फोटो कथा : नेपालीहरुको युरो कप टुर्नामेन्ट, विश्व कप जस्तै बनाउने रहर
स्वीजरल्याण्डमा यही जुनको 27 र २८ मा एन आर एन युरो कप टुर्नामेन्ट भयो । कप ए उटा मात्रै थियो । तर जित्न परेको थियो, टुर्नामेन्टमा आएका सबै १६ देशलाईनै । त्यसैले सबै देशका टोली कप हामीलेनै लाने हो भन्दै आएका थिए । पहिलो दिन खेल भएको ठाउँ आराउको मैदानमा उत्रिन नपाउँदै खेलाडी, त्यस देशबाट आएका सहभागि र दर्शकहरुमा तिब्र छलफल सुनियो ‘कुन देशका खेलाडी तगडा ? कुन देशका खेलाडीको खेलमा छक्काउन, गोल रक्षा गर्ने, आक्रमण गर्ने र अर्को पक्षलाई दबाउन को तगडा छ ?’ पहिलो दिन मैदानमा ११ देशका १६ टिम देखिँदा धेरैलाई अचम्म लाग्यो । त्यो किनभने एन आर एनले आयोजना गरेका प्राय सबैजसो कार्यक्रममा पाकाहरुको संलग्नता हुन्थ्यो । तर यहाँ आएका मध्ये अधिकांश युवा र किशोरहरु देखिन्थे । त्यतिबेलाई सबैले भनिहाले ‘ओहो युवाहरुलाई आकर्षण गर्न त यस्तो कार्यक्रम पो ल्याउनुपर्दो रहेछ ।’
एन आर एनका कार्यक्रममा बुढाहरु भेला हुन्छन । ब्यापारीहरुले कार्ययोजना ल्याउँछन । करोड करोडका योजना बन्छन् । ठूलाबडा आउँछन, भाषण दिन्छन् । आफ्नो बाटो लाग्छन् । काम हुन्न । कुरा बढि हुन्छ । यूवाहरुलाई आकर्षित गर्ने केही योजना छैन । यस्तै गुनासा सुनिन्थे । तर एन आर एन स्विजरल्याण्डले आयोजना गरेको एन आर एन युरो कप टुर्नामेन्टले त्यसलाई छायाँमा पारेर यूवाहरुलाई एन आर एन प्रती आकर्षित गराउन सकिन्छ भन्ने देखाइदियो ।
पहिलो दिनको कार्यक्रममा नेपाली राजदूत मुख्य अतिथी, एन आर एन केन्द्रिय उपाध्यक्ष भवन भट्ट विशेष अतिथी बने । खेलमा आएका सबैलाई स्विसबासी नेपाली र खेलकूद आयोजकका तर्फबाट एन आर एन स्विजरल्याण्डका आइ सिसी सदस्य शिव रिजालले स्वागत मन्तब्य दिए । यो टुर्नामेन्टका संयोजक निराजन श्रेष्ठले नेपालीहरु विश्वकै सबैभन्दा आकर्षण र सहभागि हुने खेलमा नेपालीहरु युरोपमै बसेर पनि किन पछाडि परे ? अब नेपालीहरुपनि मैदानमै उत्रिएर अगाडि बढ्नु पर्ने र त्यसको शुरुवात स्विजरल्याण्डले गरेको भनाई राखे । यो खेलमा नेपालीहरु पछी पर्नुका कारण खोजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने सोच्नुपर्ने बताए । खेलकूद कमिटिको तर्फबाट खेलका बारेमा केही नियम र खेलकूद समितिले बनाएका प्रावधानबारे दिपक शर्मा खतिवडाले जानकारी दिए ।
अर्का विशेष अतिथी एन आर एन युरोपका संयोजक अर्जुन श्रेष्ठले ‘विश्व प्रसिद्द खेलाडीहरु मेस्सी, प्ले, रोनाल्डो र बेकह्यामहरु अब नेपाली समूदायमै जन्मिने संभावना देखिएको’ बताउँदा धेरैले ताली बजाए ।
कार्यक्रमका सभापती धर्म गुरुङ, मुख्य अतिथी राजदूत दिपक धिताल, खेल नियम बारेमा दिपक शर्मा खतिवडाले आआफ्ना भनाई राखे । राजदूत धितालले नेपालीहरुको चासो अहिले पश्चिमा बिकसित देशहरुमा बढिरहेको, नेपाली युवाहरुको क्षमता बढेको र उनीहरुले चनाखोपूर्वक हेर्ने र उच्च मूल्यांकन गरिरहेको जानकारी दिए ।
दोस्रो दिनको खेलमा चासो बढी हुनु स्वभाविक थियो । किनभने क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनलसम्म कसले हस्तक्षेप गर्न सक्छ भन्ने खुल्दुली थियो । अलिकती समय पाउनसाथ खेलाडीहरु बल लिएर ब्यायममा देखापरिहाल्थे । खेलाडीहरुपनी अरु टिमले खेलेको हेर्थे केही बेर । त्यसपछी कुनातिर लागेर अरु टिमका कमजोरी, आक्रमणका शैलीबारे बहस गर्थे । उनीहरुको यो यो ठाउँमा कमजोरी छ हाम्ले यसो गर्ने यार’ भन्दै छलफल गरेको सुनिन्थ्यो ।
