नेपालमा हिम चिप्लेटी
स्विजरल्याण्डका डाँडामा झ्यालबाट हिउँको सेताम्मे देखिन थालेपछि पत्रकार निराजन श्रेष्ठ एन आर एन स्विसजरल्याण्डका अध्यक्ष धर्म गुरुङलाई संपर्क गरिहाल्छन ‘स्की (हिम चिप्लेटी) खेल जाने होइन ?’ हिमाल चिप्लेटीका अर्का पारखी चितवन मेघौलीका राम पारीयारसहितको यो टोली हिउँ खेल्ने पिर्का (स्नो बोर्ड) बोकेर हिमालतिर लाग्छ । दिनभरी स्विजरल्याण्डका हिमालमा हिम चिप्लेटी खेलेर फर्किन्छ । फर्किँदा यिनीहरुको सधैं बहस हुने एउटा बिषय छ ‘नेपालमा किन नखेल्ने ? पर्यटकहरुलाई हिम चिप्लेटी किन नखेलाउने ?’
जाडोयामभरी यि युवाहरु स्विस हिमालमा हिम चिप्लेटी खेल्छन् । स्विजरल्याण्डमा पढ्न आएका नेपाली बिद्यार्थी र अन्य नेपालीलाईपनी सिकाउने गर्छन् । ‘हिउँनै हिउँको चुचुरोबाट सानो पिर्काको भरमा चिप्लिँदै फेदीसम्म ओर्लिँदाको मजा र रोमान्चकता व्याख्या गर्नै सकिन्न’ निराजन श्रेष्ठ भन्छन् ।
हिम चिप्लेटी कस्तो खेल हो ?
हिउँमा चिप्लिएर खेल्ने खेललाई समग्रमा स्की (हिम चिप्लेटी) भनिएतापनि यसका बिभिन्न रुप र तरिका हुन्छन् । कुनै पिर्का जस्ता बोर्डमा दुई ठाउँमा खुट्टा घुसार्ने र त्यसमा टनक्क पेटी कसेझैं कसेर हिमालको चुचुरोबाट चिप्लिँदै तल झर्ने गरिन्छ । यसलाई स्नोबोर्डिङ भन्छन् । त्यसैगरी दुबै खुट्टामा लौरा जस्ता जुत्तालाई गोडामा हुकले झैं अल्झाएर दुई हातमा लठ्ठी टेक्दै, मोटरसाईकल चलाउँदा लाउने हेल्मेटसमेत लगाएर खेलिने अर्को खेल प्रसिद्द छ । लौठ्ठीका जुत्ता जस्तामा टेकेर हिउँमा चिप्लिँदै डाँडाबाट भिरभिरै ओरालो हुत्तिएर स्कीको मज्जा लिन्छन् ।
बब्स्लेड, लुगे, स्केलेटन, आईस हक्की, गिगर स्केटिङ, आइस डान्सिङ, स्पिड स्केटिङ, कर्लिङ, बिआथ्लोन लगायत दर्जनौं खाले हिम खेल हुन्छन् । ति मध्ये स्की र स्नोबोर्डिङ बढि प्रचलित छन् । स्विजरल्याण्ड, फ्रान्स, जर्मनी लगायतका युरोपेली देशहरुमा स्की खेल्नकै लागि एक हप्ता छुट्टी पाईन्छ । यो छुट्टीको बेला युरोपेलीहरु हिमालका चुचुरामा जान्छन, स्की खेलकालागि । हिउँमा खेल्नु यहाँको संस्कृतिनै हो ।
नेपालमा हिम चिप्लेटी
नेपालमा हिम चिप्लेटी नखेलिनेनै त होइन, खेलिन्छ । तर ब्यवशायिक रुपमा भने बिकास हुन सकेको छैन । विश्वकै सबैभन्दा अग्ला अग्ला चुचुराहरु भएको देश जहाँ बाह्रैकाल बाह्रै महिना हिउँले ढाक्छ । तरपनि किन हिम चिप्लेटी र हिउँसंवन्धी अन्य खेलहरुको बिकास र प्रवर्धन हुन सकेन ? नेपालमा ब्यावशायिकरुपमा हिम चिप्लेटी खेलको बिकास संभव छ कि छैन ? यस बिषयमा हिम चिप्लेटीका पारखीहरु एकमत छैनन् ।
नेपालमा हिमाल आरोहण गर्ने गाईडहरुलाई तालिम दिने प्रशिक्षक अँसेन बो विश्वकै उच्च हिमालहरु भएपनि नेपालका हिमालहरु हिम चिप्लेटीकालागि अनुपयुक्त रहेको बताउँछन । उनको भनाइमा नेपालका हिमालमा हिमरेखाको भाग पाँच हजार मिटर माथि पर्छ । पाँच हजार माथिसम्म स्कीका साधन लिएर उकालो चढ्दा निकै लामो समय लाग्छ । उस्तै परे एक दिनमा पुग्नै सकिन्न । बल्ल बल्ल माथि पुगेपनि लेक लाग्ने संभावना उत्तिकै हुन्छ । पाँच हजार माथिसम्म उकालो चढेर थाकेको ज्यानले कसरी स्की खेल्ने ?
