एन आर एन बेल्जियमको निर्वाचन : बिवादितको बर्चस्व, स्वच्छ छबीको खाँचो

  • सन्तोष न्यौपाने / बेल्जियम

journalist-santosh-nyaupane-belgiumगैर आवसिय नेपाली संघ बेल्जियम (एन आर एन बेल्जियम) को निर्वाचन आगामि तिन सातापछि हुन गइरहेको छ । एन आर एन बेल्जियम निर्वाचन आयोगका बोधराज पौडेलले भर्खरै निकालेको जानकारि अनुसार २०४८ पंजिकृत सदस्य बेल्जियमले पाइसकेको छ । यो संख्या गत कार्यकाल जानकि गुरुङलाई बुझबुझारथ गरेको भन्दा छ सयले बढि रहेको छ । अर्थात अहिले पनि बेल्जियमले दुई जना आइ सि सि पाउने निश्चित भएको छ । यो आइ सि सि कुन पार्टिको पोल्टामा पर्ने हो त्यो भने अझै निश्चित भइसकेको छैन । तर योसँगै आर्थिक शंका पनि उत्तिकै देखिन्छ । २०४८ सदस्यबाट कम्तिमा पनि २३ हजार युरोसम्म सदस्यताबाटै रकम उठने छ । जुन रकम जानकि गुरुङले अहिलेको कार्यसमितिलाई बुझबुझारथ गरिएको नगद रकम नजिक हो । एन आर एन केन्द्रिय कार्यलय नेपालमा पठाउनुपर्ने खर्च कटाएर हेर्दा लगभग १२ हजार युरोसम्म अहिलेको समितिलाई रहने प्रारम्भिक डाटाबाट छर्लङ्ग्ग हुन्छ ।

एन आर एन बेल्जियममा आर्थिक अपारदर्शिताको मामलाले निकै हल्लाखल्ला मच्चाएको छ । कुनै पनि कमिटिले सबैलाई चित्त बुझ्दो तरिकाले सन्तुण्ट पार्न सकिरहेको छैन । सबै हिसाब किताबहरु कागजी रुपमा मात्रै सिमित देखिन्छ । जानकि गुरुङले अहिलेको कार्यसमितिलाई बुझाएको जम्मा बचत रकम लगभग २५ हजार युरो र थप रकमबारे अहिलेको समितको विवरण आउन बाँकि छ । अगामी अधिवेशनमा वर्तमान समितिले सबैको बुझाउन नसकेमा विगतका समिति झै अहिलेको समिति पनि यो मामलामा बिबादित र आरोपित हुनेछ ।

आर्थिक संकलन

सन २००६ मा एन आर एन बेल्जियमको सुरुवात भएको थियो । तत्कालिन महासचिव सन्तोष जोशीका अनुसार करिब सात सय पंजिकृत सदस्य रहेका थिए । अर्थात त्यतिखेरको समितिले मोटामोटि रुपमा ५ देखि ६ हजार युरोको बिचमा सदस्यबाटै रकम जम्मा गरेको देखिन्छ । अहिलेको समितिले विगतका समितिमा भएका सदस्य संख्या र रकम बारे कुनै पनि कुरा दिन चाहेन । समितिसँग विगतका अर्थात २०१० सम्मको कुनै पनि डाटा रहेको छैन ।

त्यस्तै, युवराज गुरुङको समितिले करिब एक हजार सदस्य बनाएको देखिन्छ । जसको मोटामोटि रकम करिब ७ हजार युरो सम्म सदस्यताबाटै बचत देखिन्छ । सोहि क्रममा पि जि शेर्पाको कार्यकाल पछि जानकि गुरुङलाई हस्तान्तरण गर्दा लगभग २२ सयको हारहारिमा सदस्य भएका थिए । दोब्बर मात्रामा वृद्दि भएको सदस्य संख्या अनुरुप आर्थिक रकमपनि दोब्बर नै जम्मा गर्न समिति सफल रहयो । लगभग १३ हजार युरो यो समितिले सदस्यताबाटै बचत गरेको देखिन्छ ।

त्यसपछि जानकि गुरुङका अनुसार १४२० सदस्य संख्या सहित नगद बचत २५ हजार युरो अहिलेको कार्य समितिलाई हस्तातन्तरण गरिएको थियो । तर यसका साथै एन आर एनमा भाग लिने उम्मेदवारबाट आउने रकमबाटपनि थप बचत हुने देखिन्छ । यो बचत रकमबाट केहि भाग एन आर एन कार्ड बनाउन प्रयोग गरिएतापनि सबै सदस्यहरुको कार्ड बन्ने काम चाहिँ नहुने विगतमा पनि देखिएको छ । सदस्य भैसकेपछि कार्ड उपलब्ध नहुँदा धेरै रुस्ट बनेका थिए । अहिलेको समितिले कसरि लैजान्छ त्यो चाहि हेर्न बाँकि छ ।

