कसरि बन्यो स्विजरल्याण्डमा नेपालीको ‘गुरुभाई पार्क’ ?
स्विजरल्याण्ड पुग्नु अघिनै शिव रिजालसित कुराकानी भएको थियो । निराजन श्रेष्ठ, दिपक खतिवडा र एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष संयज मुडभरीले सल्लाह गरेछन्, कहाँ कहाँ कसरि घुमाउने भनेर । एक साँझ शिव रिजालले भने ‘दाई, आज मैले संजय सरलाई भनिसकेको छु । दिपकसितपनि कुरो भएको छ । के गर्नु दिउँसो जागिर खानै परो । त्यसैले दिनभरि सँगै बस्न सकिएन तपाइसित । साँझ गफ गर्नु पर्यो ढुक्कले बसेर । के होला ?”
‘गज्जब हुन्छ, हस’ मैले भनें ।
‘बरु कहाँ बस्ने ? बारमा कि एउटा पार्कमा आनन्दले बस्ने ? शान्त हुन्छ, हामी मात्रै बस्ने ।’ फेरि आफैंले भने ” एउटा गुरुभाई पार्क छ । त्यहाँ जाउँ, यस्सो जेनेभा ताल हेर्दै साँझ खानपिन र गफ हाँकम ।” आहा क्यावात शिव जी, तालको छेउमा, टिसर्ट लगाएर, खानपिन । रातका ताराहरुलाई टाउकामाथि साक्षी राखेर ? लु गज्जब भो” मेरो सहमती भयो ।
साँझ सन्जय मुडभरीले आफ्नो गाडीमा जेनेभाको फन्को लगाइदिए, हामी नगएको ठाउँ सोधिसोधि । त्यसपछि दिपक लागे आफ्नो बाटो, त्यसको ठाउँमा शिव आइपुगे । झोलाभरि काचाकुचुक बोकेर आए । साथमा एक जना अर्का मेरा लागि नयाँ मान्छे थिए । रहेछ्न्, डेनमार्क निवासी राधाक्रिष्ण सापकोटा । सबैलाई लगे, गुरुभाई पार्कमा ।
राधेश्यामले डेनमार्कमा आफूसहित १९ जना नेपाली बिध्यार्थीले पाएको दुख सुनाए । सोझा नेपालीलाई भारतीयले कसरि शुरुमा न्वाउनी दल्छन् मुखले । कुर्सीमा ज्वाईलाइ झैं बसाल्छन् “अरे भाइ कामके बात अभि छोडो । बादमे करुंगा, कोइ बात नहिँ, भुख लागा होगा, पहिले ईथर बैठो, कुछ खानपिन करो” भन्दै । भान्जालाई कसरि माया गरेर टेबलमा मिठामिठा खाने कुरा राखिदिन्छन् । अन्तत कमारालाईझैं खाना खुवाएकै भरमा सुक्को नदिई काममा १५ घण्टा लदाउँछन् भन्ने कहानी साह्रै रोचक पाराले सुनाए । हामी उनका कुरा सुन्थ्यौं । सोझा, आसे, निर्धन बनाईएका पाखुरे नेपाली सम्झँदै राधेश्यामका कुरा सुनेर मुर्छा परिपरि हास्थ्यौं । शिव मसित हत्केला जुधाएर हाँस्थे । संजय मुडभरी ‘अँ अँ है, अनि के भो ?’ भन्दै जग हालिदिने । त्यसपछि राधेश्याम ‘यि गोर्खेलाई मैले हँसाएर अझै लादी काढ्छु’ भन्ने ठान्दाहुन्, झन रोचकपाराले सुनाउँथे ।
