हिउँदमा हराउने स्विजरल्याण्डका हिमाल

KARL-MULLER-photos 034

(टोनी हेगनको घर लेन्जरहाईड भन्ने गाउँमा छ । उनको घरको झ्यालबाटै यस्ता हिमाल देखिन्छन्)

यतिखेर स्विजरल्याण्डका डाँडाहरू हिउँनै हिउँले ढाकिएका छन् । डाँडाकाँडा मात्रै होइन, सडकमा हिउँनै हिउँ । गहुँ, मकै फल्ने खेत पुरै हिउँको बिस्कुन सुकाए जस्तो छ । रुखमा हिउँका डल्ला फले जस्तो छ, सेताम्मे । पहाडको टुप्पो देखि हिउँ सलल बग्दै सडकसम्म पुगे जस्तो लाग्छ । हिमाल देखि शुरु भएर हिउँका लाँक्रा सडकसम्म ओर्ले जस्तै देखिन्छ । डाँडाहरू पुरा सेता न सेता । हिउँ परेपछि हिमाल् बन्दा रहेछन् । अर्थात् जाडो यामका बेला यिनलाई हिमाल् भन्दा रहेछन् स्विसहरू । तर यहि हिमाल् हिउँद लागेपछि हिमाल रहँदैनन । यिनको रुप फेरिन्छ । जाडोमा टुप्पोदेखी फेदिसम्म लर्कने यी हिमालहरूले आफ्ना हिउँका पहिरन झिक्छन । यी सेताम्मे रुप बाँकी रहँदैनन । हिउँका पहिरन बदलेर हरिया रुख र झारपातको पहिरन लगाउन थाल्छन ।  त्यसपछि यी हिमाल डाँडामा बदलिन्छन ।

जाडो महिना सकिन लागेपछि घामको न्यानोपनी बढ्दै जान्छ । त्यसपछि आफ्ना सेताम्मे रुप फेर्न यी हिमालहरुलाईपनि हतारो भए जस्तो लाग्छ । घामको न्यानोले सेक्दै जाँदा हिउँका बुर्का यिनले फुकाल्दै जान्छन् । यिनको रुप छ्याके छ्याके परेको जस्तो देखिन थाल्छ । तब थाहा हुन्छ, अब केही दिनमा यिनले सेता बुर्का पुरै खोलेर चट्टान र ढुंगाको फुर्सो रुप देखाउने छन् । गर्मी लाग्दै जाँदा सल्लोका र अन्य जातका होचा रुख, बुट्यानहरूको हरियालीमा सजिन्छन ।

KARL-MULLER-photos 038

KARL-MULLER-photos 039

(नेपालको धौलागिरी हिमाल जस्तै आक्रितीको देखिने हुँदा टोनी हेगनले यसलाई स्विस धौलागिरी नाम राखिदिएका रहेछन् । हेगनले दिएको नाम सुनेर कोहि रमाउने कोहि हाँस्दा रहेछन् ।)

KARL-MULLER-photos 044

(ताल हो यो । घाम लागेपछि यसरी बल्ला हिउँको माथिल्लो पात्र पग्लिएपछि पानी देखिन थाल्छ । यो नपग्लिएका बेला मानिसहरू यहि माथी हिँड्ने, खेल्ने, कुकुर डुलाउने गर्छन् ।) 

katrin-monica-photos 103

यी हिमालहरुसित मानिसहरूलाई तान्ने गज्जबको शक्ति छ । आकर्षण छ । हिउँले ढाकिन्छन् भन्ने आभास मिल्नासाथै हिउँका विविध खेल खेल्ने साधनहरू किन्न उता खेल पसलहरुमा भिड लाग्छ । करोडौं करोडको आम्दानी गर्छन् ब्यापारीहरूले । हिउँदका बेला बन्द गरेर हिँडेका स्की रेसोर्टहरू धमाधमा खुल्छन् । हिउँमा चिप्लेटी खेल्नेको भिडले स्विस हिमालका काखहरू टनाटन भरिन्छन् । स्की (हिम चिप्लेटी) खेल्न उपयुक्त मानिएका भिरालाहरुमा कमिलाको ताँती जस्तो मानिसको भिड लाग्छ । तिन महिना हिउँ जमेको मौका पारेर स्विजरल्याण्डका डाँडाहरूले स्की रिसोर्ट सञ्चालकहरूलाई वर्षैभरी पुग्ने कमाईको जोहो गरिदिन्छन् ।

katrin-monica-photos 110

(यो ताल हो । सबै हिउँले ढाकिएको छ । हिउँ अती परेर यो मानिस हिँड्न बनाएको गोरेटो पुरियो भने यस्ता घोंचा हेरेर हिउँ पन्छाउन आउँछन कर्मचारीहरू)

katrin-monica-photos 118

सेन्ट मोरिज भनिने यो ठाउँ चाहिँ विश्व प्रसिद्द रहेछ । चारैतिर हिउँनै हिउँको बिचमा आफूलाई भेटिन्छ । यहाँ विश्वका धनीमानीहरूले अपार्टमेन्ट किन्दा रहेछन् । सेन्ट मोरिज जम्मा १८ सय मिटरमा छ । अर्थात् हाम्रो राजधानी साहारा भन्दा चार सय मिटर मात्रै उचाईमा ।

katrin-monica-photos 111

जब हिउँद लाग्छ, तब फेरि अर्का थरिलाई आकर्षण गर्छन् जाडोयामका हिमाल र हिउँदका यी पहाडले । यिनै डाँडामा फेरि शुरु हुन्छ, पातला लुगा लगाएर दगुर्नेहरूको रमिता । हाईकिङ, साईकलिङ, क्लाइम्बिङ, रक ट्रेनिङ भन्दै अनेक खाले खेल शुरु गर्छन् यहाँ । पहाडका खोंच खोँचै साईकल दगुराउन थाल्छन । वनस्पती, च्याउ, पूतली, चरा चिन्ने र हेर्नेको फेरि रन्को शुरु हुन्छ । तिनलाई आकर्षित गरेर फेरि दाम सोहोर्छन स्विसहरू ।

katrin-monica-photos 120

katrin-monica-photos 124

katrin-monica-photos 128

katrin-monica-photos 130

हिउँदमा छलङलङ गर्दै बग्ने छेउका फुच्चे कुलेसा जाडोयाममा हिउँमा बदलिएर दम्पट हुँदा रहेछन् । यहाँ हिउँदमा डुंगामा रमाउने ताल पुरै हिउँले जमेर मानिसहरू त्यसैमाथी फेरि हिम चिप्लेटी खेल्छन । हिउँदको तालमाथी गरप गरप जुत्ता बजाउँदै हिँड्छन । हिउँ जमे हिम चिप्लेटी । हिउँ पग्लिए त्यहि तालमा डुंगा । अक्किल मात्रै जान्नुपर्छ । पर्यटक तान्ने सिप मात्रै हुनुपर्छ, प्रकृतिको जुनसुकै रचना, रुप र साधनलाई सदुपयोग गरेर कमाउन सकिन्छ । स्विसहरूले जानेको यहि हो ।

तपाइँको प्रतिक्रिया