बिदेशमा कागज बनाउन भूकम्प पिडितको नक्कली दर्ता

DSC04925

मे महिनाको १५ का दिन म कास्की जिल्लाको गुर्जुङबाट घान्द्रुङ झर्दै थिएँ । घान्द्रुङ आइपुगेपछी बस पाइन्छन् पोखरा पुग्न भन्ने थाहा भयो। बस पर्खँदै थिएँ घान्द्रुङ किम्चेको कस्तुरी होटेलमा । यात्रुहरु अली नभरिएसम्म बस नचल्दो रहेछ । त्यसैले त्यहाँ केहीबेर बस पर्खिनुपर्ने भो । मैले होटेल साहुनीलाई एक प्लेट चाउमेन बनाउन लगाएँ । लेखक, पत्रकार हुँ भन्ने परिचय खुलाएको थिईन । चुपचाप कुनामा बसें । त्यहाँ म आउँदा एक फुली लगाएका बर्दीधारी प्रहरी हाकिम थिए । अर्का केही प्रहरी थिए । तिनको चाहलपहल हेर्न लायकको थियो ।

DSC04918

प्रहरी र होटेल वारीपरिका मानिसहरु सल्बलाए । खासखुस गर्न थाले । कोही प्रहरीको कानमा अरुले नसुन्नेगरी केही सुनाउँदै थिए । यति भएपछि थाहा भो, यहाँ केही गुपचुप वा नहुनुपर्ने काम हुँदै छ । टेबलको एक छेउमा केही थाहा नपाएझैं मैले तिनका चर्तिकला हेरिरहें । एक फूली लगाएका हाकिम समक्ष भाँग्राको लुगा लगाएका एक जना भद्रले आएर भने ‘सर मेरोपनि नाम भूकम्प पिडितको लिस्टामा हालिदिनोस है ?’ ए ए भूकम्प पिडितको नामावली तयार हुँदै रहेछ । तर किन सूचीमा राखिदिनुस् भन्नु पर्‍यो ? पिडितको नाम त प्रहरीले हेरेबुझेरनै राख्नु पर्दैन र ?

DSC04923

(निर्माण हुँदै गरेको यही घर हो भूकम्पको क्षतीमा दर्ता भएको) 

ति प्रहरी भूकम्प पिडितको नामावली उतार्न आएका रहेछन् । तिनको काम सबै घरमा पसेर हेर्नु, सहि पिडितका अवस्था केलाउनु, सरकारलाई सहि जानकारी दिनु हो । तर त्यहाँ नक्कली सूची उतारिँदै थियो । वा भूकम्प पीडित नभएकाको नामावलीपनि उतारिँदै थियो । भाँग्राको लुगा लगाएका भलाद्मीले नाम राखिदिन आग्र गरेपछी प्रहरी हाकिमले सोधे ‘किन राख्नुपर्‍यो तपाईंइको नाम सूचीमा ?’

‘राखिदिनुस् न सर ।’ उसले भन्यो ।

‘किन राख्ने पिडितनै नभएकाको नाम ?’

‘सर राहत लिन होइन क्या सर । बिदेश जान सजिलो हुन्छ भनेर क्या । राखिदिनुस् न ।’ अब भने प्रहरीले कुरो बुझ्यो । त्यसपछी हाकिमले भन्यो ‘ए ए ल ल ।’

DSC04917

प्रहरी हाकिम वरिपरि निकै ब्यक्ती लागे । पछ्याउँदै थिए । कस्तुरी होटेल भित्र आएर टेबल बसेका हाकिमसित साउती मार्न ‘एमाले नेत्री हुम्’ भन्ने एक जना महिला आ ईन । उनले जिल्लामा भूकम्प पिडितका रुपमा नाम लेखाउन धेरैलाई सहयोग गरेको । कम क्षती भएपनि धेरैको नाम धेरै क्षती हुने सूचीमा राखिदिन सफल भएको बताईन् । प्रहरी हाकिमको कानमा निकै बेर खासखुस गरिन । प्रहरीले टाउको हल्लाउँदै हस हस गरिराख्यो । ‘ल फरक नपरोस है ? तिनको नाम नछुटोस नी सर’ भन्दै ति बिदा भईन ।

त्यसपछी होटेलकी साहुनीले अर्को आग्रह गरिन ‘सर हाम्रो नामपनि लेखिदिनुस् न है ?’ प्रहरीले सोध्यो ‘किन ?’ उही त हो नी सर, अरुको जस्तै त हो नी । पछी काम लाग्छ नी ।’ प्रहरीका हाकिम ‘ए बुझें’ भन्दै बाहिरिए । उनी निस्किएपछी म पनि होटेलबाट बाहिरिएँ । तिनका चर्तिकला हेर्न ।

