पैसा र प्रविधिले होईन दुई अक्षरले बनेको स्विजरल्याण्ड

KARL-MULLER-photos 037

नेपालप्रेमी स्विसहरू खोजीको क्रममा एक जना स्विसलाई सोधें ‘तपाई फलानो मानिस  चिन्नुहुन्छ ?’ उनले जवाफ दिए ‘

‘ म चिन्छु । तर उती मन पराइन मैले उनलाई ।’

‘त्यस्तो प्रसिद्द मानिसलाई मन नपराउनुको कारण ?’

He ALWAYS uses the pronoun “I (have done this and that)” and never “we”. But may be one has to be that way to achieve goals in politics… It’s finally the result that counts.

बैयक्तिक मेल भएकाले मैले मेल लेख्ने र उनले संकेत गरेका मानिसको नाम लेख्न चाहिन, हुन्नपनि । स्विजरल्याण्ड बन्नुको कारण के होला ? कसरी के तत्व, कुन बिधि, अक्किल र नितिले स्विजरल्याण्ड बनेको होला ? खुल्दुली थियो । मैले भेटिएसम्मका स्विसहरुसित यसको जिज्ञासापनि राखें । गफ गरेका मध्ये कसैलेपनि स्विजरल्याण्ड बन्नुको कारण पैसा, धन र सम्पत्ती, प्रविधिले हो भनेनन् । स्विजरल्याण्ड एउटा गतिलो सोचले पो बनेको रहेछ । मात्रै दुई वटा अक्षरले गर्दा स्विजरल्याण्ड आज सबैले चर्चा गर्ने, लोभिने, डाह गर्ने, हुरुक्क हुने स्विजरल्याण्ड बनेको रहेछ । स्विजरल्याण्ड बनाउने स्विसहरूको अक्किल ‘हामी’ रहेछ ।

katrin-monica-photos 034

स्विसहरू मैले यसो गरें । उसो गरें । यस्तो प्रभाव  पर्‍यो मैले गर्दा । यति फाईदा भो मेरो प्रयासमा भन्ने सुन्न रुचाउँदैनन । ‘म’ भन्ने पचाउँदैनन । कम्तिमा सार्वजनिक ब्यक्तिबाट । उनीहरू ‘म’ होईन की ‘हामी’ भनेर बोलेको, सुनाएको, सिकाएको रुचाउँछन । ब्यक्ति होईन सामूहिक कुरा, सामूहिक प्रयास रुचाउँछन । त्यसैले स्विजरल्याण्ड यस्तो देश छ जहाँ असाध्यै सामूहिक भावना पाइन्छ ।

स्विजरल्याण्डको पैसो देखेर, सम्पन्नता देखेर तेस्रो विश्वका मानिस मात्रै होईन युरोपका सम्पन्नशाली मानिनेहरुपनि लोभिएका छन् । त्यसैले जर्मनी र फ्रान्सले स्विस पैसो तान्न स्विजरल्याण्डका सीमा क्षेत्रमा स्वीजरल्याण्डमा भन्दा सस्ता पसल, सुपरमार्केटहरू खोलिदिएका छन् । यस्ता पसलमा सामान् किन्न स्विसहरू जाँदैनन भन्ने नै त होईन । जान्छन् । तर आप्रवासीहरू बढि जान्छन् । स्विसहरू आफ्नै देशको सामान किन्न रुचाउँछन । ‘स्विजरल्याण्डले दिएकोपनि त छ नी । फ्रान्स र जर्मनीमा भन्दा एक तिहाई बढि दिन्छ तलब । देशले दिएपछी देशलाईपनि त दिनुपर्छ नी’ स्विसहरू हाकै भन्छन् ।

