मान्छे मुनि हिमाल ! (दोस्रो भाग)
(अघिल्लो भागको बाँकी )
निराजन र धर्म गुरुङ्को सिरक मिल्काइदिए रामले । अँ अँ यार सुत्न देउन भन्दै उठे ती । त्यसपछि लाग्यो डाँडा हेर्न । कहिल्यै नेदेख्या डाँडा हेर्न । केबलकारमा लगे । ह्याँ चढ्ने भने । टिकट काट्न लाए । हे राम, बाँदर खस्ने भीर हैन बाँदरले खुट्टो राख्दासाथ पुर्लुङ्गै खस्ने भिरमा गुड्ने रेल चढाउन लगे । टोपी खस्ने भिरभिरै रेल दगुर्यो । डरले पिसाब तुरुक्कै झर्ला जस्तो भो । अती भएपछि मैले यस्सो छड्के सोधें ‘धर्म यो रेल गुड्दा गुड्दै गाढा उल्लर भए झैं भो भने के हुन्छ ? सब चैट हुन्नन् त ?’ निराजनले भने ‘ह्या दाई कहाँ हुन्छ त्यस्तो ? सबै सेक्युरिटी मिलाको हुन्छ ।’ ए ए गुड्दा गुड्दै केही बिग्रिए घिर्नी जस्तो हुकमा अड्किन्छ अनि उद्दार गर्छन् होला है ?’ अँ अँ उनले भने । त्यो घिर्नीले काम नगरे ? घिर्नीको गेडोनै फुत्किए ? त्यसको जवाफ तिनलाई पो के थाहा ? यति फासफुसे कुरो गर्दा गर्दै सयौंको संख्यामा चढेका यात्रुसँगै हामी माथी डाँडामा पुगियो । पुगेपछि थाहा भयो, त्यो डाँडो होईन रहेछ । रहेछ, हिमाल ।
हामी उभिएको हिमाल रहेछ दुई हजार चार सय मिटर अग्लो । त्यहाँबाट वरिपरि जता हेर्यो उतै सेताम्मे । त्रिशुल जस्ता चुचुरा परेका । हिमालहरू त हामी भन्दा कति कति होचा । जता हेर्यो हिमाल देखिने । जति हेर्यो हामीभन्दा होचा मात्रै देखिने । यी गोरेका जातले के जानेका ? सयौं हिमाललाई होचा बनाउने गरि कसरी रेल कुदाएका त्यति माथी ? कसरी पुर्याएका केबलकार ? त्यस्तो चिसोमा मेशिनले कसरी काम गरेको ?
त्यति मात्रै हो र ? इन्टरनेट चल्ने, चिसोमा न्यानो र गर्मीमा चिसो पार्ने । यस्सो भित्तामा उभिँदा यो होटेल खोंचमा गर्लम्मै ढल्ला जस्तो रेस्टुरेन्ट पनि त्यहिँ । त्यो चुचुरोमा कसरी पाँच सय क्षमताको रेस्टुरेन्ट बनाए ? कसरी लागे सामाग्री ? प्राविधिक समस्या देखिए तत्काल त्यति माथी कसरी समाधान गर्लान ? स्विस प्रविधी देख्दा अचम्म कसलाई नलाग्ला ? ‘ल दाइ त्यो रेस्टुरेन्टमा कफीसफी खानु, हेर्नु, घुम्नु । हामी भिरबाट चिप्लिँदै गएर केबलकारबाट माथी चढ्छम र फेरि चिप्लिन्छम ।’ निराजनको टोली भिरबाट चिप्लिने भो ।
केटाहरूले लौरा जस्ता डण्डीमा खुट्टा बाँधे । मोटरसाईकल चलाउँदा लाउने हेल्मेटपनी डाँडा चढ्दा सिउरेको देखियो । पिर्का जस्तो (त्यसलाई भन्ने रैछन् स्की बोर्ड ।) मा दुई वटा खुट्टा घुसार्यो । खुट्टो पिर्काबाट नखसोस भनेर पेटी बाँध्यो । अनि हिउँमा चिप्लिँदै डाँडाबाट भिरभिरै ओरालो लाग्यो । यस्सो हेरें । कहाली लाग्यो । गए केटाहरू लुतुतु मुन्तिर कता कता । एकै छिनमा ती हिउँको राज्यमा खोंच खोँचै अपल भए । आँखाले के धान्थ्यो । एक दुई किमी परको द्रिश्य खिचेर नाकै अगाडी ल्याइदिने क्यामराकोपनि केही सिप लागेन । यी कमिला जसरि आकारमा घट्दै अलप भए ।
यी मुला केटाहरूले बच्चालाई टुहुरो बनाउँछन् । श्रीमतीलाई एक्लो पार्छन । बाउ आमालाई रुवाउँछन् । साह्रै महसुर, अती निष्ठूरी रैछन् यी । यस्तै सोच्दै थिएँ । आम्म्मामा त्यहाँ त देवघाटको भन्दा चर्को मेला लागे झैं भो । सयौं गोरे गोरेनीको भिड लाग्यो, त्यहि खेल्न आएका छन् । पिर्का जस्तोमा खुट्टो घुसारेका छन् । थ्याच्च बसेर मुसुक्क मुस्कायो लाग्यो पिर्का चिप्ल्याउँदै भीर भिरै हिउँमा फिलीली चिप्लिँदै । हत्तेरी हाम्रा केटाहरू मात्रै होईन रैछ । हिउँमा खेल्ने त यी स्विसहरूको संस्क्रितिनै पो रहेछ ।
माथि यति माथि लाँदो रहेछ रेल र केबलकारले की ! वरिपरि देखिने मध्ये सबैभन्दा अग्लो पहाड वा हिमालमा । खुट्टो चिप्लिएर खुर्मुरिँदै बेशीमा पुगिएला जस्तो भिरमा रेलले पुर्याउँछ । त्यहाँबाट जता हेर्यो हिउँ बाहेक केही देखिन्न । टाढा, शहरबाट ठिङ्ग उभिएर विशाल देखिने, मै हुँ भन्ने हिमाल त त्यहाँबाट हेर्दा सबै फुच्चे देखिँदा रहेछन् । हेर्दा हिउँनै हिउँ । चुचुरो । तर सबै हिमाल होचा न होचा देखिने । स्विसहरूले हिमाल देखाउन अग्लो हिमालमा पुर्याउँदा रहेछन् जहाँबाट वरिपरिका बाँकी हिमाल होचा भैदिन्छन् । अर्थात् हिमाल भन्दापनि माथि पुग्दो रहेछ मान्छे !