एन आर एनका पूर्व अध्यक्ष जिवा लामिछाने आउँदै छन विशेष अतिथिका रुपमा भन्ने थाहा पाएकालेपनि धेरैलाई चासो बढाएको थियो । फाईनल खेल शुरु हुने बेलामा लामिछाने र एन आर एन केन्द्रिय महासचिव कुमार पन्त आइपुगे । स्विजरल्याण्डका नेपाली राजदूत दिपक धिताल, जिवा लामिछाने र कुमार पन्तले सँगै बसेर खेल हेरिदिएपछी बातावरण थप रमणिय बन्यो ।
भनेजस्तो नहुँदा डाङडुङ
(दोस्रो खेलमा पाएको पहेँलो कार्ड)
(यो कार्ड दिएपछि बबाल शुरु भो)
(देब्रेतिर फुस्रो लुगामा रहेका पोर्चुगलका गोल रक्षक रेफ्रीलाई गोद्न तम्सिँदै)
क्वाटर फाईनल खेल पोर्चुगलको नेप्चुन टिम र एन आर एन स्विजरल्याण्ड बिच भएको थियो । शुरुमा स्विस टिमले राम्रो प्रदर्शनी गर्यो । त्यसपछी स्विस टिमको गल्ती हुँदा नहुँदापनी पोर्चुगलको टिमले रेफ्रीलाई तथानाम गाली गर्न थाले । खेलाडीहरुबिच बल फुत्काउन धकालाधकाल हुँदापनि ‘ओ भाई फाईट खेल्ने हो ? खेल्ने भए सिङगल सिङगल खेलम, बाहिर गएर खेलम’ भन्दै फोहोर शब्दहरु बोल्न थाले । आमा चकारी गाली गरेर उनीहरुले खेलाडी, रेफ्री र आयोजकको मानमर्दन गरिरहेका थिए । स्विस खेलाडीले बल आफ्नो पकडमा ल्याउन खोज्दा पोर्चुगलका खेलाडी जब लडे त्यहाँ तनाब भैहाल्यो । रेफ्रीले दुई पटक पहेंलो कार्ड दिएका स्विजरल्याण्डका खेलाडीलाई तत्कालै रातो कार्ड दिएर खेलबाट निकाल्नुपर्छ भन्न थाले ।
(रेफ्रीलाई कुट्नबाट जोगाउन अँगालो हालेर तान्दै दर्शकहरु)
रेफ्रीले भने अर्को खेल खेल्न बन्देज लगाउने हो यो खेलमा होइन, रातो कार्ड दिनु पर्दैन भन्नासाथ आक्रमणमा उत्रिन खोजे पोर्चुगलका खेलाडीहरु । उनीहरुले रेफ्रीलाईनै हान्न खोजेका थिए । स्विस टिमका खेलाडीहरु सहनसिल बनिदिएकाले ठुलो झगडा हुन पाएन । समस्या समाधान भैसकेपछिपनि पोर्चुगलका खेलाडीहरु अपशब्द बोलिरहेका थिए । वारीपरिबाट जम्मा भएका बुझक्कीहरुको प्रयासले गर्दा नराम्रो घटना हुनबाट जोगियो ।
लामो बिबाद पछी रेफ्रीले स्विजरल्याण्डका खेलाडीलाई रातो कार्ड दिएर खेल मैदानबाट बाहिर्याए । त्यसपछि बिबाद साम्य भयो । तर स्विजरल्याण्डको टिमबाट एक जना खेलाडी घटेपछि उनीहरु खेलमा कमजोर मात्रै देखिएनन् कि भावनात्मक रुपमै कमजोर बने ।
खेलकालागि एक्लैले पाँच लाख सहयोग
एन आर एन स्विजरल्याण्डले खेल त आयोजना गर्यो । तर खर्चको सहि आँकलन गर्न नसक्दा उनीहरुले सोचेको खर्चले धानेन । आयोजकहरुले खर्च जुटाउन खोजे । एन आर एन युरोप संयोजक अर्जुन श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष भवन भट्ट लगायत धेरै जनासित उपाय खोजियो । अर्जुन श्रेष्ठले एक हजार युरो सहयोग दिने घोषणा गरे । भवन भट्टले एक हजार युरो दिने कबुल गरे । तर कार्यक्रम समापनका दिन आएका एन आर एन पूर्व अध्यक्ष जिवा लामिछानेले आफ्ना तर्फबाट पाँच हजार युरो दिने घोषणा गरे । यसले आयोजकहरुलाई आर्थिक रुपमा धेरै राहत मिल्यो । त्यती मात्रै होइन, एन आर एनकै इतिहासमा नेपाली यूवाहरुलाई आकर्षण गरेर आयोजना गरेको यो पहिलो ठुलो कार्यक्रम भएकालेपनि यसलाई विशेष महत्वका रुपमा लिएको । यसलाई विश्वकप, युरो कप जस्तै बनाएर विश्व भरिका नेपालीको साझा कपका रुपमा लैजानुपर्नेमा लामिछानेले विशेष जोड दिए ।
एन आर एनका केन्द्रिय महासचिव कुमार पन्तले यो खेकूदको यती राम्रो छनक देखिएकाले अर्जेन्टिनाका विश्वप्रसिद्द खेलाडी मेस्सी खोज्न अब टाढा जानु नपर्ने, नेपाली मेस्सीहरुपनि जन्मिने आशा रहेको बताए । खेलको आयोजना, युवाहरुको संलग्नता र भब्यता देखेर हौशिएका उनले यो कार्यक्रमका लागी एक हजार युरो सहयोगपनि दिए ।
