DSC04926

भर्खर निर्माण हुँदै गरेको घर रहेछ । त्यो घरलाई भूकम्पले ढलाएको भनेर सूचिक्रित हुँदै थियो । प्रहरी हेर्दै थिए । घरवाला ‘यसलाई सूचीमा हालिदिनुहोला सर’ भनेर आग्रह गर्दै थिए ।

घान्द्रुङ क्षेत्रमा भूकम्पले निकै थोरै संख्यामा मात्रै घरहरु भात्किएको थियो, क्षती पुर्‍याएको थियो । तर आंशिक क्षतीलाईपनि पूर्ण क्षतीमा सूचिक्रित गराउन लागेका थिए प्रहरी र स्थानिय सबै ।

DSC06678

अघिल्लो हप्ता फेरी जर्मनीबाट राहतका रुपमा पूनर्निर्माणकालागि केही रकम बोकेर मित्र यज्ञराज सुबेदी आए । हामी कविलास गविसका दुई वडा गयौं, प्रत्यक्ष रुपमा हेर्न । पहिलो दिन एमालेका चितवन सभासद पोख्रेलसहित मुख्य राजनीतिक दलका नेतासित भेटघाट गरियो । दोस्रो दिन हेर्नै गयौं । वडा कार्यालयले ९९ घर पूर्ण रुपमा क्षती भनेको थियो । तर पछील्लो दिन हामी दुई वडा का घर हेर्न जाँदा पूर्णरुपमा क्षती भएका घर पाँच वटा भन्दा देखेनौं । हामीसितै गएका कविलास गाविसका कार्यालय सचिवलेसमेत अप्ठेरो माने । किनकी त्यो सूची तयार पार्ने काममा उनकोपनि भूमिका थियो । हामीले उनलाई हाकै भन्यौं ‘तपाईहरुले तयार पारेको सूची झुटो रहेछ ।’ उनले प्रतिबाद त गरे । तर हामीसित दह्रो अडान राख्न र चित्त बुझाउन सकेनन् । बरु ‘यो सूची तयार पार्न अरुपनि गएका थिए’ भनेर पन्छिए ।

DSC06589

(पूर्णरुपमा क्षती रे, बाहिर यही हो, भित्रपनि खासै केही भएको देखिएको थिएन)

DSC06593

DSC06598

(पूर्णरुपमा क्षती रे, बाहिर यही हो, भित्र चोटामा अलिकती ढुंगा खसेको देखिएको थियो)

त्यताका स्थानियपनि घरका चोटामा लगिलगी देखाउन खोज्थे घत्केको भन्दै । बाहिरबाट सद्दे देखिएका घरका मानिसलेपनि ‘भित्र चर्केको छ’ भन्दै पूर्णरुपमा क्षती भएको घर भनेर दर्ता गराइदिन हामीसितै आग्रह गरेका थिए । उनीहरु राहत पाइने नाममा जबर्जस्ती घर क्षती भएको सूचिक्रित गराउन आग्रह गर्थे ।

DSC06660

(नयाँ घर बनाउन भत्काएको तर भूकम्प गएपछि भूकम्पको क्षतीमा दर्ता गरिएको घर) 

कविलास गाविसको वडा नंबर नौमा जाँदा त अचम्मैको घटना भयो । भूकम्पले ढालेको घर हेर्न गयौं । तर त्यो घर भूकम्पले ढालेको नभएर आँफैले भत्काएका रहेछन् भन्ने एक जना वालकबाट थाहा पायौं । घर हेरेर फर्किँदा हामीसितै गएका बाबुरामजीले एक जना वालकसित सोधे ‘बाबु घर कसरी कहिले ढलेको हो ?’ वालकले जवाफ दिए ‘घर त बाबाले भत्काउनु भएको हो ।’ कहिले ? भूकम्प जानु अघिनै भत्काउनु भएको हो, नयाँ घर बनाउने भनेर ।’  भूकम्प गएपछि त्यत्तिकै छोडेका रहेछन्, शायद भूकम्पको क्षतीका रुपमा देखाएर क्षतीपूर्ती लिन ।

यस्ता घटना हामीले धेरै ठाउँमा ब्यहोरेका, भोगेका छौं । नक्कली पिडितका रुपमा धेरैले राहत लिएका छन् । राजनीतिक दलहरुनै आंशिक क्षती भएकालाई पूर्ण क्षती भनेर बनाउन लागेका छन् । प्रशासनले निगरानी गर्नुपर्ने हो । तर प्रशासन स्वयं झुटो बिवरण बनाउन लागेको छ । प्रहरी  टोलीपनि नक्कली सूची बनाइदिन सहयोगि बनिदिएको छ । राजनीतिक दल, कार्यकर्ता, प्रशासन र प्रहरीलेनै नक्कली सूची बनाइदिएपछि निगरानी गर्ने कसले ?

तपाइँको प्रतिक्रिया