अन्तर्राष्ट्रिय नारी दिवश : के भन्छन त युरोपका केही नारीहरु ?
- सन्तोष न्यौपाने / बेल्जियम
आज अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरी बिभिन्न कार्यक्रम गरि मनाइयो । प्रवासमा रहेका नेपाली दिदि बहिनीहरुले पनि आआफ्नो तरिकाले कार्यक्रमहरु आयोजना गरि मनाए । बेल्जियम, पोर्चुगल, स्पेन, नेदरल्याण्ड तथा फ्रान्समा रहेका नेपाली नारीहरुले बिबिध कार्यक्रमको आयोजना गरेका छन । उनीहरुले आफुले सक्दो नेपालका महिला दिदि बहिनीहरुको लागि केही सहयोग गरिरहेका । नारी दिवसको अवसरमा उनीहरुको राय केहि बेग्लै रहेको छ । नारी दिवसको अवसरमा बेल्जियममा रहेका तयार पारीएको केहि संघसस्थामा आवद्द लगायतका महिला दिदीबहिनीहरु के भन्छन त् ? यसै बिषयमा उनीहरुको विचार ।
सिता सापकोटा
महिला समाजसेवी, बेल्जियम
आज हामी हरेक बर्ष मनाउँदै आईरहेको अन्तराष्ट्रिय नारी दिवस मनाउन गईरहेका छौँ । १०५ बसन्त पार गर्दै गर्दापनि हामी माथिका हिंसा कती न्युनिकरण भए भनेर नजर अन्दाज लगाउँदै छौँ । हिँसा आँफैमा अत्याचार हो । अत्याचार गर्नु वा सहनु दुबै दण्ड हो । आजको २१ औँ शताब्दीमा आएरपनि हामी नेपाली महिलाहरु माथि हुने गरेका हरेक खाले हिँसाको अन्त्य भएको छैन । जुन रुपमा महिला र पुरुषबिच समानताको प्रयास हनपर्ने हो, त्यो महिला पुरुष बिचको विभेदको खाडल महिला वर्गले मात्रै पुर्न सक्दैनन् । एकातिर जनसख्याको आधारमा महिलाबादीहरुले महिला अधिकार सुनिश्चित गर्नुपर्ने कुरा उठाएका छन् भने अर्कोतिर पुरुष बर्गमापनि महिलाहरु हामी सरहका सक्षम सवल समान नागरिक हुन् भन्ने चेतनाको बिकाश हुनु जरुरी दखिन्छ । उनिहरुलाई पनि हामी सरह हक, अधिकार दिनुपर्दछ भन्ने सोच पुरुष वर्गमा आउनु पर्दछ । अन्तमा महिलालाई खादा, मालामा सज्जिने पात्र नवनाउँ, अवसर दिउँ । जाने बुझेका महिलाले बुझ्दै गरेका महिलालाई हौसला बढाउँ, खुट्टा तान्ने प्रबृती हटाउँ । हरेक नारीको ईज्जत र सम्मान गर्न सिकौँ . अवसर र चुनौतीलाई पहिचान गरौँ . तब मात्र परिवार, समाज र राष्ट्र समृद्द बन्दछ । हिंसाको अन्त्य गरौँ . समतामुलक समाजको निर्माण गरौँ । यो हामी सबैको दायित्व हो ।
निर्मला बजगाई
अध्यक्ष, प्रगतिशील महिला मन्च बेल्जियम
नेपाली महिलाहरुलाई आज देश भित्रै सम्मानजनक बस्ने, रोजगारीको व्यवस्था गर्नुको सट्टा चौतफि बलात्कार, हत्या, दाइजोको नाममा हत्या लगायतका घरेलु हिंसाका साथै देश भित्र सगर्व बस्ने वातावरण निर्माण नगर्दा हजारौं महिलाहरु परदेशिनु परेको छ । आज खाडी क्षेत्रमा मात्र नभई अफ्रिका, एसियाका विभिन्न देशमा नेपाली महिलाहरु समस्यामा पर्दापनि नेपालको सरकार आंखा चिम्लिएर बसेको छ । हामी त्यसका विरुद्ध विविध ढंगले आन्दोलित छौ । हामी नेपाल सरकारलाई के खबरदारी गर्छौ भने नेपाली महिलाहरुलाई भारत लगायतका देशहरुमा बेच्नबाट रोकोस् र सम्मानजनक बस्ने बाताबरण निर्माण गरोस् ।
नेपालमा संविधानसभा मार्फत बन्ने संविधानमा महिला हक अधिकारको सुनिश्चिता गरिनुपर्छ । सम्पत्ति माथिको अधिकार, बच्चा जन्मेपछि आमाको नाममा पनि नागरिकता पाउने अधिकार, राज्यका सबै अंगहरुमा महिलाहरुको सम्मानजनक उपस्थितको ग्यारेण्टी लगायतका अधिरकारहरुको सुनिश्चिता गरिनुपर्दछ । जनयुद्ध र जनआन्दोलनको जगमा संविधान बन्ने भएको हुँदा परिवर्तनकारी शक्तिहरुको सहमतिमा संविधान जारीहुनुपर्दछ ।
