहि खाँचोको महसुस गरेर हामीले नेपालिज डेमोक्रेटिक फोरम (एन डि एफ बेल्जियम) खोल्यौं । म त्यसको संस्थापक महासचिव भएँ । म त्यहिँ हुँदानै एन आर एन बेल्जियम गठन भयो । यो नेपालीहरु सबैको गैह्र राजनितिक साझा संस्था बनोस भनेर हामी लाग्यौं । मैले साधारण सदस्यका रुपमा सक्रियता देखाएँ । त्यसलाई बलियो बनाउन लाग्यौं ।

सन् २००७ मा म पोर्चुगल पुगें । त्यहाँपनि धेरै नेपालीहरु थिए । नेपालीहरु ज्ञान र सिप, सांगठनिक रुपमा एकताबद्द नहुनाले पाउने अधिकार र सेवाबाटपनि बञ्चित थिए । हामीले नेपालीहरुका बिचमा एकता हुनुपर्छ । सांगठनिक रुपमा बलियो भए आफ्ना हक र अधिकार लिन सजिलो हुन्छ । नेपालीहरु एकताबद्द भए एक अर्काबिच अनुभव, सिप र ज्ञानपनि आदानप्रदान गर्न सहज हुन्छ भनेर नेपालीज डेमोक्रेटिक फोरम पोर्चुगल गठन गर्यौं । म सल्लाहकारमा बसेर साथीहरुलाई सहयोग गरें । सल्लाहहरु दिएँ संस्थाको हितकालागि । त्यसपछि सन् २००८ देखि २०११ सम्म त्यहाँका साथीहरुले मेरो सल्लाह,सुझाव र सहयोगको खाँचो महसुस गर्नुभयो । म त्यो दुई कार्यकाल सल्लाहकार बसेर एन आर एन पोर्चुगललाई संस्थाग्त रुपमा बलियो बनाउन सकेको योगदान गरें ।

सन् २०१२ मा फेरि नेपालीज डेमोक्रेटिक फोरम नर्वे गठन गरियो । त्यहाँपनि छरिएर रहेका नेपालीकाबिचमा साझा संस्थाको खाँचो महसुस भयो । म आफू नर्वे भएकाले मेरै संस्थापक अध्यक्षतामा एन डि एफ नर्वे गठ्न गरियो । यो संस्थामार्फत मैले त्यहाँका नेपालीलाइ सक्दो सहयोग गरें । आज एन डि एफ नर्वे जुन ठाउँमा पुगेको छ संस्थाग्ता रुपले, त्यो देख्दा मलाई खुशि लाग्छ । नर्वेमा एन आर एन गठन हुँदा त्यसमापनि मैले साधारण सदस्यकै हैशियतले सकेको योगदान गरें ।

म स्विजरल्याण्ड आएँ । यता आएपछिपनि मैले सामाजिक र संस्थागत काम छोड्ने कुरै थिएन । सामाजिक सेवा र संस्थागत नेत्रित्व मेरो मनमा भिजिसकेको चिज हो । समाज सेवा मेरो रहर र दायित्व हो । स्विजरल्याण्डमा सन् २०१३ देखि सन् २०१५ कार्यकालकालागि म एन आर एन स्विजरल्याण्डको महासचिव भएँ । यहि कार्यकालमा एन आर एन स्विजरल्याण्डले फड्को मार्यो  । धेरै सामाजिक काम भए । एन आर एनमा युवाहरुको भूमिका र सक्रियताको खाँचो महसुस भैरहेका बेला एन आर एन स्विजरल्याण्डले गत जुन महिनामा एन आर एन युरो कप फूटबल आयोजना गरेर युवाहरुको सक्रियता ह्वात्तै बढाइदियो । त्यसको चौतर्फी प्रशंसा भैरहेकै छ । भूकम्प पिडितका लागि एन आर एन स्विजरल्याण्डले गरेको सहयोगको प्रशंसापनि भैरहेकै छ । मैले एन आर एन स्विजरल्याण्डमा बसेर संस्थागत हित र एन आर एनको गरिमालाई सकेसम्म उँचो बनाउने प्रयास गरें भन्ने लाग्छ । त्यो मूल्यांकन केन्द्रिय तहबाटपनि भएको मैले महसुस गरेको छु ।