झलल्ल घाम झैं लागेको बिजुलीको उज्यालो । आकाशमाथि अलिअलि तारा टिल्पिलाएका । पूर्णरुपमा हाँस्न नसकेको जून आकाशको कुनातिर टल्पलाएको । अर्को छेउमा अरबियन भाषा बोलेका ट्याबेहरु जाँड, संगितसितै खित्का छोडि छोडि उचालिएका । हामीपनि पर्यौं, अलि अलि स्विस चुस्की सुम्सुम्याएका । गुरुभाई पार्क किन कसरि भएछ ? मलाई खुल्दुली भैरहेको थियो । पछि थाह भयो, ए रात्तै स्विजरल्याण्डमा त गुरुभाई पार्क मात्रै होइन रहेछ । गुरुभाई मार्ग र गुरुभाई आश्रमपनि रहेछ । ति सबै गुरुभाईको नाम त शिव रिजालको कर्मका पछाडि पो जोडिएको रहेछ ।
धौलागिरीको सिँगो छाती भन्दा अझ उचाईमा पुगम्ला भनेर शिक्षा लिन पसेका रहेछन् शिव स्विजरल्याण्ड । बिध्यार्थीका सास्ती कतिकति । एक जना बस्न लिएको कोठामा गोडा आठेक जना खाँदिनुपर्ने । काम नगरे फिस तिर्न नपाइने, नतिरे देश छोड्नुपर्ने । तिरौं काम गर्न ईजाजत नपाइने । दाल चामल किन्न गयो स्विस फ्यांक तिर्दा थरर हात कमाउनुपर्ने । काम खोज्दै हिँड्यो जुत्ता तलुवा दोब्रिने । बल्ल बल्ल काम पायो, पुलिसले देख्ला भनेर बिरालोले कुँडे ताक्या झैं लुसुक्क छिर्नु पर्ने, लुसुक्क निस्किनुपर्ने ! यि सबै ब्यथा देखेका शिव ! आफैंले भोगेकापनि । अनेक सपना बुनेर करोडले हम्किने र्याल काढ्दै जेनेभाको चिसो सडकमा ओंठ पटपटी फुटाएका । खाने र लड्ने ठाउँ नपाएका नेपाली बग्रेल्ती देख्दा रहेछन् । अनि आफ्नै दुख सम्झेर कोठामा ल्याउँदा रहेछन् । दाहिने देब्रे, पूर्व पश्चिम, रेल स्टेशन र बस पार्क । चारतिरबाट जम्मा पारेका नेपालीलाई आफ्नो कोठमा पकाएर खुवाउन ठाउँनै नपुग्ने । शुरु शुरुमा सक्ने र अटाउने जति नेपाली आउन्जेल पकाएरै खुवाएछन् । त्यहि बेला उनको कोठाको भान्छालाई गुरु किचन नाम राखेछन् नेपालीले ।
नेपालीहरुको ताँती कमिलाको झैं दिनदिनै आउनथालेपछि कोठामा पकाउन पुगेपनि डराउनुपर्ने भयो । छिमेकीले खबर गरिदिएर झन समात्न आउँछ पुलिस कि भनेर । त्यहि भएर शिव रिजाल पुरेतले दशतिरका घरबाट दान पाएका कोरेली झैं त्यहि जेनेभा पार्कमा जम्मा पर्दा रहेछन् । अनि दुखले कमाएको पैसोले खाना किन्दा रहेछन् । झोलामा ओसार्यो अनि त्यहि पार्कमा खुवाउँदा रहेछन् । उनले यस्तो कर्म गरेकाले १८ वर्षे युवा देखि ६० वर्षे दाजूलेपनि गुरु मान्दा रहेछन् उनलाई । सबैले गुरु मान्ने भएपछि शिवपनि भाई भन्दा रहेछन् सबैलाई । यसरि शिवले त्यो पार्कमा सामाजिक सेवा गर्ने हुनाले यो पार्कको नामनै गुरुभाई पार्क राखेछन् नेपालीले ।
उनी हिँडेको हिँड्यै गर्ने नेपालीको सेवामा । कोहि रेल स्टेशनमा अलपत्र । कोहि बस बिसौनीमा हराएको । कोहि कागजी प्रक्रिया आबेदन गर्ने ठाउँमा पुग्नै नसकेर रल्लिएको । कोहि गोजीमा सुको नभएर रन्थनिएको । कसैले ‘दाजु मैले त नखाको तिन दिन भो क्यारे’ भन्दै गलेको स्वरमा बिन्ति बिसाएको । तिनको सेवामा शिव हिँडेको हिँड्यै गरेपछि उनी हिँड्ने गल्लीको नामपनि ‘गुरुभाई मार्ग’ भन्न थालेछन् । गुरुभाई पार्कमा खानपिन गराएर उनीआफ्नो डेरामा सुताउन लैजाने गरेकाले उनको डेराको नाम ‘गुरुभाई आश्रम’ मा बदलिएछ । युवा नेपालीहरु शिवलाई भेट्न जानु छ भने ‘गुरुभाई आश्रम जान लाग्या’ भनेर हाँस्दा रहेछन् । गुरुभाई भनेरै चिनिँदा रहेछन् शिव रिजाल ।
