एन आर एन पोर्चुगल : ढोका थुनेर उमेदवारलाई तर्साइयो, पाखुरा सुर्काउँदै उमेदवारी दर्तामै बन्देज

  • विष्णुबिक्रम शाह / पोर्चुगल

press-statement-portugalएन आर एन पोर्चुगललको निर्वाचन भोली अगस्ट १६ कालागि घोषणा भैसकेको थियो । तर उमेदवारी दिने अन्तिम दिन गत बिहिबार १३ तारिखसम्म थियो । त्यसदिन उमेदवारी दिन भन्दै हात हातमा उमेदवारी दर्ताको कागज लिएर नेत्रित्वमा जान इच्क्षुकहरु देखिए । उमेदवारी दिन अलि पहिले आएकाहरुलाई एउटा हल भित्र राखियो । निर्वाचन कमिटीका संयोजक अशोक घिमिरे सहितका अन्य सदस्यपनि थिए । तर अचम्म के भयो भने यिनै अशोक घिमिरे, सदस्य बाबुराम भुसाल सहितको निर्वाचन कमिटीकै अगाडि त्यो हलको ढोका ड्यामडुम लगाइयो । उमेदवारी दिने समय बाँकी हुँदै ढोका थुनेर बाहिरका मानिसहरु भित्र पस्न नपाइने गरियो । भित्रकालाई फेरि बाहिर निस्कन  नदिएर त्यहिँ थुनियो । बाहिरकालाई भित्र नजान र भित्रकालाई बाहिर ननिस्कन भन्दै पाखुरा सुर्काएर धम्काएको आरोप लगाइएको छ ।

एन आर एन पोर्चुगलको नेत्रित्व चयनकालागि १३ अगस्ट बेलुका ७ बजेसम्म उम्मेदवारी दिने समयसीमा निर्वाचन कमिटिलेनै तोकेको थियो । कोको उमेदेवार बन्छन् त्यहि अनुसार रणनिति बनाउने, प्रतिस्पर्धी हेरेर आफ्नो उमेदवारी दिने कि नदिने भन्ने हुन्छ । त्यसैले आफ्नो उमेदवारी दिन धेरैले उमेदवारी दिन पाइने अन्तिम अवस्था कुरेर बसे । उमेदवारी दिने समय साँझ सात बजेसम्म थियो । उम्मेदवारी दर्ता गर्न एनआरएन पोर्चुगलको कार्यालयमा मान्छेहरु लाईनमा बसे । केहिले दर्ता गरेपनि । तर समय नसकिँदै कार्यालयको ढोका ड्यामडुम बन्द गरियो । उमेदवारीको समयसिमा बाँकी छ, भित्र पस्न दिनुस् भनेर आग्रहपनि भयो । तर निर्वाअचन कमिटीकै अगाडि तिनलाई पाखुरा सुर्काएर तर्साए । उम्मेदवारी दिनबाट विभिन्न व्यक्तिहरुलाई वञ्चित गराए । तैपनि निर्वाचन कमिटीले चुँसम्म बोलेन ।

त्यति मात्रै होइन, उमेदवारी दिएका ब्यक्तिहरु कोको हुन् भनेर हेर्न एक हुल पाखुराधारीहरुलाई हल भित्र छिराइयो । ति पाखुरा धारीले हलका कोप्चेरासम्म चियाउँदै हिँडे । कोको हो उमेदवारीदिने ? हाम्रा अगाडि उमेदवारी दिने को हो ? भन्दै थर्काएर उमेदवारी दिईसकेका मध्येपनि छानी छानी केहिको उमेदवारी र वारिसनामा खोसियो ।

हलभित्र पसेर पाखुराधारीले थर्काउन थालेपछि भित्रका मानिसहरु बाहिर निस्किन खोजे । तर तिनलाइ भित्रबाट बाहिर निस्किन दिईएन । भित्रै थुनियो । केहिका हातबाट उमेदवारी खोसियो । बाहिरकालाई भित्र छिर्न दिईएन ।

एन आर एन पोर्चुगललाई धाकधम्की दिएर, कोठामा थुनेर, बन्दिलाई झैं थुनेर आफ्नो पकडमा राख्न खोजिएको आरोप असहमत पक्षहरुले लगाएका छन् । हलभित्र थुनेर मान्छे राख्ने र वारेसनामा, उमेदवारी दर्ताको कागज निर्वाचन कमिटीकै सदस्यको अगाडि खोसेर, थुनेर मिल्काउँदापनि निर्वाचन कमिटीले कुनै आपत्ती देखाएन । यसबाट निर्वाचन कमिटिकैसमेत मिलोमतो भएको आशंका यहाँका नेपालीले गरेका छन् । बर्तमान महासचिव हेमन्त सेढाइले आइसिसि पदमा उमेदवारी दिएर फर्किँदै गर्दा उनलाईपनि धम्काउने र गाली गर्ने गरिएको स्रोतले बतायो । उनीमाथि दूर्ब्यवहार गर्दा निर्वाचन कमिटी त्यहिँ उपस्थित थियो तर तिनले कुनै प्रतिक्रिया जनाएनन् ।