स्विजरल्याण्ड बसाईकै क्रममा सन् २०१४ मा मलाई साथीहरुले ओ एन एफको अंस्थापक अध्यक्ष बन्न आग्रह गर्नुभयो । मैले यसकोपनि नेत्रित्व लिएर संस्थालाई स्थापित गराउन योगदान गरें ।

प्रवाशमा हामी सबै नेपालीका गाह्रा साह्रा र अप्ठेरा छन् । हाम्रो यो पहिलो पुस्ता भएकालेपनि हामी सबै यहाँ जिउनैका लागि संघर्ष गरिरहेका छौं । मपनि त्यसबाट अछुतो रहने कुरो भएन । घर, परिवार र आफ्नो कामलाई दिने समयबाट केहि कटाएर हामीले समाज सेवा, सामाजिक हित र सांगठनिक भलाईको काम गर्ने हो । प्रवाश बसाईका क्रममा मैले सकेसम्म यसैगरि समाजकालागि योगदान गरें । मित्रहरुले साथ दिनु भो । यहि दुखसुखका बिचमा गरेको कामले केहि अनुभवपनि भयो । अब यसलाई अझै खार्नुपर्छ, समाजसेवा र सांगठनिक काम अझ माथि बढेर गर्नुपर्छ, अहिलेसम्मको ज्ञान र सिपले त्यो भूमिकाकालागि योग्य बनाउँछ भनेर मैले एन आर एन युरोपको उपसंयोजक पदमा उमेदवारी दिने घोषणा गरेको छु । धेरै मित्रहरुले यसमा मलाई साथ, समर्थन, हौशला र प्रेरणा दिनुभएको छ ।

म धेरै भन्न चाहन्न, आफ्नो उमेदवारी घोषणाका बारेमा । के सम्म भन्न सक्छु भने युरोपमा अन्य महादेशमा भन्दा नेपालीका आफ्नै खाले समस्या छन् । तिनलाई पहिचान गर्नु आवश्यक छ । अहिलेसम्म धेरै अग्रजहरुले निकै राम्रा काम गर्नु भयो । तर त्यो प्रयास पूर्ण छैन भन्ने मेरो बुझाई हो । यता जुन ठाउँमा, देशमा जुनसुखै दुखजिलो गरेपनि, हण्डर र ठक्कार खाएपनि धेरै नेपालीले विशेष खाले ज्ञान, सिप र क्षमता आर्जन गरेका छन् । तिनलाई पहिचान गरेर हाम्रो मात्रिभूमिकालागि योगदान गर्न लगाउनु छ । युरोपका सबैजसो देशका विशेषखाले विशेषता छन् । विकास र संरचना छन् । ति देशका विकास, बिज्ञान, प्रविधी र समाज निर्माणका धेरै तत्व हामी नेपालीका लागि काम लाग्छन् । उपयोगि बन्छन् । संघियताका धेरै तत्वहरु यता वर्षौं वर्षको अनुभवले खारिएर लागु गरेका छन् । ति हाम्रालागिपनि उदाहरणिय बन्न सक्छन् । म त्यसकालागि प्रयास गर्ने छु । युरोपका धेरै देशमा सामाजिक र सांगठनिक संस्था गठन र स्थापित गराउन म आफैं लागेकाले मेरो धेरै देशमा सन्जालपनि बनेको छ । अनुभव थोरै भएपनि लिएको छु । युरोपमा नेपालीहरुलाई के कसरि सहयोग दिन, सांगठनिक रुपमा एकताबद्द गराएर राख्न सकिन्छ र एन आर एनको सामुहिक र संस्थागत हित कसरि हुन्छ त्यसमा आफूलाई समर्पित गराउने उद्देश्यले मैले एन आर एन युरोपको सह संयोजकमा उमेदवारी दिएको हुँ । मलाई धेरै मित्र, शुभचिन्तक, अग्रजहरुबाट साथ, समर्थन, शुभेच्क्षा र सहयोगको बचनपनि मिलिसकेको छ । मैले यो भूमिकामा बसेर अझ धेरै गर्नुपर्छ भन्ने जिम्मेवारीबोधपनि गरेको छु । यसमा अझ धेरै, सबैको साथ र समर्थन पाउनेमा म आशावादीपनि छु ।

तपाइँको प्रतिक्रिया