नेपालमा त मोटरसाईकल कुदाउँदै ध्यान

Daniel-Barnet-photos 011

ध्यान (मेडिटेशन) हलचल गरेर हुन्छ ? हुन्न भन्ने सोचिन्छ । ध्यान गर्दा एकान्त कोठामा चुपचाप बसिन्छ । कसैले मधुरो संगित लगाउँछन । ध्यानकै लागि बनाइएको मधुर संगित । तर नेपाल यस्तो देश रहेछ जहाँ मोटरसाईकल कुदाएरै ध्यान हुने रहेछ । नेपालीहरूले सायद यसको अनुभव गरेका छैनन् । तर नेपालको सेवा, सहयोग र अध्ययन अनुसन्धान गर्न पुगेका स्विसले गर्दा रहेछन् । रफ्तारमा कुदीरहेका थुप्रै गाडीहरूको बीचमा मोटरसाईकल कुदाउँदै ध्यान ।

पटक पटक नेपाल जाँदा स्विरल्याण्डका वातावरणिय इन्जिनियर डानियाल बार्नेट  काठमाडौंमा मोटरसाईकल भाडामा लिन्छन् । नेपालको रामेछप,  काठमाडौं र मुस्ताङमा उनले थुप्रै  सामाजिक काम गरेका छन् । स्कूल, खानेपानी र वातावरणिय अध्ययन गर्नु उनको काम हो । वातावरणिय हिसाबले कसरी खानेपानीको ब्यवस्था गर्ने । कसरी दिर्घकालिनरुपमा क्रिषी सिँचाई गर्न सकिन्छ । यस्ता विषय उनका अध्ययन र चासोका विषय हुन् । उनी त्यहि कामकालागि जान्छन् । पहाडी बस्तीका लागि पाइला लम्काउनु अघि उनी केहि दिन काठमाडौं घुम्छन । नेपाल जाँदाजाँदै उनका केहि नेपाली जिगिरी बनिसकेका छन् । तिसित रमाउँछन । सडक पेटीमा उभिएर धुलो र धुवाँमा सेकिँदै सार्वजनिक यातायात कुर्नुभन्दा उनी मोटरसाईकल भाडामा लिएर हुइँकिन रुचाउँछन ।

ओहो काठमाडौंको यातायात । जतिखेर जहाँ जेपनि हुन सक्छ । मानिसहरू जताबाटपनि घुसाउँछन गाडी । कसको गाडीले कसलाई हान्छ । कुन कतापट्टी ठोक्किन्छ भर हुन्न । अगाडी जान मन लागे प्याँ प्याँ गर्नु पर्छ । यस्तो खतरनाक अवस्थामा हाकिमले के भन्ला । घरमा के भो होला । काम फत्ते हुन्छ की हुन्न ? यस्ता कुरा सोच्ने फूर्सदनै हुन्न । त्यस्तो सोचेर मोटरसाईकल चलायो भने त ठाउँको ठाउँ जेपनि हुन सक्छ । त्यसैले मोटोरसाईकलमा बाहेक अन्यत्र ध्यान् जाँदै जाँदैन । यसो गर्दा कार्यालय, हाकिम, परिवार सबैको तनाबबाट मुक्ति पाइँदो रहेछ । डानियालले अनुभव गरेको यथार्थता हो यो । ‘मोटरसाईकल बाहेक अन्य कुरा सोच्यो भने त जेपनि हुन सक्छ । त्यो मात्रै सोचेर हिँड्डा त नेपालमा मेडिटेशन पो हुँदो रहेछ’ बार्नेट  सुनाउँछन् ।

यता स्विजरल्याण्डका सडक शुन्य जस्ता लाग्छन् उनलाई । हर्न बजाउन पाइन्न । सयौं गाडी गुडेपनि चाइँचुइँ हुन्न । अलिकतिपनी नियम मिचेर चलाए की जरिवाना तिर्नुपर्छ । की त प्रहरीले गाडी लगिदिन्छ । अली धेरै गल्ति गरे चालक अनुमति पत्रनै खोसिदिन्छ । रेलमा यात्रा गर्योा, मानिसहरू एक अर्कामा बोल्दैनन । सबैको आफ्नै ध्याउन्न हुन्छ । कित कानमा ठेडको लाएर संगित सुन्छन । की त हातमा पत्रिका वा पुस्तक हुन्छ । त्यसैमा रमाउँछन । एक्लै यात्रा गर्दा हाकिमको हैकम र घरको अनेक थरि ब्यवहारले सताइराख्छ । बिजुलीको बिल कहीले आउला ? कति आउँला ? घरको कर कहिले तिर्ने होला ? कामबाट सकेर कहिले घर पुगेर गफसफ गर्न पाइएला ? कार्यालयको काम सकिएपछि पनि तनाब भैरहन्छ । तर नेपालमा त्यस्तो हुन्न । ‘सडकमा खतरा छ, खाँदा खाँद र प्याँ प्याँ र पुँपुँ छ । तर त्यसकोपनि अर्कोतिर सकारात्मक पक्ष हुने रहेछ’ मुस्कुराउँछन् उनी ।

