हिउँको खेति गर्छन् स्विसहरू (फोटो कथा)
क्रिशमसको पूर्व सन्ध्यामा सधैं हिउँ पर्ने मान्यता छ क्रिस्चियनहरुमा । हिउँ परेको वर्ष शुभ ठान्ने र रमाउनेहरुपनि हुन्छन् निकै । तर क्रिसमसको बेला नपरेपनि हिउँले नपरी छोडेन अन्तत स्विजरल्याण्डमा । तिन दिन देखि तोरीका दाना जस्ता हिउँ फुर्र फुर्र पर्दै थियो । तर आज बिहान उठ्दा त सबै सेताम्मे पो देखियो । बाटाघाटा कतै बन्द भए । स्विस सरकारले बाटोमा हिउँ पन्छाउन डोजर लगाएको छ । साराका सारा हिउँ, सेताम्मे । कतै हिउँकै वस्तीमा मान्छे पो झुक्किएर पुगे जस्तो । रुखमा पुरै सिउँ फले जस्तो छ । लटरम्म देखिन्छ ।
तर हिउँ सबैका लागि सधैं कष्ट मात्रै भने होइन यहाँ । यहि हिउँ परेको मौका पारेर यहाँका हिमाली भागमा हिउँमा खेल्नेहरुको भिडले पर्यटन ब्यवशाय निकै चम्कन्छ । स्की रेसर्टहरूमा भिडमभिड हुन्छ । डाँडाकाँडाका होटेल पुरै भरिन्छन् । यहि दुई तिन महिना हिउँ परेका बेला हिउँ खेल्नेसित कमाएको पैसाले वर्षदिनमा पुग्ने आम्दानी हुन्छ । फ्रान्स, इटाली, लक्जमवर्ग लगायत युरोपका धेरै देशबाट हिउँ, हिमाल र हिम चिपलेटीका पारखीहरू स्विजरल्याण्ड ओइरिन्छन् । हाइमा चिप्लेटी रमाइलोका लागि मात्रै होईन । स्वच्छ हावा लिन, शारीरिक ब्यायमकालागिपनि गर्छन् यिनीहरू । हिउँ परेका बेला स्विस पारखीहरूलाई घरमा भेट्न मुस्किल पर्छ । ती उतै डाँडा पाखामा सुस्ताउँछन्, रमाउँछन् ।
स्विजरल्याण्डको जेनेभा नपुग्दै परैबाट साना साना थुम्कापनि बाह्रै काल हिउँले ढाक्ने हिमाल् जस्ता देखिन्छन् । घरका छत सबै हिउँले छोपेको छ यति खेर । आज आइतवार । साप्ताहिक बिदाको दिन । स्विसहरुकालागि गज्ज्बको अवशर मिल्यो, हिउँमा खेल्न । साना साना थुम्कापनि हिउँले भरिएकाले हिम चिप्लेटी (स्की) खेल्नेकालागि त यो अवशर हो नै, हिम चिप्लेटी खेल्नेका लागि । किनभने हिम चिलेटी यतिखेर सानै थुम्कामापनि सिक्न सकिन्छ । अग्ला पहाड खोज्नै पर्दैन । आज आइतवार साना साना बालवालिकालाईपनि हाइमा चिप्लेटी सिकाउन लैजान्छन् स्विसहरू ।
हिम चिप्लेटी स्विसहरूको परिचित खेल हो । हिउँ बाक्लो परेर अलिअलि समस्या पारेपनि अर्कोतिर यो पर्वका रुपमा पनि मनाउँदा रहेछन् । हिउँ बक्लो पर्छ भनेर सरकारी निकायले पहिल्यै फुकिदिएकाले आज रातीनै उठेर हिउँमा खेल्न गए धेरै स्विसहरू । म बसेकै घरका भाई निराजन श्रेष्ठपनि आज झिसमिसेमै हिउँ खेल्ने भन्दै बाटो लागे । स्विजरल्याण्डमा केही नेपालीपनि हिउँमा चिप्लेटी खेल्न पारखी बनिरहेका छन् । सिक्दै छन् । एक दिन यिनले सिकेको सिप पक्कैपनि नेपालकालागी उपयोगी हुने छ । यदि यिनको ज्ञान, सिप र अनुभव नेपालका युवाहरूलाई सिकाउन सकियो भने ।
हिउँ परेपछि स्विजरल्याण्डमा एक खालको खेतिनै चल्छ, हिउँको । रिसोर्टमा खानपिन । हिउँ खेल्न सिकाउने । हिउँ खेल्ने अनेक सामानको ब्यापार गर्ने । हिउँमा खेल्ने पिर्कादेखि हिउँमा चलाउने साना गाडीहरू । हिउँमा संवन्धित यस्ता सामानहरु झन अन्य सामानभन्दा दशौं गुणा महँगा पो हुने रहेछन् । स्विजरल्याण्डको हिउँको खेति हेर्दा लाग्छ, हिउँ परेर बाटोघाटो बन्द भएपनि त्यसलाई अर्कोतिरबाट सदुपयोग गर्न जान्न, सिक्न, सिकाउन र लोभ्याउन, आकर्षित गर्न सक्ने हो भने करोडौं करोड आम्दानी गर्न सकिने रहेछ । स्विसहरूले डाँडाकाँडामा फलाउने हिउँ र त्यसबाट करोडौं करोड आर्जन गर्ने अक्किल हामीलेपनि सिक्ने हो भने पर्वतारोहण मात्रै होइन, सानातिना पहादलेपनि आम्दानी दिन सक्छन् । यो स्विसहरूको हिउँको खेतिले हामीलाई शिक्षा दिन सक्छ ।


















