नारी दिवश र पुरुषहरूको दायित्व

  • सिता सापकोटा / बेल्जियम

sita-sapkota-belgium“अन्तराष्ट्रिय नारी दिवस र महिला हिँसा ” आज हामी हरेक बर्ष मनाउँदै आईरहेको अन्तराष्ट्रिय नारी दिवस मनाउन गईरहेका छौँ । १०५ बसन्त पार गर्दै गर्दा पनी हामी माथीका हिंसा कती न्युनिकरण भए भनेर नजर अन्दाज लगाउँदै छौँ । हिँसा आँफैमा अत्याचार हो र अत्याचार गर्नु वा सहनु दुबै दण्ड हो । आजको २१ औँ शताब्दीमा आएर पनी हामी नेपाली महिला हरु माथी हुने गरेका हरेक खाले हिँसाको अन्त्य भएको छैन । महिला माथी हुने गरेका हिंसा नेपाल मा मात्रै होईन बिश्व मै थियो र छ पनी । तर आज संसार मै महिला हरु सबल, सक्षम र आत्मनिर्भर हुदैँ गर्दा धेरै हिंसाहरुको मुकाविला गर्न सकेका छन ।

अमेरिकाको एउटा मजदुर कारखानमा काम गरे बापत को महिला र पुरूषको ज्यालामा लैँगिक बिभेद भएको बिरुद्दमा समान ज्यादा पाउनु पर्दछ र समान पहुँच हुनु पर्दछ भन्दै महिला आन्दोलनको नेतृत्व क्लारा जेट्किनले शुरु गरेकी थिईन । त्यसलाई महिला मुक्ती आन्दोलन को नारा दिँदै अगाडी बढियो ।

सन १९६९ मा मात्रै अमेरिका जस्तो देशमा पनी महिला मुक्ती आन्दोलन शुरु भयो । सन १९७० मा मात्रै अन्तराष्ट्रिय स्तरमा र बैधानिक रुपमा महिलाका लागी छलफल शुरु भयो भने सन १९७९ मा महिला बिरुद्दको सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि भएको थियो ।

त्यस महासन्धिबाट लिंगको आधारमा कसैलाईपनी कुनै प्रकारको भेदभाव गर्न नहुने अन्तराष्ट्रिय कानुन बनेको थियो । तर त्यो कानुनले आज संसारकै महिलाहरुलाई कती संरक्षण गर्न सकेको छ हामी त्यसलाई मापन गर्न जरुरी छ । त्यती मात्रै होईन तत्पश्चात बिभिन्न देशमा र बिभिन्न समयमा धेरै मुद्दाहरु माथी बहस शुरु भए ।  त्यस्तै सन १९९५ को सेप्टेम्बर महिनामा चिनको राजधानी बेईजिंगमा चौँथो बिश्व महिला सम्मेलन भयो र जसबाट १२ बुँदे रणनिती सार्बजनिक गर्यो । जसमा  महिला र गरिबी, महिला शिक्षा तथा तालिम, महिला र स्वास्थ्य, महिला बिरुद्दका हिँसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र, निर्णय प्रकृयामा महिला, महिला बुकाश का लागी संस्थागत संरचना, महिला र मानव अधिकार, महिला र संचार, महिला र वातावरण अनी बालिका भन्ने शिर्षकलाई प्रमुख एजेण्डा बनाईएको थियो । तर ति एजेण्डाहरु कती कार्यान्वयन भए र कती फितला भएर गए हामीले आज मुल्यांकन गरीरहेका छौँ ।

त्यस्तै महिलाहिसां अन्त्य गरौ मानवताका लागि महिलाःसशक्तीकरण ब्यबहारमामा उतारौ यस वर्षको अन्तराष्टिय नारी दिवसको हाम्रो राष्टिय नारा हो यो । यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी ८ मार्च ८ भोली का दिन नै मनाउने गरिन्छ । शक्ति सम्पन्न राष्ट्र अमेरीका का श्रमिक महिलाबाट यस दिवसले जरा हालेको हो । विशेषगरी कारखानामा काम गर्न श्रमिक महिलाहरुले पुरुष सरह समानज्याला, मताधिकार लगायतकामागहरु राख्दै सडक आन्दोलनबाट यस दिवस शुरु भई डेनमार्कको कोपनहगनमा भएको समाजवादी महिला आन्दालनले पारित गर्यो ।

सन् १९११ र देखि ८ मार्चलाई श्रमिक दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो । सयुक्त राष्ट्रसंघले भने सन् १९७७ देखि ८ मार्चलाई महिलाअधिकार शान्तिदिवसका रुपमामनाउदै आएको छ । नेपालमा पनि पञ्चायती काल देखी नै यो दिवस मनाउने गरिएको थियो । तर यस दिवसले नेपाली महिला वर्गमा विशेष प्रभाव प्रथम जनआन्दोलनको सफलता पछि नै देखिएको हो । बेइजींगमा भएको चौथो विश् महिला सम्मेलनमा नेपाली जनताका प्रतिनिधिले सहभागीता जनाउन पाए । त्यस सम्मेलन कै उपलब्धि भन्नुपर्छ । पहिलो पटक महिला मन्त्रालय पनि खोलीयो । तर सो मन्त्रालयको कार्यक्षेत्र , त्यसको प्रतिफल महिलाले आज पनि खासै पाउन सकेका छैनन् । र आज पनि महिलावर्गको लागि आकासको फल देखाउने माध्यम महिला तथा बालबालिका मन्त्रालय भएको छ ।