उनले नेपाल चार पटक जाँदा यस्ता धेरै अचम्म लाग्दा अनुभव लिएका छन् । रामेछपको अर्को घटना संझिँदा उनी कहीले हाँस्छन । कहिले अचम्म मान्छन् । खानेपानी बितरणकालागि उनलाई केही पाईप चाहिएको थियो । स्थानिय बजारको एक पसले कहाँ गए । छन त उनका नेपाली कर्मचारी र हाकिम थिए । तर उनी आफैं जान्न चाहन्थे । पाइप बितरण गर्ने पसले कहाँ गएर पाइप बिक्रीको लागि कुराकानी गरे । पसलेले कहिले मुख लेप्र्याउँदै ‘ओके’ भन्थ्यो । कहीले हेरौंला भन्थ्यो । कहिले ‘अहिले होईन पछि आउनु’ भन्दै पन्छाउँथ्यो । त्यति मात्रै हो र ? ति पाईप नेपाली कर्मचारीले किन्न जाँदा आलटाल गरेपछि उनी आफैं पसलेकहाँ गएका थिए । कहिले आउनुस् भन्थ्यो । उनी जान्थे । त्यो दीन फेरि ‘आज काम पर्योँ अर्को हप्ता आउनुस्’ भनेर ओंठ लेप्र्याक्क पार्दै जवाफ दिन्थ्यो । डानियालले नबुझेको कुरा के भने उनी स्विजरल्याण्डमा जन्मे हुर्के । यता ग्राहक सामान किन्न कुनै पसलमा गयो भने पसलका कर्मचारीले सकेसम्म छिटो, राम्रो र हँसिलो ब्यवहार गरेर सामान बेच्न खोज्छन् । आफ्नो पसलबाट ग्राहक फर्केपनि फेरि अर्को सामान किन्न आओस् भनेर राम्रो जानकारि दिन्छन् । ‘नेपालमा त सामान किन्न पनि पसलेसित ग्राहक गएर कन्भिस गर्नु पार्ने हाहाहाहाहा’ मुर्छै पारे उनी ।

नेपालमा काम गर्न अर्को सजिलो पक्षपनि छ । त्यो हो, चिया सुरुप्प सुरुप्प पार्ने संस्क्रिती । यता स्विजरल्याण्डमा भनेको समयमा ट्याक्क काममा पुग्नुपर्छ । कम्प्युटर खोल्यो । भटाभट काम गर्‍यो । कुन काम कति समयभित्र कसरी सिध्याउने हो । त्यो भनेकै समयमा सक्नै पर्छ । गफसफ, हाँसखेल, कुराकानी हुने कर्मचारीका बीचमा सोच्नपनि सकिन्न । तर नेपालमा ? कार्यालय गयो । पहिले वरिपरि कर्मचारी बस्यो । चिया मगायो । चिया खाँदै गफ गर्‍यो । त्यसपछि बल्ल काम शुरु गर्‍यो । कामपनि भनेको समयमा सक्ने । काम पूरा गर्ने मिति भन्ने छैन । आज नसके भोलि । भोली, पर्सि, निकपर्सीपनि नसके अर्को हप्ता । त्यो नसके अर्को महिना, केही महिना । यस्तो भो सकिएन भनिदियो टन्टै साफ । यसरी काम गर्दा अली हल्का, आनन्द र कर्मचारीका बिच निकटता हुँदो रहेछ । तनाब कम हुँदो रहेछ । डानियाल त्यो राम्रो हो भन्ने पक्षमा त छैनन् । तर आनन्द चाहिँ हुँदो रहेछ । ‘फरक फरक संस्क्रिती र काम गराईको तरीका होला । नेपालमा ढिलो र हतार कहिल्यै नहुने रहेछ’ उनले बुझेको यहि हो ।

तपाइँको प्रतिक्रिया