धनीहरुबाटै स्विसहरु हैरान

  • ददि सापकोटा

Swiss flag

एशिया, अफ्रिका र दक्षिण अमेरिकाका मानिसहरु युरोप छिर्छन् । स्वर्ग छ भन्दै । राम्रो काम पाउन । उच्च शिक्षा र विलासी जिवन जिउन पाइन्छ भनेर । आप्रवाशीहरुको भिडले युरोपका सम्पन्न देशहरु हैरानीमा परेका छन् भनिन्छ । आप्रवाशीहरुलाई कसरि नियन्त्रण गर्ने भन्ने टाउको दुखाई बनेको छ युरोपका सम्पन्न देशहरुलाई । जर्मनी, फ्रान्स र अष्ट्रिया युरोपका अति सम्पन्न मुलुकमा पर्छन् । युरोपका यि सम्पन्न मुलुक आप्रवाशीबाट जति सताइएका छन् त्यो भन्दा बढि स्विजरल्याण्ड सताइएको रहेछ यिनै तिन मुलुकका नागरिकबाट । अर्थात् स्विजरल्याण्डले धनीमानीहरुबाटै हैरानी र सास्ती ब्यहोरेको रहेछ । 

स्विजरल्याण्डलाई फ्रान्स, जर्मनी र अष्ट्रिया तिन देशको सिमाले छुन्छ । युरोपेली परिषदका सदस्य छन् यि चार वटै देश । युरोपेली परिषदको नियम अनुसार युरोपेली नागरिक युरोपको जुनसुकै देशमा गएर बस्न, काम गर्न र चल अचल सम्पत्ती खरिदबिक्रि गर्न सक्छ । स्विजरल्याण्ड फ्रान्स, अष्ट्रिया र जर्मनी भन्दा सानो छ, निकै गुणा सानो । नेपाल भन्दापनि करिब तिन गुणा सानो । तर यि युरोपका फ्रान्स, जर्मनी र अष्ट्रिया लगायत धेरै मुलुक भन्दा आर्थिक रुपले सम्पन्न छ । यहाँ सामान्य कामदारकै न्युनतम मासिक तलब करिब चार हजार स्विस फ्र्यांक तलब हुन्छ । युरोसित स्विस मार्कको सटही दर धेरै भिन्नता छैन । स्विजरल्याण्ड बस्न आनन्द छ । सुरक्षा ब्यवस्था अति कडा छ । शान्ति छ । अपराधका घटना नगण्य हुन्छन् । भूपरिबेष्ठित देश हुनाले स्वच्छ छ हावापानी । सार्वजनिक यातायात नपुगेको कहिँ छैन । दैनिक जिवनका न्युनतम सुबिधा स्विजरल्याण्डले सबै गाउँ गाउँमा पुर्याएको छ । बाँदर लड्ने भिरभिरै रेलहरु दौडाएको छ । एक हूल गिद्द नअटाउने डाँडामा होटेल र साना साना पर्यटकिय आवासका थरीथरी चिज खोलेका छन् ।

त्यसैले फ्रान्स, जर्मनी र अष्ट्रियाका नागरिक यता स्विजरल्याण्डतिर आएर काम गर्छन् । तलब ड्याम्म लिन्छन् । सुबिधा लिन्छन् । उता आफ्नो देशमा पाउने न्युनतम तलब भन्दा करिब तिनगुणा बढि ई स्विजरल्याण्डमा पाइने भएकोले यता काम गर्ने हुन् । स्विस नागरिकहरुले भन्दा सस्तोमा काम गर्छु भनेर कपनीहरुलाई प्रस्ताव गर्छन् । सस्तोमा उहि काम गर्ने मानिस पाएपछि ब्यापारीले किन महँगोमा स्विसहरुलाई काम दिने ? फ्रान्सेली, जर्मन र अष्ट्रियालीहरुलाईनै काम दिने भए । सम्पन्न देशकै आप्रवाशीले स्विसहरुको जागिर खाइदिन्छन् । यसबाट स्विस नागरिकहरु हैरान भएका छन् ।