आर्थिक चलखेल

बेल्जियमको समाजमा एन आर एन प्रति आर्थिक अपारदर्शिताकै कारण  त्यति धेरै मोह भने रहेको छैन । सबै कार्यसमिति भित्र रहने पदाधिकारिहरुको यस्तै कार्यगत शैलिको कारण पनि मोह घटन पुगेको छ । प्रत्येक कार्यकालमा सदस्यता तथा अन्य च्यारिटि कार्यक्रम मार्फत रकम संकलन गर्दै आएको एन आर एन बेल्ज्यिमले अझै सम्म कुनै ठोस काम गर्न सकेको देखिँदैन । आर्थिक पारदर्शिता केवल कागजि पानामा मात्रै सिमित देखाउँछ । अप्रत्यक्ष रुपमा एन आर एन पदाधिकारिहरुले रकम दुरुपयोग गरेको आरोप लागेको छ । एन आर एनकै रकम प्रयोग गरेर आफ्नो ब्यवसाय संचालन गरेको तथा अन्य ब्यत्तिगत फाइदामा लगानि गरेको आरोप उनिहरुमाथि लागेको छ । यो आरोप लाग्नेहरुमा युवराज गुरुङ,जानकि गुरुङ, अर्जुन कुमार श्रेष्ठ र शिव बरुवाल छन् । तर यो कुरा मान्न उनिहरु तयार देखिदैनन् । निराधार कुराहरुले आफुहरुलाई पछि पार्न खोजिएको र प्रमाण सहित आउन आरोपितहरुलाई चुनौति उनीहरुले दिएका छन् ।

एसेन्टा कान्ड

बेल्जियमको गेन्टमा सम्पन्न भएको नेपाल मेला अर्थात एसेन्टा मेलामा अन्तर्रा्ष्ट्रिय मेला आयोजक समितिकै केही सदस्यले मेलामा आउनेको भिसा सिफारिस गर्दा मोटो रकम लिएको सार्वजनिक भएको थियो । त्यो मेलामा नेपालतर्फका लागि संयोजन गर्न अहिले एन आर एन युरोपको संयोजक रहेका अर्जुनकुमार श्रेष्ठको संयोजनमा एक समिति गठन भएको थियो । त्यसमा सहसंयोजक हरिकुमार थपलिया, स्टल ब्यवस्थापन थिए । सदस्य सचिव शालिक गौतम र सदस्यमा गंगाधर गौतम, शिव कुमार बरुवाल, युवराज गुरुङ, जानकी गुरुङ र प्रचार प्रसार संयोजक ओम शर्मा थिए ।

मेला आयोजना गर्दा एसेन्टाको मुख्य आयोजक टोलीले नेपाललाई यस वर्षको ‘विशिष्ट अतिथि राष्ट्र’ (गेस्ट अफ अनर) दिएको थियो । नेपाल र बेल्जियमबिच दौत्य सम्बन्ध कायम भएको ५० औं रवर्ष पुगेकालेपनि यो अवशर दिएको थियो । यो एसेन्टा मेलामा आउनका लागि भिसा लिन नेपाल उद्योग बाणिज्य महासंघमापनि को को र ककसलाई सिफारिस गरेर पठाउने भन्ने कुरोको निर्णय गर्न पनि समितिमा छलफल नगरी सदस्य सचिव शालिक गौतम र संयोजक रहेका अर्जुनकुमार श्रेष्ठको मिलोमतोमा भएको गोप्यताको रहस्य पनि बाहिर आएको थियो । एसेन्टा मेला आयोजना गर्दा बेल्जियमका अर्जुन कुमार श्रेष्ठ र शालिक गौतमले उताबाट आफू खुसी सुटुक्क सिफारिस गर्ने र यताबाट नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा मेलाका नेपाल संयोजक कुशकुमार जोशीले सदर गर्ने गरेको बताएपनि एन आर एन केन्द्रिय कमिटि तथा बेल्जियमले यसबारे कुनै काम कारबाहि अझैसम्म अगाडि बढाउन सकिरहेको छैन ।