कल्पना मगर, लुभेन बेल्जियम
विश्वको महिलाहरूले जस्तै नेपाली नारीहरूले पनि अन्तराष्ट्रीय नारी दिवसलाई अत्यन्त महत्वका साथ हेर्ने र मनाउने गर्दै आईरहेको छ । हामी संसारको जतिसूकै विकसित देशमा गएर बसेपनि नेपाली महिलाहरूको स्थिती जस्ताको तस्तै रहेको छ । हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण गर्ने ब्यबहार र आफूलाई आत्म निर्भर पारी दिनभर काममा खटियतापनि अन्ततः चूलो र चौकोको घेराबाट बाहिर जान नपाउनु जस्ता यथार्थताले हामी प्रवासी महिलाहरू पनि झन पिडीत बन्नु परेको अवस्था छ । जता जेभएपनि हाम्रो समस्या लिंगीय बिभेदकै कारण भएको भन्ने ठहर सहित राज्य पूनर्संरचनाको संघारमा पुगिरहेको वेला राज्यमा जनसंख्याको हिसाबले महिलाका अधिकार ५० % ले राखिनुपर्छ भन्ने म धारणा राख्न चाहन्छु ।
रिता पाण्डे सुबेदी
नेपाली नारी समाज बेल्जियम
बर्षमा यकपटक आउने नारि दिवसको दिनमा एउटा मात्र नारीको भलो हुने काम गर्ने हो भने धेरै राम्रो हुन्थ्यो । ५ तारे होटेलमा नारी सँग संवन्धित समस्याहरु उठान गर्नुभन्दा बिकट तथा पिछडिएको गाउँमा गएर नारीहरुलाई उनीहरुले पाउने कानुनी हक अधिकारको जानकारी दिने काम गर्दा बेस हुन्छ । हाम्रो नारि समाजले बिदेशमा रहेका महिलाहरुको सहयोग मार्फत नेपालमा बिभिन्न समस्यामा परेका नारीहरुलाई सहयोग गरेका छौं ।
बेल्जियममापनि श्रीमानको मृत्यु पस्चात एक नेपाली दिदीलाई सहयोग गर्यौं भने नेपालमा बृद्ध महिलाहरुको लागि भनेर नेपालमा जेष्ठ नागरिक भवन खोलेका छौ । मान्छे गएर भाषण गर्दैमा नारी दिवसको अर्थ राख्ने होइन । आफ्नो घर र परिवार भित्र रहेका नारि सदस्यहरुलाई साथीत्वको रुपमा लिनुपर्दछ जसले गर्दा धेरै नारीहरु स सम्मान जिउन पाउँछन |
मनु मल्ल, पोर्चुगल
१०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा पोर्तुगलमा नेपाली नारी समाज, पोर्चुगलले “प्रवासमा पनि पुरुष मानसिकताबाट नेपाली महिलाहरु किन शिकार बनि रहेका छन ?” भन्ने बारेमा विचार गोष्ठी कार्यक्रमका साथमा महिलासंग सम्बन्धित अन्य कार्यक्रम पनि राख्यो । करिव ८ महिना जति मात्र भयो पोर्चुगलमा यो समाज गठन भएको । त्यसकारण पनि नेपालमा रहेका दिदीबहिनीलाई सकेको केहि गर्ने लक्ष्य हुँदाहुँदै पनि केहि गरि सकेको भने छैन । पोर्चुगलमा रहेका महिला दिदीबहिनीहरुलाई सिपमुलक र रोजगारमूलक तालिम दिने उद्धेश्यले तीन महिने ब्युटी पार्लर सम्बन्धि तालिम दिंदै आएका छौ ।
देशमा नारी सम्बन्धित विभिन्न थरिका घटना घटेको सुन्न र पढ्न पर्दा त्यो क्षण जस्तो दु:खद क्षण अरु लाग्दैन । हत्या, हिंसा र बलात्कार जस्ता घटनाले त्रसित महिलालाई अझै आजभोलिको अर्को अनुहारमा एसिड छर्किने नयाँ घटनाले झन त्रसित बनाएको छ । युरोपको देशहरुमा त्यस्ता घटना हुँदै हुन्न भने पनि हुन्छ । यस्ता घटना घटाउने जो सुकैलाई सामाजिक बहिष्कार गरिनु पर्छ । समाजबाट पाउने विभिन्न अवसरबाट बन्चित गरिनु पर्छ । “नारीको ईज्जत नै वास्तविक मानवताको ईज्जत” हो भन्ने कुरा पुरुषले पनि बुझ्नु पर्छ । कडा भन्दा कडा सजायँको व्यवस्था हुनु पर्छ । पुरुषले महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक देखिन्छ ।