जेनेभा र जुरिच स्विजरल्याण्ड दुई प्रमुख शहर हुन् । जेनेभा शहरमा त ७० प्रतिशत भन्दा बढि आप्रवाशीहरु बस्दा रहेछन् । आप्रवाशीहरु धेरै भएकाले जेनेभा शहरमा सबैभन्दा बढि झैझगडा हुन्छ । विश्व कप फूटबलका बेला जेनेभा रेल स्टेशनको सामुन्नेमै रहेको एक भट्टीमा स्विजरल्याण्ड र फ्रान्स बिचको फूटबल चलिरहेको थियो । आआफ्नो देशका पक्षमा समर्थकहरु कुर्लिरहेका थिए । त्यत्तिकैमा फ्रान्सेली समर्थक र स्विस समर्थकबिच मारामार चल्यो । कुटाकुट र हानाहान भएपछि सयौं प्रहरीहरु आए, टियर ग्याँस हान्नु पर्‍यो । यस्ता कूटाकूटका घटना स्विजरल्याण्डमा जेनेभामा अन्यत्रभन्दा बढि हुन्छ ।  स्विस सरकार यस्ता घटनाबाट हैरान हुने गरेको छ ।

स्विजरल्याण्डका मुख्य शहर मध्ये एक जेनेभामा अन्य शहरमा भन्दा बढि फोहोर हुने गरेको शिव रिजालले सुनाए । त्यसको कारण बिदेशीहरुनै रहेछन् । स्विस सरकार, प्रशासन कति हैरान छ फ्रान्सेलीहरुबाट भन्ने अझ रोचक कहानी र एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष सन्जय मुडभरीले सुनाए । जेनेभा क्षेत्रमा फ्रान्सेली भाषा बोलिन्छ । फ्रान्सेली संस्क्रितिले प्रभाव पारेको छ । कति सडक र गल्ली, खाना र रेस्टुरेन्ट, भट्टी र चोकका नाम फ्रान्समा भएकासित ठ्याक्कै मिल्छन् । भाषा र संस्क्रिति मिल्ने हुनाले फ्रान्सेलीहरुको उपस्थिति ६० प्रतिशत भन्दा बढि रहेछ । तर फ्रान्सेलीहरुले हैरानी दिएका रहेछन् । रातो बत्ती बल्दापनि बाटो पार गरिदिने । जेब्रा क्रसलाई बेवास्ता गर्ने । मनपरि गाडी रोकिदिने, पार्किङ निषेध क्षेत्रमापनि । रक्सी पिएर सवारी साध्न हाँक्ने ।

स्विसहरुको काम खोस्न उस्तै अक्किल लगाउँदा रहेछन् फ्रान्सेलीहरु । आफूले काम गरेको ठाउँमा स्विस कर्मचारीहरुका कमजोरी खोतल्ने, भए नभएका कुरा लगाएर साहुसित मन मुटाव पारिदिने, झगडा बनाइदिएर, खोट देखाएर कामबाट निकाल्ने अवस्था स्रिजना गरिदिने र पछि आफ्ना मान्छेलाई फ्रान्सबाट ल्याएर त्यहि पदमा भर्ति गराउने गर्नाले स्विसहरु वाक्क रहेछन् । जेनेभाका स्विसहरु फ्रान्सेलीहरुलाई पटकै रुचाउँदा रहेनछन् ।