सो मेलामा पुग्ने ब्यापारी र अर्जुन श्रेष्ठ शालिक गौतम र कुशकुमार जोशीका मानिसहरूले भने प्रति ब्यक्ति छ लाख मात्रै तिरेको र बाँकी ब्यक्तिसित भने प्रति ब्यक्ति १८ लाख रुपैयाँसम्म असुलेको सार्वजनिक भएको थियो । मेलामा सहभागी हुन पुगेकामध्ये केहीले १८ लाख रुपैयाँसम्म तिरेको यो पत्तिकार समक्ष मेलामै गुनासो गरेका थिए ।

नेपाल हाउस

विगत चार वर्षअघि जयन्तु सस्कृतम बेल्जियमले सम्पन्न गरेको सप्ताह कार्यक्रममा प्रशस्त उधारो दान रकम संकलन भएको थियो । ७ दिनसम्म चलेको उत्त धार्मिक कार्यक्रमले नेपाल हाउस निर्माणको परियोजना त कोर्‍यो तर बिचमै तुहियो । आयोजकका अनुसार यो तुहाउनेमा एन आर एन बेल्जियमकै पदाधिकारिहरु थिए । उत्त सप्ताहमा सबैभन्दा धेरै बोल्नेहरुमा चिज कुमार श्रेष्ठ र दोस्रोमा अर्जुन कुमार श्रेष्ठ थिए । चिज कुमार आउँदै गरेको एन आर एन बेल्जियमका आइ सिसि दाबेदार हुन भने अर्जुन एसेन्टा मेलामा मुख्य आरोपित तथा एन आर एन युरोप संयोजक हुन । यो कार्यक्रममा सबैले आफुखुसि ठुलो ठुलो रकम बोलेका उनिहरु अहिले यो विषयलाई नै उठान गर्न चाहिरहेका छैनन । धेरैले यसलाई हाँस्यास्पद र लज्जास्पद भनेर बेल्जियममा चर्चा गरिरहेका छन् । यस्तै विवादित, आश्वासन भने दिइहाल्ने तर पुरा नगर्ने ब्यक्तिले कसरि नेत्रित्व राम्रोसित गर्न सक्ला भनेर प्रश्न गर्नेपनि निकै छन् ।

स्वच्छ अनुहार

एन आर एन बेल्जियमलाई राम्रो संग केलाउने हो भने स्वच्छ अनुहारका कोहि पनि देखिँदैनन । कोहि दलाली, कोहि ठगि त कोहि अन्य ब्यवहारिक रुपमा आरोपित देखिन्छन् । समाजमा निश्वार्थ रुपले कार्य गर्ने कोहिपनि यस भित्र प्रवेश गर्न चाहेको देखिँदैन । विगतमा भएका पदाधिकारिहरु मध्ये पनि १५ प्रतिशत जति स्वच्छ छविका देखिए । त्योपनि मुख्य नेत्रित्वकर्ता पदमा नभएर अन्य साना पदमा ।

उदारहणको लागि लिने हो भने वर्तमान कार्यसमितिमा रहेकि महिला उपाध्यक्ष  शारदा अर्याल (सारा) को दलालि पेशाको बारेमा धेरै पटक मेडियामा आएको थियो  । स्मरण रहोस, यो पत्तिकार सहित पाँच जनालाई उनले मानहानिको उजुर पनि गरेकि थिइन् । तर पछि बेल्जियमको प्रहरीले उनैमाथि जाँचबुझ गर्न लागेको सार्वजनिक भयो । यस्तो बिवादित ब्यक्तिलाईनै पछि ससम्मान एन आर एन बेल्जियमको महिला उपाध्यक्ष पदमा राखियो । यो नै दुखद र खराब पक्ष हो ।   यदि कोहि ब्यक्ति एन आर एनमा आएर कार्य गर्न चाहन्छ भने उसको चरित्र सफा हुनुपर्दछ नत्र खराब प्रवृत्तिका ब्यत्तिहरुले उनिहरुले आफुलाई चोख्याउने मौका मात्र पाउनेछन भनेर यो पटक बेल्जियममा झन धेरै आवाज उठेको छ । यस तर्फ सरोकारवालाहरुले बेलैमै सोच्नुपर्ने हुन्छ ।

(कमेन्टहरु रचनात्मक, भद्र र शिष्ट भाषामा दिनुहोला । अभद्र, अशिष्ट र गालीगलौज गरेर नलेख्नुहोला । तपाईहरुले छद्म नाममा लेखेपनि आइ पि नम्बरका आधारमा को हो भन्ने पत्ता लगाउन गाह्रो छैन । गाली गरेर, अभद्र किसिमले लेखेका कमेन्ट हटाइन्छ र धम्काएर लेख्नेको आइपि ठेगानासहित सार्वजनिक गरिने छ ।)

तपाइँको प्रतिक्रिया