एन आर एन स्विजरल्याण्डको महासचिवमा यसकारण मेरो उमेदवारी
- संझना थापा / स्विजरल्याण्ड
आदर्णिय स्विसबासी दाजुभाई दिदी बहिनीहरु, मेरा अग्रजहरु, बिभिन्न संस्थाका नेत्रित्वदायी ब्यक्तित्वहरु । मैले एन आर एन स्विजरल्याण्डको महासचिव जस्तो पदमा किन उमेदवारी घोषणा गरें । पक्कैपनि यहाँहरुको मत खेर नजाओस्, नेत्रित्व गर्न सक्षम छ की छैन ? के नयाँ र रचनात्मक काम गर्न सक्ली यसले ? यस्ता खुल्दुली, चासो, चाख र जिज्ञासा यहाँहरुलाइ हुनु स्वभाविकै छ । यहाँहरुसित लामो समयदेखि निकट भएरै बसेपनि उमेदवारी दिएको ब्यक्तिका बारेमा खुलस्त हुनु जरुरी ठान्नु भएकै होला । त्यसैले म आज आफ्नो उमेदवारी, मेरा सोच, योजना र यसका बारेमा छर्लङ्ग बनाउने कोसिस गर्दै छु । ध्यान पूर्वक पढेर, सल्लाह, गल्ति कमजोरीको बिगतमा झैं मैत्रीपूर्ण तरिकाले रचनात्मक सुझाव पक्कै दिनुहोला भनेर म ढुक्क छु ।
सानै भएपनि त्यहि अनुभव, यहाँहरुलेनै दिनु भएको साथ र समर्थन, यहाँहरुकै बिचबाट सिकेको थोरै ज्ञान अनि स्विसबासी सबै दाजुभाई दिदिबहिनी र अग्रजहरुले दिएको हौशलाले मलाई अझ अगाडि बढेर केहि गर्नु पर्छ की भन्ने लागेको छ । मैले यो देशबाट हाम्रो समाजमा केहि योगदान गर्न सक्छु की भनेर सामाजिक कामको पाईला अगादि बढाउने निधो गरेकि छु । र आगामी २०१५-२०१७ का लागि महासचिव पदमा उमेदवारी घोषणा गरेकि छु ।
हाम्रै समाजकी एक महिला पात्र म । केहि त पक्कै सिकें । स्विस सरकारलेपनि विश्वास र हौशला दियो । यहाँहरुबाट झन सिक्न पाएँ । उच्च शिक्षा लिने अवशरपनि मिल्यो । त्यसबाटपनि पक्कै केहि ज्ञान लिएँ । त्यसैले यि सबै अनुभवलाई अनुभवको एउटै भकारीमा राखेर हेर्दा अब अझै अगाडि किन नबढ्ने भनेर म अगाडि सरेकी हुँ । त्यसैले महासचिव पदको जिम्मेवारी म सफलताकासाथ पुरा गर्न सक्छु, यसबाट योगदान अझै दिन सक्छु भनेर यहाँहरुसमक्ष जिम्मेवारी बहन गर्न उत्रिएकि छु । आफूले सिकाएर, साथ दिएर अझ जिम्मेवारी लिन सक्ने अवस्थामा पुर्याएकि चेलीलाई पक्कैपनि थप जिम्मेवारी दिने स्थानमा रोज्नुहुन्छ भन्नेमा म निर्धक्क छु । म सकेसम्म समाज सेवामा योगदान दिने कोसिस गर्ने छु । जिम्मेवारीबाट नपन्छिन, केहि योगदान गर्न र सामूहिक रुपले एन आर एन स्विजरल्याण्डमा कटिबद्द हुन म कुनैपनि प्रयत्न गर्ने जानकारि यहाँहरुलाई गराउन चाहन्छु ।
आउने अगस्ट १६ मा एन आर एन स्विजरल्याण्डले घोषणा गरेको निर्वाचनपछि बन्ने यसको नेत्रित्वमा अनुभवी, यूवा, समाजसेवी, म्रिदुभाषी, सहनशिल, समाजप्रति उत्तरदायी, समाजमा स्वच्छ छबी बनाएका र आफ्ना कार्ययोजना पूरा गर्न सक्ने क्षमतावान र इमान्दार नेत्रित्वलाई साथ दिँदै अगाडि बढ्ने विश्वासपनि म दिलाउँछु ।
