जनावरले भूकम्पको पूर्वसंकेत दिन सक्छन् ?

  • ददि सापकोटा

writer-journalist-dadi-sapkota-11045378भूकम्प जानु पहिले जनावरहरूले असाधारण क्रियाकलाप देखाएको पत्ता लगाएका थिए, रोमन इतिहासविद् आएलियनले। त्यो क्राइस्ट जन्मनुभन्दा ३ सय ७३ वर्षअघि नै थियो। कुनै बेला कोरिथियन खाडीको समुद्री किनारमा अवस्थित हेलिके सहरमा भूकम्प जानु पाँच दिनअघि मुसा, न्याउरीमुसा (वेसेड्स), सर्पहरू, कनसुत्लो र कीराहरू एक्कासी जमिनमुनिबाट निस्किएर सहर बाहिर गए। त्यसपछिका शताब्दीमा जनावर र भूकम्पसित सम्बन्धित धेरै संस्कृति, संस्कार, उखान र विश्वासहरू देखापरे।

सुरुतिरको परम्पराले के भन्छ भने क्याटफिसले खतराको पूर्वसूचनाको संकेत गर्छ। मानिसहरूलाई तत्कालै हुनसक्ने विनाशको खतरा दिन्छ। अथवा वाटर ड्रागन भनिने पानीमा पाइने खतरनाक ड्रागनलाई निलेर हुनसक्ने विनाश अन्त्य गरिदिन्छ। चिनियाँ अधिकारीहरूका अनुसार भूकम्पको भविष्यवाणि गर्न ५८ प्रजातिका जनावर उपयोगी हुन्छन्। सर्प, मुसा, चमेराहरू अति महत्त्वपूर्ण जनावरमा पर्छन्। कुन जनावरको क्रियाकलाप कस्तो हुन्छ भन्ने व्याख्या गरिएको बुकलेट नै बाँडिएको हुन्छ चीनमा। जीवजन्तुले पक्कै पनि भूकम्पको केही न केही पूर्वसंकेत गर्ने भएकैले तिनको क्रियाकलाप निगरानी गरिएको हो।

सन् १९७५ मा जमिनमुनि शीत निद्रामा बसेका सर्पले पनि लुकेको ठाउँ छाडेर भागे हाइचेङ सहरमा। त्यो बेला सहरमा उद्धार गरिएको थियो। फब्रुअरी ४ का दिन सहरमा ७.३ रेक्टरको भूकम्प गयो। यसमा एक हजारभन्दा बढी मानिसको जयन गयो। जनावरको भविष्यवाणिले गर्दा ठूलो जनसंख्या भएको सहरमा उद्धार गरियो। जनावरले गर्दा ठूलो सफलता मिलेको विश्वास गरियो। त्यसको एक वर्षपछि जुलाई २७, १९७६ मा चीनकै ताङसान सहरमा अर्को भूकम्प गयो। ६ लाख ५५ हजार मानिस मारिए त्यो बेला। पछि थाहा भयो, त्यो भूकम्प जानुअघि जनावरले असामान्य क्रियाकलाप देखाएका थिए तर त्यो बेलाको संस्कृतिक र राजनीतिक उचारचढावले गर्दा जनावरको क्रियाकलापमा ध्यान दिइएन। वेनचुवान सहरमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प जाँदा भ्यागुताहरू मियानयाङ सहरबाट बसाइँ सरेका थिए। पछि त्यो सहरमा क्षति भएको थियो।

त्यसो त पश्चिमी मुलुकहरूमा पनि भूकम्प जानु केही घण्टा वा दिनअघि वा पछि जनावरका विभिन्न क्रियाकलापहरू अभिलेख गरिएका छन्। जर्मनीको दुइसबर्ग एसन विश्वविद्यालयमा रेड उड आन्ट्स भनिने कमिलामा गरिएको अनुसन्धानबाट भूकम्प आउनुपूर्व कमिलाहरूले अन्य बेलाभन्दा नितान्त फरक ढंगले सञ्चार आदान प्रदान गरेको पत्ता लागेको छ। भूकम्प निकट भएपछि कमिलाहरूले अचम्मै तरिकाले बानी व्यवहार बदल्छन्। तिनले बनाएको घर (माउन्ड) भित्र–बाहिर गर्न रोकिन्छन्। बरु भूकम्प आउनु अघि, गएको बेला र एक दिनपछिसम्म तिनीहरू घर अगाडि जम्मा हुन्छन्। तिनले घरभित्रका सम्पूर्ण क्रियाकलाप रोक्छन्। ढिस्को अगाडि नै भेटघाट गर्छन्। तिनले ब्रह्माण्डमा तनाव उत्पन्न भएको संकेत थाह पाउनाले घर भत्किन सक्छ भन्ने जानेर बाहिर बस्ने गरेका हुन्।

यो पत्ता लगाउन जर्मनीमा अनुसन्धान गरिएको

थियो। भूजैविक वैज्ञानिक ग्याब्रियल बेरबेरिचले त्यो अनुसन्धान गर्दा रेड आन्ट्स भनिने कमिलाहरूले आफ्नो केमो रिसेप्टर कोषको माध्यमले वातावरणीय ग्यासको निष्कासनलाई सचेतन गर्छन्। त्यो सचेतनले कमिलाहरूलाई कार्बन डाइ अक्साइडको स्तर ग्रहण गर्न सहयोग गर्छ। कमिलाहरूले शरीरमा