अफ्रीकाका मोरक्को, अल्जेरिया, ट्युनिशिया (यि देशका नागरिकलाई माग्रेबाँ भन्ने गर्छन् युरोपेलीहरु) का मानिसहरुले असाध्यै धेरै सताएका रहेछन् खासगरि सामाजिक क्षेत्रमा । झैझगडा गर्ने, सरकारी भत्ता अनेक दाउमा लिने । चोरी र लुटपाट गर्ने, झुठो बोल्ने । जहाँ गएपनि फोहोर गर्ने र सार्वजनिक यातायातमा टिकट नकिनी चढ्ने । सकेसम्म जसरि हुन्छ ठग्ने । माग्रेबाँहरुको बोली सुनेपछि अरु देशका मानिस होसियारी अपनाउँदा रहेछन्, अलि पन्छिन खोज्दा रहेछन् । हुन त फ्रान्समापनि यिनको ब्यवहारले मानिस हैरानीमै परेका छन् ।

बाटो, पूल, बिजुली, स्कूल, क्याम्पस, क्रिषी, स्वास्थ्य लगायत जनतालाई सुबिधा दिन स्विस सरकारले खर्चपनि ज्यादै गर्छ । बाटोघाटो र अन्य सार्वजनिक महत्वमा त कुरै छोडौं घरको धारोपानी बिग्रिँदापनि तत्कालै सुबिधा दिन्छ । त्यसैले स्विस सरकारको खर्चपनि बढि हुनाले कर लिन्छ । स्विजरल्याण्डमा कर तिर्नु पर्दैन भन्ने कुरा झुठो हो । वर्षमा एक महिनाको तलब बराबर आम्दानी कर तिर्नुपर्छ । त्यहाँ १२ महिना काम गरेपनि १३ महिनाको तलब पाइन्छ । सरकारलाई तिर्ने कर त्यहि काम नगरि पाइने एक महिनाको हो । त्यो कर स्विसहरु प्राय खुशि भएर तिर्छन् । अधिकांश बिदेशीहरु भने साह्रै गुनासो गर्छन् ।

वर्षभरि काम र सामाजिक सुबिधा दिन्छ स्विस सरकारले । अन्य देशमा भन्दा तलब बढि दिँदापनि सधैं गुनासो गर्दा पच्ने कुरै हुन्न । स्विस सरकारले राम्रो खाना, गुणस्तरको सामान सामान उत्पादन गर्छ । त्यसको खर्चपनि बढि पर्छ । त्यहि अनुसार जर्मनी, फ्रान्स र अष्ट्रियामा भन्दा सामान्यतया मूल्यपनि बढिनै पर्ने भयो । स्विस सरकारले बढि सुबिधा र तलब दिएबापत अलिकति बढि मूल्य लिनु सामान्य हो । तर यसमा गुनासो गर्ने अधिकांश बिदेशीहरु नै हुन्छन् । यता स्विजरल्याण्डमा बस्ने । तलब सुबिधा जर्मनी, फ्रान्स र अष्ट्रियाको भन्दा बढि लिने । तर सामान किन्न भने फ्रान्स र जर्मनी जाने गर्छन् । अलिकति कम गुणात्मक छ भन्ने जान्दाजान्दैपनि उताबाट सामान किनेर स्विजरल्याण्ड ल्याउने गर्छन् । उता सामान किनेर स्विजरल्याण्ड छिराएपछि उल्टै उता तिरेको भ्याटको रकम यता स्विस सरकारसित दाबी गर्छन् । स्विजरल्याण्डमा काम गरिसकेपछि यतै कर तिरिन्छ । आफूले काम गरेको देशमा कर तिरेको छु भन्ने देखाएपछि उताको कर फिर्ता हुन्छ । उताको करपनि स्विस सरकारसित फिर्ता लिन्छन् ।