बिगतमा मैले एन आर एन स्विजरल्याण्डको महिला संयोजकको रुपमा काम गरिसकेकाले स्विसबासी मात्रै होइन एन आर एनमा चासो राख्ने बाहिरका अग्रजहरुलाईपनि यसको जानकारीनै छ । र यहाँहरुलाई जानकारिनै छ कि प्रवाशमापनि महिला सहभागीहरुको संख्या संघ संस्थाको नेत्रित्वदायी तहमा न्युननै छ । बिगतका अनुभवलेपनि त्यहि देखाउँछ । उदाहरणनै दिनुपर्दा, बिगतका हाम्रा कार्यक्रम जस्तै, अन्तर्राष्ट्रिय महिला दिवश, महिला शसक्तिकरण, हिमालय रिजन अफ नेपाल, महिला विकास परियोजनामा भएका कामले देखाउँछन् । त्यस्तै, महिलाहरुलाईपनि अवशर दिने हो भने पुरुषहरुले जत्तिकै प्रभावकारी भूमिका खेल्न सक्छन् भन्ने प्रमाणपनि हो ।
यहाँ कोहिपनि पूर्ण छैन । अंग्रेजीमा लर्निङ बाई डोइङ भने जस्तो जसलेपनि काम गर्दै सिक्दै जाने प्रक्रिया हो । परिवार, पेशागत काम र संस्थाग्त वा सामाजिक कामलाई एकैसाथ अगाडि बढाउँदै म एन आर एन स्विजरल्याण्ड मार्फत अगाडि बढ्न चाहन्छु । पक्कैपनि हाम्रा अगाडि समस्या र चुनौतिको थुप्रो छ । तर अवशर र कार्य गर्नुपर्ने, सकिने क्षेत्र र संभावनापनि उत्तिकै छन् । यस्ता काममा सामूहिक प्रयासको भावना लिएर आफ्ना सहकर्मी, साथीहरु र स्विजरल्याण्डमा बसेका तपाई बुझक्की सबै दाजुभाई दिदीबहिनीहरुलाई अगाडि बढाएर यहाँहरुकै राय, सल्लाह र सुझावमा म अगाडि बढिरहेकि छु । स्विजरल्याण्ड आएदेखि उता नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरमा हिमाल देखि दक्षिणमा तराईको समतल फाँटसम्मका दाजुभाई दिदीबहिनीहरु सँगको मिलन, सहकार्य र सामूहिक भावनामा रमाउन पाउँदा मैले आफूलाई छुट्टै रमाईलो संसारमा भएको आभाष पाउने गरेकि छु ।
यसैले गर्दा होला, मिलन, विश्वास, सामूहिक सोच र एकता हामी नेपालीको परिचय बनेको छ । हाम्रा महान चाड पर्वदेखिपारिवारिक कार्यक्रममा सँगै हुँदा परिवार र नेपालमा रहनुभएका इष्टमित्रहरुको माया पाइएको छ । म फेरि नेत्रित्वमा पुग्दापनि स्विसबासी नेपालीहरुको यो भावनालाई समेटेर अगाडि बढ्ने छु । स्विसबासी नेपालीको भावना, चाहना, सहयोग र संलग्नता नेपालको विकास र संब्रिद्दताको लागि बिगतमापनि रहेको मेरो मूल्यांकन छ । यसलाई अझै उँचो किन नपार्ने ? सारा संसारका नेपालीले ‘ओहो स्विसबासी नेपाली’ भनेर गर्व गर्ने बनाउनतिर हामी किन अग्रसर नहुने ?
स्विजरल्याण्डमा बसेर बिभिन्न क्षेत्र, पेशा, संगठन होस वा बैयक्तिक तरिकालेनै, तिनको अनुभव, सकारात्मक सोच, योगदान, अनुभव र सिपलाई प्रयोग गरेर समग्र रुपमा नेपाल र नेपालीको हितमा काम गर्ने सोच बनाउनुपर्छ र मैले त्यसमा आफूलाई अग्रसर गराउनुपर्छ भन्ने स्पष्ठता ममा रहेको छ । नेपाल सरकारसित सरोकार राख्ने संघसंस्था, नेपाली दुतावास वा अन्य अन्तर्राष्ट्रिय संस्थासितै किन नहोस् सकेसम्म सहकार्य गर्नुपर्छ भन्ने मेरो विश्वास छ । म आफ्ना तर्फबाट त्यो प्रयत्न रख्ने छु । सहकर्मीहरुमाझ प्रस्ताब लैजाने छु ।
समग्र विश्वनै साँघुरिएर एउटा गाउँ जस्तो बनेको छ । त्यसैले ब्यक्तिका क्षमता, इच्क्षा, आकांक्षा, तत्परता, सिप र प्रेरणालाई देश, भूगोल, परिस्थितिले सिमित राख्दैन । प्रवाशमा रहेका नेपालीलेपनि ति सिमाहरु भत्काएर प्रशस्त योगदान गरेका छन्, सबल र सक्षम बनेका छन् । प्रवाशमा रहेका नेपालीका आफ्नै खाले समस्या भएपनि हामी हाम्रो मात्रिभूमीमा अनेक कष्टसित जुधिरहेका नेपालीले भन्दा कमै समस्या भोग्छौं । मात्रिभूमीलाई हामीले अझ धेरै हाँसो, दुखमा साथ र बिपतमा सहयोग दिनुपर्ने खाँचो छ । एन आर एन प्रवाशमा रहेका हामी नेपालीको साझा संस्था भएकाले म यस मार्फत योगदान दिन तयार छु । प्रवाशका आम नेपालीलाईपनि यहि आव्हान गर्छु ।
