यसरी एमाओवादी मोर्चाले संविधानसभा तोडफोड गरे (तस्वीरसहित)
-सइन्द्र राई र विक्रम राई
५ माघ दिउँसो १ बजे बोलाइएको संविधानसभा बैठक शीर्ष नेताहरुले सहमति गर्न समय मागेपछि साँझ ५ बजेका लागि सारियो । तर, साँझ ७ बजे बज्न लाग्यो, बैठक शुरु भएन । त्यसपछि सभासद्हरुले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई तत्काल बैठक शुरु गर्न आग्रह गरे । तर, नेम्वाङले बैठक शुरु गरेनन् । त्यसपछि ७० प्रतिशत बढी सभासद्हरुले तत्काल बैठक शुरु गर्न माग गर्दै नाराबाजीको तयारी गरे ।
जसरी भएपनि सवै दलको सहमतिबाट संविाधान ल्याउने मूडमा रहेका सभाध्यक्षले सभासद्हरुलाई थामथुम पारे । उनले सहमतिका लागि प्रमुख दलका शीर्ष नेताहरु जुटिरहेको जानकारी गराउँदै सहमति नजुटे प्रक्रिया थाल्छु भन्ने आश्वाशन दिए । सवै सभासद्का लागि खानेकुराको व्यवस्था गरे । तर, दलहरुबीच सहमति जुटेन । ४ माघमा सहमति नजिक आएका दलहरुबीच सहमतिको दुरी झनै टाढियो ।
आदिवासी जनजाति महासंघले गरेको कार्यक्रमको उपस्थितिलाई आधार मानेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहमतिबाट पछाडि हटेको भन्दै जनजाति सभासद्हरुले हस्ताक्षर गरेरै दाहालको नियतप्रति आपत्ति जनाए । यसले केही फरक पारेन । उल्टो संविधानसभामा नभएका र ४ मंसीर २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचन भाड्नेतिर लागेका ११ वटा दलसहित ३० दलको मोर्चामा दाहालले भीडेर जानुपर्ने प्रस्ताव राखेपछि संविधानसभा उल्टो बाटोतिर लाग्यो ।
रातको मध्यान्ह १२ बजे पेरिफेरी बसेको कार्य व्यवस्था परामर्स समितिको बैठकमा पनि कुनै सहमति नजुटेपछि संविधानसभा बैठक शुरु भयो । २९ पुस विहान सिंहदरवारमा प्रतिवेदन वुझाउन आएर दिउँसो संविधानसभा बैठकमा नगएका संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले मध्ये रातमा एक घण्टे बोले ।
भट्टराईले बोलेसम्म अनिदो बसिरहेका सभासद्हरुले सुनिरहेका थिए । सभासद् विशाल भट्टराई भन्छन्, ‘‘जब सभाध्यक्ष बोल्न थाले, एमाओवादी मोर्चाका सभासद्हरु जुर्मुरिन थाले ।’’ सभाध्यक्ष नेम्वाङले नेपाली कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठलाई बोल्ने समय दिए । मोर्चाका सभासद्हरु बाटो छेक्न निस्किहाले ।
यस्तो कार्य संविधानसभा नियमावली विपरित भएकाले मर्यादापालकहरु श्रेष्ठलाई बोल्ने बातावरण बनाउनेतिर लागे । तर, एमाओवादी मोर्चाका सभासद्हरुले संविधानसभाभित्रै तोडफोड गर्न थाले । एमाओवादी मोर्चाका सभासद्हरु नाराबाजीसहित तोडफोडतिर लागेपछि सभाध्यक्ष नेम्वाङले ६ माघ दिउँसो १ बजेसम्मका लागि संविधानसभाको बैठक स्थगित गरे ।
(साभार- हिमाल खाबर डट कम)
हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस्
https://www.facebook.com/nepalplus
https://twitter.com/nepalplus
फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्
https://www.facebook.com/nepalplusenfr
https://twitter.com/nepalplus
