स्विसहरूको ‘हामी’ निति आफ्ना देशका नागरिकमा मात्रै लागू हुन्न । आप्रवासीहरुलाईपनि हामीको नितिले हेर्छन । कुनैपनि देशबाट बिरामी परेर कोहि आवस । अस्पत्ताल पुगोस । उसले कागज नभएको, बैधानिकता नभएको नाममा छट्पटिएर, उपचार नपाएर फर्किनु पर्दैन । आफ्नो देशमा आएका आप्रवासीहरूलाई कसरी स्विस समाज, स्विस नागरिकमा समाहित गराउने, कसरी स्विसहरू जस्तै बनाउन सकिन्छ भनेर हर प्रयास गरेका छन् । तालिम दिन्छन् । भत्ता दिन्छन् । सिकाउँछन । भाषा, सिप र प्रबिधी सिकाउँदा भत्तासहितको सुबिधा दिन्छन् । आफ्नो संस्क्रिती बचाउन, संरक्षण गर्न फेरि आर्थिक र अन्य सहयोगपनि दिन्छन् ।

katrin-monica-photos 104

सबैले सस्तो सामान् ताक्ने हो भने आफ्नो देशका सामान् कसले किन्छ ? कसरी आफ्नो देशको कल कारखाना चल्छ ? अरुको देशमा सस्ता सामान किन्न गएपछि पैसो बिदेश जान्छ । सिप बिदेशिले सिक्छ । ब्यापारिक अक्किल उसैले जान्दछ । आफ्नो देशका नागरिक बेरोजगार बन्छन् । यो परनिर्भरता आफ्ना सन्ततीले पनि सिक्छन । अनि स्विजरल्याण्ड परनिर्भर मुलुक बन्छ । त्यसैले स्विसहरू ‘हामी स्विस’ फरक बन्नुपर्छ भनेर सोच्छन्, काम गर्छन् । हामीले गुणात्मक सामान बनाउनुपर्छ । सस्ताका पछाडी दगुर्नुहुन्न । जति सस्ता सामान प्रयोग गर्छन् उती महँगा, राम्रा गुणात्मक सामान खोज्नेको बजारपनि बढ्छ । सस्ता सामान बनाउने त दर्जनौं हुन्छन् । सजिलो त जसलेपनी बनाइहाल्छ नी भन्ने सोच्दा रहेछन् । किनभने प्रगति र प्रविधिको उच्चता बढ्दै जाँदा बिलासी, गुणात्मक सामान प्रयोग गर्नेको संख्या र मागपनि बढ्छ भन्ने स्विसहरूको चिन्तनले यहाँ गज्जबले काम गरेको छ ।

हामी सधैं प्रकृतिले ठगेको भन्छौं हाम्रो देशलाई । स्विजरल्याण्डपनि भूपरिवेष्ठित देशनै हो । हामी हाम्रा डाँडाकाँडालाई प्रगतिको बाधक ठान्छौं । यिनीहरू बरदान भन्छन् । हामी विकास गर्न गाह्रो भो डाँडाकाँडाले गर्दा भन्छौं । यिनीहरू आहा डाँडै डाँडाले गर्दा स्विजरल्याण्ड यस्तो बन्न पायो । विकास गर्न बिकटताले रोक्दैन भन्छन् । काग खस्ला जस्तो लाग्ने डाँडा डाँडै पाँच सय मानिस अटाउने रेल कुदाएका छन् । भित्तो समातेर हिँड्नुपर्ने पखेरामा भवन बनाउने लामा लामा क्रेनपनि पुर्‍याएका छन् । जाडोमा हिउँ देखाएर युरोपका अन्य देशका नागरिकलाई लोभ्राउँछन । टन्न पैसो कमाउँछन । फेरि गर्मी लाग्छ । हिउँ पग्लिएपछी ‘लौ है स्वस्थ बन्न हिँड्नुपर्छ, साईकल कुदाउनुपर्छ’ भन्छन् र त्यहि हिउँ पग्लिएको डाँडामा कमिलासरी पर्यटक तान्छन । स्विसहरूको हामी र हाम्रो देश बनाउने चिन्तनलाई न हिउँले रोकेको छ । न डाँडाले छेकेको छ । न समुद्र नभएर प्रगतिको बाधक बनेको छ ।