महिला वर्गको उत्थान गर्न समाजमा रहेको सदियौ देखिको लैंगिक विभेद हटाउनु नै “समानुपातिक प्रतिनिधित्वको लागि सबै क्षेत्रमा समान अधिकार” त्यो ९७ औ नारी दिवसको नारा हो । समान अधिकार, समान अवसर सबैको प्रगतिको आधार हिसांमुक्त परिवार हामी सबैको सरोकार नारी दिवसको नारा हो । यस वर्षको नारा लैगिक मैत्री संविधान महिला हिसांको निधान भन्ने नेपाली नारा तय भएको छ ।

वास्तवमा नाराहरुरु प्रत्येक नारी दिवसमा सान्र्दभिक नै चयन भएका छन् । तर त्यसको प्रयोग गर्न लाग्नु हामी र हाम्रो समाजको दायित्व हो । अन्तरिम संविधानमा राज्यका हरेक तह र तप्का जहांसुकै ३३ प्रतिशत महिलाको उपस्थित उल्लेख छ । त्यस प्रावधान अघिल्लो संविधान सभामा मात्र लागु हुन सक्यो अन्य क्षेत्रमा खासै अभ्यास मात्रै भएका देखिए । महिला र राजनीति समाज परिवर्तन को मुल माध्यम हो । आज राजनितीक पार्टीले पनिमात्र ३३ प्रतिशत कतै लागु गर्न सकेका छैनन् । उनीहरुको भातृ संगठनमा केहि अववाद छोडेर पुरुष कै बाहल्यता छ । राज्यले संविधानमा तोकेको ३३ प्रतिशत सहभागीता सुनिश्चतता नभएको अवस्थामा महिला अधिकार कर्मी जनसख्याको अनुपातमा कुरा गर्न थालेका छन् ।

त्यसो त महिलालाई अधिकार दिनुपर्छ । उनीहरुको समान अधिकार हरेक ठाउँमा छ भन्ने वास्तविक सत्यलाई उजागर नगरी ऐन, नियम कानुन पारीत गरेकोले पनि परिणाम खासै आउन सकेको छैन । समाजमा रहेको सदियौ देखि को विभेद हटाउन सकारात्मक विभेदको नीति अनुशरण गर्न जरुरी छ । महिलाहरुको हरेक क्षेत्रमा समान पहुँच हुनु पदर्छ  भन्ने भावना महिला, परुष दुबै पक्षमा आउनु पर्दछ । हाम्रो अधिकार महिलाले खोस्न लागेका हुन् भन्ने गलत अर्थ नलगाई समाजका हरेक जिम्मेवार निकाएलाई महिला पनी सम्हाल्न सक्ने भएर अगाडी बढाउनु पर्दछ भन्ने मानसिकता हाम्रा पुरुष दाजु भाई हरु मा आउनु पर्दछ । यसको लागि राज्य लगायत सबै सरोकारवाला निकाय हरु लाग्न जरुरी छ ।

महिलाका पक्षमा पारीत भएका ऐन, नियमले हिंसाका स्वरुपमा भिन्न्ता त देखिएको छ । तर फरक खाले हिंसाका चपेटामा महिला परेकाछन् । जुन रुपमा महिला र पुरुष विच समानताको प्रयास हनपर्ने हो त्यो महिला पुरुष बीचको विभेदको खाडल महिला वर्गले मात्रै पुर्न सक्दैनन् । एकातीर जनसख्याको आधारमा महिलाबादीहरुले महिला अधिकार सुनिश्चित गरिनपर्ने कुरा उठाएका छन् भने अर्कोतिर पुरुष बर्गमा पनी महिलाहरु हामी सरहका सक्षम सवल समान नागरिक हुन् भन्ने चेतनाको बिकाश हुनु जरुरी दखिन्छ । उनिहरु लाई पनी हामी सरह हक, अधिकार दिनुपर्दछ भन्ने सोच पुरुष वर्गमा आउनु पर्दछ ।

अर्को तर्फ भन्नै पर्दछ , हरेक देशको राजिनी त्यहाँको संस्कृती संग पनी जोडिएको हुन्छ । अधिकारको नाममा उश्रींखल र बिकृती पनी हाम्रो माग होईन, हरेक महिलाको क्षमताको पहिचान गरी अवसर दिईनु पर्दछ भन्ने हाम्रो माग हो । आज बिश्व सामु खुला प्रतिष्पर्धा गर्नु पर्ने बेलामा हामी चरम घरेलु हिँसाको बिरुद्दमा लडीरहेका छौँ, पशुजन्य जिवन ब्यतीत गरिरहेका छौँ, महिला का दिनमा १८ घण्टा गर्ने कामलाई अनुत्पादक र पुरुषले बाहिर गर्ने कामलाई हामी उत्पादक काम मा मुल्यांकन गरिरहेका छौ । यो नै शोषण हो ।

अन्तमा महिलालाई खादा मालामा सज्जिने पात्र नवनाउँ । अवसर दिउँ । निर्णायकतहमा पुर्याउँ । अगाडी बढ्दै गर्दा प्रोत्साहन गरौँ, केही जाने बुझेका महिलाले बुझ्दै गरेका महिलालाई हौसला बढाउँ, खुट्टा तान्ने प्रबृती हटाउँ । हरेक नारीको ईज्जत र सम्मान गर्न सिकौँ  । यसो भन्दैगर्दा हरेक नारी बर्गपनी आफ्नो ईज्जत र प्रतिष्ठा राख्ने ठाउँ आँफु बनाउँ । अवसर र चुनौतीलाई पहिचान गरौँ । तब मात्र परिवार, समाज र राष्ट्र समृद्द बन्दछ । हिंसाको अन्त्य गरौँ । समतामुलक समाजको निर्माण गरौँ । यो हामी सबैको दायित्व हो । जय नारी दिवस, जय नारी ।

(सापकोटा चितवन ट्रस्टकी संस्थापक अध्यक्ष र समाजसेवी हुन्)

तपाइँको प्रतिक्रिया