जर्मन प्रशासन पनि स्विसहरुको पैसा थुत्न सिपालू छ । सायद यसलाइ जर्मनीले सुबिधा दिएको भनेरपनि परिभाषित गर्न सक्ला । स्विजरल्याण्डमा धेरै बिदेशी बस्छन्, बिदेशीहरुले सस्तो सामान खोज्छन् । धेरै कमाउँनाले सामान धेरै किन्छन् । स्विजरल्याण्डमा महँगो हुनाले सस्तो सामानका पसल खोलिदिए बिक्छ भन्ने जर्मन  सरकारलाई थाह नहुने कुरै भएन् । त्यहि जानेर स्विजरल्याण्डको आफ्नो सिमा क्षेत्रमा टन्नै खोलिदिएको छ सुपरमार्केटहरु । तिनै पसलका सामान ओसार्छन् स्विस सरकारसित भ्याटको रकम फिर्ता लिइ लिइ । त्यति मात्रै होइन, धेरै बिदेशी त स्विजरल्याण्डमा काम गर्न मात्रै आउँछन् । उदाहरणकालागि, जेनेभामा बस्ने मध्ये ४० प्रतिशत मानिस बाहिरबाट कामकालागि मात्रै आउने हुन् । काम सकिएपछि बस्न जर्मनी, फ्रान्स वा अष्ट्रियातिरै फर्किन्छन् । किनभने स्विजरल्याण्डमा भन्दा उता घरको भाडा, जग्गा जमिन धेरै सस्तो पर्छ । स्विजरल्याण्डमा सानो अपार्टमेन्टलाई तिर्ने पैसाले चार, पाँच किलोमिटर बाहिर गएर जर्मनी, फ्रान्ससित बसे बंगालानै पाइन्छ । स्विजरल्याण्ड जोड्नकालागि जर्मनी र फ्रान्सले सुबिधासम्पन्न राजमार्ग बनाएकै छन् ।

बाहिरबाट अनेक माध्यमले आउने आप्रवाशीको संख्यापनि उत्तिकै छ । फ्रान्स र जर्मनीबाट बिहान कमिशन खाएर मगन्तेहरुलाई ट्रकमा कोचि कोचि स्विस सिमा छेउ ल्याएर छोडिदिने एजेन्टहरुको धन्दापनि फापेकै छ । दिउँसो जेनेभाको सडकमा रोमानीया, बुल्गेरिया जस्ता पूर्वी युरोपका मगन्तेहरुले जेनेभामा हैरानी दिन्छन् । स्विजल्याण्ड सरकारलाई राम्रोसित हेक्का भएको छ, देश सुखी, सम्पन्न बनाउनु मात्रै ठूलो होइन रहेछ । त्यसलाई सम्पन्न बनाउन जत्तिकै मुस्किल जोगाउनुपनि रहेछ । आप्रवासीहरुको समस्यालाई बेलैमा ब्यवस्थित गर्न नसके भोली स्विसहरुनै कामकालागि भौंतारिनुपर्छ । त्यसैले गत स्थानिय निर्वाचनमा स्विस नागरिकहरुले अब बिदेशीहरुलाई कोटा सिस्टमबाट मात्रै कामका लागि प्रवेश दिनुपर्छ भन्ने मत बुममतले पारिद गरे । त्यसले स्विजरल्याण्डलाई अप्ठेरोमा पारेको छ । युरोपेली परिषदको सदस्य भएकाले त्यसका नियम तोडेर युरोपेलीहरुलाई काममा रोक लगाउनपनि स्विस सरकारलाई सजिलो छैन । कि त परिषदबाट बाहिर निस्किनुपर्‍यो । युरोपेली परिषदबाट बाहिरिए जर्मनी र फ्रान्स जस्ता शक्तिशाली देशको छिमेकी स्विजरल्याण्डलाइ कसरि सहज होला ? अर्कोतिर स्थानिय निर्वाचनले दिएको अभिमतलाई अनादार गर्न झन गाह्रो छ । स्थानिय निर्वाचनले दिएको म्याण्डेट अनुसार युरोपेलीको सहज प्रवेश हुनुपर्छ भन्ने दबाब युरोपेली परिषदको छ । यतिखेर स्विस सरकार अप्ठेरोमा छ ।

तपाइँको प्रतिक्रिया