‘हिम चिप्लेटी खेलकालागि महत्वपूर्ण भनेको हिउँ पाइने उचाई हो । आल्प्स क्षेत्रका हिमालहरु होचा छन् । हिमालको फेदीबाटै स्की खेल्न मिल्ने हिउँ जमेको हुन्छ । नेपालमा पाँच हजार मिटरमा पुग्दापनि चिप्लेटी खेल्न पुग्ने हिउँ हुन्न’ प्रशिक्षक बो भन्छन् । तर विश्वकै अग्ला शिखरबाट चिप्लिन पाउने हुनाले शानकालागि पनि केही स्की खेलडीहरु वर्षेनी नेपाल जाने गरेको उनी सुनाउँछन् ।
तर स्की पारखी एन आर एन स्विजरल्याण्डका अध्यक्ष धर्म गुरुङ भने अँसेन बोका तर्कमा सहमत छैनन् । आफ्नो प्रारम्भिक अध्ययनले नेपालमा स्कीको भरपुर संभावना देखाएको दाबी उनी गर्छन् । लम्जुङ जिल्लाको लेकाली भाग, तिलिचो तालको काख, सगरमाथाको आधारशिविर र डोल्पामा सजिलै स्की खेललाई बिकास गर्न सकिने धारणा उनको छ । स्विजरल्याण्डका डाँडामा स्की खेल्दै आएका राम परियार अन्यत्र हुन नसकेपनि डोल्पामा भने स्की खेल्न सकिने बताउँछन । ‘अन्यत्र कहाँ कहाँ हुन्छ अध्ययन गर्नु पर्छ । तर डोल्पामा भने होचा पहाडकै फेदीदेखिनै हिउँ जम्ने भएकोले त्यहाँ स्की खेल्न सकिन्छ’ परियार भन्छन् ।
स्की खेलको बिकास गर्नका लागि सबैभन्दा ठुलो समस्या प्राविधिक तयारी भएको निराजन श्रेष्ठ बताउँछन् । उनको भनाइमा हिउँ जमेको पहाडको चुचुरोमा पुग्न रेल वा केबलकार चाहिन्छ । कुन कुन ठाउँमा स्की खेल्न सकिन्छ भन्ने अध्ययन हुनुपर्छ । स्की खेल्नेहरुलाई केबरकारले उचाईमा लगेर छोडिदिन्छ र त्यहाँबाट चिप्लिँदै तल ओर्लिन्छन् । ‘केबलकार नभएसम्म स्की खेल्ने ठाउँमा हिँडेर जानै सकिन्न । नेपालमा झन बढी उचाईमा जानुपर्ने हुनाले झन नभैहुन्न । ‘तर सधैं लोडसेडिङ हुने देशमा स्कीको के कुरा गर्ने ?’ श्रेष्ठ भन्छन् ।
धर्म गुरुङ स्की खेलमा नेपाली वा बिदेशीलाई आकर्षित गर्नको लागि ठुलो बाधक विमा पद्दती रहेको बताउँछन् । स्विजरल्याण्डलगायत युरोपका स्की खेलिने देशमा मासिक २०, २५ युरोको विमा गरेपछी सम्पूर्ण दूर्घटना, जीवन विमा र उपचार खर्च विमा कम्पनीले ब्यहोर्छ । स्की खेल्दा दूर्घटनामा परे तत्काल हेलिकोप्टरले उद्दार गरेर अस्पत्ताल लैजान्छ । यसकलागी थप रकम तिर्नु पर्दैन । यही कारणले युरोपमा ढुक्कले स्की खेल्छन मानिसहरु । तर नेपालमा यस्तो सुविधा छैन । हेलिकोप्टरलाई आँफैंले अग्रिम रकम बुझाएर स्की खेल्न जानुपर्छ । यही कारणले मानिसहरु जोखिम लिन चाहन्नन् । ‘स्की अलिकती जोखिमपूर्ण खेलपनि हो । केही भैहाले घण्टाकै एक लाखका दरले आफ्नो खर्चमा कसले सक्छ हेलिकोप्टर ल्याउन ? विमा पद्दती सरल र सुलभ नबनाएसम्म नेपालमा स्की खेलको बिकास गर्न गाह्रो हुन्छ’ गुरुङ र परियारको संयुक्त तर्क छ ।