स्विसहरू थोरै बस्छन वार्षिक बिदा । युरोपका धेरै देशमा वर्षको पाँच हप्ता छुट्टी पाइन्छ । स्विजरल्यान्दमापनि पाँच हप्ता बनाउन मतदान भएको थियो । तर बहुमत स्विसहरूले भने ‘होइन हामीले देश बनाउनुपर्छ । त्यसैले एक महिना मात्रै कायम गर्ने ।’

स्विसहरू झट्ट हेर्दा, बोल्दा, ब्यवहार गर्दा कस्ता कस्ता जर्कटिएका, चिसा, घमण्डी, एकोहोरो, बिरसिला जस्ता लाग्छन् । केही सोध्यो भने हत्त पत्त बोलिहाल्दैनन । किन ? स्विसहरू नसकिने काम बोल्नुहुन्न भन्छन् । भनेको, बोलेको पुर्‍याउनुपर्छ भन्छन् । नसक्ने भए किन बोल्ने ?  यस्तो  सोच्छन । केही सोध्यो भने सन्दर्भ सामाग्रि, किताब वा इन्टरनेट हेरिहाल्छन । राम्रोसित बुझेर जवाफ दिन्छन् । यसै गर्दा स्विजरल्याण्डमा जे बोलिन्छ त्यो हुन्छ भनेर बुझिन्छ । साँच्चै हो, गफाडी, काम नगर्ने, जेपनी बोल्नेसित स्विसहरूको मिल्ती हुन गाह्रो पर्छ । काम रुचाउने मानिस हुन् यी ।

सोचाईनै फरक छ स्विसहरूको । दिर्घकालिन सोचाई । हामी अहिलेको सम्पदा, संस्क्रिती र जैविकविविधता ‘हामीले पूर्खाबाट सापटी लिएको’ भन्छौं । स्विसहरू चाहिँ अगाडी सोच्दा रहेछन् । उनीहरू ‘हामीलाई भविष्यका हाम्रा सन्तानले जोगाएर राख्न दिएकाले’ भन्दा रहेछन् । अघिल्लो हप्ता जियोभानी कापेन्भेर्गर भन्ने भूगोलका विशेषज्ञले जुरिचमा यहि सुनाए ।

KARL-MULLER-photos 045

स्विसहरुमा  ‘हामी’ भन्ने भावना कति दह्रो छ भने यहाँ रोमाञ्च  भाषा (ग्रिक भाषाको पुरानो रुप) बोल्ने नागरिक छन् । शुन्य दर्शमलव नौ प्रतिशतले मात्रै बोल्छन यो भाषा । तरपनि यसलाई सरकारले सन् १९३८ मै राष्ट्रिय भाषाको मान्यता दियो । सन् १९९६ देखि कार्यकारी भाषाको मान्यता दियो, फ्रान्सेली, जर्मन र इटालियन भाषासरह । यति थोरैले बोल्ने भाषा हामीले संरक्षण गर्नुपर्छ भन्छन् यी । यो भाषा स्कूलकै पाठ्यक्रममा छ । यति सानो समूदायकलागि रेडियो र टिभीसमेत छ । यस्तो विविधतालाई भारका रुपमा होईन हाम्रो विविधता र सम्पन्नता भनेर पो लिँदा रहेछन् ।

हाम्रोमा त नेता, पार्टी, गावीस अध्यक्ष, प्रशसक सब मैले गर्दा यसो भो । यो मैले गरेको । मेरो पालामा यस्तो गरियो । यसरी एक्लै जसलिन खोज्छन् । बिग्रेको, गर्न नसकिएका काम जति अरुलाई दोष लगाउँछन । तर देश बनाउन यस्तो चिन्तन घातक हुने रहेछ । we (हामी) चाहिने रहेछ । स्विजरल्याण्ड स्विजरल्याण्ड बन्नुको एउटा कारण त I (म) छोडेर we (हामी) रुचाइदिने नागरिक भएकाले रहेछ ।

तपाइँको प्रतिक्रिया