निधारको टिकामा राजनीति गर्नेहरू गढीमाईको पशुबलीबारे किन चुपचाप ?
खासगरी दशैंका बेला काटमारको खुब बिरोध गरेको देखियो, एक थरिले । यसमा अती धेरै बिरोध गर्ने संघिय समाजवादी पार्टीका बिदेश बिभाग प्रमुख आङकाजी शेर्पा थिए । त्यसमा स्वर मिलाउँदै आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष र संघिय समाजवादी पार्टीको युरोप संयोजकसमेत रहेका पेम्बा गेल्बु शेर्पालेपनि खुब् बिरोध जनाए । उता स्वदेश र बिदेश दुबैतिर तिनको बिरोध खुब देखियो । अलिअलि बुझेका र नेताले भन्नासाथ पुरै ठिक हो भनेर् स्वर मिलाउने बाँकी अधिकांश तिनका कार्यकर्ता त झन् भैहाले । उफ्रिउफ्री समर्थन जनाए । सांस्क्रितिक मान्यताका आधारमा निधारमा लगाइने टिकाको समेत बिरोध गरे । निधारमा लगाउने टिकाले हजारौं टन खर्च हुन्छ र अन्नको नाश हुन्छ भन्ने वाहियात तर्क गरे । तर गढीमाई मेलामा पाँच लाख भन्दा बढी पशुको संहार गरिँदै छ । यो बेला कहाँ लुकेका छन् दशैं तिहार बिरोधीहरू ? कहाँ दम्पट छन् निधारको टिकामा चामल खर्च भयो भनेर राजनीति गर्नेहरू ? तीनले टाउको लुकाएका छन् भोटको र भाषणको राजनितिकलागि ! तिनको मौनताले यसैलाई सिद्द गर्छ । यदि यो असत्य हो भने तिनले मुख खोल्नुपर्छ ।
गढीमाई मेला परम्परादेखि चलि आएको भएपनि यो अहिलेको जस्तो भयाबह थिएन । सानो पर्वका रुपमा रहेको यो अहिले हरेक वर्ष पशुको बली दिने आकांक्षा बढ्दो छ वारा जिल्लाको गढीमाईमा । यो बढ्दै जाने छ, यदि यसलाई रोक्न वा सुधार्न सकिएन भने । पाँच लाख पशुको एकै ठाउँमा बली दिएर विश्वकै सबैभन्दा धेरै पशुको सामूहिक बली दिने मेलाका रुपमापनि नेपालको बदनाम हुँदै छ । मेलामा आउनेहरूले मासु जथाभावी मिल्काउने गरेका छन् । रगतको खोलि बग्छ । सुत्ने र बस्ने ठाउँको प्रबन्ध नमिल्दा ट्र्याक्टर र गाढा मुनिपनि सुत्छन, मेलामा आउनेहरू । हरिया झिँगा र किराको थुप्रो झुम्मिन्छ, फ्याँकिएको मासु र रगतमा । सुरक्षाको प्रबन्ध गतिलो हुन्न । त्यहाँ कुनैपनि बेला सानो विषयले झगडाको रुप लियो भने मानिसकै बिचमा काटमार हुने संभावना छ । त्यसैलेपनि यो अबैज्ञानिक, असुरक्षित र गैरसांस्क्रितिक छ ।
दशैंमा टिका लगाउँदा जति चामल नस्ट हुन्छ, अष्टमीका दिन खसी बोका जति काटिन्छन त्यसको अनुपातमा यो धेरै गुणा बढी हो । र यो अझ सार्वजनिक स्थलमा हुनाले यसले धेरैलाई क्षति पुर्याउँछ । सार्वजनिक स्थलमा हुनाले सार्वजनिकरुपमा हत्या हिंसालाई बढावा दिन्छ, हौस्याउँछ । गढीमाई मेलामा हरेक वर्ष पशुवलीको संख्या बढ्नु त्यसैको परिणाम हो । तैपनि राजनीतिक नेताहरू यसका बारेमा किन बोल्दैनन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईबाहेक अरुले नबोल्नुको कारण के हो ?