एन आर एन पोर्चुगललको नेत्रित्व चयन सर्वसम्मत गराउने भन्ने प्रयास थियो । त्यसकालागि एमाले, नेपाली कांग्रेस, माओवादी र जनजाति संगठनका नेत्रित्वहरु खेटिरहेकापनि थिए । एनआरएन पोर्चुगललाई सबैको एक साझा संस्था बनाउनुपर्छ भनेर पुर्व घोषित निर्वाचन कार्यतालिका परिवर्तन गर्दै पछाडि सार्दै आएका थिए । सबै पक्षलाई समेटेर जाने सोचका साथ विभिन्न पक्षसँग वार्ता गरेर सहमती बनाउन खोजेका थिए । तर एन आर एन पोर्चुगललाई कब्जामा पार्ने सोचका साथ केहि ब्यक्तिहरुले योजनाबद्दरुपमा निस्किएपछि अब एन आर एन पोर्चुगलको नयाँ नेत्रित्वका बारेमा समस्या हुने भएको छ । उम्मेदवारी दर्ता गर्ने व्यक्तिहरु कार्यालय परिसरमा लाईनमा बसी रहेको अवस्थामा समय थपेरै भए पनि ईच्छुक सबैको उम्मेदवारी लिनु पर्नेमा ढोका थुनेर बन्दिलाई झैं राख्ने, थर्काउने र  निर्वाचन समितिको गैरजिम्मेवार कार्यले एनआरएन पोर्चुगलको भावी कार्य समिति चयनमा गम्भीर आशंका उब्जेको छ । 

को थियो निर्वाचन समितिमा ?

निर्वाचन समितिका संयोजक थिए अशोक घिमिरे । उनी पोर्चुगलका नेपाली अबैतनिक वाणिज्य दूत (कन्सुलर) मकर हमालका कार्यालय सचिव हुन् । नेपाली कन्सुलरमा कार्यरत उनी मकर हमालको नेपाली रेस्टुरेन्टमापनि काम गर्छन् । कन्सुलर कार्यालयको कर्मचारी भएकाले उनीबाट निस्पक्ष काम होला भन्ने विश्वासमा उनलाई निर्वाचन समितिको संयोजक बनाइएको थियो । तर उनले नै एन आर एन पोर्चुगलको निर्वाचन भाँड्न, कब्जा गर्न खोज्नेलाई सहयोग गरिदिएपछि अहिले यहाँका नेपाली उनीदेखि क्रुद्द बनेका छन् ।

निर्वाचन समितिका अर्का सदस्या बाबुराम भुसाल थिए । उनी त्यहाँ पत्रकारको रुपमा चिनिएपनि कन्सुलरकै निकट, उनका भाई पूर्ण हमालले जे भनेपनि मान्ने, उनीहरुकै पछि पछि लाग्ने ब्यक्ति हुन् । निर्वाचन समितिमा बसेपनि अत्याचार हुँदा यि भुसाललेपनि केहि बोल्न सकेनन् ।

प्रवाशी मञ्चद्वारा बहिष्कारको घोषणा

एन आर एन पोर्चुगलको भाबी नेत्रित्व चयनकालागि उमेदवारीदिनै बञ्चित गरेपछि यहाँको प्रवाशी नेपाली मञ्चले अब यो निर्वाचन प्रक्रियामै सहभागि नजनाउने दाबी गरेको छ । यसले गर्दा अब एन आर एन पोर्चुगलको नेत्रित्व चयन र निर्वाचननै बिबादमा परेको छ ।

प्रवाशी मञ्चले एक बिज्ञप्तीनै जारी गरेर भनेको छ ‘आगामी अगस्ट १६ मा सम्पन्न हुन गई रहेको गैरआवासीय नेपाली संघ पोर्तुगलको पाँचौ अधिवेशनको तयारीका क्रममा निर्वाचन समितिले आफ्ना कार्यक्रमहरु समय सीमा तोकि काम गर्दै आईरहेको थियो । दुर्भाग्य निर्वाचन जस्तो संवेदनशील विषयमा यहाँको अधिवेशनका लागि गठित निर्वाचन समितिको कार्य शैली र प्रक्रिया प्रति हामीले लज्जाबोध गर्नुपर्ने दु:खत अवस्था हिजो १३ अगस्ट २०१५ का दिन साँझ ठिक १८.५५ को समयमा आयोगको कार्यालयमा सृजना भयो । १९ बजेसम्मको समय सीमा तोकिएको उम्मेदवारी दर्ताको कार्यक्रम हलभित्र ठुलो हुल हुज्जत सहित निर्धारित समय भन्दा अगाडी नै ढोका बन्द गराइ उम्मेदवारी मनोनयन गर्नबाट वन्चित गर्ने काम सँगसँगै लस्करैभित्र छिर्दै गरेका उम्मेदवार मनोनयन फारम सहितका केही व्यक्तिभित्र र केही व्यक्ति बाहिर राखि समय अगावै नै ढोका बन्द गरि कार्यालय भित्रकालाई समेत बाहिर निस्कन नदिने अनि उम्मेदवारको मनोनयन दर्ताको लागि तयार पारिएको बारेसनामा पत्र अर्कै व्यक्तिले थुतेर फ्याकिदिदाँ समेत मुकदर्शक बनेर बस्ने जुन काम निर्बाचन समितिले गरेको छ, यसले निर्वाचन समितिको भावि काम प्रति विश्वास नरहने ठहर गरेका छौ ।’

यो निर्वाचन प्रक्रियामा नेपाली प्रवाशी मञ्चको सहभागिता नहुने सार्वजनिक गर्दै भनिएको छ ‘यस्तो निर्वाचन प्रक्रियामा हाम्रो संगठनको सहभागिता नरहने जानकारी गराउदै निर्वाचन समितिको कार्यसम्पादन प्रति घोर निन्दा एवं भर्त्सना गर्दछौ ।’

तर प्रेस बिज्ञप्तीमा त्यो हुज हुज्जत गर्ने को हो ? कसले कब्जा जमाउन खोजेको हो एन आर एन पोर्चुगलमा  भन्ने चाहिँ स्पष्ठसित उल्लेख गरिएको छैन ।

तपाइँको प्रतिक्रिया