प्रवासमा जतिसुकै सेवा सुबिधा लिएपनि हामी पूर्ण छैनौं । हाम्रापनि कठिनाई छन् । हाम्रापनि अप्ठेरा छन् । आफ्नै खालको दुख र सास्ति छ । कतिपय ति दुख र अप्ठेराको समाधान गर्न हामीले हाम्रै सरकारबाट अपेक्षा गरेका छौं । हामी नेपाली सदाका नेपाली हुन पाउँ भन्ने हाम्रो माग सरकारसित एन आर एनलेनै जोडदाररुपमा उठाएको छ । लमो प्रयत्न पछि केहि पुरा भएका छन् । केहि पुरा हुन बाँकि छन् । हामी एन आर एन स्विजरल्याण्डका तर्फबाटपनि त्यो भूमिका निभाउन, हाम्रो माग पुरा गराउन प्रयत्न गर्ने छौं र नेपाल आमा प्रतिको जिम्मेवारीपनि भुल्ने छैनौं भन्ने विश्वास दिलाउन चाहन्छु ।
हाम्रो सामूहिक प्रयासमा स्विसबासी नेपालीलाई एक सूत्रमा बाँध्न, सहकार्य गर्न, हाम्रा अप्ठेराहरु बुझेर सामूहिक रुपमा पुरा गर्न एन आर एन स्विस अगाडि बढ्ने छ भन्ने मैले विश्वास लिएकि छु । यहाँहरुको रचनात्मक सहयोग, साथ र संलग्नताले त्यो पुरा हुन भूमिका खेल्नेनै छ । आगामी दिनमा म आफ्नो तर्फबाट स्विजरल्याण्डमा रहेका संघ संस्थाका अभियानहरुलाई उच्च प्राथमिकता दिँदै सहयोगकालागि सक्दो प्रयत्न गर्ने छु । एन आर एन स्विजरल्याण्डका सबै सदस्य र स्विसबासी नेपालीका माझमा सूचना प्रहवाह गराउने, छलफल गराउने प्रयत्नमापनि पछिपर्ने छैन ।
एन आर एनले आज सम्ममा विश्वभरिका नेपालीलाई एकै मालामा उनेर राख्ने प्रयत्न गरेको छ । यसलाई बलियो बनाउन र दिर्घकालिन रुपमा अगाडि बढाउन यहाँहरु सबैको सहयोग, संलग्नता र सुझाव अपरिहार्य छ । फुटेर होइन, जुटेर मात्रै हामीले हाम्रो उन्नती, प्रगती र सामूहिक हित गर्न सक्छौं । त्यसैकालागि अग्रसर बनौं । हामीलाई सामूहिक रुपमा अगाडि बढ्नुपर्ने खाँचो छ । तपाईहरुले बिगतमा दिनु भएको साथ, समर्थन र सहयोगकोलागि म आभारि छु । भविष्यमा अझ बढि पाउने आशा राखेकि छु ।
बिगतका कमीकमजोरी आफैंले मनन् गरेर, औंल्याएर, केलाएर म अगाडि बढ्छु । यहाँ मैले जे ब्यक्त गरें आफ्नो मनदेखिका मेरा सफा भावना हुन् । म तिनलाई पुरा गर्ने प्रयत्न गर्छु । आफ्नै छोरी, दिदी, बहिनी संझेर सामूहिक सेवाको भावनाले फेरि नेत्रित्वका लागि अगाडि बढेकी एक महिलालाई तपाईहरुले त्यो अवशर दिनुहुने छ भन्नेमा म ढुक्क छु । त्यसकालागि म तपाईहरु सबैलाई अग्रिम धन्यावाद दिन चाहन्छु ।
(एन आर एन स्विजरल्याण्डको आगामी निर्वाचनमा महासचिव पदमा उमेदवारी दिएकि लेखिका थापाले स्विस सरकारले दिएको छात्रब्रित्तीमा जैविक प्रविधीतर्फ उच्च श्रेणीमा स्नातकोत्तर गरेकि छन् । त्यसैगरि विश्वब्यापी रुपमा फैलिएको स्विस कम्पनी नेस्टलको अनुभवपनि छ । अहिले उनी जिवबिज्ञका रुपमा बहुराष्ट्रिय स्विस फर्मास्युटिकल कंपनीमा कार्यरत छन् ।)