गुरुभाई पार्कको कहानी नसुन्दै शिवले गुरुभाई आश्रमको कहानी सुनाएका थिए । भन्थे “के गर्ने दाई, कसैले सहयोग गर्दैन । कुरो चर्का गर्ने धेरैनै हुन्छन् । कतिको ठाउँ, समय, परिस्थिति हुन्न । सहयोग गर्नै मन लागेपनि । आफू एक्लो परियो, त्योपनि बिध्यार्थी । कलेजको फी तिर्न बाँकि राखियो । तर दुख पाएर उपाय नभएका, दुख पाएका नेपालीलाई पाल्नुसम्म पालियो । खाने, बस्ने ठाउँ नपाएर अलपत्र परेको देखेपनि के गर्ने ? त्यहि त हो धर्म भनेको ।”
त्यहि दिन संजय मुडभरीले साँझ साँढे छ बजे बस पार्कमा उभिनुस्, म लिन आउँछु, अनि घुमाउन लैजान्छु” भनेका थिए । कुरेर बसियो । डेढ घण्टापछि बल्ल मोबाईलमार्फत सम्पर्क भो । किन रहेछ यस्तो गरेको भन्ने भयो । उनीपनि समाजसेवामा तल्लिन रहेछन् । सामाजिक काममा बोलाउँछन् ‘हस’ । बैठकमा आइदिनुस् न भनेर बोलाउँछन् ‘भैहाल्छ नी’ भन्ने । सुत्ने ठाउँ पाइएन भनेर कसैले बिन्ति गर्छ ‘धन्दा नमान्नुस् भाई खोजौंला’ भनेर कसकहाँ राख्न सकिन्छ भनेर घण्टि बजाउन थाल्ने । नेपाली संगितको साँझ आयोजना गर्नुपर्यो दाई’ भन्छन् ठिटाहरुले । उनी ‘गज्जब हो ल’ भन्दै अल्लारे ठिटो झैं बनेर तिनैका पछाडि दौडिने, राति घर परिवारलाई एक्लै छोडेर भएपनि सामाजिक काममा लाग्ने । “के गर्ने, यो समाजसेवा, एन आर एनमा लगानी भो, आत्मसन्तुष्टीकालागिपनि मनले नगरिमान्दोरैनछ । जतापनि गर्न, साथ दिन मन् लाग्छ” मुडभरीले सुनाए ।
दिपक खतिवडा अर्का यिनैका मित्र रहेछन् । शिव र संजय मुडभरी जस्तै । दिपक आफैं बिध्यार्थी हुन् । बिध्यार्थीका गाह्रा साह्रा स्विजरल्याण्डमा निकै छन् । उहि शिवले भोगे जस्तै । आफैं साथीहरुसित मिलेर बस्छन् । तर सामाजिक काम भनेपछि किताब, कापी र कलम मिल्काएर हिँड्ने बानी रहेछ । कहिले मध्य रात सम्म काम गर्छन् । कहिले बिहानै चार बजे आँखा मिच्दै काममा दौडिन्छन् । तर सामाजिक काम, सहयोग गर्नुपर्यो भनेपछि दौडिहाल्ने रहेछन्, निन्द्रा मारिमारि । ‘हामी त बरु यहाँ सुबिस्ताले बसेका छौं । यो दिपक भाइ आफैं विध्यार्थी, जहाँ जसले बोलायो, गाह्रो साह्रो पर्यो भनेर सहयोग माग्छ यो भाई उहिँ दौडिन्छ ” मुडभरीले उनको पारा सुनाउँदा शिव रिजालपनि टाउको हल्लाई हल्लाई सहमती जनाउँदै थिए ।