प्रथम इन्टरनेशनल महिला स्विस गाईड निकोल निकीपनि नेपालमा स्की खेलको संभावना देख्छिन् । तर त्यसकालागि कुन कुन ठाउँमा स्की खेल्न सकिन्छ भन्ने अध्ययन र केबलकारको अभावले त्यो हुन नसकेको धारणा उनको छ । भन्छिन् ‘विश्वका अग्ला हिमालबाट चिप्लेटी खेल्न पाईन्छ भन्ने हो भने विश्वका धेरै मानिस आकर्षित हुन सक्छन् । तर नेपालमा स्की खेल्न जाने ठाउँसम्म पुग्ने यातायात छैन । केबलकार र स्की स्पर्ट बनाएकै छैन । त्यसैले स्की खेलको बिकास नभएको हुन सक्छ’ उनी भन्छिन् ।
स्की खेल ज्यादै महँगो भएकाले नेपालमा त्यसको बिकास गर्न गाह्रो हुनसक्ने धारणा राख्नेहरुपनि छन । स्की खेल्दा लगाउने लुगा, चस्मा र स्की बोर्डहरु जुटाउँदा युरोपमा ४, ५ हजार युरो लाग्छ । त्यत्रो रकम खर्च गरेर सायद नेपालीहरु स्की खेल्ने हैशियत राख्दैनन् ।
तर निराजन श्रेष्ठ भने त्यसमा सहमत छैनन् । नेपालमा किन्दा तुलनात्मक रुपमा स्कीका औजारहरु सस्तो पर्ने र नेपालमैपनि स्की खेलमा पैसा खर्च गर्न सक्ने जमात तयार भईसकेको श्रेष्ठ बताउँछन् । ‘स्की खेल महँगो त हो । तर स्की खेल्न पाए पैसा खर्च गर्न सक्ने नेपालीकै जमातपनि तयार भैसकेको छ । विश्वकै अग्ला हिमालमा स्की गर्ने भनेपछी बिदेशी त झन यसै आकर्षित भैहाल्छन्” उनी भन्छन ।
स्की छोटो समयमा लाखौं आम्दानी गर्न सकिने खेल भएकालेपनि नेपालमा यसको बिकास गर्नुपर्ने धारणा स्कीका पारखी नेपालीहरुको छ । ‘स्की रेसर्ट वर्षमा तिन चार महिनामात्रै खुल्छन् । तिनले वर्षैभरी पुग्नेगरी कमाउँछन् । यस्ता रिसोर्ट बनाउने हो भने विश्वभरिका मानिसबाट नेपालीले लाखौं लाख डलर कमाउन सक्छन्’ धर्म गुरुङ भन्छन ‘सरकारले केबलकार बनाइदियो र स्की स्पर्टको अध्ययन गरिदिए ‘स्की रेसर्टकालागी लगानीकर्ताको दु:ख हुन्न । नेपाली युवाहरुलाई स्कीको तालिम त हामीलेपनि दिन सक्छौं ।’
(यसका मुख्य भाग मिति २०७१ चैत्र ७ गते शनीबारको कान्तीपुर कोशेलीमा ‘चिप्लेटी’ शिर्षकमा प्रकाशित हुन्)

















