‘दश मिनेटले गर्दा धरहराबाट बाँचें’

santa-bahadur

चितवनको रत्ननगर टाँडी बजारमा सुरेन्द्र कर्माचार्य भेटिए । उनैको हार्डवेयर पसलमा । ‘धरहराबाट धन्न धन्न बाँचेका मानिस छन नी ह्याँ’ सुरेन्द्रले सुनाए ।

‘भेट्न सकिन्छ ?’

‘सकिन्छ ।’

उनले काभ्रे जिल्ला, पनौती नगरपालिका-९ का सन्त बहादुर तमाङलाई बोलाए । लज्जालु स्वभावका उनी पहिले मुसुक्क मुस्कुराए । ‘धन्नै मरेको नी’ हत्तपत्त भनिहाले ।

पहिलो ठुलो भूकम्प गएको दिन वैशाख १२ गते बिहान उनी काठमाडौंको सुन्धारातिर गएका थिए । मनले भन्यो ‘एक पटक सुन्धाराको टुप्पाबाट राजाधानी शहर नियालौं । उनले टिकट काटे । धरहरा चढे । १० बजेर ४० मिनेट जाँदा धरहरातिर उकालो लागे । टुप्पोमा पुग्नासाथ के भो के । उनको पेट कटक्क भयो । केहीबेर धरहराको टुप्पोबाट शहर नियाले । नियाल्दै थिए । पेटभित्र गड्याङगूड्उङ गरे जस्तो भो । पेट चपक्क थिच्दापनी सन्चो हुने छाँट देखिएन । झन झन सहनै नसक्ने भो । दिसा बस्न मन लाग्यो । ‘अब दिसा नबसे त लुगामै हुन्छ कि भो, मलाई खप्नै भएन । पेटमा के के दगुरेको जस्तो लाग्न थाल्यो’ उनले सुनाए ।

ओर्लिनासाथ चर्पी छिरे । निस्किनासाथै अचम्म लाग्यो उनलाई । शरिर पुरै घुमाए जस्तो भो । छिनमै गड्याङ गुडुङ । बड्याम्म । हटहट हटहट । पुरा आवाज आयो । केही बित्यास परेको उनले देखिहाले । बल्ल लाग्यो, भूकम्प गएछ । उनका आँखै अगाडि दगुरिरहेका मोटारसाईकल बल्डङ बल्डङ ढले । ‘भुइँ त रोँटेपिङ जस्तरि घुमेको’ उनले देखे । वारीपरिका घरहरु सबै ढले । धरहरा त बुल्डुङ्गै भयो । छिनभरमै भागाभाग शुरु भो । कोलाहल मच्चियो ।

उनलाई अरुका घर भत्किएका, पल्टिएका देखेर अचम्म लाग्यो । ‘के भो होला आफ्नो घर ?’ पिरोलिए । फोन हानेको हान्यै गरे । दाजुभाई, छरछिमेकी । अँहँ फोन लाग्दैन । उनलाई झन लाग्यो ‘मेरै घरपनि उड्यो कि क्याहो ? किन लाग्दैन त फोन ?’ भूकम्प गएपछि फोनले काम गर्दैन भन्ने हेक्का उनलाई थिएन । अरुका घर लड्दा अचम्म मानेका उनी पछी थाहा पाए, आफ्नै घरपनि लडेछ ।’

यतिखेर उनी चितवन टाँडी बजारमा आफ्नै साथीसित छन । उनलाई काभ्रे जान मन लाग्छ । ढलेको घर ठड्याउने मन छ । तर मनमा यती त्रास छ कि उनी ति दगुर्दै गरेका मोटारसाईकल सम्झन्छन । सुतेका घर देख्छन । कानमा मानिसहरुको कोलाहल गुन्जिन्छ । अनी पेट दुखिदिएर आफू बाँच्न पाएको प्रसंगले झस्यांग झस्यांग बनाउँछ “ओहो त्यो दिन पेट मात्रै नदुखिदिएको भए म मर्ने धरहराबाटै खुर्मुरिएर । आँफैं चढेर ओर्लेको धरहरा क्षणभरमै टुक्रा टुक्रा परेर खसेको उनलाई अझैपनि सपना जस्तो लाग्छ । ‘म त दिसा गरेर चर्पीबाट निस्किनासाथ धरहरा लड्यो । पेट २० मिनेट पछी मात्रै दुखेको भएपनि म त चिलिमा फर्किएको हुन्थें । ओहो म त मरेर बाँचेको मान्छे नी’ आधा हाँसे झैं उनी मुसुक्क गरे ।

तपाइँको प्रतिक्रिया