गढीमाईको सांस्क्रितिक महत्वलाई पुरै निषेध गर्नुपर्छ भन्न खोजिएको होईन । तर शुरुमा सानो पर्वका रुपमा रहेको यो मेला अहिले विश्वमै सबैभन्दा बढी पशुको संहार गरिने मेलाका रुपमा बदनाम भएको छ । यो बढ्दै छ । काटमार धेरै गरे धेरै मनोकांशा पूरा हुन्छन् भन्ने अन्धविश्वासका रुपमा । यसले नेपाललाई अझै बदनाम गराउँछ । नेपालीहरूलाई सामूहिक रक्त पिपासुका रुपमा चिनाउँछ । हिन्दू धर्मका नाममा दिईने यो पशुवली धार्मिक रुपमापनि हिन्दू धर्मको आदर्श बिरोधी छ ।
भारतीय राजनीतिज्ञ तथा आर्य समाजका संस्थापक स्वामी अग्निेवेशले भनेका छन् ‘पशुवली सनातन हिन्दू वैदिक दर्शनको दुष्टिमा महापाप हो, यो अन्धविश्वासले दिलाउने कलंकबाट नेपाल र हिन्दूधर्मलाई बचाउन मन्दिरलाई हिंसामुक्त बनाउनै पर्छ ।’ यो पशुवली रोक्न उनी भारत र नेपालका नेता, प्रशासक, अधिकारकर्मी, कलाकार सबैसित भेटेर आग्रह गरिरहेका छन् । दिल्लीका पशु अधिकारवादीहरुले गढीमाइ मेलामा बलि दिन भारतबाट कुनैपनि पशु नेपाल पुर्याउन रोकि पाऊँ भनेर त्यहाँको सर्वोच्च अदालतमा रिट दिएपछि अदालतले त्यसमाथि आदेश दिँदै पशुको सिमापार प्रवेश पूर्णतः रोक्न भारतीय सरकारलाई आदेश दिएको छ । अदालतको आदेश अनुसार उत्तराखण्ड प्रदेशले गढीमाइका लागि पशुहरु निर्यातलाई रोक लगाएको औपचारिक घोषणा गरिसकेको छ । नेपालका जिवजन्तु अधिकारकर्मीहरू त्यो रोक्न लागेका छन् । फ्रान्सकी चर्चित नायिका ब्रिजिट बार्दोले राष्ट्रपती रामवरण यादवलाई खुल्ला पात्र लेखेर गढीमाई मेलाको संहार रोक्न आग्रह गरेकि छन् । उनी स्वयं नेपाल जाँदैछन, त्यसैकालागि । आम हत्या हिंसाका बिरोधीहरूले यसलाई रोक्ने प्रयत्न जारी राखेका छन् ।
तर दशमीको दिन निधारमा टिका लगाउँदा कुइन्टलका कुइन्टल चामल सिद्दिन्छ भनेर सांस्क्रितिक महत्वमाथि बिरोध जनाउनेका स्वर अहिले किन दबेका ? लुकाउनुपर्दैन, वारामा लाग्ने यो गढीमाई मेलामा अधिकांश मधेशका नेपालीको संलग्नता हुन्छ । अर्थात् सोझो हिसाबले हेर्दा यो मधेश भोटको भण्डार हो । मधेशमा राजनीति गर्ने थलो हो । एक मधेश र एक प्रदेशको जामा लगाउने सग्लो शरिर हो । पहीचानको राजनीति गर्न पाइने मलिलो थलोपनि हो यो । किनभने २२ दलको आन्दोलनमा अधिकांश मधेशी दलहरू समाहित छन् । २२ दल बाहिरकालाईपनि बिरोध गरिहाले झन् यसैलाई हतियार बनाएर आफ्नो दल बिरुद्द राजनैतिक, धार्मिक र सांस्क्रितिक अस्त्र बनाउलान भन्ने डर छ । त्यसैले यो मेलाका बिरुद्द बोल्दा मधेशीहरू भड्किने त्रास छ । राजनीतिको त्यो जामा च्यातिने भय छ । राजनीतिक भाषणको मञ्च साँघुरिने खतरा छ । पार्टीगत स्वार्थमा धक्का लाग्छ । त्यसैले यति ठूलो संहारका बारेमा निधारको चामलमाथि राजनीति गर्नेहरुका स्वर दबेका हुन् । नत्र धार्मिक, सांस्क्रितिक, बैज्ञानिक र आध्यात्मिक कुनैपनि हिसाबले अनुपयुक्त यो गढीमाई मेलाका बारेमा किन बोल्दैनन भोटको राजनीति गर्नेहरू ?
पाँच लाख पशुको संहारमा यिनलाई मान्य हुन्छ । पाँच लाख पशुको आलो रगत नहरको पानी झैं बग्दा चिन्ता लाग्दैन । किनभने यिनको मूल उद्देश्य बाहुन छेत्रीलाई गाली गर्नु हो, दशैंको सांस्क्रितिक महत्वलाई धमिलो पार्नु हो । मधेशमा राजनीति गर्नु हो । त्यसैले यिनको राजनीतिक नितिमा दश दाना चामल निधारमा लगाउँदा नेपालमा जनता भोकै पर्छन । क्रिषी संकट आउँछ । दशैंको टिकाले अनिकाल निम्त्याउँछ । तर पाँच लाख पशुको संहार गरिँदा कुनै असर पर्दैन !
हामी प्रवाशमा बस्नेलाई प्रवाशका नेता, सामाजिक ब्यक्तित्व बनाएका भनिएकाले बोलेको, सक्रियता देखाएको वा निस्क्रिय बसेकोमा धेरै अर्थ दिन्छ । हाम्रो चासो रहन्छ । त्यसैले हरेक संगठनका प्रवाश इन्चार्जहरूले बोल्नुपर्छ यो बिषयमा । विदेशमा संवन्धित देशका नागरिकले धेरै चासो राख्ने हुनालेपनि यसमा स्पष्ठ हुनै पर्छ । आवश्यक बिषयमा बोल्न नसक्ने, लुक्ने, गोडा धरमराउनेहरु नेता बन्न लायकपनि होइनन् । नेता बन्न सक्दैनन् । ती सिमित स्वार्थमा लटपटिने लम्पट गनिन्छन । अझ धेरै त निधारको टिकाको बिरोध गर्नेहरूले बोल्नुपर्छ । दशैंको मासु र निधारको टिकामा बढि सुझाव दिने, सार्वजनिक टिप्पणी र बिरोध गर्ने संघिय समाजवादी पार्टी, त्यसका नेता र कार्यकर्ताले यसमा स्पष्ठ धारणा राख्नु जरुरी छ । बाँकी दलहरुलेपनि सार्वजनिक चासोको यत्रो बिषयमा मुख खोल्नु पर्छ । घर घरमा काटिने बोका र राँगाको बिरोध गर्नेले सामूहिक हत्याकोबारेमा आफ्नो स्वार्थ के, कुन खालको राजनीति हो स्पष्ठ पार्नै पर्छ ।