एक खालको राडार प्रणालीको विकस गरेका हुन्छन्।

त्यसलाई मेग्नेटोरिसेप्टर सेल भनिन्छ। त्यसले कमिलालाई विद्युतीय चुम्बकीय क्षेत्रमा आउने परिवर्तनलाई पत्ता लगाउन सहयोग गर्छ।

हात्तीदेखि माकुरासम्मले मानिसले पत्ता नपाउने कम्पन पत्ता पाउने बानी नै हुन्छ। जनावरको एउटा छुट्टै संसार छ, त्यस्तो थाह पाउने जसबाट हामी पूरै अलग र अज्ञात छौं। हल्लिने, बेरिने, फनफनी घुम्ने प्रक्रिया हल्लन र कम्पनहरूको तरंग बालुवा र रूखका हाँगा जस्ता जमिनमुनिको ठोस वस्तुबाट सर्दै जान्छन्। अन्तत : कम्पनहरू जनावरका बनावट वा इन्द्रियहरूमा पुग्छन् जुन इन्द्रियहरू यस्ता कम्पन पत्ता लगाउन विकसित भएका हुन्छन्।

बास्तवमा हामी वरिपरिका सबै चीज चलायमान छन्। रूखबिरुवा, घर, पिंढी, गल्ली सबैमा कम्पन हुन्छ। बगैंचामा यस्सो निस्किए पनि थुप्रै जीवजन्तुले महसुस गर्ने कम्पन पैदा हुन्छ। सन् २००४ मा सुनामीले सुमात्रामा ठूलो धनजनको क्षति गर्‍यो तर पछि हेर्दा कुनै पनि जनावरका हड्डीहरू कतै फेला परेनन्। किनभने सुनामीको ज्वार आउनुअघि नै जनावरहरू भागेर टापुका सुरक्षित स्थलतिर गइसकेका थिए।

धेरै जनावरले मानिसको कानले सुन्न नसक्ने आवाज ग्रहण गर्न सक्छन्। त्यो आवाज हावामा एकदम छिटो फैलिन्छ। मानिसका कानले सुन्न नसक्ने मिहिन आवाज ३ सय मिटर प्रतिसेकेन्ड र सुनामी दुई सय मिटर प्रतिसेकेन्ड फैलिन्छ। न्यून फ्रिक्वेन्सी आवाजको तरंग र कम्पन जुन कमजोर भूकम्पबाट आउँछ। यो हात्ती, चरा, मुसाले महसुस गर्न सक्छन्। चट्टानहरू फुट्दा, चर्कंदा उच्च फ्रिक्वेन्सीको आवाज आउँछ। त्यस्तो आवाज जमिनमुनि बस्ने भएकाले मुसाहरूले महसुस गर्न सक्ने हुन्।

माछा, चरा र अरू जनावरले चुम्बकीय धरातल वा विद्युतीय तरंगमा हुने परिवर्तन पत्ता लगाउन सक्छन्। सर्प र केही कीराहरूले उष्म वायुको प्रवाह (थर्मल) को भिन्नता पत्ता लगाउन सक्छन्, तिनको सूक्ष्म रातो रंगको दृश्यका आधारमा। वातावरणमा परिवर्तन भएपछि जनावरले त्यसको अनुभूति गर्छन् भन्ने बुझ्न गाह्रो छैन। वातावरणमा आउने बदलिको संकेत जनावरले गरेको प्रत्यक्ष देख्ने र भोग्ने पनि गरिएको छ। भूकम्प अघि त्यस्तो फेरबदल वातावरणमा आउन सक्छ जुन जनावरले अग्रिम थाहा पाउँछन्।

अहिले वैज्ञानिकहरूले थुप्रै खाले के आशंका गरेका छन् भने दुई लाखभन्दा बढी कीरा र एक खाले बिच्छी (आरक्निड) का प्रजातिले भूकम्पीय सञ्चार आदानप्रदान गर्छन्। झ्याउँकिरी, काटिडिड भन्ने कीरा, माकुरा, खजुरा यसरी धेरैनै सञ्चार आदानप्रदान गर्ने जीवमा पर्छन्। उभयचरमा भ्यागुताहरू जमिनको कम्पन पत्ता लगाउने उच्च क्षमताका जीवमा

पर्छन्। सर्प र छेपारा जस्ता सरिसृप पनि जमिनको अवस्था बोध गर्ने समूहमा पर्छन्। भूकम्पको पूर्व सूचना पाउने जनावरमा तोकेरै इंगित गर्न सकिने कुनै अंग छैन तर केचाहीँ पक्का भन्न सकिन्छ भने वातावरणमा आउने कम्पनलाई जनावरले ग्रहण गरेर प्रतिक्रिया जनाउँछन्।

हिजो अप्रिल २९, २०१५ को कान्तिपुरमा प्रकाशित

http://www.ekantipur.com/np/2072/1/16/full-story/408149.html

तपाइँको प्रतिक्रिया